काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको अवस्थामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दलीय राजनीतिमा फर्किन नहुने भन्दै रोक लगाएको छ ।
मंगलबार मध्यराति सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकालेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
‘पूर्वराष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, देशको अभिभावक हो’, गौतमले भने, ‘यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन। यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने केन्द्रीय कमिटिको निष्कर्ष निकालेको छ।’
बैठकले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई पनि हटाएर ओलीलाई पार्टी अध्यक्ष बन्ने बाटो खुला गरिदिएको छ। यो निर्णयले आगामी भदौमा हुने विधान अधिवेशनले पास गरेपछि वैधता पाउने छ।
पूर्वराष्ट्रपतिको हकमा जनताले उठाउन सक्ने प्रश्न, प्रणाली माथि उठ्न सक्ने प्रश्नलाई रोक्न पार्टीको सक्रिय राजनीतिमा आउन हुँदैन भन्ने निष्कर्षमा पुगेको गौतमले मध्यराति बताएका थिए । राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको व्यक्ति कुनै पार्टीको झण्डा बोकेर हिँड्नु हुँदैन भनेर यो निर्णयमा पुगिएको गौतमले सुनाएका थिए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति पार्टीले गर्ने सम्मानमा कुनै कमी नहुने उनले बताएका छन् । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारी अब कमरेड विद्या भण्डारी नभएर सम्माननीय पूर्वराष्ट्रपति भएको घोषणा गरिसकेको गौतमले बताए ।
उनले यसो भनिरहँदा केन्द्रीय कमिटी बैठकमा केही नेताले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा आउन नदिने निर्णयमा विरोध गरेका थिए । खासगरी उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले ओलीको प्रस्तावमा गम्भीर असहमति जनाए ।
तर पूर्वराष्ट्रपति तथा नवौँ महाधिवेशनबाट उपाध्यक्ष बनेकी भण्डारीले २०८१ वैशाखमै नवीकरण गरिसकेको सदस्यता खोस्ने र राजनीतिमा फर्किने नदिने निर्णय गर्ने क्रममा एमालेको केन्द्रीय कमिटी बैठक मध्यराति तनावपूर्ण देखियो ।
ओलीले पूर्वराष्ट्रपतिलाई एमालेको ढोका बन्द गरेको निर्णय सुनाउँदा ती तीन नेताले कडा प्रतिवाद गरे । ओलीले पेलेर निर्णय गराउन खोजे पनि बैठकमा विरोधको स्वर सुनियो । सचिवालय बैठकमा ओलीसँग भनाभनमा उत्रिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मौन रहे पनि उपाध्यक्ष पाण्डेले ओलीलाई कडा चुनौती दिए ।
बैठमा पाण्डे, ज्ञवाली र थापाले हात उठाएर बोल्न अनुमति मागेका थिए । तर ओलीको पक्षबाट स्थायी कमिटी सदस्य खगराज अधिकारीसहितले प्रतिवादको कोसिस गरे । त्यसक्रममा हल केही बेर हो-हल्लाले गुञ्जियो ।
सचिवालय बैठकमा पोखरेल र ओलीबीच भएको जस्तै केन्द्रीय कमिटीको समापनका क्रममा पनि ओलीले उपाध्यक्ष पाण्डेबाट कडा चुनौती सामना गरे । उनले पूर्वराष्ट्रपति भण्डारीलाई निषेध गरेर एमालेकै लागि संकट निम्त्याउन खोजिएको आरोप लगाए । ओलीले पेलेर घोषणा सुनाउँदै गर्दा उपाध्यक्ष पाण्डेले निर्णयमा पुनर्विचार गर्न दोहोर्याएर आग्रह गरे । तर आफूसँग भिड्न आउन लागेकी भण्डारीलाई कुनै हालतमा रोक्ने पक्षमै ओलीले ढिपी गरिरहे ।
पाण्डेले ओली नरोकिएपछि रुसी कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव ख्रुश्चेभको पनि सुनाए । उनले ओलीलाई एमाले स्टालिन शैलीमा नचलाउन पनि सचेत गराए ।
उनले २०५४ माघ १२ गतेदेखि १८ गतेसम्म बाँकेको नेपालगञ्जमा एमालेको छैटौं राष्ट्रिय महाधिवेशनलाई स्मरण गराउँदै पार्टीलाई दुर्घटनातिर नलैजान सचेत गराए । छैटौँ महाधिवेशन चलिरहेका बेला योगेश भट्टराई र रुपनारायण श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको थियो ।
‘म तपाईंलाई एउटा कुरा सम्झाउन चाहन्छु, छैठौँ महाधिवेशनको हलबाट हामीले दुईजना कमरेडहरू योगेश भट्टराई र कमरेड रुपनारायण श्रेष्ठलाई निकाल्यौँ’, उनले ओलीलाई भने, ‘तर उक्त बेला पेलेर गरेको निर्णयलाई पछि आएर सच्याउँदै सदस्यता कायम गर्ने निर्णय गर्नुपर्यो ।’

तर ओली त्यसपछि सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलसँग रिसाएकै शैलीमा आक्रोशित भए । उनले पाण्डेलाई रोक्दै उल्टै प्रश्न गरे, ‘के कारणले निकालेको रे !’
पाण्डे पनि रोकिने मुडमा देखिएनन् । उनले स्टालिनले बुट बजारेर विपक्षीलाई पेलेको कुरा दोहोर्याएर सुनाए । ‘स्टालिनको बुट बजेको सुन्नेबित्तिकै बोल्सेभिक पार्टी र तिनका सदस्यहरू लगलग काँप्थे, तपाईंले पनि एमालेलाई त्यस्तै बनाउन खोज्नुभएको हो ?,’ पाण्डेले कडा शब्दमा भने ।
पाण्डेले घेरेपछि ओलीनिकटहरूको स्वर चर्को सुनियो, उनीहरूले बैठकमा हो-हल्ला मच्चाए । पाण्डेले घेरेपछि ओलीको आक्रोश झनै बढेको एकजना केन्द्रीय सदस्यले खबरहबलाई बताए । पाण्डेको प्रश्नले आक्रमक देखिएका ओलीले त्यसपछि भने, ‘…यो बैठक खेद प्रकट गर्दछ ।’
उक्त केन्द्रीय कमिटी बैठकमा ओलीले महासचिव शंकर पोखरेलसहितलाई परिचालित गरेर आफ्नो पक्षमा बोल्नुपर्ने माहोल खडा गरेका थिए । उनले सूची नै बनाएर प्रदेश र भूगोलबाट बोल्ने समूहका केन्द्रीय सदस्यमध्येबाट आफ्ना समर्थकलाई पहिले बोल्ने व्यवस्था मिलाएका थिए ।
पाण्डेले त्यही कुरालाई लिएर ओलीको पक्षमा बोल्न अनेक हर्कत भएको उल्लेख गरेका थिए । उनले पार्टीमा नेताहरूले ढुक्कसँग बोल्न नपाउने वातावरण बनाइएको बताउँदै ओलीलाई स्टालिनसँग तुलना गरेका थिए।

उपाध्यक्ष पाण्डेले विद्या भण्डारीलाई राजनीतिमा आउन नदिने निर्णयमा पुनर्विचार गर्न पनि भने । ओलीलाई घेर्दै पाण्डेले छैटौँ महाधिवेशनको प्रसंग दोहोर्याएर बैठकमा सुनाए । ‘त्यसबेला के कारणले कारबाही गरियो मैले भुलेँ । तर भीम रावलले उत्तेजित हुँदैर कोट र झोला फ्याँक्नु भएको थियो । त्यही घटनापछि योगेश र रुपनारायणलाई निकाल्ने निर्णय भएको थियो । त्यसको परिणामबारे तपाईंहरू जानकार नै हुनुहुन्छ’, पाण्डेले भने ।
पाण्डेले ओलीमाथि नेकपाकालीन विवादमा माधव नेपाल र झलनाथ खनालहरूको बहिर्गमनको प्रसंग पनि निकाले ।
‘२०७७ सालमा नेकपाबाट एमाले र माओवादीलाई सर्वोच्च अदालतले अलग बनाएपछि माधव नेपाल र झलनाथ खनालहरू लज्जित भएरै एमालेमै बस्न चाहनुहुन्थ्यो तर तपाईंले (ओली) धकेलेर निकालिदिनु भयो’, पाण्डेले भने, ‘उता तत्कालीन उपाध्यक्ष वामदेव गौतमलाई पटक-पटक मूर्ख बनाउनु भएको हामी सबैलाई जगजाहेर छ । भीम रावलले पार्टी छोड्न नचाहे पनि टिक्न नदिएर लखेटियो ।’
यसबेला पनि ओलीको पक्षमा हलमा रहेका नेताहरूले पाण्डेविरुद्ध हुटिङ लगाए । एकातिर पाण्डेसँग ओली आक्रोशित देखिन्थे भने अर्कातिर हलमा उनका समर्थक होहल्ला गरिरहेका थिए । उनीहरूले इतिहासमा गएर अहिलेको निर्णय प्रभावित गर्न खोजेको भन्दै पाण्डेविरुद्ध नाराबाजी गरे।
उनीसँगै अर्का उपाध्यक्ष ज्ञवालीले पनि पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा आउने बाटो छेक्ने निर्णय एमालेका लागि घातक हुने भन्दै ओलीलाई सचेत गराए । भावुक मुद्रामा देखिएका ज्ञवालीले पूर्वराष्ट्रपतिको सदस्यता नै रोकिदिने निर्णय एमालेले एक दिन चुकाउने चेतावनी ओलीलाई दिए ।
‘पूर्वराष्ट्रपतिको सदस्यता नै रोक्ने कदम खतरनाक छ । यसले पार्टीमा ठूलो जोखिम ल्याउँछ । अध्यक्षज्यू तपाईंले मानिदिनुस्, यस्तो गम्भीर निर्णय नगरौँ’, उनले भने, ‘यो निर्णयले पार्टी विभाजनको तहसम्म लैजाने जोखिमलाई बुझिदिनुस् ।’
उनले यो निर्णय रोक्न ओलीलाई पटक पटक बिन्तिसमेत गरे । ‘मान्दै मान्नुहुन्न भने मेरो केही लाग्दैन । तर हामीले भनेको यति कुरा मान्नुस् । यस्तो निर्णय नगर्नुस् । यसले पार्टीमा धेरै ठूलो असर पर्छ’, उनले पटक पटक ओलीसँग याचना गरिरहे । तर ओली आफ्नो निर्णयबाट टसमस हुने पक्षमा देखिएनन् । ओलीले निर्णयबाट पछि नहट्ने भनेपछि ज्ञवाली स्तब्ध देखिए । उनले भण्डारीलाई रोक्ने ओलीको निर्णयलाई ‘हृदयविदारक’ भन्दै सम्बोधन पनि टुंग्याए ।
यो बैठकका क्रममा सातै प्रदेशका इन्चार्जहरूलाई एक ठाउँ राखेर महासचिव शंकर पोखरेलले ओलीको पक्षमा एक ढिक्का भएर उभिन कडा निर्देशन दिएका थिए । उनको निर्देशनपछि इन्चार्जहरूले आफ्नो प्रदेशबाट आएका केन्द्रीय सदस्यहरूलाई ओलीको पक्षमा बोल्न निर्देशन दिए । ओलीको पक्षमा माहोल बनाउन ठाउँ ठाउँमा इन्चार्जहरूले गुट भेला गरेपछि त्यहीअनुसार हलमा बोल्ने सूची पनि बनाइएको थियो ।
ओलीलाई अहिलेसम्म नभेटेका केही नेताहरूलाई त अब भेट्ने माहोल बनाइिदनेसमेत बताएर पक्षमा बोल्न निर्देशन दिइएको एकजना केन्द्रीय सदस्यले बताए ।
प्रतिक्रिया