जनताको दैलो धाउने अभियानमा सानादेखि ठूला कम्युनिस्ट पार्टी | Khabarhub Khabarhub

जनताको दैलो धाउने अभियानमा सानादेखि ठूला कम्युनिस्ट पार्टी

सबैको मिसन एउटै : ०८४ को निर्वाचन



काठमाडौं– जनतामाझ जाने कम्युनिस्ट पार्टीको अभियान नौलो होइन । जनतामाझ आफ्नो उपस्थिति देखाउन पार्टीहरूले विभिन्न नाम दिएर यस्ता अभियान चलाइरहेका हुन्छन् । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको ७६ वर्ष हुँदा यो नामका १९ वटा पार्टी अस्तित्वमा छन् ।

कम्युनिस्ट आन्दोलन अगाडि बढाउन सबै एक भएर जानुपर्ने हो । तर, जुँगाको लडाइका कारण कम्युनिस्ट नामका पार्टी वर्सेनि पार्टी फुटिरहेका छन् । फुटे पनि जनतामा जाने एजेन्डा उस्तै छ । यो वर्ष पनि नेकपा एमालेबाट छुट्टिएका डा.भीम रावलले पार्टी नखोली ‘मातृभूमि जागरण अभियान’ चलाइरहेका छन् । उनी अहिले देश दौडाहामा छन् । रावल देश दौडाहामा रहेका बेला सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले गाउँ जाँदैछ । त्यसो त एमाले ०७९ को निर्वाचनपछि विभिन्न बहानामा गाउँ पसिरहेको छ ।

यता प्रतिपक्षी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पनि गाउँ जाँदैछन् । मोहन वैद्य नेतृत्वको कान्तिकारी कम्युनिस्ट पार्टी, डा. बाबुराम भट्टराईको नेपाल समाजवादी (नयाँ शक्ति), नारायणमान बिजुक्छें नेतृत्वको नेपाल मजदुर किसान पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पनि जनतामाझ गइरहेका छन् । यी सबैको उद्देश्य ०८४ को निर्वाचनलक्षित पार्टी विस्तार तयारी ।

०४८ यता कम्युनिस्ट नेताहरू बारम्बार सरकारमा गइरहेका छन् । कम्युनिस्ट पार्टीबाटै छ जना प्रधानमन्त्री र एकजना राष्ट्रपति भइसकेका छन् । राजतन्त्र ढलेर गणतन्त्र आउँदा पनि कम्युनिस्टले भन्दै आएको सामाजिक न्यायको महसुस हुन सकेको छैन । सुशासन, स्थायित्व र दिगो विकासको एजेण्डा नारामै सीमित छ । कम्युनिस्ट पार्टी स्थापनाको ७६ वर्षमा मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई र केपी शर्मा ओली प्रधानमन्त्री बनिसकेका छन् ।

कम्युनिस्ट पार्टीबाटै विद्या भण्डारी दुई पटक राष्ट्रपति बनिन् । तर, कम्युनिस्टहरू बारम्बार सरकारमा हुँदा पनि किन जनताले पुँजीवादीकै जस्तो स्थिति भोग्नुपरिरहेको छ ? किन जनताले दु:ख पाइरहेका छन् ? गरिखाने वर्गको जीवनस्तर किन उठ्न सकेको छैन ? यो प्रशनको जवाफ कम्युनिस्टहरु नै दिन सक्दैनन् । अहिले फुटेका कम्युनिस्ट नेताहरुबीच पानी बाराबार छ । यस्तोमा टुटेफुटेका कम्युनिष्ट विभिन्न नाम लिएर अलग अलग नारासहित गाउँतिर जाँदैछन् । कुन दलको कस्तो छ अभियान ? यहाँ हामी यहीबारे चर्चा गर्दैछौँ ।

एमालेको ‘जरा अभियान’

सरकारको नेतृत्व एमाले ७८ सिटसहित संसदमा दोस्रो दलका रुपमा छ । अहिले एमालेबाट केपी शर्मा ओली प्रधानमन्त्री छन् । उनले ‘मिसन ०८४’ अभियान थालेको ०७९ को निर्वाचनबाटै हो । एकल बहुमतसहित पहिलो पार्टी बन्ने भन्दै एमालेले विभिन्न बहानामा गाउँ अभियान चलाइरहेको छ । कहिले नेतालाई काठमाडौंमा बोलाएर पढाउने, कहिले जिल्ला गएर प्रशिक्षण दिने काममा एमाले सक्रिय छ । पछिल्लो समय एमाले उपमहासचिव प्रदीप ज्ञवाली जिल्ला, जिल्लामा प्रशिक्षण दिन व्यस्त छन् । एमालेले निर्णायक राष्ट्रिय शक्ति बनाउन भन्दै यही माघदेखि चैतसम्म तीन महिने वडाकेन्द्रित अभियान गरिरहेको छ ।

सबै जिल्लामा यो अभियान चलिरहेको एमाले सचिव योगेश भट्टराई बताउँछन् । पार्टी जरासम्मै बलियो बनाउन एमालेले यो अभियानमा जनतामाझ गएर सुझाव लिइरहेको एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बताउँछिन् । शाक्य यस कामका लागि सम्बन्धित जिल्लालाई नेतृत्व दिएको बताउँछिन् । जिल्लाको अनुगमन प्रदेशले गर्ने उनले बताइन् । वडासम्मै पुगेर जराकेन्द्रित अभियान चलाउने निर्णय गरेको एमालेले ०८४ को निर्वाचनलाई अहिले नै केन्द्रमा राखेको छ ।

एमालेले सत्ताको बागडोर सम्हालेर पनि जनताका समस्या समाधानमा ध्यान दिन सकेको छैन । निर्वाचनको एक वर्षबाहेक एमाले सत्तामै छ । तर, आशा देखाएर चुनाव लडेको एमालेप्रति जनताको निराशा चुलिँदो छ । एमालेले ०७९ को निर्वाचनलगत्तै फागुन ५ गतेबाट दुई महिने ‘मिसन ग्रसरुट ’ अभियान चलाएको थियो । तर ०७९ गत साल वैशाख १० गते बारा १, चितवन २ र तनहुँ १ मा भएको उपनिर्वाचनमा एमालेले निराश भयो ।

०८१ वैशाख १५ गते भएको इलाम २ र बझाङ प्रदेश सभा १ क को उपनिर्वाचनमा एमालेले जित निकाल्यो । इलाम २ भने एमालेका प्रभावशाली नेता एवम् संविधानसभाका अध्यक्ष सुवास नेम्बाङको क्षेत्र हो । त्यहाँ उनका छोरा सुहाङले जिते । त्यसपछि एमालेले ०८० मंसिर १४ देखि पुस २ गतेसम्म
‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ चलायो । उक्त अभियानमा एमाले मध्यपहाडका २६ जिल्ला र अन्य ११ सहित ३८ जिल्ला पुग्यो । त्यसबेला प्रतिपक्षी एमालेले २६ जिल्लाका समस्याबारे प्रतिवेदन बनायो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको प्रतिवेदन आफैं कार्यान्वयन गर्ने तहमा एमाले छ । आफैँले बनाएको प्रतिवेदनको अवस्थाबारे एमालेले नजरअन्दाज गरेर बसेको छ ।

पछिल्लो पटक मंसिर १६ गते सरकारमै भएका बेला ४२ वटा स्थानीय तहको उपनिर्वाचनमा एमालेले ८ स्थानमा मात्रै जित्यो । कांग्रेसले १७ र माओवादी केन्द्रले १० ठाउँमा जिते । त्यसपछि अहिले जराकेन्द्रित अभियानका नाममा एमाले गाउँ पसेको छ । जिल्लामा एमालेको जराकेन्द्रित अभियान उत्साहजनक रहेका एमाले झापा कमिटी सचिव तुलसी कार्की बताउँछन् । उनी यो अभियानले झापामा मात्रै ५ हजारसम्म नयाँ कार्यकर्ता थपिने बताउँछन् ।

‘वडा, टोल र छिमेकीमार्फत् घरघर गएर अभियान चलाएका छौँ । उहाँहरूका समस्या सुनेका छौँ । हाम्रा कुरा राखेका छौँ । जनताको सुझाव जस्ताको तस्तै प्रदेश कमिटीलाई बुझाउँछौँ’, उनले भने, ‘सरकारप्रति जनताको गुनासो र उत्साह दुवै छ । त्यसलाई प्रस्तुत गर्ने छौँ । माथिल्लो कमिटीमा पुर्‍याएर समस्या समाधान गर्नेछौँ ।’ कार्कीका अनुसार कार्यकर्ता र जनताले पनि सरकारसँगको असन्टुष्टि खुलेर राखेका छन् । प्रशंसा पनि खुलेर गरेका छन् । अभियानमा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण दुवै भइरहेको छ ।

अहिले एमालेका तल्लो तहका कार्यकर्तामा छटपटी छ । असार ३१ गते कांग्रेससँग मिलेर सरकार बनाएयता एमाले र ओली दुवैको लोकप्रियताको ग्राफ निरन्तर ओरालोतिर छ । अभियानको नतिजा ०८४ को निर्वाचनमा देखिने छ ।

माओवादी तराईतिर

नेकपा माओवादी केन्द्र अहिले प्रमुख प्रतिपक्षी छ । कम्युनिस्ट पार्टीमा यो संसद्को दोस्रो ठूलो हो । प्रतिनिधि सभामा ३२ सिट छ । ०७९ को निर्वाचनपछि यसै पार्टीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर, असार ३० बाट ओली छन् । सत्ता खुस्किएपछि प्रचण्ड ०८४ मा ०६४ फर्काउने अभियानमा छन् । ०६४ मा पहिलो पटक संसदीय राजनीतिमा आएको माओवादी पहिलो दल भएको थियो । अहिले त्यहीे तयारीमा लागेको महासचिव देव गुरुङ बताउँछन् ।

०७९ को निर्वाचनपछि ०८० भदौ १७ देखि चार महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ चलाइएको थियो । विधान सम्मेलनअघि पार्टीको स्वरुपबारे जनतासँग छलफल गर्ने भन्दै अभियान चलायो । त्यसबेला सरकारमा भएको माओवादीसँग कार्यकर्ताका थुप्रै गुनासा थिए । सत्तामुखी भएको, सशस्त्र द्वन्द्वपीडितलाई बेवास्ता गरेको, सहिद परिवारलाई अन्देखा गरेको लगायत आक्रोश फागुन १ देखि काठमाडौंको प्रज्ञा भवनमा भएको विधान सम्मेलनमा उठेका थिए ।

जनतासँग माओवादी विशेष अभियानका क्रममा ६ हजार ७ सय वडामा पुगेर माओवादीले चार महिनामा निर्मम समीक्षा गर्ने भनेको थियो । तर त्यो अभियान सफल हुन सकेन । माओवादीसँग कार्यकर्ताको तीव्र असन्तुष्टि थियो । तर ०८१ असारबाट सरकार छाडेपछि माओवादी नेताहरू जिल्ला र प्रदेश भ्रमणमा छन् ।

अध्यक्ष प्रचण्ड पनि देश दैडाहामा विभिन्न जिल्ला पुगे । उनको त्यो यात्रा जारी छ । ०७९ पछि गत वैशाख १० गते बारा १, चितवन २ र तनहुँ १ मा भएको उपनिर्वाचनमा माओवादी कमजोर देखियो । प्रतिपक्षीमा भएर गत मंसिर १६ मा भएको स्थानीय तह उपनिर्वाचनमा १० स्थानमा जित निकाल्यो । उपनिर्वाचन भएका ४२ मध्ये एक स्थानमा माओवादीका उम्मेदवार निर्विरोध भए । माओवादीले आधार इलाकामा धक्का बेहोरेको छ।

०७९ मा जितेका आधार इलाकाअन्तर्गत रुकुम, रोल्पा, जाजरकोटका वडाहरू माओवादीले गुमाएको छ । पार्टीलाई रिकभर गर्न माओवादीले ‘तराई–मधेस जागरण अभियान’ अन्तर्गत १ महिनासम्मसञ्चालन गर्न लागेको छ । फागुन १२ गतेदेखि चैत ७ गतेसम्म तराईका जिल्लाहरूमा अभियान चलाउने निर्णय भएको जानकारी पार्टी सचिव देवेन्द्र पौडेलले दिए । फागुन १२ गते झापाको कचनकबलबाट सुरु हुने छ । अभियानको उद्घाटन कचनकवलस्थित बनियानी बजारमा हुँदै छ । समापन चैत्र ७ गते कञ्चनपुरमा हुने छ ।

‘तराई–मधेस जागरण अभियान टोलीमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपलब्ध उपाध्यक्षहरू, महासचिव देव गुरुङ र उप–महासचिवहरू हुने छन् । माओवादीको यो टोलीमा सम्बन्धित जिल्ला र प्रदेशका नेता तथा सांस्कृतिक टोली हुने छ । यस्तै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि जोडिँदैछन् ।

‘पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने, माओवादीलाई तलसम्म जीवन्त रूपमा जोड्ने’ उद्देश्य लिएर जनतामाझ जाँदै छौँ,’ पौडेलले खबरहबलाई भने, ‘पार्टी संगठनलाई स्थानीयस्तरसम्म बिस्तार गर्ने, जनताका सुझाव संकलन गर्ने, जनता र पार्टीबीचको सम्बन्ध बिस्तार गर्ने योजना छ । यो ०८४ को तयारी पनि हो ।’

माओवादीले २०८२ वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्व–पश्चिम जागरण अभियान सञ्चालन गर्ने योजना बनाएको छ ।

एकीकृत समाजवादी पनि गाउँतिर

नेकपा एकीकृत समाजवादी पार्टी पनि जनतामाझ जाने भएको छ । २०७८ भदौ २ गते निर्वाचन आयोग दर्ता भएको यो कम्युनिस्ट पार्टीमा तेस्रो ठूलो हो । यसको प्रतिनिधि सभामा १० सिट छ । पार्टी स्थापनाको ३ वर्ष पुगिसक्दा पनि यसले प्रभाव पार्न सकेको छैन । त्यसकारण अब एकीकृत समाजवादीले आन्दोलनद्वारा पार्टी निर्माण योजना बनाएर गाउँ जाने भएको छ । गत वर्ष तीन क्षेत्रको प्रतिनिधि सभा उपनिर्वाचनमा पार्टीले उत्साहजनक मत ल्याउन सकेन । गत असोजमा समाजवादीले ‘समाजवादी जागरण यात्रा–२०८०’ मेची–महाकाली अभियान यात्रा गरेको थियो । यो यात्रा असोज १४ गते झापाको काँकडभिट्टास्थित मेची नदीबाट सुरु गरेर २९ गते सुर्खेतमा समापन गरेको थियो ।

यात्रामा पार्टीले देशभर रूपान्तरणकारी एजेन्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजनाबारे बुझाएको थियो । तर उसले गत मंसिर १६ गतेको स्थानीय तह उपनिर्वाचनमा १ वडा वडामा मात्र जितेको छ । पछिल्लो पटक पार्टीको १० औँ महाधिवेशनपछि एकीकृत समाजवादीमा नेताहरुबीच मतभेद बढेको छ । समाजवादीका महासचिवको घनश्याम भुसालको संयोजकत्वमा आन्दोलनद्वारा पार्टी निमार्ण योजना बनाइएको छ । राजनीतिक परीक्षाको सामना गरिरहेको समाजवादीले फागुन ८, ९ गते बसेको केन्द्रीय समिति बैठकमा पनि यसबारे चर्चा गरेको छ । कार्ययोजनाअन्तर्गत समाजवादीले चैत १५ गतेभित्र केन्द्रीय तहमा सुझाव संकलन र विभिन्न कार्यक्रम गर्ने योजना बनाएको छ ।

पार्टीलाई समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्न सक्ने गरी विकास गर्न आन्दोलनद्वारा पार्टी निर्माण योजना बनाइएको महासचिव भुसाल बताउँछन् । आन्दोलनको संयोजन गर्ने जिम्मेवारी पाएका भुसालको कार्ययोजनामा चैत १५ गतेभित्रमा केन्द्रीय तहमा सुझाव संकलन र विभिन्न कार्यक्रम छन् ।

पार्टी निर्माणसम्बन्धी कार्ययोजनामा सबै स्थानीय तह, प्रदेशबाट सुझाव लिएर चैत २० गते सरकारलाई मागपत्र पेस गर्ने योजना छ । यस्तै ०८२ वैशाख २० गते प्रदेश सरकार र पालिकामा आफ्ना मागहरू पेस गर्ने योजना एकीकृत समाजवादीको छ । त्यसपछि जेठ १० गते काठमाडौंमा प्रदर्शन गर्ने भुसालको योजना छ । जेठ तेस्रो हप्ता सरकारले ल्याउने बजेट र आफ्ना मागहरूबारे जानकारी गराउने योजना छ ।

साना पार्टी पनि…

संसदीय राजनीतिमा सहभागी भएका नभएका साना कम्युनिस्ट पार्टी पनि जनतामाझ जाँदैछन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि देशभर कार्यकर्ता र जनतासँग भेटघाट गरिरहेको छ । भर्खरै पहिलो महाधिवेशन गरेको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पनि जनतामाझ जाने योजनामा छ । यसको निर्णय शनिबार र आइतबार बस्ने बैठकले गर्ने नेता नेत्रप्रसाद चापागाईँले बताए ।

यता, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले पनि देशभर अभियान चलाउने योजना अगाडि सारिसकेको छ । यसको तयारीमा नेता कार्यकर्ता जुटेका छन् । प्रभु साहको आम जनता पार्टी मधेस प्रदेशकेन्द्रित पार्टी प्रचारमा छ । एमालेबाट अलग भएर २ महिनाबाटा डा. भीम रावल देश दौडाहामा छन् । उनी ०८४ सम्म नयाँ पार्टी खोल्ने योजनामा मातृभूमि जागरण अभियान चलाइरहेका छन् । यस्तै एमालेमा जान ठिक्क परेका वामदेव गौतम पनि ‘नेकपा एकता राष्ट्रिय अभियान’ लिएर देश घुम्ने योजनामा छन् । तर कम्युनिस्ट एक हुने कुरा भने असम्भव जस्तै छ । त्यसैले एक्ला एक्लै दौड चलिरहेको छ । उता विप्लव, नेसपा, क्रान्तिकारी कम्युनिस्ट पार्टी ०८४ को निर्वाचनबाट सदन छिर्ने बाटो बनाउन जुटेका छन् ।

यी हुन् १९ कम्युनिस्ट पार्टी र अभियानहरू

१.नेकपा एमाले : अध्यक्ष केपी शर्मा ओली
२.नेकपा माओवादी केन्द्र : पुष्पकमल दाहाल प्रचण्ड
३.नेकपा एकीकृत समाजवादी : माधव नेपाल
४.नेपाल मजदुर किसान पार्टी : नारायणमान बिजुक्छे
५.क्रान्तिकारी कम्युनिस्ट पार्टी : मोहन वैद्य
६.राष्ट्रिय जनमोर्चा : चित्रबहादुर केसी
७.नेकपा मसाल : मोहनविक्रम सिंह
८.नेकपा संयुक्त : चन्द्रदेव जोशी
९.नेकपा बहुमत : हेमन्तप्रकाश वली
१०.नेकपा : नेत्रविक्रम चन्द विप्लव
११.नेकपा माले : सिपी मैनाली
१२.नेपाल कम्युनिस्ट पार्टी : क्रषि कट्टेल
१३.नेकपा माओवादी : गोपाल किराँती
१४.वैज्ञानिक समाजवादी पार्टी : विश्वभक्त दुलाल
१५.नेकपा मार्क्सवादी : लोकनारायण सुवेदी
१६.आम जनता पार्टी : प्रभु साह
१७.नेकपा एकता राष्ट्रिय अभियान : वामदेव गौतम
१८.बाबुराम भट्टराई : नेपाल समाजवादी पार्टी नयाँ शक्ति
१९.डा. भीम रावल : मातृभूमि जागरण अभियान

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : २९ बजे

एमालेलाई बलियो बनाउन ‘जरा केन्द्रित’ अभियान : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले

कोहलीको शतकमा भारत विजयी, पाकिस्तानको लगातार दोस्रो हार

काठमाडौं – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबार भएको बहुप्रतिक्षित खेलमा

पाटेबाघको उद्धार

बाँके – बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले समस्याग्रस्त पाटेबाघको उद्धार

महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

काठमाडौं – गुठी संस्थानले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई

भारत इजरायलको महत्वपूर्ण व्यापारिक साझेदार : इजरायली अर्थमन्त्री बारकात

काठमाडौं – इजरायलका उद्योग तथा अर्थमन्त्री निर बारकातले भारत आफ्नो