पूर्वडीएसपी पन्थी भन्छन्- तत्कालीन गृहमन्त्री श्रेष्ठकै निर्देशनमा अनुसन्धान रोकियो, दबाब दिएर सरूवा गरियो | Khabarhub Khabarhub

भिजिट भिसा घुस प्रकरण

पूर्वडीएसपी पन्थी भन्छन्- तत्कालीन गृहमन्त्री श्रेष्ठकै निर्देशनमा अनुसन्धान रोकियो, दबाब दिएर सरूवा गरियो


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


9.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा हुने मानव तस्करी, कागजात किर्ते र अवैध लेनदेनबारे अनुसन्धान गरेका नेपाल प्रहरीका पूर्वप्रहरी नायव उपरीक्षक गोविन्द पन्थीले यस प्रकरणका क्रममा आएको दबाब, धम्की र सरुवासम्मको विवरण सार्वजनिक गरेका छन्।

पन्थीले शुक्रबार सामाजिक सञ्जालमा लामो वृत्तान्त लेख्दै भिजिट भिसा प्रकरणमा पैसा उठाउने र मानव तस्करको गिरोहले आफ्नो सरूवासमेत गराएको खुलाएका हुन् ।

उक्त प्रकरणमा प्रारम्भिक अनुसन्धान मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले थालेको थियो । तर पछि त्यसलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा हस्तान्तरण गरिएको थियो।

उनका अनुसार असोज १९, २०८० मा १६४१ वटा राहदानीसहितको शंकास्पद कागजात उपत्यका अपराध अनुसन्धान कार्यालयमा आएको थियो ।

त्यसबेला डीएसपी पन्थी ८ नं. पिलरको नेतृत्व गरिरहेका थिए । जसले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाहरू हेर्थ्यो । प्रारम्भमा कागजातहरू ३ नं. पिलरमा गएकाले अनुसन्धानमा प्रगति नहुँदाँ एसएसपी सोमेन्द्र सिंह राठौरको निर्देशनमा पन्थीको टोलीलाई जिम्मा दिइएको थियो ।

पन्थीले नेतृत्वको टोलीले अनुसन्धान गर्दा नक्कली कागजात बनाउने, काम ल्याउने दलाल, ट्राभल एजेन्सी, कन्सल्टेन्सी, म्यानपावर कम्पनी, होटल, एयरलाइन्स, अध्यागमन कार्यालय, श्रम विभाग र प्रहरीका केही अधिकारीसमेतको संलग्नतामा संगठित तस्करी भइरहेको पुष्टि भएको थियो ।

अनुसन्धानको क्रममा २० जना दलाल, २० वटा ट्राभल एजेन्सी, ८ कन्सल्टेन्सी र विभिन्न पदका सरकारी कर्मचारी र नेतासहित ३७ जनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरूमाथि मानव तस्करी, किर्ते र संगठित अपराधको मुद्दा दायर पनि भयो ।

पन्थीका अनुसार यो मुद्दालाई संगठित अपराधअन्तर्गत लैजान सरकारी वकिलसँग समेत नोकझोँक गर्नुपरेको थियो । ‘यस प्रकरणको अनुसन्धानकै क्रममा मलाई अख्तियारमा १६ पृष्ठ लामो उजुरी हाल्ने धम्की पनि दिइयो’, उनले भनेका छन्, ‘प्रहरी संगठनभित्रको सहयोग र एसएसपी राठौरको दृढताले अनुसन्धान सफल भए पनि त्यसपछि दबाब बढ्दै गयो ।’

अनुसन्धान भइरहेकै बेला आफ्नो सरुवाका लागि नेपाल प्रहरी र राजनीतिक नेतृत्वकै उच्च तहबाट हस्तक्षेप भएको उनले बताए ।

पन्थीले विमानस्थल अध्यागमनका कर्मचारीले गृह मन्त्रालयका अधिकारीको पनि सङ्लग्नता मानव तस्करी गरेको बताएका छन् । त्यसका लागि दैनिक डेढ करोडदेखि २ करोड रुपैयाँसम्म लिने गरेको कुरा आफूले अनुसन्धानकै क्रममा बोलेको पनि स्मरण गराएका छन् ।

तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशन र तत्कालीन आइजीपी वसन्त कुँवरको संलग्नतामा सरुवा गरिएको पन्थीको दाबी छ । हालका आईजीपी दीपक थापाले आफ्नो सरूवा रोक्न कोसिस गरे पनि माथिको दबाबका कारण असमर्थ भएको पनि उनले खुलाएका छन् ।

पन्थीले नारायणकाजी बाहिरिएपछि आएका गृहमन्त्री रवि लामिछानेलाई पत्र लेखेर आफ्नो सरुवाबारे जानकारी गराएको पनि उल्लेख गरेका छन्।

उनका अनुसार कानुनी रूपमा सरुवा बदर नभए पनि उनलाई पहिले कार्यरत कार्यालयमै काम गर्न भनिएको थियो। उनले यस विषयका थप विवरण पनि आफू सार्वजनिक गर्न तयार रहेको बताएका छन्।

‘सरुवा कसरी भयो ? किन कार्यालय प्रमुख्ले भन्दा पनि रोकिएन भनेर बुझ्दा २,३ दिनअगाडि हटेका गृहमन्त्री नारायण काजी श्रेष्ठले टिपाएको नामका आधारमा तत्कालीन आईजीपी वसन्त कुँवरको जोडबलमै भएको बुझिएपछि एसएसपी सोमेन्द्र राठौर रोक्न हालका आईजीपी (तत्कालीन मेट्रो प्रमुख दीपक थापा) लाई भन्दासमेत माथिको आदेश भनियो, जसकारण सरुवा रोकिएन’, उनले भनेका छन्, ‘तत्काल गृहमन्त्री फेरबदलपछि मैले गृहमन्त्री रवि लामेछानेलाई एउटा पत्र लेखे । जसकारण मेरो सरुवा कानुन त रोकिएन, किनकी बदर गर्दा रकम फिर्ता गर्नु पर्थ्यो । तसर्थ मौखिक रुपमा रवाना नगरी त्यहीँ काम गर्न भनियो । मैले लेखेको पत्र पछि सार्वजनिक गर्नेछु ।’

उनले साँच्चिकै अनुसन्धान गरेर तस्करी नियन्त्रण गर्ने र सुशासन ल्याउने हो भने यो विषयमा अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्नु पर्ने पनि बताए । ‘त्यसो गरियो भने एकाधबाहेक कुनै गृहमन्त्री, श्रममन्त्री र प्रधानमन्त्रीको सचिवालयको टोलीसमे कानुनी कठघरामा उभिने छ।’

‘यदि यो मुद्दामा निष्पक्ष र सुक्ष्म अनुसन्धान गर्ने हो भने श्रममन्त्री, गृहमन्त्रीदेखि प्रधानमन्त्रीको सचिवालयसम्मका व्यक्तिहरू कानुनी कठघरामा आउन सक्ने छन्’, उनले भनेका छन्, ‘हाल त्रिभुवन विमानस्थल अध्यागमबाट तानिएका सहसचिव तीर्थ भट्टराईलगायतको नाम अख्तियारको अनुसन्धानको दायरामा आइसकेको छ । ’

पूर्व डिएसपी पन्थी फेसबुकमा लेख्छन्–

भिजिट भिसा अनुसन्धान गर्दा धम्की र सरुवासम्म !

जब मानव बेचबिखन अनुसन्धान ब्युरोको टोली एयरपोर्टबाट हट्यो त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले आफ्ना गतिविधि अगाडि बढायो र शंकास्पद कागजात मिति २०८० आश्विन १९ गते १६४१ राहदानीसहित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइयो । त्यस बखत म ८ नं. पिलरमा डिएसपीका रूपमा नेतृत्व गर्दै थिएँ ।

उक्त पिलरले वैदेशिक रोजगार ठगी मुद्दाको अनुसन्धान तथा कारबाही गर्दथ्यो । तसर्थ एयरपोर्टबाट आएका कागजात ३ नं. पिलर मा आए । उक्त पिलरले ठगी हेर्ने हुँदा स्वभाविक भयो । एक महिनाको अनुसन्धानमा राहदानी आउने अनि जसको हो उसैलाई फिर्ता दिने कार्य भयो ।

त्यसबाट अपेक्षित परिणाम नआएपछि तत्कालीन एसपी रवीन्द्र रेग्मी सरले एसएसपी सोमेन्द्रसिंह राठौर सरसँग सल्लाह गरेर उक्त भिजिट भिसा प्रकरण ८ नं. पिलरबाट मलाई हेर्न निर्देशन भएपश्चात् मेरो जिम्मेवारी तोकियो ।

तत्पश्चात् मेरो नेतृत्वको टोलीले गहिरिएर अनुसन्धान गर्दा सबै नक्कली कागजात तयार गर्ने, काम ल्याउने दलाल, कन्सल्टेन्सी, ट्राभल व्यवसायी, म्यानपावर, होटल र एयरलाइन्स, अध्यागमन, श्रम विभाग र प्रहरीका केही अधिकारीको मिलोमतोमा ठूलो तस्करी सञ्चालित भएको देखिएपछि मैले अनुसन्धान प्रतिवेदन पेश गरेकोमा तत्कालीन कार्यालय प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले कसैलाई नछाडी जरैमा पुग्न जुन साहसिक निर्देशन दिनु भएको थियो, तत्पश्चात् २० जना दलाल, २० वटा ट्राभल, ८ कन्सल्टेन्सी, नेता र कर्मचारी गरी ३७ जना नियन्त्रणमा लिएर मानव तस्करी, कीर्ते र सङ्गठित अपराध मुद्दा चलाइएको थियो ।

उक्त मुद्दालाई सङ्गठितमा लैजान हामीले सरकारी वकिलसँग नोकझोक नै गर्नु परेको थियो । र, मैले अनुसन्धान गर्दा मलाई अख्तियारमा १६ पाने भराउने धम्की पनि नदिइएको हैन । कुनै कुरालाई प्रवाह नगरी पत्रकार सम्मेलनबाट आफ्नो तालुक कार्यालय गृह मन्त्रालयका अधिकारीको संलग्नता मानव तस्करी भएको र दैनिक डेढ करोड देखि २ करोड कर्मचारीले लिने गरेको निर्भीकताका साथ तथ्यमा आधारित भएर बोलेको थिएँ ।

जुन कुरा व्यावसायिक र निडर हिम्मतिलो कार्यालय प्रमुख सोमेन्द्र सरको कारणबाट सम्भव भएको थियो । पछि अनुसन्धान भएर कतिपय पुर्पक्षका लागि थुनामा समेत गए । र, कतिपय धरौटीमा छुटे । उक्त फाइल अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइएको थियो । दुई वर्ष न भयो बल्ल । आशा गरौँ अनुसन्धान हुँदै होला ।

धेरै दलाल र ठूला तस्करीमा संलग्न दुबइ र भारत गएर बस्नु पर्‍यो । त्यस्तो स्थिति सिर्जना गरिदिएपछि मेरो सरुवा गराउन ठूलो थैलीको जोहो गरेर बुझाएको हल्ला चल्यो । नभन्दै मेरो सरुवा भयो ।

सरुवा कसरी भयो र किन कार्यालय प्रमुखले भन्दा पनि रोकिएन भनी गोप्य तरिकाले बुझ्दा २, ३ दिन अगाडि हटेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिपाएको र तत्कालीन आईजीपी वसन्त कुँवरको जोडबलमै भएको बुझिएपछि एसएसपी सोमेन्द्र सरले रोक्न हालका आईजीपी तत्कालीन मेट्रो प्रमुख दीपक थापा सरलाई भन्दासमेत माथिको आदेश भनियो । जसका कारण सरुवा रोकिएन ।

पछि तत्काल गृहमन्त्री फेर बदलपश्चात् मैले गृहमन्त्री रवि लामेछानेलाई एउटा पत्र लेखेँ । जसको कारण मेरो सरुवा कानुन त रोकिएन किनकि बदर गर्दा रकम फिर्ता गर्नु पथ्र्यो । तसर्थ मौखिक रूपमा रवाना नगरी त्यहीँ काम गर्न भनियो । मैले लेखेको पत्रपछि सार्वजनिक गर्नेछु ।

तसर्थ साँच्चिकै अनुसन्धान गरेर तस्करी नियन्त्रण गर्ने र सुशासन ल्याउने हो भने यो विषयमा अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नु पर्दछ । त्यसो गरियो भने एकाधबाहेक कुनै गृहमन्त्री, श्रममन्त्री र प्रधानमन्त्रीको सचिवालय टिमसमेत कानुनी कठघरामा उभिने छ ।

अहिले सहसचिव तीर्थ भट्टराईलगायत अख्तियारको अनुसन्धानको दायरामा रहेकाले हिम्मत गर्नु पर्दछ । अख्तियार प्रमुखज्यूले इतिहासमा नाम लेखाएर जनताको मनमा बस्ने अवसर आएको छ । यो विषय सुक्ष्म र निष्पक्ष अनुसन्धान हुने हो भने ठूलो उथल–पुथल हुने निश्चित छ । अवसरलाई सदुपयोग होस् । शुभकामना ।।।।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  १२ : ३४ बजे

हैदराबादले आरसीबीलाई ४२ रनले हरायो, ईशान किशनले ४८ बलमा बनाए ९४ रन

नयाँदिल्ली– प्लेअफबाट बाहिरिइसकेको सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको

सहकारी ठगीका ‘मुख्य योजनाकार’ नै रवि, यसकारण छाड्न अस्वीकार गर्‍यो सर्वोच्चले

काठमाडौं– रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा

किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरी नियन्त्रणमा

दार्चुला – महालेखापरीक्षकको कार्यालयअन्तर्गत लेखा परीक्षणका लागि सञ्चालन गरिएको नेपाल

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग प्रचण्डको भेटघाट

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को मध्यपहाडी पुष्पलाल लोकमार्ग

आईपीएल : २३३ रनको लक्ष्य पछ्याउँदै आरसीबी

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत अहिले जारी खेलमा