पर्यटन प्रवर्द्धनका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण « Khabarhub

पर्यटन प्रवर्द्धनका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– पर्यटन प्रवर्द्धनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ हिस्तानमा मौलिक संस्कृति र सम्पदा संरक्षण गर्न थालिएको छ ।

यस वडामा बाहुल्य बसोबास रहेको मगर समुदायको मौलिक सम्पदा भूमे थान, धार्मिकस्थल गिद्धेश्वर मन्दिर, कला र संस्कृतिको संरक्षण तथा व्यवस्थापनमार्फत पर्यटन प्रवर्द्धनको प्रयास थालिएको हो । 

भूमे पूजा गर्ने संस्कृतिको निरन्तरताका लागि थानहरूको संरक्षण, मौलिक पुर्ख्यौली नृत्यको पुस्तान्तरण र जनजीवनमा प्रयोग हुने सामग्रीहरूको संरक्षणका सङ्ग्रहालय भवन बनाइएको अन्नपूर्ण–७ का वडाध्यक्ष मइलन गर्बुजा पुनले जानकारी दिए । 

मगर समुदायमा भूमे थानको धार्मिक र सांस्कृतिक महत्त्व छ । भूमे थानमा यस समुदायले प्रकृतिको पूजा गर्छन् । धार्मिकस्थल र संस्कृति संरक्षणको साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष हिस्तानको घराम्दी र रिमास्थित भूमेथानमा पूर्वाधार निर्माण गरेको वडाअध्यक्ष पुनले बताए । 

‘गाउँपालिकाको नौ लाख बजेटबाट घेराबार, पदमार्ग र पर्खाल बनाएर संरक्षण गरिएको हो । रिमाको भूमेथानमा समुदायले आर्थिक सहयोग जुटाएर निरन्तरता दिएका छन्’, उनले भने,  ‘१२ लाख बजेटबाट घराम्दीको भूमेथान वरपर तारजाली लगाएर घेराबार, खानेपानी, सार्वजनिक शौचालय, पदमार्ग र आश्रयस्थल निर्माण भएका छन् ।’

प्रधानमन्त्री रोजगार कार्यक्रमको छ लाख ९० हजार बजेटबाट घराम्दी गाउँबाट भूमेथान जोड्ने ढुङ्गाको सिँढीसहितको पदमार्ग निर्माण भएको छ । भूमेथान वरपर पर्खाल, तारबार र फलामको घेराबार गरेपछि दुर्घटनाको जोखिम हटेको अन्नपूर्ण–७ का वडा सदस्य गेमबहादुर पुनले बताए । 

‘पूजाआजाको समयमा भीडभाड हुँदा साँघुरो ठाउँमा लडेर दुर्घटना हुने जोखिम थियो’, उनले भने, ‘घेराबार, पदमार्ग र खानेपानीलगायत पूर्वाधार बनेपछि सहज र सुरक्षित भएको छ ।’ 

भूमेपूजाका लागि सहरबजार र विदेशमा गएकाहरु पनि आफ्नो जन्मथलो फर्कंदा चहलपहल हुन्छ । 

‘म्याग्दीका सबै मगर बस्तीमा जेठ महिनामा भूमे पूजा गर्ने चलन छ । केही ठाउँमा मङ्सिरमा भूमे पूजा गरिन्छ । गाउँलेहरू भेला भएर साझा रूपमा भूमे पूजा गरेर भोज र मगर संस्कृतिमा आधारित पुर्ख्यौली नाच प्रस्तुत गर्छन्’, उनले भने।

विपद् र अनिष्ट नहोस् भन्ने कामनासहित भूमेको थानमा भेँडाको साँढेको बलि चढाएर नाचगान गर्दै जमिन र प्रकृतिको पूजा गर्ने चलन रहेको अन्नपूर्ण–७ का पूर्ववडाध्यक्ष गमप्रसाद फगामीले बताए। उनका अनुसार अन्नपूर्ण गाउँपालिकाले टिकोटमा पर्यटक आकर्षित गर्न, भुलाउन र परम्परागत मौलिक सामग्रीको संरक्षण गर्न सङ्ग्रहालय स्थापनाका लागि भवन बनाइएको छ । 

पछिल्लो दुई आर्थिक वर्षमा विनियोजन भएको २९ लाख बजेटबाट निर्माण भएको दुईतले भवनमा दैनिक जीवनयापनमा प्रयोग हुने परम्परागत मौलिक सामग्री संकलन गरेर राखिने वडा सदस्य बुद्धिवीर पुनले बताए। 

यसैगरी, हिस्तानको औलास्थित धार्मिकस्थल गिद्धेश्वर मन्दिर जोड्ने पदमार्गलगायत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा १५ लाख बजेट विनियोजन भएको छ । विभिन्न टोलका पुर्ख्यौली नृत्य समूहलाई पोसाक सहयोग र युवा पुस्तालाई कला हस्तान्तरणका लागि प्रशिक्षण सञ्चालन भएका छन् । 

हिस्तानको घराम्दीस्थित प्यारीबाराही तालको वरपर पदमार्ग निर्माण र तालमा उम्रिएको झार निकालेर सफा गरिएको छ । गुराँसे जङ्गलका बीचमा रहेको हिस्तानको फूलबारीमा गुराँस पार्क बनाइएको छ । 

अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय र करवाकेली पदमार्गमा समेटिएको हिस्तानको आकर्षण प्रकृति र संस्कृति हो । 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : ५२ बजे

आजको मौसम पूर्वानुमान : केही प्रदेशमा मेघगर्जनसहित भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

लिपुलेक बारे भारतको प्रतिक्रिया- कैलाश यात्राका लागि यो ऐतिहासिक मार्ग हो

नयाँ दिल्ली– भारतले लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार०का लागि विदेशी मुद्राको

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आज २०८३ साल वैशाख २१ गते सोमबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ