काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले केन्द्रीय अस्पतालहरूको क्यान्टिनको सरसफाइको अवस्था सन्तोषजनक नरहेको बताएको छ ।
विभागले वैशाख ८ र ९ गते क्रमशः वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टर, र शिक्षण अस्पताल, महाराजगन्जमा सञ्चालित चमेना गृहहरूको स्थलगत निरीक्षण अनुगमन तथा खाद्य पदार्थको नमुना परीक्षण गरेको थियो ।
सो निरीक्षणमा क्यान्टिनको सरसफाइको अवस्था खराब पाइएको हो । वीर अस्पतालस्थित सुनिल क्यान्टिनमा अनुगमन गर्दा सरसफाइमा सुधार गर्नुपर्ने देखिएको, केही खाद्य पदार्थमा लेबल विवरण पूर्ण नभएको, खाद्य पदार्थ सञ्चयन तथा प्रयोग गरेको, भाडा धुने तथा खाना पकाउने ठाउँ सँगसँगै रहेको, पकाएको र नपकाएको खाद्य पदार्थ सँगसँगै भण्डारण गरेको पाइएको विभागले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
उक्त क्यान्टिनमा बिक्री वितरण भइरहेको पिउने पानीको ३ वटा, दूध, मह र तेलको एक एक वटा नमुना विभागको मोबाइल फुड ल्याब भ्यानमा परीक्षण गरेको थियो । विभागले ती नमुनामा कैफियत नपाएको जनाएको छ । सो क्यान्टिनलाई सरसफाइमा सुधार गरी खाद्य स्वच्छता ध्यान दिन, पकाउने र भाँडा माझ्ने ठाउँ छुट्टाछुट्टै राख्न र लेबल विवरण पूरा भएका खाद्य पदार्थ प्रयोग गर्न विभागले निर्देशन दिइएको छ ।
यस्तै वीर अस्पतालमा सञ्चालित गुजेश्वरी होटल प्रालि र वीर अस्पताल शाखा निरीक्षण अनुगमन गर्दा सरसफाइमा सन्तोषजनक नरहेको, दूधमा लेबल विवरण पूर्ण नभएको, फ्रिजमा भण्डारण व्यवस्थित नपाइएको तथा पकाएको र नपकाएको खाद्य पदार्थ सँगसँगै भण्डारण गरेको पाइएको थियो । उक्त होटलबाट दूध र तेलको १-१ वटा नमुना विभागको मोबाइल फुड ल्याब भ्यानमा परीक्षण गरिएको र नमुनामा कैफियत नपाइएको विभागले जनाएको छ ।
सो होटललाई सरसफाइमा सुधार गरी खाद्य स्वच्छता ध्यान दिन, पकाउने र भाँडा माझ्ने ठाउँ छुट्टाछुट्टै राख्न र लेबल विवरण पूरा नभएका खाद्य पदार्थ नष्ट गरी पूर्ण लेबल विवरण भएको खाद्य पदार्थ प्रयोग गर्न विभागले निर्देशन दिइएको छ । उता शिक्षण अस्पताल महाराजगन्जको एम बी चमेना गृह निरीक्षण अनुगमन गर्दा सरसफाइ तथा ड्रेनेजको अवस्था सुधार गर्नुपर्ने देखिएको समेत विभागले जनाएको छ । चमेना गृहको झ्याल तथा ढोकामा जाली लगाउनुपर्ने, फोहोर व्यवस्थापनमा सुधार गर्नुपर्ने र भुईँको टायल फुटेको पाइएको विभागले जनाएको छ ।
उक्त क्यान्टिनबाट पिउने पानी, दूध र तेलको १-१ वटा नमुना मोबाइल फुड ल्याब भ्यानमा परीक्षण गर्दा कैफियत नपाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । सो चमेना गृहलाई सरसफाइ तथा ड्रेनेजमा सुधार गर्न, फोहर व्यवस्थापन र भुईँ भित्ताका टायल मर्मत गरी सुधार गर्न निर्देशन दिइएको समेत उनले बताए ।
यसैगरी शिक्षण अस्पतालमै सञ्चालित सिद्धार्थ स्वीट एन्ड बेक्स प्रालि निरीक्षण अनुगमन गर्दा सरसफाइमा सुधार गर्नुपर्ने देखिएको विभागले जनाएको छ । त्यहाँ खाद्य पदार्थमा लेबल विवरण पूर्ण नभएको र खाद्य पदार्थ सञ्चयन तथा प्रयोग गरेको र भाडा माझ्ने तथा खाना पकाउने ठाउँ सँगसँगै रहेको पाइएको विभागले जनाएको छ ।
उक्त क्यान्टिनमा प्रयोग गरिरहेको तेलको एउटा नमुना परीक्षण गरिएकोमा कैफियत नपाइएको विभागले जनाएको छ । सो क्यान्टिनलाई सरसफाइमा सुधार गरी खाद्य स्वच्छतामा ध्यान दिन, खानेकुरा पकाउने र भाँडा माझ्ने ठाउँ छुट्टाछुट्टै व्यवस्था गर्न र लेबल विवरण पूरा भएका खाद्य पदार्थ प्रयोग गर्न निर्देशन दिइएको महर्जनले जानकारी दिए ।
प्रतिक्रिया