काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट ऐतिहासिक निर्यात भएको भन्दै सामाजिक सञ्जालमा एउटा पोस्ट शेयर गरेका छन् । उनले उक्त निर्यात तथ्यांकलाई अर्थतन्त्रमा सुधारको संकेतको रूपमा व्याख्या गरेका छन् ।
चालु आर्थिक वर्षको ११ महिनामा नेपालको निर्यातमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७.७७ प्रतिशतले वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको ११ महिना अवधिमा नेपालबाट निर्यात भएको विभिन्न वस्तुको परिमाण मूल्य भन्दा चालु आर्थिक वर्षको ११ महिनामा भएको निर्यात एक खर्ब आठ अर्ब ३० करोड ७८ लाख आठ हजार रुपैयाँले बढी हो ।
भन्सार विभागको तथ्यांकले अंकमा नेपालको निर्यात बढेको देखाए पनि के के सरकारले उत्साह नै सम्प्रेषण गर्नेगरी नेपालको उत्पादन र निर्यात क्षमता बढेको हो त ? अवश्य होइन । जुन कुरा भन्सार विभागको तथ्यांकले नै देखाएको छ, बरू जनतामा भ्रम पर्नेगरि प्रधानमन्त्रीले उत्साहपूर्ण सन्देश दिने काम गरेका छन् ।
चालु आर्थिक वर्षमा नेपालबाट निर्यात भएका मुख्य १० वस्तु (हजारमा)
वस्तु | निर्यात मूल्य |
सोयाबिन तेल र छोक्रा | ९,३५,१७,१८१ |
सुर्यमुखी दाना र तेल | १,१३,३८,९८३ |
उनको गलैँचा | ९७,८१,०१८ |
ठूलो अलैँची | ७१,९०,७४२ |
कोटेड गरिएको जस्ताको रोल | ५१,३०,८३१ |
जुट वा फाइबरबाट बनेको ब्लिच नगरिएको कपडा | ५१,०३,२२५ |
८५% पोलिस्टर धागो तथा | ५०,७०,३८७ |
मिश्रित जुस | ४९,४३,३५९ |
८५% पोलिष्टर एकल धागो | ४६,४३,८९५ |
कार्पेट | ४२,९८,९५१ |
गत आर्थिक वर्षको ११ महिनामा निर्यातको अवस्था (हजारमा)
वस्तु | निर्यात मूल्य |
उनको गलैँचा | ९७,३१,८१२ |
अलैँची | ७४,७३,७५६ |
आल्मुनियम कोट गरिएको जस्ता रोल | ६१,६६,००४ |
मिश्रित जुस | ५६,९१,००२ |
प्रशोधित पाम तेल | ५६,०८,९५८ |
कार्पेट | ४०,८६,००४ |
पेन्ट गरिएको जस्ता रोल | ४०,११,७२४ |
८५% पोलिष्टर एकल धागो | ३७,९५,४४७ |
जुट वा फाइबरबाट बनेको ब्लिच नगरिएको कपडा | ३६,२६,३७७ |
काठका फ्ल्याक | ३५,४९,८६३ |
माथि प्रस्तुत दुई तथ्यांकको विश्लेषण गर्दा गत आर्थिक वर्षमा निर्यातको मुख्य १० सूचीमा परेका कतिपय वस्तु चालु आर्थिक वर्षको मुख्य १० सूचीमा परेका छैनन् ।
गत वर्षको ११ महिनामा निर्यात भएका वस्तुमध्ये पहिलो सूचीमा परेको उनको गलैँचाको निर्यात चालु आर्थिक वर्षको त्यही अवधिमा झण्डै पाँच करोडले मात्रै बढेको छ ।
तर, गत वर्षको ११ महिनाको अवधिको तुलनामा समीक्षा अवधिमा अलैँचीको निर्यात १९ करोडले घट्न पुगेको छ । जुट वा फाइबरबाट बनेको ब्लिच नगरिएको कपडाको निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा डेढ अर्ब बढीले घट्न पुगेको भने मिश्रित जुसको निर्यात ७५ करोडले घट्न पुगेको छ । त्यस्तै, समीक्षा अवधिमा धागोको निर्यात भने गत आर्थिक वर्षको तुलनामा बढ्न पुगेको छ ।
सोयाबिन र सूर्यमुखीले बढायो निर्यातको अंक
नेपालबाट नियमित निर्यात हुने, श्रमको मूल्य थप हुने र नेपालमा नै उत्पादन हुने वस्तुहरूको औसत उत्पादन र निर्यातमा चालु आर्थिक वर्षको समीक्षा अवधिमो ठूलो फेरबदल आएको देखिँदैन ।
नियमित निर्यात हुने वस्तुहरूमा कुनै वस्तुको निर्यात घट्न पुगेको छ भने केही वस्तुको निर्यात बढ्न पुगेको छ । तर, नेपालको निर्यात तथ्यांकलाई ठूलो अंकले बढाइदिने भूमिका भने सोयाबिन, सूर्यमुखी तेल र त्यसको कच्चापदार्थको आयात निर्यातले गरेको छ ।
गत वर्षमा नेपालमा पाँच अर्ब ९१ करोड ५७ लाख १४ हजार रुपैयाँको अन्य सोयाबिनको नाममा आयात भएको थियो । त्यस्तै, त्यस अवधिमा दुई करोड ३१ लाख ४९ हजार रुपैयाँ बराबरको सोयाबिनको बिउ र सोयाबिन तथा धुलो १६ अर्ब ६ करोड ३२ लाख ८८ हजार रुपैयाँको आयात भएको थियो । तर, निर्यात भने अन्य सोयाबिन र दानाकै रूपमा जम्मा ५० लाख ३२ हजार रुपैयाँको निर्यात भएको थियो ।
साथै, त्यही आर्थिक वर्षको ११ महिनामा नेपालमा १५ अर्ब ५० करोड ३७ लाख ५७ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेलको कच्चा पदार्थ र १८ करोड ५३ लाख ६२ हजार रुपैयाँको दाना आयात भएको थियो । तर, उक्त आर्थिक वर्षमा नेपालबाट जम्मा १५ करोड २२ लाख ९० हजार रुपैयाँको मात्रै सूर्यमुखी तेल र दाना निर्यात भएको थियो ।
तर, चालु आर्थिक वर्षको समीक्षा अवधिमा भने सोयाबिन तेल र छोक्रा मात्रै ९३ अर्ब ५१ करोड ७१ लाख ८१ हजार रुपैयाँको निर्यात भएको छ ।
तर, त्यो निर्यातका लागि समीक्षा अवधिमा नै ९५ अर्ब ७२ करोड ६१ लाख ५२ हजार रुपैयाँको सोयाबिन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सोयाबिन आयात बापत सरकारले तीन अर्ब ६४ करोड १६ लाख ८८ हजार रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको समीक्षा अवधिमा २६ अर्ब ८७ करोड ८९ लाख ८६ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएर ११ अर्ब ३३ करोड ८९ लाख ८३ हजारको निर्यात भएको छ ।
चालु आर्थिक वर्षको ११ महिना अवधिमा गत आर्थिक वर्षको सोही अवधिमा बढेको निर्यात तथ्यांकमा यिनै दुई वस्तुले मात्रै एक खर्ब चार अर्ब ६९ करोड ८८ लाख ४२ हजार रुपैयाँको अंक बढाउने काम गरेका छन् । जुन कुल निर्यात वृद्धिको ९६.६६ प्रतिशत हुन्छ ।
सोयाविन र सूर्यमुखी तेल र त्यससँग सम्बन्धित कच्चापदार्थ मात्रै नभएर अन्य धेरै वस्तु पनि अन्य देशबाट आयात गरेर पुनः निर्यात गरिने प्रकृतिका धेरै रहेको विभागको तथ्यांकमा पाउन सकिन्छ ।
जुनमध्ये नेपालको सबैभन्दा धेरै व्यापार नाफा रहेको अफगानिस्तानमा नेपालबाट समीक्षा अवधिमा डोजरसँग सम्बन्धित मेसिनरी पार्ट र बोरिङसँग सम्बन्धित मेसिनरी पार्ट ७५ करोड बढीको निर्यात भएको छ । जुन वस्तु नेपालमा उत्पादन हुँदैन ।
प्रतिक्रिया