दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू « Khabarhub

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुशे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइन्छ । बाबुप्रति आदर सम्मानका साथ मीठो खाना र राम्रो लगाउन दिने परम्परा रहेको छ । त्यसो त बाबु गुमाएकाहरूले भने धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ ।

पवित्र तीर्थस्थल देवघाट धाममा रहेका वृद्धाश्रमका ‘बा’हरू भने दाता पर्खेर बसेका छन् । जीवनको उत्तरार्धमा पुगेका बा र आमाहरू प्रायः परिवारबाट हेलित भएर यहाँ आएका छन् । कतिपय आफ्नो सहारा कोही नभए पनि आश्रय लिन यहाँ आइपुगेका छन् । जहाँ हरेक वर्षमा आउने आमा खुवाउने दिन (माता तीर्थ औँसी) र कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन त्यहाँ बस्ने वृद्ध बा र आमाहरू भने कोही दाता आएर बा आमाको सम्मान देला भनेर पर्खिरहेका छन् ।

देवघाट गाउँपालिका– ५ मा रहेको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका बाहरूको अवस्था अझै दयनीय छ । नुवाकोटबाट आएर बसेका ७५ वर्षीय कृष्णप्रसाद भट्ट आफन्त भए पनि चाडपर्वमा नसम्झिँदा मन अमिलो भएर आउने गरेको बताउँछन् । औँसीको दिन भएका दुई भाइ छोराले समेत सम्पर्क नगर्दा आफन्त भन्ने रहेनछन् भन्ने भान भएको उनले बताए ।

श्रीमतीको निधनपछि छोराहरूलाई आफ्नो खुट्टामा उभिने बनाएर छाडेका भट्ट छोराहरूको सम्झनामा निकै निरास बन्ने गर्छन् । उनले भने, वृद्धावस्थामा निकै समस्या हुँदो रहेछ, छोराहरूको सहारा चाहिने समयमा उनीहरू नै सम्पर्कमा छैनन् कसरी सहारा पाउनु ।’ अहिले त भगवानको भरोसामा जीवनलाई छाडेको उनको भनाइ छ ।

अहिले आश्रममा आएर जसले बा भन्छ र मीठो खान दिन्छ तीनै छोराछोरी हुन् जस्तो लाग्ने गरेको उनले सुनाए । उनी विगत आठ वर्षदेखि यही आश्रममा आश्रय लिएर बस्दै आएका छन् ।

भरतपुर महानगरपालिका– ६ गीतानगरका ८६ वर्षीय शमशेरबहादुर विश्वकर्मा दुई पटकसम्म वैवाहिक सम्बन्धमा बाँधिएर पनि श्रीमती र छोरा/छोरी नभएपछि निकै उदास भएर आश्रममा दिन काट्दै आएका छन् । उनको वैवाहिक जीवन सफल हुन नसकेपछि उनी आश्रममा आएर बस्न थालेको बताउँछन् । जन्मिएका छोराछोरीहरू नबचेपछि श्रीमतीले पनि उनलाई छाडेर गए ।

बागलुङबाट आएर देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा बस्दै आएका ७७ वर्षीय मणिरत्न पौडेल अविवाहित छन् । उनका भाइ र बहिनी बागलुङमा नै छन् । परिवारका सदस्य नहुँदा चिन्ता नभए पनि अहिले कसैले बा भनेर बोलायो भने पनि मन फुलेर आउने गरेको उनको भनाइ छ । उनी भन्छन्– ‘जसले बा भन्छन् सबै सन्तान आफ्नै हुन् ।’

देवघाट क्षेत्र विकास समितिको क्षेत्राधिकारभित्र तीन वटा आश्रममा ८० जना वृद्धवृद्धा रहेका छन् । यस क्षेत्रमा रहेको कल्पबासमा ३० जना कल्पबासी र १० वटा आश्रममा आश्रित वृद्धवृद्धाहरूको हरेक वर्ष आउने चाडपर्व यस्तै हुने गरेको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा अहिले ३५ जना वृद्धवृद्धा रहेका छन् । जसमा १७ जना वृद्ध र १८ जना वृद्धा रहेका छन् । उनीहरूको व्यवस्थापनमा दाताहरूको भर पर्नुपरेको उनको भनाइ छ ।

सुरुआती समयमा समाज कल्याण कार्यालयबाट केही बजेट आए पनि अहिले बजेट नहुँदा भवन मर्मतदेखि आश्रितहरूको दैनिकीमा समेत दाताको भर पर्नुपरेको उनको भनाइ छ । सरकारी कुनै पनि निकायबाट बजेट प्राप्त नहुँदा अहिले दाता खोज्नुपर्ने अवस्था आएको उनले बताए । (रासस)

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ८ : ३३ बजे

केही भूभागमा वर्षाको सम्भावना, सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रमा तपक्रम बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

मुस्ताङ– मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ

आईपीएल: वैभव सूर्यवंशीको ९३ रनको मद्दतमा राजस्थानको सानदार जित

जयपुर — युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान

निरन्तर बढ्दै डलरको मूल्य : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ  – आज २०८३ साल जेठ ६ गते बुधबार। जेठ