काठमाडौं- १ साउनमा ललितपुरको च्यासलमा बसेको नेकपा (एमाले) सचिवालय बैठकमा पार्टी नेतृत्वका लागि ७० वर्षे उमेर हद र अध्यक्ष २ कार्यकाल मात्रै बन्न पाउने व्यवस्था हटाउने विषयमा अध्यक्ष केपी शर्मा ओलीसँग गरमागरम बहस भयो ।
उक्त दिन केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भनाभन नै भयो । उक्त बैठकमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था एमालेको विधानबाट हटाउने विषयमा नेताहरू अध्यक्ष ओलीसँगमा विवादमा उत्रिएका थिए ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलमार्फत् पेश गरिएको विधान संशोधनको प्रस्तावमा नेताहरू विभाजित हुँदा ओलीसँग भनाभन भएको थियो । अध्यक्ष ओली र महासचिव शंकर पोखरेलसहितले उमेर हद र कार्यकाल सीमा हटाउनुपर्ने पक्षमा तर्क गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले विरोधमा उत्रिए ।
पार्टीमा गरिने यस्तो व्यवस्थाले नेतृत्वमा अनुशासन र लोकतान्त्रिक संस्कार कायम हुने भएकाले दुवै प्रावधान यथास्थितिमा राख्नुपर्ने उनीहरूको अडान थियो ।
बैठकमा अध्यक्ष ओलीले उमेर हद र कार्यकाल सीमा हटाउने पक्षमा आफ्ना तर्क राख्दै वरिष्ठ उपाध्यक्ष पोखरेललाई सोधे-‘तपाईं यो नीति राख्न जोड दिइरहनुभएको छ भने म त सिधै हट्नपर्ने हुन्छ नि ? तपाईंको उद्देश्य मलाई हटाउने हो त ?
गत बुधबारको बैठकमा ओलीले यसरी सोधेपछि त्यस बैठकमा पोखरेलले दोहोर्याउँदै जवाफ दिए, अँ, हो ।’
त्यसपछि दोस्रो दिन बिहीबारको सचिवालय बैठकको सुरूमै अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा आउन रोक्नुपर्ने बताए ।
‘राष्ट्रपति, पूर्वराष्ट्रपति भइसकेका व्यक्ति फर्किएर पार्टी राजनीति गर्छु भन्नु गलत हो। यो पार्टीको मात्रै कुरा होइन, हाम्रो व्यवस्था, प्रणालीको पनि कुरा हो,’ अध्यक्ष ओलीले भनेका थिए, ‘देशको सर्वोच्च पदमा जाने भनेको अब पार्टीमा फर्किन्न भनेरै जाने हो, फर्किएर राजनीतिमा आउँदा त्यस पदको गरिमा के बाँकी रहन्छ ?’
तर त्यही सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीलाई ‘तपाईं अब एमालेको अध्यक्षबाट हट्नुपर्छ’ भनेको नेताहरू बताउँछन् ।
‘तपाईं अध्यक्षबाट हट्नुपर्छ। पार्टीमा मेरो विकल्प छैन भन्दै हिँड्नेहरु म नभए पार्टी चल्दैन, देश रहँदैन जस्तो कुरा गर्नुहुन्छ ? के भनेको त्यो ? कार्यशैली पनि त्यस्तै छ। मेरो मूल्यांकन शतप्रतिशत, अर्काको मूल्यांकन नै हुँदैन भन्नुहुन्छ’, उनले भनेका थिए, ‘पार्टीमा व्यक्तिको मूल्यांकन प्रमुख हुन्छ ? उसले जे गर्यो त्यही ठीक हुन्छ ? मूल्यांकनको प्रणाली हुँदैन, विधि हुँदैन ? साझा मूल्यांकन पनि हुन्छ। एउटा व्यक्तिलाई जे लागेको छ, त्यही पार्टी निर्णय हुन्छ ?’
पोखरेलले अध्यक्षको कार्यशैलीमाथि गम्भीर प्रश्नसहित बुझाइमै समस्या रहेको टिप्पणीसमेत गरेका थिए । ‘तपाईं बैठकमा आलोचना, आत्मालोचना भयो भने झगडा भयो भन्नुहुन्छ। विषयमा छलफल हुँदा व्यक्तिगत कुरा मात्रै हुन्छ ? नीतिगत समीक्षा पनि हुन्छ नि! त्यसलाई झगडा मान्ने,’ पोखरेलले घेर्दै भने ।
वरिष्ठ उपाध्यक्ष पोखरेल ११ औँ महाधिवेशनबाट पूर्वराष्ट्रपति भण्डारीलाई एमाले अध्यक्ष बनाउनेतिर खुलेको चर्चाबीच ओलीसँग भनाभन भएको थियो ।

त्यो अपील
१ साउनको सचिवालय बैठकमा ओलीसँग चर्काचर्की परेपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले २ साउनमा एक अपील जारी गर्दै विधान संशोधन मस्यौदामा गम्भीरतापूर्वक बहस गर्न पोलिटब्युरो सदस्यहरूलाई आग्रह गरे ।
बैठक सुरु हुनुअघि पोखरेलले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन (मस्यौदा) माथि सचिवालय बैठकमा गम्भीरताका साथ छलफल भएको बताउँदै पोलिटब्युरोमा पनि त्यसैगरि तयारी गर्न उनले आग्रह गरेका थिए ।
पोलिटब्युरो बैठकबाट केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने सकिने पोखरेलले विश्वास लिएका थिए । ‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा)माथि सचिवालयको बैठकमा गम्भीरतासाथ छलफल गरियो, अब पोलिटब्युरो सदस्यहरूबीच छलफल हुनेछ । पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरतासाथ छलफल र बहसमा सहभागी हुनुहुनेछ । केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनुहुनेछ ।’
नवीकरण विवादमा यसो भने
४ श्रावण २०८२, आइतबार
पोखरेलले ४ साउनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीबीच च्यासलमा भएको भेटवार्तापछि अर्थपूर्ण अभिव्यक्ति दिएका थिए । उनले अध्यक्ष ओलीले रोक्न खोजेको पूर्वराष्ट्रपतिको सदस्यता आफैंले नवीकरण गरिदिएको बताए ।
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपतिबीच च्यासलमा भएको वार्तापछि एमाले कार्यालय परिसरमा उनले नवीकरणको निर्णय गर्ने मान्छे आफैं भएकाले सदस्यता पेन्डिङमा छ भन्ने कुरा बेठीक भएको बताए ।
यसअघि महासचिव शंकर पोखरेलले नेपाल प्रेससँगकको अन्तर्वार्तामा विद्या भण्डारीको सदस्यता नवीकरण भइसकेको भन्ने कुरा सम्झिँदै उनले सदस्यता नवीकरणको विवाद नरहेको बताएका थिए ।
पूर्वराष्ट्रपतिले एमाले अध्यक्षमा दाबी गरिरहेका बेला अब सदस्यता नवीकरणका लागि संघर्ष गर्ने कुरा हावादारी भएको उनको तर्क थियो ।
उनले पार्टीको २ साउनमा बसेको पोलिटब्युरो बैठकमा पनि अध्यक्ष ओलीले पूर्वराष्ट्रपतिको सदस्यता पेन्डिङमा छ भनेर नबोलेको बताए । नवीकरण गरिसकेको सदस्यता पेन्डिङमा छ भनेर कसैले नबोलेको उनको दाबी थियो ।
अनि मौनता…

पार्टी सचिवालय र पोलिटब्युरोमा समेत मुखर भएका उनै वरिष्ठ उपाध्यक्ष पोखरेलले मंगलबार राति अध्यक्ष ओलीले बैठक समापन गर्नअघि अर्थपूर्ण मौनता साँधे ।
अध्यक्ष ओलीले केन्द्रीय समिति बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा फर्किन नदिने प्रस्ताव गर्दा पोखरेल मौन बसे । तर उनीसँगै सचिवालय बैठकमा अध्यक्ष ओलीसँग विवादमा उत्रिएका उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले उठेर प्रतिवाद गरे । उनीहरूलाई साथ दिए स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले ।
तर, वरिष्ठ उपाध्यक्ष पोखरेलले तीन नेतालाई साथ दिएनन्। ओलीले घोषणा गरिरहँदा उनी चुपचाप बसिरहे । अरू नेताले हो-हल्ला र विरोध गरिरहँदा पनि पोखरेलले ओलीको प्रस्तावमा मौन समर्थन गरेर बसे ।
‘खासमा उहाँले सचिवालय बैठकमै ओलीसँग आफ्नो असहमति दर्ज गरिसक्नु भएको थियो । पूर्वराष्ट्रपतिलाई रोक्नु हुन्न भन्ने धारणा उहाँले सचिवालयमै राखिसकेको अवस्था भएकाले केन्द्रीय कमिटीमा बोल्नु भएन’, उनीनिकट एक नेताले भने, ‘केन्द्रीय कमिटीको बहुमतले निर्णय गरेको अवस्थामा यस पटक लिखित रुपमा असहमति दर्ज गर्ने ठाउँसमेत राखिएको थिए । लिखित रुपमा नेताहरूले आफ्नो असहमति राख्ने अवस्था नभएपछि उहाँ केन्द्रीय कमिटीमा बहुमतलाई कदर गर्दै मौन बस्नु भएको हो ।’
स्रोतका अनुसार पोखरेलले अध्यक्ष ओलीसँग सचिवालय बैठकमा भनाभन गरेपछि उपमहासचिव विष्णु रिमालसहितका नेताहरू फकाउन निरन्तर संवादमा थिए ।
यदि वरिष्ठ उपाध्यक्ष पोखरेललाई केन्द्रीय कमिटीमा मौन राख्न सकिएमा पूर्वराष्ट्रपतिको पक्षमा माथिदेखि तलैसम्म एउटा लाइन खडा हुन नसक्ने मत ओलीनिकट नेताहरूको थियो । त्यहीकारण ओलीले रिमालसहितका नेताहरूलाई पोखरेलसँग संवादमा खटाएर उनलाई आक्रमक हुन या असहमति दर्ज गर्नबाट रोकेको स्रोतको दाबी छ ।
पोखरेल मौन रहेपछि केन्द्रीय कमिटीमा भण्डारीको पक्षमा खुल्न खोजेका अन्य नेताहरू पनि बोलेनन् । पोखरेलको मौनताले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई भने केही अप्ठेरो अवस्था उत्पन्न गरिदिएको छ । अर्का उपाध्यक्ष युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले यसअघिबाटै ओलीको कार्यशैली र नेतृत्वको आलोचना गरिरहेका थिए । थापाको अभिव्यक्तिलाई लिएर उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमालले पार्टीले केही कदम चाल्ने संकेत यसअघि नै गरिसकेका छन् ।
पोखेरलको मौनता र पार्टी नेतृत्वको चेतावनी र दबाबबीच केन्द्रीय कमिटी बैठकमा करिब दुई दर्जन नेताहरू खुलेर बोलेका छन् ।
केन्द्रीय सदस्यहरू कैलाश ढुङ्गेल, इन्द्रलाल सापकोटा, रचना खड्का, अरबिन्द सिंह, युवराज बास्कोटा, रामलाल साह, बीनादेवी राई, शिव सुवेदी, शिव सुवेदी, केदार न्यौपाने, पार्वती रावल लगायत नेताहरूले पूर्वराष्ट्रपतिको पक्षमा उभ्याए ।
केन्द्रीय सदस्य केदार न्यौपानेले पूर्वराष्ट्रपति भण्डारीलाई विवाद नगरी पार्टीमा स्वागत गर्नुपर्ने बताए । न्यौपानेले भण्डारीले सदस्यता त्यागेको विषय प्राविधिक भएको भन्दै यसलाई विवादको विषय बनाउन नहुने बताए ।
केन्द्रीय सदस्य युवराज बास्कोटाले भण्डारीमाथि भइरहेको टिप्पणी गलत भएको बताए । भन्दा सेनाको परमाधिपति भन्ने तर व्यवहारमा बाटबाटै हिलो छ्याप्ने, तेजोबोध गर्दै हिँड्नु युक्तिसंगत नभएको उनले बताएका थिए ।
प्रतिक्रिया