काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको ७६ वर्ष पूरा भएको छ । यो अवधिमा कम्युनिस्टका २० घटक अस्तित्वमा छन् । यहीबेला नेपालमा पुरानो व्यवस्था फर्काउने भन्दै राजावादी शक्ति सडकमा निस्किएका छन् ।
१८ वर्ष अगाडि जनताले फालेको राजतन्त्र फर्काउने नाममा विभिन्न शक्ति सडक आन्दोलनमा निस्किएका बेला उनीहरूलाई काउन्टर दिन कम्युनिस्टहरू एक भएर जानुपर्ने देखिन्छ । तर यसो हुन सकेको छैन । बरु कम्युनिस्ट पार्टीका नेताहरूबीच मत–मतान्तर र बोलचाल नै बन्द हुने अवस्था हुँदा अन्य शक्तिहरूले फाइदा उठाइरहेका छन् । यस्तैमा मंगलबार भएको कम्युनिस्ट पार्टीको ७६ औँ स्थापना दिवस कम्युनिस्ट दलले अलग–अलग कार्यक्रम गरेर मनाएका छन् ।
कम्युनिस्ट आन्दोलन अगाडि बढाउन सबै कम्युनिस्ट पार्टी एक भएर जानुपर्ने हो । तर जुँगाको लडाइँका कारण एक हुनुपर्ने कम्युनिस्ट पार्टीका नेताहरूले बर्सेनि पार्टी फुटाइरहेका छन् । ०८१ मा पनि एमालेबाट अलग भएर डा. भीम रावलले नयाँ घटक जन्माएका छन् । उनको प्रस्तावित पार्टीको नाम ‘मातृभूमि जागरण अभियान’ हो ।
यता एकीकृत समाजवादीसँग मिल्ने कुरा गरेर वार्ता अगाडि बढ्दा एमालेसँग नजिकिएका वाम नेता वामदेव गौतम न यता न उता भएर बसेका छन् ।
इतिहास र वर्तमान

पूष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकातामा विसं २००६ वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो ।
देशमा राजतन्त्र ढलेर गणतन्त्र आएको छ । तर, कम्युनिस्टले भन्दै आएको सामाजिक न्यायको महसुस भने जनताले गर्न सकेका छैनन् । यसै कारण राजावादी शक्तिले शिर उठाएको देखिन्छ । अझ भनौँ २० थरी कम्युनिस्ट पार्टीको विधानमा सर्वहारा जनताको पार्टी भन्ने उल्लेख भएपनि पछिल्लो समय यी पार्टीहरूलाई जनताले सामन्त पार्टीको संज्ञा दिन थालेका छन् । कारण कम्युनिस्ट पार्टीका नेताहरू जनताको लाभमा भन्दा व्यापारी, बिचौलिया र दलालको स्वार्थमा चलेको तथ्यहरूले देखाएका छन्।
यो अवधिमा ०४८ सालयता कम्युनिस्ट नेताहरू बारम्बार सरकारमा गएका छन् । कम्युनिस्ट पार्टीबाटै छ जना प्रधानमन्त्री र एकजना राष्ट्रपतिसमेत भइसकेका छन् ।
मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, पूष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई र अहिले केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । तर कम्युनिस्ट आन्दोलन झन्–झन् धराशायी बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।

अहिलेका प्रधानमन्त्री ओली देशको सबैभन्दा ठूलो कम्युनिस्ट घटकका अध्यक्ष हुन् । यतिमात्र होइन कम्युनिस्ट पार्टीबाटै विद्या भण्डारी दुई पटक राष्ट्रपति बनिसकेकी छन् । तर, प्रश्न छ– कम्युनिस्टहरू सरकारमा हुँदा पनि किन जनताले पुँजीवादीको सरकारकै जस्तो स्थिति भोग्नु परिरहेको छ ? कम्युनिस्ट पार्टी मिलेर सरकार बनाउनु पर्नेमा किन विचार र सिद्धान्त अलग भएका पार्टीहरू सरकारमा छन् ? कम्युनिस्ट पार्टीहरूले सरकारमा गएर पनि किन राम्रोसँग काम गर्न सकेनन् ? यो विषय अहिले बहसको रूपमा चलिरहेको छ ।
यी हुन् नेपालका कम्युनिस्ट घटक
१ नेकपा एमाले : अध्यक्ष केपी शर्मा ओली
२ नेकपा माओवादी केन्द्र : पूष्पकमल दाहाल प्रचण्ड
३ नेकपा एकीकृत समाजवादी : माधव नेपाल
४ नेपाल मजदुर किसान पार्टी : नारायणमान बिजुक्छे
५ क्रान्तिकारी कम्युनिस्ट पार्टी : मोहन वैद्य
६ राष्ट्रिय जनमोर्चा : चित्रबहादुर केसी
७ नेकपा मसाल : मोहनविक्रम सिंह
८ नेकपा संयुक्त : चन्द्रदेव जोशी
९ नेकपा बहुमत : हेमन्तप्रकाश वली
१० नेकपा : नेत्रविक्रम चन्द विप्लव
११ नेकपा माले : सिपी मैनाली
१२ नेपाल कम्युनिस्ट पार्टी : ऋषि कट्टेल
१३ नेकपा माओवादी : गोपाल किराँती
१४ वैज्ञानिक समाजवादी पार्टी : विश्वभक्त दुलाल
१५ नेकपा माक्र्सवादी : लोकनारायण सुवेदी
१६ आम जनता पार्टी : प्रभु साह
१७ नेकपा एकता राष्ट्रिय अभियान : वामदेव गौतम
१८ नेपाल समाजवादी पार्टी नयाँ शक्ति : बाबुराम भट्टराई
१९ नेपाल समाजवादी पार्टी : महेन्द्रराय यादव
२० मातृभूमि जागरण अभियान : डा. भीम रावल
यो पनि-
कलकत्ते कम्युनिष्ट : जन्मैदेखि झगडिया
नेकपा एमाले नेपालको पहिलो ठूलो कम्युनिस्ट पार्टी हो । प्रतिनिधि सभामा यसको ७९ सिट छ । अहिले यो पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । भारतीय कम्युनिस्ट नेताहरूको प्रेरणा र माक्र्सवादको अध्ययनपछि पूष्पलाल श्रेष्ठको नेतृत्वमा विसं २००६ मा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायण विलास जोशीको साथ लिएर नेकपा स्थापना भयो ।
पार्टी महासचिवमा पूष्पलाल आफैँ चुनिए । त्यसपछि एमाले निरन्तर अगाडि बढिरहेको छ । एमालेमा मदन भण्डारी, मनमोहन अधिकारीलगायत नेताहरूले नेतृत्व गरिसकेका छन् । यस्तै १५ वर्ष महासचिव चलाएका माधव नेपाल अहिले एमालेबाट बाहिर छन् ।

एमालेबाटै मनमोहन अधिकारी, झलनाथ खनाल, माधव नेपाल र केपी शर्मा ओली गरी चारजना प्रधानमन्त्री बनिसकेका छन् । कम्युनिस्ट एकता हुनका लागि अहिले एमालेले ‘लिड’ गर्नुपर्ने हो तर एमाले नेताहरू नै कम्युनिस्ट पार्टी एकताको पक्षमा छैनन् ।
यसबारे प्रश्न गर्दा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भन्छन्, ‘अहिले तत्काल एकता कसैसँग सम्भव छैन । एमाले आफू नै ०८४ मा एकल बहुमत ल्याउने योजनामा छ । ०७४ को वाम एकताले के पाइयो र हतार हुन्छ ।’
एमालेबाट छुटेका ५ हाँगा
१ नेकपा एमाले : केपी शर्मा ओली
२ नेकपा एकीकृत समाजवादी : माधवकुमार नेपाल
३ आम जनता पार्टी : प्रभु साह
४ मातृभूमि जागरण अभियान : डा. भीम रावल
५ नेकपा एकता राष्ट्रिय अभियान : वामदेव गौतम
नेकपा माओवादी केन्द्र अहिले कम्युनिस्ट पार्टीमध्ये संसद्को दोस्रो ठूलो दल हो । प्रतिनिधि सभामा ३२ सिट माओवादीको छ । ०७९ को निर्वाचनपछि यसै पार्टीबाट अध्यक्ष भएका पूष्पकमल दाहाल प्रधानमन्त्री बनेका थिए ।

असार ३० गतेबाट मात्र ओली बनेका हुन् । सन् १९९४ मा नेपाल कम्युनिस्ट पार्टी एकता केन्द्रबाट अलग भएर माओवादी केन्द्रको स्थापना भएको हो । यसको नेतृत्वमा सुरुबाट नै प्रचण्ड छन् । पार्टीले वि.सं. २०५२ मा नेपाल सरकारविरुद्ध सशस्त्र सङ्घर्ष सुरु गरेको थियो । त्यसपछि २०६३ को बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरेर यो पार्टी मूलधारको राजनीतिमा आएको हो ।
०६४ को निर्वाचनमा देशको पहिलो शक्ति बनेको माओवादी त्यसपछि तेस्रो शक्तिको रूपमा खुम्चिरहेको छ । माओवादीबाट २ जना नेता बाबुराम भट्टराई, र पूष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् । माओवादीले पूर्व माओवादी घटकहरूसँग एकताका लागि संवाद अगाडि बढाए पनि ठोस निष्कर्ष निस्केको छैन ।
अहिले एकीकृत समाजवादी, नेसपा, र नेकपाबीच एकता गर्न समाजवादी मोर्चा अगाडि बढाइएको छ । तर यसले २ वर्षमा कुनै उपलब्धि दिन सकेको छैन । विचार मिल्ने शक्तिहरूसँग एकताका लागि संवाद भइरहेको र निकट भविष्यमा यसले उपलब्धि दिने माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल दाबी गर्छिन् ।

माओवादी घटकहरू पनि अहिलेसम्म फुटेर १० टुक्रा भएका छन् ।
१ नेकपा माओवादी केन्द्र : पूष्पकमल दाहाल प्रचण्ड
२ नेपाल समाजवादी पार्टी नयाँ शक्ति : डा. बाबुराम भट्टराई
३ नेकपा : नेत्रविक्रम चन्द विप्लव
४ क्रान्तिकारी कम्युनिस्ट पार्टी : मोहन वैद्य
५ नेकपा बहुमत : हेमन्तप्रकाश वली, धमेन्द्र बास्तोला
६ नेकपा माओवादी : गोपाल किराँती
७ वैज्ञानिक समाजवादी पार्टी : विश्वभक्त दुलाल
८ नेपाल कम्युनिस्ट पार्टी : ऋषि कट्टेल
९ नेकपा संयुक्त : चन्द्रदेव जोशी
१० नेपाल समाजवादी पार्टी : महेन्द्रराय यादव
संसदीय राजनीतिमा कम्युनिस्ट घटक
अहिले संसदीय राजनीतिमा ७ कम्युनिस्ट पार्टी छन् । जसमा नेकपा एमालेको ७८ सिट छ । यस्तै माओवादी केन्द्रको ३२, नेकपा एकीकृत समाजवादीको १०, नेमकिपा, राजमो, नेसपा र आजपाको १–१ सिट छ ।
सबै कम्युनिस्ट पार्टीको सिट सङ्ख्या जोड्दा १ सय १४ सिट हुन्छ । यो सरकार बन्नका लागि पर्याप्त सङ्ख्या भने होइन । तर पहिलो पार्टी बन्नका लागि भने पर्याप्त हो । पहिलो दल नेपाली कांग्रेसको ८९ सिट मात्र छ । यदि सबै कम्युनिस्ट पार्टी लचिलो हुने हो भने कम्युनिस्ट एकता गरेर पहिलो दल बन्न सकिने अवस्था छ ।
नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी २०७८ भदौ २ गते स्थापना भएको पार्टी हो । यसको अध्यक्षमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल छन् । यस्तै सम्मानित नेतामा झलनाथ खनाल छन् ।
०७९ को निर्वाचनमा १० सिट जिते पनि थ्रेसहोल्ड कटाउन नसकेका कारण पार्टी किनारामा छ । बेला–बेला माओवादीसँग एकताको चर्चा चले पनि अहिलेसम्म ठोस परिणाम निस्किएको छैन । एमालेसँग त तत्काल एकता सम्भव नभएको अध्यक्ष माधवकुमार नेपाल बताउँछन् ।
नेपाल समाजवादी पार्टी माओवादीसँग एकताको प्रकृयामा छ । समाजवादी मोर्चाको घटक यो दलको खासै चर्चा नभए पनि बागमती प्रदेशमा गंगानाराण श्रेष्ठ सांसद छन् । यता केन्द्रमा महेन्द्रराय यादव छन् । यो पार्टी केही वर्ष अगाडि माओवादीबाट अलग भएका डा.बाबुराम भट्टराईको पार्टीबाट फुटेको हो ।
नेमकिपा :
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान बिजुक्छे छन् । प्रतिनिधि सभामा १ सिट रहेको यो पार्टी १९७६ मा स्थापना भएको हो । ०८१ फागुन २२ गते भएको नेमकिपाको महाधिवेशनमा अध्यक्ष बिजुक्छे नै नेतृत्वमा दोहोरिएका छन् । उनी ५० औँ वर्षबाट यो पार्टीको अध्यक्षमा छन् ।
अहिलेसम्म पार्टीले हरेक जिल्लामा सङ्गठन पनि बनाएको छैन । अध्यक्ष बिजुक्छे कुनै कम्युनिस्ट पार्टीसँग आफू एकता गर्ने पक्षमा नभएको बताउँछन् । यो पार्टी भक्तपुर केन्द्रित छ ।
राष्ट्रिय जनमोर्चाको अध्यक्षमा चित्रबहादुर केसी छन् । प्रतिनिधिसभाको सांसद पनि केसी नै छन् । यो पार्टीको स्थापना वि सं २०५१ सालमा भएको हो । यो पार्टी सुरुमा नेपाल कम्युनिस्ट पार्टी मसालको मोर्चाको रूपमा थियो ।
०६२ सालमा मोर्चाबाट अलग भएर २०६२ मा पुनःस्थापना भयो । यो पार्टी पनि देशभर फैलन सकेको छैन । छिटफुट रूपमा बागलुङ, प्युठानमा यो पार्टीको प्रभाव छ । पार्टी अध्यक्ष केसी पनि अहिले आफ्नो पार्टी कसैसँग एकताको पक्षमा नरहेको बताउँछन् ।
आम जनता पार्टीको अध्यक्ष प्रभु साह छन् । माओवादी छाडेर एमाले भएका साहले एमालेबाट टिकट लिएर प्रतिनिधि सभामा निर्वाचन जितेपछि पार्टी खोलेका हुन् । यो पार्टीको स्थापना २०७९ पुस १४ गते भएको हो ।
आजपा मधेस केन्द्रित दलको रूपमा उदाएको छ । साह पनि कुनै पार्टीसँग एकता नगरी नै पार्टी बनाउने योजनामा छन् ।
कम्युनिस्ट पार्टीको एकता सम्भव छ ?

राजनीतिक विश्लेषकहरू कम्युनिस्ट पार्टीको एकता तत्काल सम्भव नभएको विश्लेषण गर्छन् । अहिले यी पार्टीको अवस्था हेर्दा भविष्यमा कम्युनिस्ट सिद्धान्त र विचारधाराकै मूल्य मान्यतालाई तहसनहस गर्ने अवस्था आउनसक्ने राजनीतिक विश्लेषक हरि रोक्का बताउँछन् ।
कम्युनिस्ट पार्टीले आफ्ना विचार र सिद्धान्त नै नपढेको र नबुझेको कारण समस्या आएको उनी बताउँछन् । हचुवाका भरमा काम गर्नुभन्दा पार्टी र आन्दोलनका विषयमा प्रष्ट हुनुपर्ने उनको सुझाव छ ।
‘समाजलाई के चाहिएको छ भनेर कम्युनिस्टले बुझेका छैनन् । उनीहरू सरकार बनाउन र आफ्ना आवश्यकता पूरा गर्न लागे । समाजका विषयमा ठूला कम्युनिस्ट पार्टीले त अझ कुरा नै गर्दैनन् कार्यकर्ता पोस्ने काममा लागे,’ रोक्का भन्छन्, ‘कम्युनिस्ट पार्टी ०७४ पछि एक भएका हुन् ।
अहिले व्यवस्था परिवर्तन हुने आन्दोलन चल्दा पनि उनीहरू एक हुने सल्लाह समेत गर्न सकेनन् । उनीहरूको विचार नै मरिसकेको छ । यी पार्टी पुँजीवादी पार्टीभन्दा डरलाग्दा भए ।’
रोक्का अगाडि थप्छन्, ‘पुरानो पिंढीका नेताहरू र गएगुज्रेका मान्छेहरू पार्टीबाट समाप्त नभई कम्युनिस्ट पार्टीले नयाँ ऊर्जा र उत्साह दिन्छ भन्ने कुराको कल्पना गर्न सकिँदैन ।’
अभिभावकीय भूमिकाका रहेको एमाले र माओवादी नै कम्युनिस्टको सिद्धान्तमा अडिग नभएकाले पुँजीवादी पार्टीको जस्तो व्यवस्था हुन पुगेको रोक्काको विश्लेषण छ ।
प्रतिक्रिया