वीरगञ्ज– वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा एक खर्ब ९१ अर्ब ८८ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । समग्रमा आव २०८० र ८१ को तुलनामा गत आवभरिमा यो नाका हुँदै मूल्यको आधारमा पेट्रोलियम पदार्थको आयात रु एक अर्ब ९४ करोडले घटेको छ ।
सो अवधिमा मूल्यको आधारमा पेट्रोलियम पदार्थको आयात घटेपनि सोबाट प्राप्त हुने राजस्व भने १० दशमलव २३ प्रतिशत अर्थात् सात अर्ब ५१ करोडले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले कार्यालयले गत आवभरिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट प्राप्त गरेको बताए।
‘यहाँको भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ’, उनले भने ।
गत आवभरिमा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले रु ८० अर्ब ९२ करोड रकम राजस्व संकलन गरेको छ । जबकी अघिल्लो आव २०८०-८१ मा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट रु ७३ अर्ब ४० करोड राजस्व संकलन थियो ।
कार्यालयका अनुसार गत आवभरिमा ९९ अर्ब ९५ करोड मूल्य पर्ने ११ लाख ४९ हजार ५२१ किलोलिटर डिजेल आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा एक खर्ब पाँच अर्ब ८७ करोड मूल्यको १० लाख ५५ हजार १६० किलोलिटर डिजेलको आयात भएको थियो ।
कार्यालयले गत आवभरिमा डिजेल आयातबापत कार्यालयले रु ४५ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको छ भने अघिल्लो आवको सोही अवधिमा भने रु ४२ अर्ब ३६ करोड राजस्व संकलन गरेको थियो ।
त्यस्तै गत आवभरिमा ३८ अर्ब ७२ करोड मूल्य पर्ने चार लाख ५३ हजार ८६४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकी अघिल्लो आवको सोही अवधिमा भने ३९ अर्ब दुई करोड मूल्य पर्ने तीन लाख ९४ हजार ७२३ किलोलिटर पेट्रोल आयात भएको थियो । कार्यालयले गत आवभरिमा पेट्रोल आयातबाट २५ अर्ब ६६ करोड राजस्व संकलन गरेको छ । जबकी अघिल्लो आवमा भने पेट्रोलबाट २२ अर्ब ६२ करोड राजस्व संकलन भएको थियो ।
यो नाका हुँदै गत आवमा रु ३६ अर्ब ३७ करोड मूल्य पर्ने ३१ करोड ८९ लाख २४ हजार ६८४ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । जबकी अघिल्लो आवको सोही अवधिमा भने रु ३० अर्ब मूल्य पर्ने २७ करोड ९० लाख ४८ हजार ८७८ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । कार्यालयले गत आवमा एलपिजीबाट छ अर्ब ८१ करोड र अघिल्लो आवभरिमा भने रु पाँच अर्ब ६० करोड राजस्व संकलन गरेको थियो ।
यो नाका हुँदै गत आवमा रु १६ अर्ब १४ करोड मूल्य पर्ने एक लाख ८० हजार ६६३ किलोलिटर एटिएफ आयात भएको छ । जबकी अघिल्लो आवमा भने रु १८ अर्ब २१ करोड मूल्य पर्ने एक लाख ७३ हजार ४८४ किलोलिटर एटिएफ आयात भएको छ । कार्यालयले गत आवमा एटिएफ आयातबाट रु दुई अर्ब ५३ करोड र अघिल्लो आवमा भने दुई अर्ब ६४ करोड राजस्व संकलन गरेको थियो ।
यो नाका हुँदै गत आवमा रु ६९ करोड मूल्य पर्ने सात हजार ९३० किलोलिटर मट्टितेल आयात भएको छ ।
जबकी अघिल्लो आवको सोही अवधिमा भने ७१ करोड मूल्य पर्ने छ हजार ८२० किलोलिटर मट्टितेल आयात भएको थियो । गत आवमा मट्टितेल आयातबाट २० करोड राजस्व प्राप्त भयो भने अघिल्लो आवमा भने रु १८ करोड राजस्व संकलन भएको थियो ।
प्रतिक्रिया