लिम्बुवानका मुन्धुमी सम्पदाको नालीबेली | Khabarhub Khabarhub

संस्कृति

लिम्बुवानका मुन्धुमी सम्पदाको नालीबेली



पाथीभरा-मुक्कुम्लुङको शीरमा रहेको ढुंगो

इतिहास विगतमा भएका घटनाहरूको अध्ययन गर्ने विधा हो । व्यतीत भइसकेका घटनाबारे जान्न मानिसले विगतका स्रोतहरू हेर्ने गर्छन् । इतिहासले विगतको घटनाको स्मृतिहरू, आविष्कार, संकलन, संगठन, प्रस्तुति र व्याख्यालाई एकै ठाउँमा ल्याउने काम गर्छ ।

ऐतिहासिक स्रोतहरूमा लिखित सामग्री, मौखिक दस्तावेज वा परम्परागत मौखिक इतिहास, कला तथा साहित्य, पर्यावरणीय संकेतहरू पर्छन् । त्यसभित्र पर्ने सम्पदा हाम्रो विगतको विरासत मानिन्छ जसले हाम्रो राजनीति, समाज, कार्य र विश्वदृष्टिकोणमा महत्वपूर्ण भूमिका खेल्छ ।

विश्वका अन्य ठाउँमा जस्तै नेपालमा पनि ऐतिहासिक र साँस्कृतिक महत्वका सम्पदा र स्थलहरूको महत्वपूर्ण स्थान रहेको छ । यसले सदियौँदेखि चलिआएको परम्परा सँस्कृतिलाई मात्रै दर्शाउँदैन । ऐतिहासिक घटनाक्रमको साक्षीका रूपमा समेत काम गर्दछ ।

प्रस्तुत लेखमा मुन्धुमी सभ्यता मान्ने याक्थुङ समुदायको इलाका मानिने लिम्बुवानका मुन्धुमी महत्व र ऐतिहासिक स्थलहरूबारे चर्चा गरिनुका साथै यसको संरक्षणका लागि भएका प्रयासहरूबारे संक्षेपमा चर्चा गरिएको छ ।

मुन्धुम

तेह्रथुमको लालीगुराँस नगरपालिकामा अवस्थित चोत्लुङ पार्कमा रहेको मुन्धुमी थान, जहाँ मानिसको उमेर बढाउने र विवाहिता याक्थुङ महिलालाई कुमारी बनाउने अनुष्ठान गरिन्छ ।

याक्थुङ जातिको जीवन दर्शन र जीवन पद्धति दुवै हो मुन्धुम । केहीले यसलाई मोखिक धर्मशास्त्र पनि मानेका छन् । वरिष्ठ साहित्यकार एवम् याक्थुङ मुन्धुम तथा भाषाका विज्ञ वैरागी काइँलाले याक्थुङ जातिको सामाजिक, साँस्कृतिक वा नैतिक र धार्मिक धारणा, आस्था र आचरणको चरम परिणति नै अनेक मिथक, गाथा र लोककथाहरूमा अभिव्यक्त भई श्रुतिपरम्पराका रूपमा युगौँयुगदेखि जीवित छ र तिनैका समिष्टलाई मुन्धुम भन्नुपर्ने तर्क गरेका छन् ।

उनले मुन्धुम शब्दको व्युत्पत्ति याक्थुङ भाषामा ‘मुन’ – (चल) मुम्मा –चल्नु, हल्लिनु) क्रियाको धातु हो जसले गति वा स्थिर नरहेको गतिमयता भन्ने अर्थ लाग्छ । गतिमयता भनेको जीवन्तता हो । ‘थुम’ शब्दले कठिन वा शक्ति वा बलको अर्थ बोध गर्छ । गतिमय शब्द अलौकिक वा ईश्वरीय हुन्छ । चलायमान वा गतिमान रहने परम शक्ति वा शक्तिको वर्णन मुन्धुम हो । याक्थुङ लिम्बु जातिले आफ्ना पितृहरूलाई नै देउता मन्छन् । पितृहरूलाई बोलाउने भाषालाई उनीहरू माङपाःन्(देउताको बोली) भन्ने गर्छन् । त्यहीँ माङपाःन् भनेकै मुन्धुम हो ।

अध्येता डा. क्षितिज लिम्बुले जीवन दर्शनको मूल आधार मुन्धुम भएको जनाउँदै यो देउताको वाणी नभएर यो सभ्यतासँग सुरुवात भएको जनाए । यो चिन्तन प्रणाली भएको बताएका छन् । त्यस्तै, मुन्धुमका संकलक डीबी आङबुङले मुन्धुमलाई स्मृतिहरूको पुञ्ज र पूर्खाहरूको अनुभव सँगालो भएको धारणा राखेका छन् ।

याक्थुङ सँस्कृतिविद् आइत खजुमले ऐतिहासिक, साँस्कृतिक, भाषिक र आनुवांशिक हिसाबले मुन्धुम याक्थुङका लागि महत्वपूर्ण भएको जनाएका छन् । मुन्धुमका जानिफकार भनेका तुत्तु तुम्याङ, फेजिक्कुम फेदाङ्मा, सावारा येच्छाम साम्बा, सिभाक यामि (येबा/येमा) हरू हुन् । उनीहरूलाई एकमुष्ट रूपमा पेलिफाङ्साम भनिन्छ । याक्थुङ मुन्धुुम सामाजिक इतिहास पनि हो । जहाँ पूर्खाहरूको बसाइँसराइँ र गतिशीलतालाई पनि दर्शाउँछ ।

याक्थुङ लिम्बु जातिको आदिम ज्ञान भनेको नै मुन्धुम हो । हिजो पूर्खाले बाँच्नका लागि प्रकृतिसँग सामना गरेका घटनाहरूलाई नै पुस्तौँपुस्ता दर सन्तानहरूमा मौखिक रूपमा हस्तान्तरण हुँदै आएका छन् । यस्ता घटना लिम्बुका देवारीहरू फेदाङ्मा, साम्बा, येबा र येमाहरूले आजसम्म फलाक्दै र गाउँदै आएका छन् । पूर्खाहरूको स्तुति र पुकार गरेमा प्राकृतिक विपत्तिबाट बच्न सकिन्छ भन्ने याक्थुङ लिम्बु जातिमा आजपर्यन्त विश्वास र मान्यता छ ।

याक्थुङ

नेपालको सुदूरपूर्वी क्षेत्रमा बसोबास गर्ने समुदाय हो याक्थुङ जाति । यो समुदाय नेपालको ५९ आदिवासी जनजातिको समूहमा पनि पर्छ । उनीहरू लिम्बु जातिका रूपमा अरूमाझ परिचित भएपनि उनीहरू आफैँले चाहिँ आफूलाई सुसुवा लिलिम याक्थुङहाङका सन्तान ‘याक्थुङ्बा’ भन्छन् । उनीहरूको ऐतिहासिक थातथलो र पुख्र्यौली भूगोल लिम्बुवान हो । जुन अरुणपूर्व नदी टिष्टापश्चिम, तिब्बत दक्षिण र चारकोशे जंगलउत्तरका ताप्लेजुङ, संखुवासभा, धनकुटा, तेह्रथुम, पान्थर, इलाम, झापा, मोरङ र सुनसरी हो । केही ऐतिहासिक भूगोल भने भारतको सिक्किम र पश्चिम बंगालमा पर्छन् । राष्ट्रिय जनगणनाअनुसार याक्थुङ लिम्बुजातिको जनसंख्या ४,१४,७०४ रहेको छ । उनीहरू आफ्नो भाषालाई याक्थुङ पाःन् भन्छन् । २४७ वर्षअघि याक्थुङहरूका पूर्खा सिरिजङ्गा थेबेले निर्माण र विकसित गरेको लिपिलाई सिरिजङ्गा लिपि भन्छन् । याक्थुङ लिम्बुहरूको आफ्नै मौखिक सामाजिक इतिहास र मौखिक शास्त्र छ । जसलाई उनीहरू मुन्धुम भन्छन् ।

याक्थुङ लिम्बु जातिको उत्पत्तिबारे कैयन् विद्वानहरूका बेग्लाबैग्लै मतहरू छन् । इतिहासकार इमानसिङ चेम्जोङले लिम्बुहरूलाई काशी र ल्हासाबाट आएको भनेर तर्क अघि सारेका छन् । जुन गोत्रको अवधारणाबाट आएको हो । यद्यपि, याक्थुङ समुदायमा गोत्र हुँदैन । पछिल्लो समयमा प्रकाशित भएका अधिकांश वंशावलीहरूमा गोत्र(काशी, ल्हासा, ताइस्यान) उल्लेख भएका छैनन् । याक्थुङको गोत्र नभएर मिङ्स्रा हुन्छ । जुन माङ्गेना यक्सँग जोडिएको हुन्छ ।

इतिहासका अध्येता अर्जुनबाबु माबुहाङका अनुसार लिम्बुहरूको उत्पत्ति थलो/थामालुङ पत्ता लगाउन मिङस्रा(पहिलो पूर्खा), माङ्गेना यक्(पूर्खाले ढालफाँड गरेको मूल कर्म थलो), फेच्चुवा यक्(पूर्खाहरू छुट्टिएर बनेको थलो), नाहाङ्मा यक्(पूर्खाहरूको शक्ति र प्रसिद्धिसँग जोडिएको ठाउँ), सामसामातेन(मृतकको सातो पुर्‍याइने ठाउँ जहाँ पितृ/थेबासामलाई सातो बुझाइन्छ), साम लामातेन(जुन ठाउँबाट फेदाङ्मा/देवारीहरूले गर्भवती महिलाको सातो जगाएर ल्याउँछन्) र चो?लुङ(पूख्र्यौली शक्ति जगाउने ठाउँ) भनेर जान्नुपर्दछ । मुन्धुममा याक्थुङ लिम्बु जातिको उत्पत्ति स्थल ताप्लेजुङको फक्ताङलुङ आसपास इखाबु, लेलेप, तापेथोक, जस्ता ठाउँहरूमा बढी वर्णन गरिएको छ ।

मुन्धुम र इतिहासमा थिबोङ याक्थुङ

याक्थुङ मुन्धुमले तागेरानिङवाफुमाङ या युमामाङलाई सर्वोच्च चेतना या ईश्वरका रूपमा मान्ने गर्दछन् । याक्थुङ सभ्यता पनि उनकै उपज भएकोमा विश्वास राख्छन् । सामाजिकशास्त्र र मानवशास्त्रको हिसाबाले अध्ययन गर्दा इम्बिरी याङ्थाङ्वा(तम्मर खोला)कै वरिपरि याक्थुङको उत्पत्तिका सामाजिक इतिहास, कथा, आख्यान र मिथकहरू पाइन्छन् । हिमाली भाषाका विद्वान डा. भ्यानड्रिमले समेत भोटबर्मेली परिवारमा फेदापको याक्थुङ भाषालाई अरूभन्दा प्राचीन भाषा मानेका छन् । र, फेदापबाटै पूर्वी हिमाली भाषाहरू फैलिएको अध्ययनले बताएका छन् । डा. भ्यानड्रिमले भनेको फेदाप चाहिँ तेह्रथुम नभएर समग्र लिम्बुवान वा महाफेदाप क्षेत्र हो । जुन इतिहासकार चेम्जाङले पनि आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

लेखक अमित थेबे

याक्थुङ मुन्धुमअनुसार सर्वशक्तिमान, सर्वव्यापी तागेरानिङ्वाफुमाङपछि पोरोक्मी यम्भामिमाङ आएर सृष्टि निर्माणपछिका अरू कार्यहरू सम्पन्न गरे । त्यसपछि, खाम्जिरी खाम्बोङमासा लुङजिरी लुङबोङमासाको सृष्टि भयो । उनीहरूलाई पहिलो तुम्याहाङ(भद्रभलादमी) पनि मानिन्छ ।

मुजिङ्ना खेयोङ्नालाई चाहिँ पहिलो मानव स्त्रीका रूपमा मुन्धुममा व्याख्या गरिएको छ । उनले सुरित्तेन कजेङ(हावा)सँगको संसर्गपछि सुसुवेन लालावेङ जन्मिए । पछि उनी सावायुक्फुङ केम्वाका नामले परिचित भए । उनले थोसोलुङ्मा फियामालुङ्माबाट सुच्छुरु सुहाम्फेवा नामको छोरा र योसोलुङ्मा मुक्कुमलुङ्माबाट तेत्लारा लाहादाङ्ना नामको छोरीलाई जन्म दिए ।

त्यस्तै, सुसारेहरू सुसालिङ्मा सुसाङ्लिङ् र तुङ्सा लिङ्मा नासोलुङ फातेलुङमाहरूबाट थोसु साङदाङ खेवा र योसु लिङदाङ खेवाहरू जन्मिए । पछि, सुहाम्फेवा र लाहादङ्नाको हाडनाताबाट १८ सन्तानहरू जन्मिए ।

इतिहासकार सन्ध्या सिङ्जाङ्गोले याक्थुङ सभ्यतालाई पाँच कालखण्डमा वर्गीकरण गरेका छन् । पहिलो, पूर्वप्राचीन काल, दोस्रो, प्राचीन काल, तेस्रो मध्यकाल, चौथो, आधुनिक र पाँचौ समसामयिक काल हुन् । पूर्वप्राचीनकालमा चइत् मुन्धुम, सा?मा कुमाङ पोक्मा मुन्धुम, तागेरानिङ्वाफुमाङ मुन्धुम पर्छन् । प्राचीनकालमा सृष्टि काल, मानव उत्पत्तिको युग, शिकारी युग, कृषि युग पर्छन् ।

मध्यकालमा तेत्लारा लाहादङ्ना सुम्हाम्फेवा मुन्धुम र सावा याहाङकाल पर्छन् । जहाँबाट याक्थुङ सभ्यताको सुरुवात भएको मानिन्छ । आधुनिककालमा सावा येत्हाङकाल सुरु भएको थियो । सावा याहाङबाटै आठ शक्तिशाली शाषकहरूका रूपमा चिनिएका सावा येत्हाङ आएका हुन् । इसाको छैटौैँ शताब्दीपूर्व महाफेदापको अवधारणा आएको हो । येत्हाङमा ताप्पेसो लुङमाहाङ, सगहिम्सो सङ्मिहाङ, नियारा थक्चङहाङ, लालासो पाङबेन्हाङ, खेच्चुवत् उप्पनहाङ, साउन्दु उन्दुहाङ, साङ्गेन्हाङ पाङ्गेन्हाङ, सेन्छेरे सेनिहाङ पर्छन् ।

येत्हाङपछि थिवोङ याक्थुङ(दश लिम्बु)हरू देखा परेका छन् । ती दश लिम्बुहरूमा साप्लुप्लि साम्बाहाङ(तम्बरखोला थुम), सिसेयेन् सिरेङहाङ (मिवा/मैवालखोला थुम), थक्थक्सो आङवोहाङ(आठराई थुम), थिन्दोलुङ खो?याहाङ(याङरुप थुम), इङासो पापोहाङ(पान्थर थुम), सेन्सेन्गुम फेदापहाङ(फेदाप थुम), इमेहाङ(चारखोल थुम), सोइयाक लादोहाङ(चौबिस थुम), ताप्पेसो पेरुहाङ(तेह्रथुम/थला यक) र ताक्लुङ खजुमहाङ(छथर थुम) हुन् । समसामयिक कालचाहिँ लिम्बुवान आन्दोलनको आधुनिक समय र ‘कोशी’ नामकरणविरुद्धसम्मको समय हो ।

हज्सन पाण्डुलिपिको खण्ड ७९, ८४ र ८६ मा याक्थुङ मुन्धुमबारे पर्याप्यत व्याख्या गरिएका पत्रहरू सङ्कलित गरिएका छन् । ‘दशलिम्बु’ लेखिएको सबैभन्दा पुरानो कागज वि.सं. १८२४ मा भेटिएको छ । जुत देवानलाई दिइएको लालमोहरमा ‘तस लिम्बु’ भनेर उल्लेख गरिएको छ । इतिहासकार माबुहाङले याक्थुङहरूले आफूलाई लुङबोङबा खाम्बोङबा भन्ने गरेको र सेनहरूले ‘लुङबुङ’ भन्न खोज्दा ‘लिम्बु’ भनेको हुन सक्ने तर्क गरेका छन् । याक्थुङ लिम्बुहरूको लोकोक्तिमा थिवोङ याक्थुङ/दश लिम्बु चलेको र कागजातहरूमा दश लुङबुङ/दश लिम्बु लेखेको पाइएको जनाएका छन् ।

लिम्बुवान

कुनैबेला अरुण नदीवारि याक्थुङहरूको शासन थियो । समग्रमा याक्थुङ लाजे भनिए पनि सिरेङ, फागो, याङरुप, मिक्लुक, फेदाप, सुदाप, प्रधापजस्ता सानासाना लुङबुङ(रजौटा)हरू भएको इतिहासकार अर्जुन माबुहाङले उल्लेख गरेका छन् । सेन शाषकहरूले पहिलो पटक याक्थुङ लुङबुङहरूको दश लिम्बु भनेर सम्बोधन गरेका थिए । सेनहरूले नै याक्थुङहरूमा सुभाङ्गी शासनको सुरुवात गरेका थिए ।

व्यापारिक हिसाबले उनीहरू भोटेसँग निकट थिए । शाहकालमा आइपुग्दा याक्थुङ याक्थुङ रजौटाहरू मैवाखोला, मिवाखोला, तमोरखोला, आठराई, याङरुप, पान्थर, छथर, चौबिसे जस्ता थुमहरूमा विभक्त भइसकेका थिए । पान्थर, छथर, चौबिसे, फेदाप, आठराईका लिम्बुहरू सेनसँग नजिक थिए । मैवाखोला, मिवाखोला, तमोरखोला, याङरुपका लिम्बुहरू सिक्किमका भोटे शाषक नामम्यालसँग नजिक थिए ।

वि.सं. १८३१ मा गोर्खालीले विजयपुर कब्जा गरे । गोर्खालीले याक्थुङ पूर्खालाई ‘तुत्तु तुम्याङहाङ याक्थुङहाङ’ पुकार्दै र याक्थुङको माटोलाई ‘लिम्बुवान’ भन्दै सम्झौता गरेका छन् । वि.सं. १८३१ भदौ ५ गते जारी भएको लालमोहरमा याक्थुङ लिम्बुहरूको माटोलाई ‘लिम्बुवान’ भनेर सम्झौता गरेका छन् । रणबहादुर शाहले गजेन्द्र शाहलाई वि.सं. १८४८ चैत्र ७ गते काठमाडौँबाट लेखेको पत्रमा पनि लिम्बुवान शब्द परेको छ ।

मुगलहरूको प्रशासनिक शब्दहरूको प्रभाव गोर्खालीहरूलाई परेर हुन सक्छ लिम्बुको भूमिलाई लिम्बुवान/लिम्बुआन भनेर सम्बोधन गरेका हुन सक्छन् । किनकि, मुसलमानी ठाउँहरूको नामको पछाडि ‘आन’ लेखिने गरिन्छ । याक्थुङबाहेक याक्खा, देवान, आठपहरिया, याम्फू, लोहोरुङ, मेवाहाङहरूको भूमिलाई पनि लिम्बुवान भनियो ।

इतिहासकार इमानसिङ चेम्जोङले इसाको छैटौँ शताब्दीमा आठ राजा र दश सरदारहरूबीच मनमुटाव भई घमासान लडाइँ भएको र सो युद्धमा दश सरदारहरूको विजय भएपछि फेदेनमा सुम्जिरी सुम्हात्लुङ स्थापना गरी लिम्बुवान नामकरण गरेको तर्क गरेका छन् ।

सङ्खुवा–अरुण–सप्तकोसी नदीपूर्व मेची नदी र चीनको स्वशाषित क्षेत्र तिब्बतदेखि नेपाल भारत सिमानासम्मको वर्तमान भूगोल लिम्बुवान हो । ऐतिहासिक हिसाबले पूर्वमा टिष्टा खोलासम्मको भूभाग भएपनि सन् १८१६(१८७३) मा नेपाल–अङ्ग्रेजबीच भएको सुगौली सन्धीका कारण मेचीपूर्वको भूभाग गुमेको हो ।

ऐतिहासिकताका आधारमा पश्चिम–दक्षिण सिक्किम, पश्चिम बंगालको दार्जिलिङ, कालिम्पोङ, सिलगढी सबै लिम्बुवाको शाषकीय भूगोल हुन् । खुम्चिनुअघि लिम्बुवान दश थुममा विभाजित भएपनि राणाकालसम्म आइपुग्दा १७ थुममा विभाजित भएको थियो । याक्थुङ इतिहासका अध्येता/लेखक डा. कमल तिगेलाका अनुसार वि.सं १८३७ मा शाहहरूले पहिलो फेदाप थुम निर्माण गरे ।

हालको छथर, फेदाप र आठराईको समग्र भूभाग फेदाप थुमभित्र पारिएका थिए । पछि, १८६७ मा छथर थुम बनेको कागजात पाइएको जनाएका छन् । याक्थुङ बाहेक अन्य थातथलो खुल्ने आदिवासीको बसोबास भएको इलाका सात थुम हो ।
यद्यपि इतिहासकार माबुहाङले २३ थुमहरूको नाम किटान गरेका छन् । त्यसमा सङ्खुवाउत्तर, सभाउत्तर, पाँच खप्पन, पाँच मझीया, दशमझीया, तमोरखोला, मैवाखोला, मिवाखोला, याङरुप, आठराई, फेदाप, छथर, चौबिस, मिक्लुक, पाँचथर नुभोउत्तर, पाँचथर नुभोदक्षिण, सोह्र खाल्सा, धनकुटा, झल्हारा बेल्हारा, ईलाम, माइपार, पुवापार र फाकफोक थुमहरू पर्छन् ।

वि.सं. २००८ मा राजा त्रिभुवनले याक्थुङहरूलाई दिएको लालमोहरमा लिम्बुवानको सिमाना पश्चिममा अरुण(सङ्खुवा–अरुण), पूर्वमा मेची, उत्तरमा भोट र दक्षिणमा माल सिमानासम्म देखिन्छ । इलामको हात्तीलेददेखि मोरङ सतिसालेको हुँदै चारकोशे झाडी(धरान)को ठूलो फायर लाइन उत्तर लाखसिमाना थियो । माल भनेको रैकर र लाख भनेको किपट जग्गालाई भनिएको हो ।

सम्पदा

देशको पहिचान र गौरव दिलाउने हाम्रा पूर्वजबाट प्राप्त महत्वपूर्ण र संरक्षण योग्य स्थान, वस्तु, कला, संस्कृति र प्राकृतिक परिवेशलाई सम्पदा भनिन्छ । राष्ट्रको एतिहाषिक, धार्मिक र प्राकृतिक सौन्दर्य या महत्व झल्काउने स्थल या संरचनाहरू नै सम्पदा हो । सम्पदा मूर्त र अमूर्त हुन्छन् । मूर्त सम्पदा भनेका त्यस्ता सम्पदा हुन् जुन सम्पदा भौतिक रूपमा रहेका हुन्छन् । यस्ता सम्पदालाई हामी प्रत्यक्ष देख्न वा हेर्न सक्छौं ।

मन्दिर, गुम्बा, वनजङ्गल, धार्मिक ग्रन्थहरू, लोक तथा शास्त्रीय नृत्यहरू, परिकारहरू मूर्त सम्पदाका उदाहरण हुन् ।अमूर्त सम्पदा भनेका त्यस्ता सम्पदा हुन् जुन सम्पदा मूर्त रूपमा नदेखिने हुन्छन्, रूप नभएको र आकार नभएको हुन्छ । संस्कारहरू, प्रचलनहरू, चाडपर्व मनाउने तरिकाहरू, पूजा विधि, परिकार बनाउने तरिका, चित्र बनाउने तरिका यसका उदाहरण हुन् ।

विश्व सम्पदा र युनेस्को

संयुक्त राष्ट्र संघको विशेष निकायका रूपमा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन(युनेस्को) सन् १९४५ नोभेम्बर १६ मा गठित भएको हो । यसको निश्चित उद्देश्य शान्ति र सुरक्षाका लागि योगदान दिनु हो जुन कि शिक्षा, विज्ञान एवं संस्कृतिको अन्तरराष्ट्रिय सहयोगद्वारा हुन्छ । जसले अगाडि न्याय, विधिको नियम एवं मानवाधिकार तथा मूलभूत स्वतन्त्रता हेतु वैश्विक विचार स्थापित गर्छन् ।

यस्तो संयुक्त राष्ट्रको राजपत्रमा घोषित भएको थियो । यो लिग अफ नेसन्सको प्रज्ञावान सहयोगमा अन्तराष्ट्रिय आयोगको उत्तराधिकारी हो । यसको मुख्यालय पेरिस, फ्रान्समा स्थित छ । हाल युनेस्कोमा जम्मा १९५ सदस्य राष्ट्र रहेका छन् । यसको २७ क्लस्टर कार्यालय र २१ राष्ट्रिय कार्यालयहरू छन् ।

युनेस्कोले अद्वितीय वैश्विक महत्वभएका संसारभरका साँस्कृतिक र प्राकृतिक स्थलहरूलाई विश्व सम्पदा घोषणा गरेको छ । जसमध्ये ११९९ विश्व सम्पदा क्षेत्रहरू रहेका छन् । १४५ देशमा ७३० अमूर्त सम्पदाका तत्वहरू घोषित भएका छन् भने १३४ देशमा ७४८ बायोस्पेयर रिजर्भस छन् ।

त्यस्तै, ४८ देशमा २१३ युनेस्को ग्लोबल जियोपार्कस छन् । त्यस्तै, ४८ सीमापार, १६८ सम्पदा भएका साझेदार राज्यहरू छन् । ११९९ मध्ये ९३३ साँस्कृतिक, २२७ प्राकृतिक र ३९ मिश्रित सम्पदा हुन् । जसमध्ये ५६ खतराको सूचीमा छन् ।

नेपालमा विश्व सम्पदा सूची

युनेस्कोको विश्व सम्पदा क्षेत्रमा नेपालका विभिन्न सम्पदा (साँस्कृतिक र प्राकृतिक)लाई सूचीकृत गरिएका छन् । साँस्कृतिक सम्पदाअन्तर्गत काठमाडौँ उपत्यकाभित्रका सात स्मारकसहित क्षेत्र उपत्यका आसपासका लिच्छविकालीन मठ मन्दिरसँगै चार शक्तिपिठ(तीन वटा ऐतिहासिक दरबार, दुई वटा बौद्ध स्तुप र दुई वटा हिन्दू मन्दिर स्मारक) र लुम्बिनी तथा प्राकृतिक सम्पदा अन्तर्गत चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । उपत्यकाका ती सम्पदालाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो ।

सन् २०१४ सम्ममा नेपालका चार वटा सम्पदाहरूलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन(युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ । नेपालमा रहेका विश्व सम्पदा क्षेत्रहरू सम्पादन र सूचीकृत विश्व सम्पदा सूचीमा सूचीकृत ६३० सम्पदाहरू छन् । नेपालका सम्भावित विश्व सम्पदा स्थलहको सूची पनि तयार भएका छन् ।

नेपालले सन् १९९६ र २००८ मा गरी दुई पटक विभिन्न राष्ट्रिय सम्पदाहरूलाई सम्भावित विश्व सम्पदाका सूचीमा सूचीकृत गरिसकको छ । जसमध्ये सन् १९९६ मा सम्भावित विश्व सम्पदाका सूचीमा सूचीकृत गरेको लुम्बिनी, भगवान बुद्धको जन्मस्थललाई सन् १९९७ मा नेपाल सरकारका आफ्नै पहलमा गरिएका अनुरोधअनुरुप प्रक्रियागत रुपमा नै विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको थियो ।

यसका अतिरिक्त हालसम्म सम्भावित विश्व सम्पदाको सूचीमा सूचीकृत अवस्थामा रहेका राष्ट्रिय सम्पदा स्थलहरूमा मुक्तिनाथ उपत्यका, मुस्ताङको गुफाको कलात्मक वास्तुकला, खोकना गाउँ, गौतम बुद्धको रामग्राम स्तुपा, पनौतीको पूर्व मध्यकालीन संरचना, मध्यकालीन गोरखा दरबार, शाक्यवंशी राज्यको तिलौराकोटको पुरातात्विक भग्नावशेष, मध्यकालीन लोमान्थाङ सहर, मध्यकालीन कीर्तिपुर, नुवाकोट दरबार, रामजानकी मन्दिर, दैलेखको भूर्ति मन्दिर, कुरुक्षेत्रको ऋषिकेश वास्तुकला, सिञ्जा उपत्यका, मध्यकालीन तानसेन सहर, वज्रयोगिनी र शङ्खुको प्रारम्भिक वस्ती छन् ।

लिम्बुवानका सम्पदाहरूको चर्चा

लिम्बुवान पनि प्राकृतिक, साँस्कृतिक र पुरातात्विक मत्वको हिसाबले सम्पन्न भूगोल हो । सम्पदाहरूको प्रकृतिका आधारमा तिनीहरूलाई सूची बनाएर मुख्यतः चार प्रकारमा वर्गीकरण गर्नु उत्तम हुन्छ । ती मुन्धुमी सम्पदा, ऐतिहासिक एवम् पुरातात्विक सम्पदा, मानवनिर्मित सम्पदा र अमूर्त साँस्कृतिक सम्पदा हुन् । त्यसो गरे मात्रै सम्पदाको लेखाजोखा, वर्गीकरण, अभिलेखीकरण र संरक्षण गर्न सम्बन्धित समुदाय, सरकार र सरोकारवाला निकायहरूलाई सहज हुन्छ ।

मुन्धुमी सम्पदा

येवा येमानी, साम्बा र फेदाङ्माहरुले एकराते होस् वा तीन राते तङ्सिङ तक्मा गर्दा मौलिक लयमा मौखिक रुपमा फलाक्दा आउने अनेक भौतिक स्थलहरुसँग याक्थुङ लिम्बु समुदायको जीवन दर्शन जोडिएको छ । ती भौतिक स्थलहरु कुनै गुफा छन्, कुनै भीरपहरामा फैलिएका ढुङ्गा छन् ।

तेह्रथुम जिल्लामा रहेको यो ढुंगामा युवाले तान बुनेको विश्वास गरिन्छ

मुख्यगरी तमोर नदी (इम्बिरि याङ्धाङवा), काबेली नदी (काङ्वा) सेरोफेरोका स्थानलाई याक्थुङ मुन्धुमले सम्बोधन गरेको छ । याक्थुङ लिम्बुहरुलाई मुन्धुमले लुङबोङ्सा–खाम्बोङ्सा(ढुङ्गा माटोका अधिकारी/भूमिपुत्र) भनेर चिनाएको छ ।

याक्थुङ मुन्धुममा सुनसरीको बराहक्षेत्र–कोका नदीदेखि उत्तर ताप्लेजुङको फक्ताङलुङ(कुम्भकर्ण हिम श्रृङ्खला) दक्षिणका अनेक स्थानका वर्णन गरिएको छ । ती भौतिक स्थलहरुको व्यापक बर्णन गर्दै याक्थुङ मुन्धुमले प्रकृति, मान्छे र पशुपंक्षीवीचको इकोसिस्टमसंग जोडेको छ । याक्थुङ मुन्धुमले प्रकृति वा चराचर जगत सन्तुलित हुन आवश्यक सबैथोक हुनै पर्छ भन्छ । पूर्णता वा सम्पूर्णताको सौन्दर्यलाई पुष्टि गर्न अनेक व्यावहारिक कथाहरु छन् ।

यसबारे नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काँइला र डा चैतन्य सुव्वाले थप पुनव्र्याख्या गर्ने प्रयास गरेका छन् ।

याक्थुङ मुन्धुमले भारतमा पर्ने गंगा, जमुना र सरस्वती नदीको वर्णन गर्दैन । फक्ताङलुङभन्दा उत्तर चीन तिब्बतको पनि खासै वर्णन गर्दैन । कोशी–अरुण नदीपश्चिम हुँदै काठमाडौँ उपत्यकासम्मको पनि एक शब्द वर्णन र व्याख्या गर्दैन । किरातकाल, लिच्छवी कालका शासकका बारेमा पनि एक शव्द बोल्दैन मुन्धुम । जे जति जति बोल्छ, व्याख्या र वर्णन गर्छ कोशी–अरुण पूर्वका सङ्खुवासभा, धनकुटा, सुनसरीको उत्तरी क्षेत्र, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापाका उत्तरी क्षेत्रका बारे अनेक पात्र मार्फत आदिम नीति कथादेखि प्राकृतिक घटना शैलीमा मानव सभ्यता विस्तार भएको कुरा गर्छ ।

केही प्रमुख मुन्धुमी स्थल

याक्थुङ लिम्बुका मुन्धुम र इतिहासका अध्येताहरुको बहस र दाबीअनुसार मुन्धुमी स्थल भएका स्थानबाटै याक्थुङ सभ्यताको विस्तार भएको हो । जुन तमोर आसपास पर्छन् । वि.सं. २०१८ सालमा इमानसिङ चेम्जोङले ‘किरात मुन्धुम (किरातको वेद)’ भनेर मुन्धुमी पुस्तक प्रकाशित गरे ।

बैरागी काइँला(तिल विक्रम नेम्बाङ)ले ०५२ सालमा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानबाट ‘तङ्सिङ तक्मा मुन्धुमः आख्यान र अनुष्ठान’ पुस्तक निकाले । सोही वर्ष हरि चोङ्बाङ (सेनछेनहाङ) लेपनि ‘किरात ऐतिहासिक दर्पणः धर्म मुन्धुमको संक्षिप्त वर्णन भाग–१’ मार्फत याक्थुङ मुन्धुमभित्रका महत्वपूर्ण वर्णन लेखे । त्यसयता धेरैले आफ्नै तरिकाले मुन्धुम संकलन गरेर पुस्तकको रुपमा निकालेका छन् । तर कसैले पनि ती मुन्धुमभित्रका अनेक महिला र पुरुष पात्रहरुले जीवन यापन गरेको स्थलहरुलाई भने पहिचान गर्न र विश्लेषण गर्न भ्याएनन् ।

पछिल्लो समय ६० को दशकदेखि केही फरक सोच भएका नयाँ पुस्तामा मुन्धुम भित्र बर्णन गरिएका आदिम पात्रहरुले दैनिक जीवन यापन गरेका स्थलहरू कहाँ पर्छ भनेर सामान्य बहस सुरु गरे । यो बहसलाई आइत खजुम र अर्जुनबाबु माबुहाङ जस्ता युवाहरुले मुन्धुममा वर्णित स्थल पहिचान गर्ने अभियान चलाए ।

हजारौं वर्ष अघिको मुन्धुममा वर्णित पात्रहरुले जीवन यापन गरेको स्थल काल्पनिक नभएर सबैभन्दा बढी त ताप्लेजुङको तमोर र काबेली नदी सेरोफेरोमै रहेको विस्तारै पुष्टि हुँदै आयो । धन्न ताप्लेजुङका स्थानीय याक्थुङ लिम्बु र गैर याक्थुङ लिम्बु बुढापाकाहरुले ती स्थानका नाम अहिले पनि जस्ताको तस्तै सम्बोधन गर्दै आएका रहेछन् ।

मुन्धुममा वर्णित आदिम स्त्री पात्र मुजिङ्ना खेयोङ्ना, उनको छोरा सुसुवेन लालावेन, सुसुवेन लालावेनका चार श्रीमतिहरु जुनबेला विवाह संस्कार स्थापित नभए पनि यौन सम्पर्क गरेका स्त्रीहरु थोसुलुङ्मा फियमलुङ्मा, योसुलुङ्मा मुक्कुमलुङ्मा र उनीहरुका सुसारेहरु, थोसुलुङ्मा पट्टीको छोरा सुच्छुरु सुहाम्फेवा, योसुलुङ्मा पट्टिको छोरी लाहादङ्ना र दुई सुसारेहरुबाट जन्मेका छोराहरु लिङ्दाङखेवा र साङ्दाङखेवाहरुले शिकार गरेर जीविका चलाएकोदेखि विपरित लिङ्गीसंग यौनसम्पर्क गरेको स्थान हालको फक्ताङलुङ गाउपालिकाको सांगुयक कोप्पियक, मुरिङला खारिङ्ला तेम्बे, छिरुवानी, थोकपुन तेम्बे, पिप्पुधापमै पर्छ ।

सुहाम्फेवा र लाहाङ्दनाबीच पहिलो पटक भेट भएको तुम्दुम्सो लालासो भन्ने ठाउँ मुरिङ्ला खरिङ्ला डाँडाको पश्चिम तर्फ पछ भने पहिलो पटक संसर्ग गर्दा हल्लिएको ढुङ्गा काइलुङधुङ साविक लेलेपको गोवाटारमा पर्छ । तमोर किनारमा रहेको काइलुङ लुङधुङ(संसर्ग भएको विशाल ढुङ्गा)मा सुत्दा वा उभिँदा अहिले पनि हल्लिन्छ ।

यो पनि-
याक्थुङ मुन्धुमी स्थल : किताबमा मोटाए, सम्पदामा हराए 

यस्तै बाघ प्रवृत्तिको एक भाइ छोरा केसामी र मानवीय गुण भएको एक भाइ नामसामीगरी दुइ भाइ जुम्ल्याहा छोरा जन्माउने आमा इप्ना सरेधङ्ना (तुम्याहाङ लक्ष्मण मेन्याङ्बोले नामसामी केसामीको आमा खाप्पुना मेल्लङ्नामा पनि भनेका छन्) र दुई दाजुभाइ (पशुत्व र मनुष्यत्व) बीच युद्ध भएको स्थान नामसामीलुङ केसामीलुङ साविक थेचम्बु र नाङखोल्याङको माझमा पर्छ । सिमलको रुख चढेर तीर हानी हिंस्रक दाजुलाई मारेको स्थान साविक नाङखोल्याङको पुच्छर काबेली नदी नजिक सुभेवामा पर्छ । हाल यो स्थान पाथिभरा याङ्वरक गाउँपालिकाभित्र समेटिएको छ ।

मुन्धुममा वर्णन भएअनुसार पाजाइ तेन्दुम्याङ र लुप्लिनामा अदन्ना र पोङ्लिसो अयासक्पा र आङ्गुरी शशीहाङ्मा बीच विवाह गर्ने टुंगो हुनु अगाडि तौलिएको मेन्तुरी नेम्पासाङ्गा साविक लेलेपमा पर्छ । यो तुलो हो । हाल तुलोको रुपमा करिब आठ फुट अग्लो ढुङ्गा अवशेषको रुपमा रहेको छ ।

आदिम स्त्री मुजिङ्ना खेयोङ्ना बयस्क भएपछि संसर्गका लागि आव्हान गर्दै तन्नेरी पुरुष खोज्दै जाँदा रुखको कापमा बसेर सुसेली हाल्दा गोप्य अङ्गमा हावा छिरेर तृप्ति पाएको सुरितथाङ केजङ डाँडा हाल लेलेप साँघुको तल्लो बेल्टमा पर्छ ।

च्याब्रुङ याक्थुङ लिम्बुको मौलिक बाजा हो । यो बाजा बनाएर बज्छ, बज्दैन भनेर पहिलो पटक हङसिङ रुख काटेर भित्र खोली दुईतिर गोरुको छाला मोरेर छालाकै डोरीले तन्काएको स्थान काम्भिलाङ पनि साविक लेलेपमा छँदैछ ।

हालको फक्ताङलुङ गाउँपालिकाको विप्पुधापतिर मेन्दुरीपासाङ्मा छ । बेहुलाबेहुली तौलने त्यो ढुङ्गाको तुलोको एक भाग अझै त्यहीँ छ । विवाह संस्कारको नीति बनेसँगै घर निर्माण सम्बन्धी ज्ञान प्राप्त गरे । सोही गाउँपालिकाको तापेथोक पारी सांगुयक कोप्पीयकमै घर निर्माणको कथा जोडिन्छ ।

गर्भवती अवस्थामा आमा र गर्भको बच्चाको हितमा गर्नुपर्ने कर्मकाण्डहरु (साप्पोक चमेन मुन्धुम) तयार भए । समाज र परिवारकै सदस्यबीच हुने रिस, इर्ष्या, आँखीडाहीका विषयमा नीति तय भए । प्राकृतिक र अप्राकृतिक रुपमा मरिमराउ हुनेहरुको बारेमा फरकफरक अत्येष्टी गर्ने संस्कारहरु तयार भए । प्राकृतिक विपत्ति र अग्रज पूर्वजको गालीसराप नलागोस् भन्नका लागि ‘वादेम्मा’को सुरुआत भयो ।

याक्थुङ लिम्बुहरुले आदिमकालमा पहिलो पटक वादेम्मा (गालीसराप) बगाएको खोलालाई नुक्वा खोला भनेर चिनिन्छ जुन युखावुमा अझै बगिरहेको छ ।

आदिम पुर्खा तेत्लारा लाभियङ्मा (स्त्री)को मृत्युपछि उनका छोराहरु लाकेरेक र नाम केरेक (लुङजेकहाङ र सिङजेकहाङ)ले ओढारमा छाडेर फर्के तर चित्त नबुझेपछि एउटा विधि अपनाएर फेरि चेधाप (शव राख्ने खट) बनाए । मौलिक र मौखिक नीति संस्कार जान्ने अगुवा नावारा उसुक साम्बालाई बोलाएर खाम इङ्मा (चिहान स्थलमा शव गाड्न प्रकृतिसँग अनुरोध गर्ने विधि) अनुसार डाँडामा पुरे । अनि खाउमा–फराक्लो गरे । तेत्लारा लाभियङ्मालाई राखिएको ओढारलाई मुन्धुममा चेजिङ फुक्कु भनिन्छ । त्यो ओढार अझै छ । त्यहाँभित्र कम्तीमा ३५ जना बढी मानिस अटाउन सक्छन् । जुन युखावुकै भएर बग्ने तमोरको किनारमा पर्छ । याक्थुङ लिम्बुले पहिलो पटक खाउमा फराक्लो गरेको खाओलुङ मुरिङला खारिङ्ला डाँडासँगै छ ।

सूचीकरणमा मुन्धुमी स्थल

याक्थुङ समुदायको मौलिकता र आदिम साँस्कृतिक जीवनपद्धतिका लागि सक्रिय संस्था युमा साम्यो महासभाले समेत केही वर्षअघि प्रदेश एकको सरकारलाई मुन्धुमी स्थलहरूको संरक्षणका लागि परियोजनामार्फत् सूचीकरण र संरक्षण गर्ने प्रस्तवा गरेको थियो । परियोजनाको कार्यक्षेत्र नौ जिल्लाहरू(ताप्लेजुङ, संखुवासभा, धनकुटा, तेह्रथुम, पान्थर, इलाम, झापा, मोरङ र सुनसरी) पर्दछन् ।

ती जिल्लाहरूमा निम्न अनुसारका धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वका सम्पदाहरू परियोजनाले समेट्ने उल्लेख गरेको थियो ।

१. पारुङ मारुङलूङ, २. सावान पाङ्भे, ३. थाप्लाङ, ४. थोक्पुन तेम्बे(थोक्चङ), ५. खोङ्सोलुङजङ, ६. लुङइक्वा, ७. खियाजङ, ८. पित्थोसा वरक, ९. सु?लुम्बुङ, १०. सिबेवा, ११. साँगो, १२. मुरिङ्ला खारिङ्ला तेम्बे, १३. खोङ्लिसो तेम्बे, १४. सःसिक् फुक्कु, १५. माङ्यक, १६. लोक्फादेन हाङ्फादेन, १७. नेन्दुरी पासाङगा, १८. निङखुरी फुक्कु, १९. सोधुहाङ लेप्मुहाङ फुक्कु, २०. लेप्चुङ, २१. लुङधुङ, २२. ओमुलुङजङ(रमिते ढुंगो), २३. खाउलुङजङ(शुद्धी गरेको ढुंगो), २४. लाङदेवा वहङ, २५. केखिङतेन्, २६. केक्तुरा फङदुरा, २७. केकेसा?लुङ नाम्सा?लुङ, २८. खाम्बुचङ, २९. मेन्छ्यायेम थेगु, ३०. सेहोनाम्लाङ, ३१. सावानेपा(साङ्वानेवा) वरक, ३२. थरगत/वंशगत माङगेन्ना यकहरू, ३३. माङयुक्नाहरू, ३४. पेन्बेनलुङ फक्ताङलुङ, ३५. तिम्बुङ वरक, ३६. ताप्के वरक, ३७. निगुरादेन, ३८. साप्चङमा, ३९. कुम्मायक कुस्सायक, ४०. साम्लो लुङधुङ, ४१. पान्दोलुङ, ४२. मित्लुङ, ४३. इङलेक्मादेन, ४४. याक्पेली सबेल्लीसिङ, ४५. मेल्लङ तेम्बे, ४६. युमिक्बा वरक, ४७. सोदो वरक, ४८. सिरिजङ्गा फुक्कु, ४९. सुम्दाङ लुङ, ५०. वागुवा वरक, ५१. नाम्लाङ, ५२. वाफेलुङ, ५३. युमा वरक(युमाले उमारेको पानी), ५४. हाङसेम्मालुङ, ५५. थाकखिलुङ, ५६. थाक थाक्मादेन, ५७. थाक्खिवरक, ५८. सिन्धोलुङ वसाङलुङ/वसाङलुङ पयङलुङ, ५९. याभुत्लुङ फावामा, ६०. साम्माङ खाः/साम्माङ खुः, ६१. मुराहाङ, ६२. सुहा?लुङ, ६३. अदोफुक(मुजिङना खेयोङना दबिएर गएको ठाउँ), ६४. सेवाङ तेम्बे–सेवाङफुको(सुसुवेङ लालावेङ जन्मिएको ठाउँ), ६५. खर्बाथक, ६६. लुङसुम्बाङ, ६७. फाक्सालुङ, ६८. पदकलुङ, ६९. काङवान युङवाना यङघङ, ७०. खाम्बु?लिङ नाहाङ्मा यक, ७१. मिक्लाजोङ, ७२. ताङ्गे?लुङ, ७३. मावरक पावरक, ७४. हाम्बेकहाङ फुक्कु, ७५. तुङदुङे साम्माङ फुक्कु, ७६. साम्सिङ्गो, ७७. थालाचेप्पा, ७८. मुयालुङ, ७९. येमासेन, ८०. येमाचेप्पा लुङ, ८१. पित्तोनदेन, ८२. चेग्रा, ८३. मेयङलुङ, ८४. कान्दया पप्पा, ८५. याक्वावरक(विजयपुर), ८६. साराङ यक, ८७. थाङसामा वरक, ८८. पोरोक्मी यम्भामी फुक्कु, ८९. केबावा, ९०. सेगेक् सुरुङमा, ९१. हाङ चुम्लुङ, ९२. फचङमादेन, ९३. येत्चेङमा, ९४. तुम्फुङला(कानायङवा मारिएको ठाउँ), ९५. केप्चेबुङ (तुङदुङङेको च्याब्रुङ रहेको ठाउँ), ९६. कोम्भा, ९७. मेन्धुप्पा सङ्गम्बो(सिसाङ्वा र हाङसाङवाको बीचमा अवस्थित केवाफुङ साम्लो गरेको ठाउँ), ९८. इसाङलुङ फालेलुङ आदि ।

त्यस्तै, युमासँग सम्बन्धितहरूमध्ये –

९९. किङगिङलुङ, १००. नियारा यक्चेयक, १०१. थाक्सिबोमा, १०२. ताङगेलुङ, १०३. याःसक, १०४. युमा वाधाम्, १०५. थाक्केलुङ, १०६. थाक्केचोक, १०७. युमायुक्ना, १०८. थाक्केसिङमा लगायत ५०० बढी स्थलहरूको समेत संरक्षण, सम्वर्धन एवम् विकासका लागि आवश्यक कार्यहरू गरिने महासभाले परियोजनामा उल्लेख गरेको थियो ।

ऐतिहासिक एवम् पुरातात्विक सम्पदा

लिम्बुवानको ऐतिहासिक एवम् पुरातात्विक सम्पदामा विशेषतः याक्थुङ इतिहासका आधुनिककालका संरचनाहरू पर्छन् । सावा येत्हाङकालका आठ शक्तिशाली शाषकहरू येत्हाङमा ताप्पेसो लुङमाहाङ, सगहिम्सो सङ्मिहाङ, नियारा थक्चङहाङ, लालासो पाङबेन्हाङ, खेच्चुवत् उप्पनहाङ, साउन्दु उन्दुहाङ, साङ्गेन्हाङ पाङ्गेन्हाङ, सेन्छेरे सेनिहाङका गढीहरू यसमा पर्छन् ।

येत्हाङपछि थिवोङ याक्थुङ(दश लिम्बु)हरू साप्लुप्लि साम्बाहाङ(तम्बरखोला थुम), सिसेयेन् सिरेङहाङ(मिवा/मैवालखोला थुम), थक्थक्सो आङवोहाङ(आठराई थुम), थिन्दोलुङ खो?याहाङ(याङरुप थुम), इङासो पापोहाङ(पान्थर थुम), सेन्सेन्गुम फेदापहाङ(फेदाप थुम), इमेहाङ(चारखोल थुम), सोइयाक लादोहाङ(चौबिस थुम), ताप्पेसो पेरुहाङ(तेह्रथुम/थला यक) र ताक्लुङ खजुमहाङ(छथर थुम)का गढी या किल्लाहरू सबै सम्पदामा पर्छन् ।

यिनीहरू प्रागऐतिहासिक महत्वका सम्पदा र स्थलहरू हुन् । यसैगरी, तिल्लिङजङ्गु मुबेरुहाङको तिल्लिङटार, छथरका आपेङ राजाको यक्, इम्बिरी याङ्धाङ्वा क्षेत्रका खेदुवाहाङ, याङलिगेकहाङ, साङदुम्बे र वाङदुम्बेका इलाका, धनकुटा बुद्धिमोरङ(साँगुरीगढी गाउँपालिका)का मरङहाङ राजा बस्ने चेघ्रा यक, चेघ्रादेखि पश्चिमको चक्रक डाँडा(सुलिकोट), पापोहाङको यक्(आठराई) र नेम्बाङ राजा पाथोङहाङलाई अपदस्त गर्दै राज गरेको गढी एवम् पापो, थेगिम र नेम्बाङहरूको नाहाङ्मा यक् (फेदेन), चुक्निबा र लात्तिबा पुख्र्यौली थलो इधुङयक नाम्फुनयक्, हाङथक्वा, इलामको आङदाङ गढी, खेबाङका लेच्छेहाङ खेच्छेहाङ राजाका दरबार, हिरिङकाजी राजाले दोषीहरूलाई कुटेर मार्ने तावालुङ, मिक्वाखोलका पोरिहाङको ढुङ्गे दरबार आदि पनि यहीँ कालका सम्पदामा पर्छन् ।

याङरुपका प्रतापी राजा हिल्लिहाङ योङहाङको दरबार, विजयपुरका विजयनारान राय लिम्बुले स्थापना गरेको विजयपुर दरबार पनि सम्पदाका रूपमा लिन सकिन्छ । उनीहरू थिवोङ याक्थुङकै उत्तराधिकारीहरू पनि हुन् । यसैगरी, संखुवासभाको बाह्रबिसे बजार जहाँ लिम्बुवानका सरदार काङ्सोरे र गोर्खाली सरदार रघु रानाबीच युद्ध भएको थियो ।

सिद्धिपुर गढीस्थित योद्धाहरूले आफ्ना हतियार धार लगाएको विशाल ढुंगा, चैनपुर गढी, छथरस्थित खेवाको ताक्लुङ गढी, फेदापमा ताप्पेसो पेरुहाङको गढीको अवशेष, सुम्जिरी सुम्हा?लुङ, मावर पावरक, राजा ओझाहाङको दरबारलाई सूचीकृत गर्न सकिन्छ । यसैगरी, सिरिजङगा लिपिका आविष्कारक, विकासकर्ता र प्रचारक सिरिजङ्गा सिं थेबेसँग सम्बन्धित रहेका ओढार, ढुङ्गा, खेत आदिलाई पनि ऐतिहासिक स्थलका रूपमा संरक्षण गर्न सकिन्छ ।

मानवनिर्मित सम्पदा

ऐतिहासिक, पुरातात्विक र मुन्धुमी स्थलहरूबाहेक आधुनिक र समसामयिककालमा निर्माण भएका याक्थुङसँग सम्बन्धित स्थल या सिर्जनाहरूलाई पनि सम्पदाका रूपमा समेट्न सकिन्छ । विश्व सम्पदा सूचीमा कतिपया मानवनिर्मित संरचनाहरू पनि परेका छन् ।

लिम्बुवानको हकमा समेत खासगरी राणाकालपछाडि निर्माण भएका संरचना, स्थल र वास्तुकलाहरूलाई मानवनिर्मित आधुनिक सम्पदाका रूपमा लिन सकिन्छ । तेह्रथुमको लालाीगुराँस नगरपालिकाभित्र करिब १५० रोपनीमा निर्माण भएको याक्थुङ सँस्कृति झल्काउने चो?लुङ पार्क, इलामको माङ्सेबुङमा किरात धर्मावलम्बी/सत्यहाङ्मापन्थीहरूले निर्माण गरेको लारुम्बा, धरान उपमहानगरपालिकाको कागुनेमा १८ कट्ठा जग्गामा निर्माण भइरहेको सावायेत्हाङ पाङ्भे(आठ राजा बस्ने गाउँ), विभिन्न याक्थुङ व्यक्तित्वको स्मृतिमा बनाइएका शालिक, संरचना, पोखारी, बगान आदिलाई मानवनिर्मित सम्पदाका रूपमा राख्न सकिन्छ ।

अमूर्त साँस्कृतिक सम्पदा

सन् २०१२ मा किरात याक्थुङ चुम्लुङले याक्थुङ समुदायको अनुष्ठानमा प्रचलित मौखिकशास्त्र मुन्धुमलाई विश्व अमूर्त साँस्कृतिक सम्पदाको सूचीमा समावेश गराउन नेपाल सरकारसमक्ष माग गरेको थियो । युनेस्कोले सन् २००३ मा पारित अमूर्त साँस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धिअन्तर्गत युनेस्को सूचीमा समावेश गराउन माग गरेको थियो ।

चुम्लुङको आठौँ महाधिवेशनको प्रस्तावसँगै मुन्धुमका विज्ञहरू सम्मिलित धरानमा भएको याक्थुङ मुन्धुमको राष्ट्रिय गोष्ठीले मानवताको मौखिक र अमूर्त सम्पदाको श्रेष्ठ कृतिका रूपमा मुन्धुम भएको ठहर गरेको थियो । महासन्धिको धारा २ को उपधारा २ मा उल्लिखित ५ परिभाषामध्ये मुन्धुमले ३ वटा परिभाषाको मापदण्ड पूरा गर्छ । तीमध्ये कुनै एकभित्र पर्ने पनि सम्पदा हुने प्रावधान छ ।

अमूर्त सांस्कृतिक सम्पदाको संवाहकका रूपमा भाषासहितका मौखिक परम्परा तथा अभिव्यक्ति, सामाजिक व्यवहार, अनुष्ठान तथा चाडपर्वका उत्सवलाई युनेस्कोले सम्पदाका रूपमा परिभाषित गरेको छ । यस्तै प्रकृति र ब्रह्माण्डसम्बन्धी ज्ञान तथा व्यवहार त्यसमा छन् । श्रुति परम्पराका रूपमा साँस्कृतिक अनुष्ठान पर्वहरूमा प्रचलित मुन्धुममा ब्रह्माण्डको सृष्टि, मानव उत्पत्ति, सभ्यताको विकासका आख्यानहरू छन् ।

सृष्टिकर्ताका दूत मानिने येबा, येमा, साम्बा, फेदाङ्माद्वारा सांस्कृतिक अनुष्ठानमा मुन्धुम फलाकिने गरिन्छ । पछिल्लो समयमा यसलाई लिपिबद्ध गरिए पनि यसको मौलिक मौखिक परम्परामा केन्द्रित रहेकाले लोप हुने जोखिममा छ । मुन्धुम सङ्गीतलाई पनि अमूर्त साँस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्न सकिन्छ । यसमा भएका लय, वाचन पद्धति, सङ्गीत पनि अन्यभन्दा भिन्न छ ।

संरक्षण र सम्वर्धन को सवाल

राज्य र गैरराज्यको लामो समयको उदासीनता र अनुदार नीतिका कारण ऐतिहासिक स्थल, प्राकृतिक स्रोत, चिहान, समाधिस्थल, मुन्धुमी तथा पुरातात्विक स्थलहरूको पर्याप्यत मात्रामा संरक्षण, सम्वर्धन, प्रवर्धन र प्रचार हुन नसकेको हो । यी स्थल तथा संरचनाहरू समुदायको सम्पत्ति मात्रै नभएर प्रदेश, देश र विश्व मानव सभ्यताकै निधि हुन् । यी स्थलले याक्थुङ समुदायलाई लिम्बुवानको भूमिपुत्र वा आदिवासी/मूलवासीका रूपमा पनि स्थापति गर्दछ । याक्थुङ मानवपूर्खाद्वारा आर्जित अमूल्य सम्पत्ति हो मुन्धुम ।

मुन्धुमलाई आफ्नो जीवनदर्शन तथा समाज र समुदायकै मार्गदर्शक मानेर बाँचिरहेका याक्थुङ लिम्बुहरु मुन्धुमलाई नै मूल मियो मान्दछन् । पछिल्लो समयमा मुन्धुमसम्बन्धी निक्कै महत्वपूर्ण खोज, अन्वेषण तथा अनुसन्धानहरु भएका छन् । स्थानीय सरकार, प्रदेश र संघीय सरकारले मुन्धुमी स्थलहरूलाई संरक्षण गर्दै मूर्त र अमूर्त सम्पदाका रुपमा प्रचार गरेर आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकेको छैन । त्यसतर्फ पनि कम ध्यान दिएको छ । पुरातत्व विभाग नेपालको प्राचीन ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक सम्पदाको लेखाजोखा, वर्गीकरण तथा संरक्षणका लागि काम गर्ने सरकारी निकाय हो ।

वि.सं. २००९ देखि २०३८ सम्म शिक्षा मन्त्रालय र पछि वि.सं. २०६८ यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको छ । विभागले मुन्धुमी तथा ऐतिहासिक स्थलहरूको संरक्षण, सम्वर्धन र प्रवर्धनका लागि प्रचलित अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गरेर उत्खनन र अन्वेषणको कार्यको सञ्चालन गर्नुपर्छ । यसका लागि याक्थुङ समुदायको प्रथाजनित संस्था र प्रतिनिधिमूलक संघसंस्थाहरूसँग समन्वय र सहकार्य गरेर जानुपर्छ ।

आदिवासीहरूको भूमि, संस्कृति, सामूहिक अधिकार, परम्परागत संस्था तथा कानून र अभ्यासको अधिकारलाई सुनिश्चित गर्दै उनीहरूको सामाजिक इतिहास, अस्तित्व र प्राचीन पहिचानसँग सरोकार राख्ने स्थल, क्षेत्र र भूगोल भएको हुनाले राज्यले नै स्थानीय र प्रादेशिक तहमा सूचीकरण र अभिलेखीकरण गर्नुपर्छ । यी स्थलहरू सम्बन्धित समुदायबाहेका समुदायमा हस्तान्तरण हुन नसक्ने गरी करार गर्नुपर्छ । यसको स्वामित्व सम्बन्धित समुदायमै रहने गरी कानूनहरू निर्माण गरिनुपर्छ ।पहिचानलाई साँस्कृतिक पर्यटन र जनजीविकासँग जोड्नुपर्छ ।

पहिले पहिले येवा येमानी, साम्बा र फेदाङ्माहरुले आफ्नो मौलिक शैलीमा फलाक्दा आउने भौतिक स्थलहरु र ती भौतिक स्थललाई सभ्यताको रुपमा विस्तार गर्ने याक्थुङ लिम्बुका पुर्खाहरुका नाम सुन्दा काल्पनिक लाग्ने गरेको थियो । माया र एज्टेक, मिश्र, बेविलोन, मेसोपोटामिया, लुम्बिनी, ह्वाङ् हो देखि महेन्जोदाडो हरप्पा हुदै सिन्धुको सम्यताबारे व्यापक खोज अनुसन्धान भइरहँदा याक्थुङ मुन्धुमले बर्णन गरेका भौतिक स्थलहरुबारे याक्थुङ समुदाय र राज्य दुवै जिम्मेवार बन्नुपर्छ ।

यी भौतिक स्थलहरुसंग जोडिएका मुन्धुमी कथाहरूले मानव संस्कृति, संस्कार विकास हुनु केही अघिका र आचरणको वर्णन गर्दै क्रमागतरुपमा संस्कृति र संस्कारको रुपमा विकास भएका विवाह, परिवार, साइनो सम्बन्धका निर्माण समयलाई वर्णन गर्छ । याक्थुङ समुदायले भोगेका ज्ञान र अनूभुतिलाई जीवन यापनको सीप अवसरको रुपमा स्थापित गर्दै मौखिक रुपमा एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गर्ने चलन अहिले पनि छ ।

लिम्बुको मिङ्स्रा (वंश रपुस्तौली) पहिलो पूर्खादेखि माथिका नाम पहाड, ओढार, खोला, नदी, पोखरी, पशुपन्छीसँग जोडिन्छन् । पूर्खाहरूको आत्मा पोखरी, नदीखोला, ओढार, पाहाड, हिमाल, रुखपात, पशुपन्छीजन्य वा सिङ्गो प्रकृतिमा बसेको विश्वास गरिन्छ । लिम्बु जातिका लागि प्रकृति पवित्र छ । त्यस्ता पवित्र स्थलहरू बढीजसो पहाड, हिमाल, खोला, नदी, पोखरीसँग सम्बन्धित छन् । यस्ता ठाउँ मुन्धुमी ज्ञानबाट निर्देशित छन् र यस्ता ठाउँहरू नै मुन्धुमीस्थल हुन् ।

याक्थुङहरूको भूमिलगायतका सम्पूर्ण सामूहिक अधिकार संरक्षणको लागि राज्यले गरेको उपेक्षाहरूलाई ज्ञात गराउन संघका मन्त्रालयहरू, संसदीय समितिहरू, एक नम्वर प्रदेशको मुख्यमन्त्रीको कायालय, संघ र प्रदेशका सांसद, जिल्ला प्रशासन कार्यालय, नगरपालिका, गाँउपालिकाहरूलाई ध्यानाकर्षण गराउन सक्नुपर्छ । लिम्बुवानका महत्वपूर्ण सम्पदा र स्थलहरूलाई प्रदेश, देश र विश्वको सम्पदा सूचीमा सूचीकृत गराउनुपर्छ ।

पाथीभरा डाँडो

उपसंहार

हिजोको सावा येहाङ रआदिम आठ पूर्खाकालमा मुन्धुमी सभ्यताको निर्माण भयो । ताप्लेजुङको इखाबु, ताप्पेथोक, लेलेप, लुङधुङ, अथवा तमोररथाङ्वा पुम्माले सिञ्चिएका क्षेत्रहरू सावा येहाङ मुन्धुमी सभ्यता उमार्ने, हुर्काउने पवित्र स्थल हुन् ।

मुन्धुमी पहिलो मानव मुजिङ्ना खेयोङना, उनका छोराबुहारीहरू सुसुवेङ लालावेङ, फियामलुङमा, मुक्कुमलुङमा, त्यसपछिका सन्तानहरू छुच्छुरु सुहाम्फेबा, तेत्लारा लाहादङना र त्यसपछिका पुस्ता मिक्नुसो लुम्माहाङ, लालासो पाङबोहाङ, नियारा थोक्चङहाङ, सगिम्सो सङिमहाङ, फुरुप्सो थेजङहाङ, खेच्चुयेत उप्पानहाङ, साउन्दु उन्दुहाङ, सेच्छेरे सेनिहाङ यी आठ याक्थुङ्बा लिम्बुहरू नै सावा येहाङ थिए । सावा येहाङहरूले आफू बाँच्नका लागि प्रकृतिसँग सामना गरेको संघर्षलाई नै सावा येहाङकाल सभ्यता थियो ।

तर, आज यस्ता सेहाङ सभ्यताका मुन्धुमी स्थलहरू, मुन्धुमी ज्ञान नष्ट भइरहेका छन् । एकातिर बाह्य धर्मको साँस्कृतिक आक्रमण छ भने आन्तरिक रूपमा समेत साँस्कृतिक र धार्मिक विचलनहरू देखा परेका छन् । नेपाल सरकारले २०७७ वैशाख १ गते गठन गरेको भूमि आयोगले पर्ति वा सार्वजनिक जग्गाहरू के कति छन् भनेर स्थानीय तहबाट लगत संकलनार्थ सर्कुलर जारी गरेपछि याक्थुङ(लिम्बू) हरूले विरोध जनाएका पनि थिए ।

याक्थुङ (लिम्बू)समुदायको ऐतिहासिक मुन्धुमी स्थलहरू, धार्मिक, सास्कृतिक स्थल, समाधिस्थल, प्रथाजनित भूमिहरू याक्थुङ आदिवासीहरूले सदियौकालदेखि सामुहिक रुपमा उपभोग गर्दै आएको जग्गा भएको र सरकारको ऐन कानूनले व्याख्या गरे जस्तो पर्ति वा सार्वजनिक जग्गा होइन ।

सामुहिक रुपमा समुदायहरूले उपभोग गर्ने प्रचलन आदिवासी याक्थुङहरूको प्रचलनलाई ऐन कानुनले नबुझ्ने भएकाले भूमि आयोगको काम कारवाहीको विरोधाभाषपूर्ण छ याक्थुङहरूले सामुहिक रुपमा उपभोग गर्दै आएको परम्परागत भूमिहरू, मुन्धुमी स्थल, समाधिस्थलहरू समुदायको नाममा गाउँपालिका, नगरपालिकाहरूले दर्ता गर्नुपर्छ ।

मुन्धुमी तथा ऐतिहासिक स्थलहरूको सूचीकरणपछि सम्बन्धित समुदायको सहभागिता, स्वामित्व र अपनत्व ग्रहणपश्चात राज्यले बृहत परियोजनामार्फत् संरक्षणका लागि नीति निर्माण गर्नुका साथै प्राथमिकीकरण गर्दै कार्यान्वयनमा लैजानुपर्छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ५ : २८ बजे

पीएम कप : पुलिस क्लबले दियो कर्णालीलाई १४८ रनको लक्ष्य

घोराही– दाङको लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा

मधेस प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

जनकपुरधाम– मधेश प्रदेशसभाको बैठक विपक्ष र सत्तापक्षबीच सहमति नजुटेपछि अनिश्चितकालका लागि

घरबाट कसरी भगाउने साङ्ला ?

काठमाडौं–  गर्मी मौसम सुरु हुदैँछ, गर्मीमा धेरैलाई चिन्ता हुन्छ कि साङ्ला

राजनीतिमा हावा चल्दा शेयर बजारमा सुनामी

काठमाडौं – गत असार २९ गते नेकपा (एमाले)ले माओवादी केन्द्रसँगको

मस्कुलर डिष्ट्रोफीको पहिचान र उपचारका लागि डा.अग्रवालको नेतृत्वमा सुझाव समिति गठन 

काठमाडौं– मानिसको मांसपेशी कमजोर बनाउन कारक जटिल रोग मस्कुलर डिष्ट्रोफीको