यी चार सांसदको जिल्लामा सहरी विकासले कति छुट्याएको छ बजेट ? | Khabarhub Khabarhub

यी चार सांसदको जिल्लामा सहरी विकासले कति छुट्याएको छ बजेट ?


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विननियोजन गरेको बजेटप्रति सत्तापक्षकै सांसदहरूमा चर्को असन्तुष्टि देखिएको छ ।

प्रतिपक्षले गर्ने आलोचनालाई त उसले आफ्नो धर्म निर्वाह गरेको भन्न सकिएला तर सत्तापक्षकै सांसदमा बजेटबारे देखिएको यति चर्को असन्तुष्टि स्वभाविक होइन ।

गत जेठ १५ गे उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमाथि अहिले संसद्मा छलफल जारी छ । प्रतिनिधि सभामा मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलका क्रममा आ–आफ्नो जिल्लामा बजेट नपरेको भन्दै खासगरि नेपाली कांग्रेसकै सांसदहरूले कडा आपत्ति जनाइरहेका छन् ।

बजेटमाथिको छलफलका क्रममा प्रायः सांसदहरूको असन्तोष कांग्रेसको नेतृत्व गरेर सरकारमा सहभागी उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहप्रति लक्षित देखिन्छ । सिंहलाई त सांसदहरूले उनका दिवंगत पिता एवम् लौहपुरुष गणेशमान सिंहकै बेइज्जत गरेको टिप्पणीसमेत गरिरहेका छन् । एकजना सांसद एवम् आमजनता पार्टीका अध्यक्ष प्रभु साहले आइतबारको बैठमा सिंहप्रति कटाक्ष गर्दै आफू भए मुख छोपेर हिँड्ने टिप्पणी गरे ।

‘हामीले कसरी जनतालाई आश्ववस्त गर्ने यो सरकारले समृद्धि ल्याउँछ भनेर ? यो सरकारले अहिले स्वीकार्नुपर्छ, उहाँहरूले गरेको प्रतिबद्धता पूरा हुँदैन’, उनले आइतबार भने, ‘सहरी विकास मन्त्रालयबारे त बोलिसक्नु छैन । भोजपुरीमा एउटा उखान छ नि, ‘ना मुछ कान बुच’, अहिले त्यस्तै भएको छ यो मन्त्रालयमा ।’

उनको आक्रोश त्यतिमै थामिएन । उनले प्रकाशनमानलाई गठबन्धन सरकारको प्रमुख व्यक्तित्व भन्दै लाजै पचाएको पनि उल्लेख गरे । ‘उहाँ गठबन्धन सरकारको प्रमुख व्यक्ति हुनुहुन्छ । तर उहाँको बजेट हेर्दा हात्ती आयो, हात्ती आयो फुस्स !’, उनले भने, ‘उहाँले आफ्नै स्वर्गीय पिता (गणेशमान सिंह)को अपमान गरिरहनु भएको छ । उहाँले गणेशमानलाई बदनाम गर्नुभयो, म भए मुख छोपेर हिँड्थेँ ।’

संसद्मा पछिल्लो छलफलका क्रममा प्रकाशमानप्रति चर्को सुनिनेमा कांग्रेसकै सांसदद्वय पूर्णबहादुर तामाङ (कान्छाराम) र सुनील शर्मा छन् । त्यसैगरि सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद सूर्यबहादुर थापाक्षेत्री र स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह पनि हुन् ।

कांग्रेस सांसद एवम् पूर्वऊर्जा राज्यमन्त्री कान्छारामले त आइतबार संसद्को रोस्ट्रममा उभिएर सहरी विकास मन्त्री सिंहलाई पार्टीको १५ औँ महाधिवेशनमै ठेगान लगाइदिने चुनौती दिन भ्याए ।

उनले भगवान् बुद्ध र पशुपतिनाथलाई पुकारेरै ०८४ को चुनावपछि अर्थमन्त्री विष्णु पौडेल र सहरी विकासमन्त्री सिंह दुवैलाई संसद्मा देख्नु नपरोस् भनेर कामनासमेत गरे ।

आइतबार नै एमालेका सांसद थापाक्षत्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा सहरी विकासमन्त्री सिंहदाई पदबाट हटाउनुपर्ने भन्दै आक्रोश पोखे । सहरी विकास मन्त्रालय सबैभन्दा लथालिङ्ग मन्त्रालय बनेको उनको आरोप थियो ।

सहरी विकासले जनताको पक्षमा ध्यान नदिएको टिप्पणी गर्दै सांसद थापाक्षत्रीले भने, ‘प्रकाशमान सिंह गणेशमानको छोरा हुनुहुन्छ भन्ने साथीहरूले सुनाउनभयो । हुनुहुन्छ कि हुनुहुन्न त्यो मलाई थाहा छैन । जय नेपाल भनेकै आधारमा पार्टी कार्यकर्ताले बजेट पाए ।’

उता मोरङ क्षेत्र नम्बर ३ का कांग्रेस सांसद सुनील शर्माले आइतबार संसद् बैठकमा मन्त्रीहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा मात्रै योजनाकेन्द्रित गरेर सरकारी ढुकुटीमा लुट मच्चाएको आरोप लगाए ।

‘राज्यसत्ता हातमा लिएर, राज्य सत्तामा बसेर, पावरको अभिमान देखाएर अनि नागरिकलाई ‘लिगल वे’बाट लुट्न पाइँदैन,’ उनले आक्रोश पोखे, ‘कर नेपालका सबै नागरिकले तिरेका छन् । हेक्का रहोस् यहाँहरुलाई । अनि भकारीको चाबी लिएर बजेट आफ्ना नेताहरुको क्षेत्रमा मात्र हाल्ने ?’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले त आइतबार संसद बैठकमा बजेटमाथिको छलफलका क्रममा आपत्तिजनक अभिव्यक्ति दिए । उनले ‘चार–पाँच जिल्लाबाहेक अरू ७२ वटालाई अर्कै देश (भारत, चीन र अमेरिका) लाई लिजमा दिऊँ’ भन्ने अभिव्यक्ति दिएपछि एमालेले नियमापत्ति नै जनाउनुप¥यो ।

सांसद सिंहले सर्लाहीका लागि बजेट नराखेको भन्दै संसद्मा गुनासो गरे । ‘सहरी विकास मन्त्रालयबाट सुरू गर्छु । काठमाडौंमा ३ करोडको दरले १३१ योजना छन् । काठमाडौंमा १३१ वटा हुँदा मेरो जिल्ला (सर्लाही) मा १५–२० वटा योजना त पथ्र्यो । ठीक छ मैले त्यति भाग खोजेको होइन । सर्लाहीका जनतालाई २० वटा राखे हुन्थ्यो,’ उनको भनाइ थियो ।

बजेट बाँडफाँट

के सांसद सिंहले गुनासो गरेको जस्तै उनको गृहजिल्ला सर्लाहीमा सहरी विकास मन्त्रालयबाट बजेट नै नपरेको हो त ? खबरहबलेमन्त्रालयसँग विनियोजित बजेटबारे जिज्ञासा राखेको छ ।

जसअनुसार सहरी विकासमन्त्री सिंहको सचिवालयले स्वतन्त्र सांसद सिंह, कांग्रेसका सांसदद्वय तामाङ र शर्मा तथा एमाले सांसद थापाक्षत्रीको गृहजिल्लामा मन्त्रालयअन्तर्गत परेको योजनाको तथ्यांक दिएको छ ।

सचिवालयले उपलब्ध गराएको तथ्यांकअनुसार स्वतन्त्र सांसद सिंहको गृहजिल्ला सर्लाहीमा मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि एक अर्ब १३ करोड कूल रकम भएका ९६ वटा कार्यक्रम परेका छन् । अघिल्लोपल्ट सर्लाहीमा ९९ करोड ६१ लाख रुपैयाँ विनियोजन भएको थियो ।

यस्तै मन्त्री सिंहलाई पदच्यूत गर्नुपर्ने अभिव्यक्ति दिएका एमाले सांसद थापाक्षत्रीको गृहजिल्ला प्यूठानमा आगामी आर्थिक वर्षका लागि ४० वटा योजनामा ४८ करोड रुपैयाँ विनियोजन भएको छ । अघिल्लोपल्ट प्यूठानमा सहरी विकास मन्त्रालयबाट २७ करोड बजेट विनियोजन भएको तथ्य मन्त्री सिंहको सचिवालयले उपलब्ध गराएको छ ।

प्यूठानको जनसंख्या– २,३२,०१९
नेपालको जनसंख्या– २,९१,९२,४८०
प्यूठानको जनसंख्या प्रतिशतमा– ०.७९ %
सहरी विकास मन्त्रालयको जम्मा बजेट– १ खर्ब १८ अर्ब
आ.व. २०८१/८२ मा प्यूठानका लागि विनियोजित बजेट :
कार्यक्रम संख्या– ४७ वटा
जम्मा बजेट– २७.०६ करोड
प्रतिशतमा– ०.२९ %
आगामी आर्थिक वर्ष २०८२/०८३ लागि विनियोजित बजेट :
कार्यक्रम संख्या– ४० वटा
जम्मा बजेट– ४८.२० करोड
प्रतिशतमा– ०.४० %

कांग्रेस सांसद शर्माले मोरङमा पनि बजेट नपरेको गुनासो गरे । तर तथ्यले त्यसलाई नकार्ने मन्त्री सिंहको सचिवालयको भनाइ छ । सचिवालयले मोरङमा सहरी विकास मन्त्रालयबाट तीन अर्ब सात करोड बजेट विनियोजन भएको जनाएको छ ।

सचिवालयका अनुसार आगामी आर्थिक वर्षका लागि मोरङमा १७९ वटा कार्यक्रममा तीन अर्ब सात करोड रुपैयाँ विनियोजन भएको छ । यसअघि मोरङमा एक अर्ब ९० करोड बजेट विनियोजन भएको तथ्य मन्त्रालयसँग रहेको सिंहको सचिवालयले जनाएको छ ।

यस्तै कांग्रेसका अर्का सांसद कान्छारामको गृहजिल्ला रामेछापमा सहरी विकास मन्त्रालयबाट ६६ योजनाका लागि ८४ करोड ४७ लाख विनियोजन भएको देखिन्छ ।

मन्त्री सिंहको सचिवालयका अनुसार रामेछापमा तीन करोड वा त्योभन्दा माथिको बजेट भएका ११ वटा कार्यक्रम परेका छन् । यस्तै तीन करोड बजेट भएका आठवटा र तीन करोडभन्दा कम बजेट भएका ५५ वटा कार्यक्रमहरू रामेछापमा परेका सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  २ : २२ बजे

७३ जिल्लामा फैलियो डेङ्गी, १४ सय बढि सङ्क्रमित 

काठमाडौं– मनसुन सुरु भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मंगलबारभित्र नआउने भयो कलहमा फसेको काठमाडौं महानगरको बजेट

त्रकाठमाडौं– देशकै ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष

अध्यागमनमा मापदण्डअनुसार कर्मचारी खटाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही

‘टोकियोका मतदाताबाट सत्तारुढ दल दण्डित’

टोकियो– जापानको राजधानी टोकियोमा मतदाताले जापानको सत्तारुढ दललाई नगर सभाको

इन्डस्ट्री फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्रीसहित ‘बीवाईडी डल्फिन-२०२५’ नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौं- नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स