अस्ट्रेलियाको भिसा नलागेपछि मोडिएको पुकुको कलायात्रा | Khabarhub Khabarhub

कला

अस्ट्रेलियाको भिसा नलागेपछि मोडिएको पुकुको कलायात्रा


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार पुजन घिमिरे टेलिसिरियल ‘हल्का रमाइलो’की पात्र ‘पुकु’को परिचयबाट चर्चित छन् ।

‘पुकु’ नामसँग पुजनको उनको बाल्यकाल जोडिएको छ । मामाघर जाँदा ‘एक भाइ’ले ‘पुजन’ नाम उच्चारण गर्न नसकेर उनलाई ‘पुका’ भनेर बोलाउँथे ।

सोहीकारण मामाघरमा उनलाई मायाले बोलाउने नाम ‘पुका’ हुँदै ‘पुकु’ बन्यो ।

सयभन्दा बढी म्युजिक भिडियो गरेपछि पुजन ‘हल्का रमाइलो’मा अभिनय गर्न थालिन् ।

सिरियलमा पुजनले निर्वाह गर्ने भूमिकाको नाम ‘पुकु’ नै जुर्‍यो । अहिले यही नामबाट उनी परिचित बनेकी छन् ।

पुजन भन्छिन्, ‘मलाई यो उपनाम सानैदेखि प्रिय लाग्थ्यो । अहिले यही नामले मलाई धेरै दर्शकले चिन्नुहुन्छ । कहिलेकाहीँ यस्तो मिठो संयोग पनि हुँदो रहेछ ।’

बाल्यकालको सम्झना नै नृत्य र पढाइ

पुजन पर्साको खुरखुरेमा मध्यम वर्गीय परिवारमा जन्मिएकी हुन् । उनले स्कुले शिक्षा खुरखुरेमै पूरा गरिन् ।

उनी आफूलाई तीक्ष्ण विद्यार्थीको दर्जा दिन्छिन् । किनभने १ देखि ६ सम्म उनी प्रथम भइन् ।

उनी सुनाउँछिन्, ‘हामीलाई पुरस्कार कापी दिइन्थ्यो । वर्ष दिन पुग्ने कापी मैले पुरस्कारबाटै पाउँथेँ । ६ सम्म मैले कापी किन्नै परेन भन्दा पनि हुन्छ ।’

सात कक्षा ‘जम्प’ गरेर सीधै आठमा पढेकाले नतिजामा केही कमजोरी देखा परे पनि उनी आफूलाई लगाव दिएर पढ्ने विद्यार्थीमा बताउँछिन् ।

भन्छिन्, ‘कक्षा जम्प गरेपछि म प्रथम चाहिँ भइनँ । दोस्रो, तेस्रो र चौथोसम्म हुन्थेँ ।’

पढाइपछि उनको रुचिको विषय नृत्य थियो । स्कुलका स्तरीय नृत्य प्रतियोगितामा थुप्रै पटक प्रथम भएको सुखद क्षण उनीसँग छन् ।

पुजन भन्छिन्, ‘आफ्नो विद्यालय, अन्तरविद्यालय र लोकल नृत्य प्रतियोगितामा थुप्रै पटक प्रथम पुरस्कार पाएको छु । तर, यस्ता प्रतियोगितामा म ग्रुप लिडर भएर नाच्थेँ ।’

यही क्रममा सौराह महोत्सव र राष्ट्रिय कलाकारले प्रस्तुति दिएको स्टेजमासम्म आफूले नाचेको स्मरण उनीसँग छ ।

भन्छिन्, ‘कन्सर्ट भएको स्थानमा लोकल प्रतिभाको रुपमा नाचियो । स्कुलमा रहँदा नै सौराहा महोत्सवमा समेत नाच्न पुगेको थिएँ म ।’

म्युजिक भिडियोको अवसर

स्कुल पढ्दै गर्दा पुजनको सपनाका पेसा डाक्टर, शिक्षक र एयरहोस्टेज थिए ।

यी तीन पेसा एक व्यक्तिले अँगाल्नु असम्भवप्रायः नै हो । उनलाई पनि त्यही महसुस भयो ।

अन्तत: उनी छनोटमै नरहेको क्षेत्र कलाकारिता गर्ने निर्णयमा पुगिन् । यसको कारण बारे उनी भन्छिन्, ‘म पर्दामा भए पनि मेरा सपनाको पेसाको भूमिकामा देखिन सक्छु भन्ने भयो । अनि कलाकार बन्ने सोच पलाएको हो ।’

नभन्दै उनलाई ९ कक्षामा पढ्दा नै म्युजिक भिडियो अभिनयका लागि प्रस्ताव आयो । त्यसबेला उनी पर्सामै पढ्थिन् । बहिनीको तेक्वान्दो प्रशिक्षकमार्फत् उनलाई उक्त अवसर जुरेको हो ।

उनी भन्छिन्, ‘उहाँहरु म्युजिक भिडियोका लागि एउटा नाच्न सक्ने मोडलको खोजीमा हुनुहुँदो रहेछ । मेरो बहिनीलाई तिम्रो दिदीले नाच्न सक्छ, उसलाई भिडियोमा राख्नुपर्ला भनेर कुरा गर्नु भएछ । अनि बहिनीमार्फत् नै मलाई प्रस्ताव आयो ।’

छायाङ्कन सहभागी हुन पुजन पर्साबाट काठमाडौँ आउनुपर्ने भयो । उमेर भर्खरै किशोरावस्थामा प्रवेश गरेको थियो ।

बुवाको इच्छा छोरीलाई डाक्टर बनाउने थियो । ‘कलाकारितामा लागेर छोरीले पढाइ बिगार्छे’ भन्ने डरले पुजनका बुवा म्युजिक भिडियोप्रति सकारात्मक थिएनन् ।

तर, एउटा रोचक किस्साले पुजनलाई म्युजिक भिडियोमा डेब्यू गरायो ।

त्यो किस्सा हो– पर्सामा एक फिल्मको छायाङ्कन हुँदा पुजनको हजुरआमालाई एक भूमिकाको लागि प्रस्ताव गरिएको रहेछ । तर हजुरबुवाले अनुमति नदिँदा हजुरआमा टीभीमा देखिनबाट वञ्चित बन्नुपरेको थियो ।

हजुरआमालाई टीभीमा देखिन नपाउँदाको असन्तुष्टि थियो । आफू जस्तै ‘अवसर पाउँदा पाउँदै र रहर भएको कुरा’ गर्न नातिनी वञ्चित हुन नपरोस् भन्ने पुजनको हजुरआमाको चाहना थियो ।

हजुरआमाको मत ‘नातिनीले म्युजिक भिडियो गर्नुपर्छ’ भन्ने भयो । यही इच्छाशक्तिका कारण उनले स्कुलमा पढ्दा नै म्युजिक भिडियोमा डेब्यू गर्न पाइन् ।

‘हेरन मायाले हेरन’ बोलको तीज गीतबाट पुजनले म्युजिक भिडियोमा डेब्यू गरिन् । यो गीत ०७२ साउनमा सार्वजनिक भएको थियो ।

उनी भन्छिन्, ‘यो म्युजिक भिडियोमा तीन मोडल थिए । शीर्ष तीन मध्येमा म एक थिएँ ।’

उनले दोस्रो म्युजिक भिडियो पहिलो गीतकै सिक्वेल हो । जुन ०७३ को तीज लक्षित गरी सार्वजनिक भएको थियो ।

डाक्टर बन्न काठमाडौँ

पुजनले साइन्स विषय लिएर प्सलटू पार गरेकी हुन् । कलेज चितवन भए पनि उनले पर्साबाटै कलेज भ्याइन् ।

उनी भन्छिन्, ‘गाडीमा ४५ मिनेटको दूरीमा भरतपुर पर्छ । कलेज भरतपुर हो । मैले घरबाटै भ्याएँ ।’

उतै रहँदै उनले तीन म्युजिक भिडियोमा नृत्य गरिसकेकी थिइन् । तीजका दुई गीतबाट नोटिस भएर उनी गायक रामजी खाँडको गीत ‘सेल्फी हान्दै’मा फिचर्ड भइसकेकी थिइन् ।

तर, प्लसटूपछि उनी बुवाको इच्छाको करिअर डाक्टर बन्न ०७५ सालमा काठमाडौं आइन् ।

एमबीबीएसका लागि छात्रवृत्तिमा नाम निकाल्न उनले सकिनन् । महँगो पैसा तिरेर उनलाई पढ्न मन लागेन । उनले विदेश जाने सोच बनाइन् । सँगै पढेका साथीहरु पनि विदेश पढ्ने तयारीमै थिए । उनी पनि आईएलटीस पढ्न थालिनन् ।

अस्ट्रेलियाले उनलाई भिसा दिएन । यता पढाइ पनि एक वर्ष ग्याप भयो । उनी आफ्नो जीवनको कठिन क्षण यही समयलाई मान्छिन् ।

भन्छिन्, ‘विदेशको प्रक्रिया गर्दा बुवाको पैसा धेरै खर्च गराएँ । भिसा पनि आएन । सधैँ राम्रो पढ्ने विद्यार्थीको रुपमा गनिएँ तर विदेशको चक्करले पढाइ नै ग्याप भयो ।’

यी दुई कारणले उक्त समयमा परिवारका सदस्यहरुसँग समेत उनलाई बोल्न अप्ठयारो लाग्थ्यो । उनी थप्छिन्, ‘निकै निराश भएको थिएँ म । त्यो मेरो जीवनकै नरामाइलो क्षण हो ।’

तर, त्यो निराशा धेरै समय टिकेन । कारण उनलाई म्युजिक भिडियो ‘तोरी पँहेलै’को प्रस्ताव आयो ।

यो म्युजिक भिडियो हिट भयो । त्यसले पुजनको कलाकारिता यात्रालाई गति दियो । उनी म्युजिक भिडियो मोडलिङमा व्यस्त भइन् ।

पुजन भन्छिन्, ‘यो गीत हिट भएपनि मैले काठमाडौंमा बस्न, पढ्न र आफ्नो व्यक्तिगत खर्चका लागि घरबाट पैसा माग्नु परेन । म्युजिक भिडियो मोडलिङको पारिश्रमिकले नै पुग्थ्यो ।’

उनको सर्वाधिक भ्युज पाएको म्युजिक भिडियो ‘कहाँ गयौ भँगेरी चरी’ हो ।

‘हल्का रमाइलो’मा प्रवेश

पुजन सिरियल ‘हल्का रमाइलो’मा प्रवेश गर्नुको जस म्युजिक भिडियोलाई नै दिन्छिन् ।

सिरियलका निर्देशक तथा लेखक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले टिकटक भिडियोमा देखेर सिरियलको प्रस्ताव गरेको उनी बताउँछिन् ।

भन्छिन्, ‘बाग्लुङमा सुट गएको बेला टिकटक बनाएको थिएँ । त्यही भिडियो मरिचमना सरले हेर्नुभएछ । टिकटकमै नम्बर मागेर हाम्रो भेट भएको हो ।’

उक्त भेटमा मरिचमानसँगै राजु पौडेल (राजु मास्टर) पनि थिए ।

आफूलाई प्रस्ताव आएकाले भेटमा उनले ‘अभिनय गर्न नसक्ने हुँ कि’ भन्ने आशंका सहजै राख्न पाइन् ।

उनी भन्छिन्, ‘मैले म्युजिक भिडियोमा मात्रै अभिनय गरेको हो । डाइलग भन्ने अभ्यास थिएन जुन सिरियलका लागि नभइ नहुने कुरा थियो । मलाई अभिन गर्न सक्दिनँ कि भन्ने थियो ।’

राजु मास्टरले उनलाई सहज गराइदिए । उनले भनेका थिए रे, ‘तपाईंले म्युजिक भिडियोमा संवाद बालेको मैले हेरेको थिएँ ।सक्नुहुन्छ । प्रयास गर्नुस् सक्नुभएन भने तपाईंको सिरियलको यात्रा छोटो बनाउँला ।’

यसरी तीन वर्षअघि ‘हल्का रमाइलो’मा पुजन ‘पुकु’ बनेर भित्रिइन् । १३८ भाग देखि अहिलेसम्म उनी निरन्तर छिन् ।

उनी भन्छिन्, ‘धेरै कुरा सिक्दै गइयो । दर्शकबाट पनि साथ पाइयो । सिरियलको यात्रा राम्रै भइरहेको छ ।’

सिरियलमा आउनुअघि पुजनले धेरै म्युजिक भिडियोमा मोडलिङ गरिन् । उनी भन्छिन्, ‘एकै दिन तीन म्युजिक भिडियोको छायाङ्कन पनि गरेको छु ।’

अर्थात्, त्यति धेरै म्युजिक भिडियो गर्दा उनलाई दर्शकमाझ परिचित थिइनन् ।

अहिले बाटोमा हिँड्दा उनलाई चिन्ने र फोटो खिच्ने प्रशस्त भेटिन्छन् । सबैले उनलाई ‘पुकु’का रुपमा चिन्छन् ।

नचिन्नु पनि किन ? ‘हल्का रमाइलो’ अहिले सबैभन्दा बढी भ्युज पाउने सिरियलको शीर्ष स्थानमा गनिन्छ । उनी उक्त सिरियलको शीर्ष कलाकार हुन् ।

सिरियलमा आएर परिचित भएकामा उनी खुसी हुने नै भइन् । तर, उनलाई खुसी दिने अर्को कारण पनि छ । उनी कलाकार बनेर अस्ट्रेलिया पुगिन् । जुन देश पढ्न जान नपाएकै कारण उनी निराश बन्नुपरेको थियो ।

भन्छिन्, ‘कलाकार भएर पहिलो पटक भिसा लागेको नै मेरो अस्ट्रेलियाको हो । म विद्यार्थी भएर जान नपाए पनि कलाकार बनेर जान पाएँ ।’

उनी कलाकारका रुपमा प्रस्तुति दिन आधा दर्जन देश पुगिसकेकी छन् ।

ठूलो पर्दामा देखिँदै

‘हल्का रमाइलो’का लेखक तथा निर्देशक ‘बल्छी धुर्बे’ले फिल्म ‘गोबर गणेश’ निर्देशन गर्ने भएका छन् ।

यस फिल्मको छायाङ्कन भदौबाट सुरु हुँदैछ । पुजन पनि यस फिल्लममा मुख्य भूमिकामा देखिँदैछन् । अर्थात्, ठूलो पर्दामा उनको डेब्यू पक्का छ ।

ठूलो पर्दा आएपछि सिरियल छाड्ने ?

पुकु ‘हल्का रमाइलो’ छाड्ने मनस्थितिमा छैनन् । अन्य फिल्मबाट प्रस्ताव आए पनि आफूलाई दर्शकमाझ चिनाउने यस सिरियलबाट टाढा हुने सोचमा उनी छैनन् ।

भन्छिन्, ‘यो सिरियल त मेरो जीवनको महत्तपूर्ण हिस्सा बनिसक्यो । योसँग भवना जोडिएको छ । दर्शकको माया जोडिएको छ । यो सञ्चालन हुने बेलासम्म म काम गर्न चाहन्छु ।’

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ४ : ४१ बजे

स्थानीय तहसँग अनुभव आदानप्रदान गर्दै पोखरा महानगर

गण्डकी– पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्दै विभिन्न कार्यक्रमका साथ

कोशीमा पहिलोपटक प्रदेश राजस्व कार्यालय

धरान– कोशी प्रदेश सरकारले पहिलो पटक प्रदेश राजस्व कार्यालय स्थापना

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशील बनाइने छ : मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारसँगको संवाद र

स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली कार्यान्वयनमा

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय शासन कार्यसम्पादन

‘मिशन ८४’ सफल पार्न उपाध्यक्ष परियारको नेतृत्वमा विवेकशील साझाद्वारा संवाद समिति गठन

काठमाडौं– विवेकशील साझा पार्टीले आगामी निर्वाचनलाई लक्षित गरेर ‘राजनीतिक संवाद