कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने साइकल अहिले विस्थापित हुने अवस्थामा पुगेको छ ।
प्रविधिको तीव्र विकास, विलासी जीवनशैलीप्रतिको आकर्षण र समयको व्यस्तताका कारण साइकलको प्रयोग दिनप्रतिदिन घट्दै गएको हो ।
शुक्लाफाँटा नगरपालिका–६ का कृष्णबहादुर ऐर अहिले पनि साइकलमै यात्रा गर्न रुचाउँछन् । साइकल चढ्दा स्वास्थ्यमा हुने फाइदाबारे उनी निकै सचेत छन् । आफ्नो घरदेखि स्थानीय बजारसम्मको करिब तीन किलोमिटरको दूरी उनी सधैँ साइकलमै तय गर्छन् ।
‘साइकलले शरीरमा स्फूर्ति कायम राख्छ र मानिसलाई निरोगी बनाउँछ’, उनी भन्छन्, ‘अहिलेसम्म म कुनै गम्भीर बिमारीमा परेको छैन, यसको श्रेय म साइकललाई नै दिन्छु ।’
तर, कृष्णबहादुरका समकालीन साथी भने अहिले विद्युतीय स्कुटर, महँगा मोटरसाइकल र कारमा हुइँकिने गर्छन् । उनको अनुभवमा साइकल अहिले केही सचेत व्यक्ति र विपन्न वर्गको मात्र साधन बन्न पुगेको छ ।
साइकलको प्रयोग घट्दा यसमा निर्भर व्यवसायीको जीविका सङ्कटमा परेको छ । शुक्लाफाँटाको वन समिति बजारमा लामो समयदेखि साइकल मर्मत र बिक्रीको पसल सञ्चालन गर्दै आएका रामबहादुर धामी पहिलेको जस्तो कारोबार नभएकामा चिन्तित छन् ।
‘पहिले दिनमै दुई–तीन नयाँ साइकल बिक्री हुन्थे, मर्मत गर्नेहरूको त पसलमा घुइँचो नै लाग्थ्यो’, धामी पुराना दिन सम्झिन्छन्, ‘अहिले महिनामा एक–दुई वटा साइकल बिक्री हुन पनि मुस्किल पर्छ, दिनमा दुई–चार जना मात्रै मर्मतका लागि आउँछन् ।’
उनका अनुसार ग्राहकको सङ्ख्या शून्यजस्तै भएपछि धेरैले जीविका चलाउनका लागि साइकल मर्मत पसल बन्द गरेर अन्य व्यवसाय रोज्न थालेका छन् ।
विद्युतीय सवारी (इ–स्कुटर) र मोटरसाइकलको बढ्दो प्रयोग नै साइकल व्यवसाय धराशायी हुनुको मुख्य कारण रहेको उनको ठम्याइ छ ।
वातावरण संरक्षण र ध्वनि प्रदूषण न्यूनीकरणका लागि साइकल सर्वोत्कृष्ट साधन भए पनि यसको महत्त्व बुझाउन नसक्दा प्रयोगकर्ता घट्दै गएकोप्रति उनी चिन्ता व्यक्त गर्छन् ।
सिमलफाँटाका धनबहादुर चौधरी पनि कुनै समय साइकलका सौखिन थिए । हरेक वर्ष नयाँ मोडलको साइकल फेर्नु उनको सोख थियो । अहिले उनको दैनिकी फेरिएको छ । कार्यव्यस्तता र कार्यस्थलमा छिटो पुग्नुपर्ने बाध्यताले उनले साइकल छाडेर मोटरसाइकल रोजेका छन् ।
‘साइकल ‘इको–फ्रेन्डली’ (वातावरणमैत्री) छ भन्ने कुरा मलाई राम्ररी थाहा छ’, चौधरी भन्छन्, ‘तर टाढाको कार्यस्थलमा समयमै पुग्न साइकलले सम्भव भएन, त्यसैले मोटरसाइकल चलाउन थालेको हुँ ।’ उनीजस्तै धेरैले समयको बचतलाई प्राथमिकता दिँदा साइकल ओझेलमा परेको छ ।
स्थानीय सामाजिक अगुवा दानबहादुर ऐरका अनुसार तराईमा साइकलको इतिहास सामाजिक प्रतिष्ठासँग जोडिएको छ ।
‘पहिले धनीमानी र प्रतिष्ठित व्यक्तिसँग मात्रै साइकल हुन्थ्यो, साइकल हुनुलाई धनी भएको प्रमाण मानिन्थ्यो’, ऐर भन्छन्, ‘समाजको विकास क्रमसँगै साइकलपछि मोटरसाइकल र त्यसपछि कारको युग सुरु भयो, मानिसहरूको आयस्तर वृद्धि भएसँगै साइकललाई गरिबको सवारीका रूपमा हेर्ने सङ्कुचित सोच पनि विकास भएको छ ।’
अहिले सडकमा गुड्ने कार र मोटरसाइकलको सङ्ख्याले मानिसको आर्थिक हैसियत मापन गर्न थालिएको उनी बताउँछन् ।
‘तराईका विद्यालयहरूमा शिक्षक–विद्यार्थीहरूको मुख्य रोजाइ नै साइकल हुन्थ्यो, छात्रवृत्तिको रूपमा साइकल वितरण गर्दा विद्यार्थीमा ठूलो उत्साह देखिन्थ्यो’, शिक्षक धर्मा भण्डारी भन्छन्, ‘आफू पनि विगतमा साइकल चढेर धेरै वर्ष विद्यालय गएको छु, अहिले उमेरले ढल्किँदै गएपछि साइकल चलाएर टाढाको विद्यालय पुग्न अप्ठेरो हुँदा स्कुटर रोजेको छु, ।’
उनका अनुसार महिलाहरूले आफ्नो कृषि उत्पादन र तरकारी बजारसम्म पुर्याउन साइकलकै प्रयोग गर्थे । पहिले विवाहमा बेहुलालाई साइकल चढाउने वा दाइजोमा साइकल दिने चलन निकै लोकप्रिय थियो । ती दिनहरू अब केवल स्मृतिका पानामा सीमित भएको उनी उल्लेख गर्छन् ।
‘अहिले विद्यालयहरूले घर–घरमै बसको व्यवस्था गरेका छन्, कृषि उपज सङ्कलनका लागि व्यापारीहरू आफैँ ढुवानीका साधन लिएर किसानको खेतबारीमै पुग्छन्, यसले गर्दा साइकलको उपयोगिता झनै घट्दै गएको छ’, उनले भने ।
प्रयोगकर्ता घटे पनि बजारमा साइकलको मूल्य भने केही बढेको छ । केही वर्षअघि रु दुई–तीन हजारमा पाइने साधारण साइकलको मूल्य अहिले रु सात हजारदेखि नौ हजारसम्म पुगेको छ । सौखिन र स्वास्थ्य सचेत नागरिकका लागि लक्षित गेयरवाला आधुनिक साइकलको मूल्य रु २० हजारदेखि ६० हजारसम्म पर्ने गरेको छ ।
स्वास्थ्यकर्मी हरि नाथका अनुसार साइकल चलाउनु पूर्ण शरीरको व्यायाम हो । ‘नियमित साइकलिङले मुटुरोग, मधुमेह, मोटोपना र उच्च रक्तचापजस्ता रोगको जोखिम घटाउँछ’, उनले भने, ‘ग्रामीण क्षेत्रमा जहाँ जिम र व्यायामशाला सहज छैन, साइकल नै सबैभन्दा सुलभ व्यायाम साधन हो ।’
पछिल्ला वर्षहरूमा मोटरचालित सवारीको अत्यधिक प्रयोगले शारीरिक श्रम घट्दै गएको उनी बताउँछन् । यसकै परिणामस्वरूप जीवनशैलीजन्य रोग बढिरहेको उनको बुझाइ रहेको छ । साइकलको प्रयोग बढाउन सके जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने उनको मत छ ।
अरु सवारी साधनको तुलनात्मक रूपमा सुस्त गतिको सवारी भएकाले पनि नयाँ पुस्ता साइकलप्रति आकर्षित हुन नसकेको झलारीका करन जोशी बताउँछन् ।
हाल साइकलको प्रयोग मुख्यतया शारीरिक व्यायामका लागि जिम जाने युवा, न्यून आय भएका मजदुर र वातावरणको महत्त्व बुझेका थोरै सङ्ख्याका व्यक्तिमा मात्र सीमित हुन पुगेको उनको भनाइ छ ।
‘साइकल केवल एक सवारीसाधन मात्र नभई यो स्वस्थ जीवन र स्वच्छ वातावरणको आधार पनि हो’, उनले भने, ‘विश्वका विकसित देशहरूमा इन्धन खपत घटाउन र वातावरण जोगाउन साइकलको प्रयोग पुनः बढ्न थालेको छ, तर हाम्रो सन्दर्भमा भने यसको प्रयोग क्रमशः लोप हुने अवस्थामा पुग्नु दुःखद छ ।’
उनका अनुसार स्थानीय तहहरूले ‘साइकल लेन’को व्यवस्था गर्ने र वातावरणमैत्री सवारीलाई प्रोत्साहन गर्ने नीति ल्याउन सकेमा यसको पुरानो साख जोगाउन सकिने देखिन्छ । रासस













प्रतिक्रिया