कुशेऔंसी, गोकर्णेश्वर र दुई किंवदन्ती | Khabarhub Khabarhub

संस्कृति

कुशेऔंसी, गोकर्णेश्वर र दुई किंवदन्ती



द्वैत, अद्भुत या द्वेताद्वेत अनेक दार्शनिक तर्क-वितर्कहरूमा लागेका उहिलेका शैव-मतका आचार्यहरूले आफ्नो आफ्नो सिद्धान्त सर्वसाधारण जनतामा बोधगम्य बनाउन लौकिक-अलौकिक रूपमा जुन अनेक पक्ष-विपक्षका युक्तिहरू सोचेका थिए ती युक्तिहरूमा कुनै-कुनै कुराहरू ज्यादै रोचक देखिएका छन् । यसै युक्तिमित्र हाम्रो यस लेखको अभीष्ट विषय गोकर्णेश्वरको उत्पत्तिको कुरा पनि आउँछ ।

ऐतिहासिक दृष्टिकोणले विचार गर्दा वर्तमान गोकर्णेश्वरको मूर्ति तथा मन्दिर सर्वप्रथम कसले, कुन बखत स्थापना गरेको हो, यस विषयमा अध्ययन गर्न अद्यापि कुनै प्रमाणिक वस्तुहरू उपलब्ध भएका छैनन् । यद्यपि ऐतिहासिक राजा मानदेवको मानगृह यही गोकर्णेश्वरको आसपास बनेका थिए भनी कुनै-कुनै वंशावलीहरूमा उल्लेख भएको छ । यो कहाँसम्म सत्य छ, खोजीकै विषय छ ।

तर कुनै बखत सर्वात्मना धर्ममा लीन भएका हाम्रा देशवासीहरूको हृदयमा आफ्नो देश तथा आफ्नो देशका उपलब्धिहरूमा अधिकमन्दा अधिक आस्था जगाउन शैव मतलाई प्रतिपादन गर्ने जुन धार्मिक ग्रन्थहरू बनेका थिए; ती ग्रन्थकारहरूले विशेष गरेर उपत्यकाका अनेक प्राचीन शिवलिंगहरूमा प्राचीन युगका ठूला-ठूला आर्य तथा अनार्य दुवै समाजका व्यक्तित्वलाई अन्तर्भाव गरेर जुन अलौकिक महात्म्यहरू कोरेका छन्, त्यसै प्रकरणमा हाम्रो गोकर्णेश्वरको लिङ्गलाई हरिणरूप शिवको अंशबाट पैदा भएको भनी प्रशंसा गरेका छन् । जुन कुरा ज्यादै रोचक छ ।

अर्थात् अद्वैतवादी शिवमतको रूप जनसाधारणको हृदयमा बोधगम्य बनाउन स्वयं शिवजीले एक सिंगमात्र भएको मृगको रूप धारण गरेका थिए भनी कल्पना गरेका छन् । यस शिवले मृगरूप धारण गर्न लगाउँदा उहिलेका दार्शनिकहरूले आफ्नो शास्त्रको चार पाद, जस्तै- क्रियापाद, विद्यापाद, चर्मापाद र योगपादको प्रतीकस्वरूप चौपायाको रूपमा र अद्वैत भावनाको प्रतीकस्वरूप एक सिंगमात्र कल्पना गरी आफ्नो विचारधारा लौकिक उदाहरणमा साकार गर्न खोजेको कुरा स्पष्ट छ ।

जहाँसम्म हाम्रो सांस्कृतिक प्रभावको कुरा छ, हाम्रा पौराणिक तत्वहरू ज्यादै प्रभावशाली बनेका छन् । यसकारण हाम्रो पौराणिक धारणा अनुसार त्यही मृगरूप शिवजीको आज्ञाले ब्रह्मानोले शिवको अंशबाट उपर्युक्त गोकर्णेश्वरको स्थापना गरेका थिए । यो स्थापना भएको दिन हाम्रो परम्पराअनुसार गोकर्ण औंसीको अघिल्लो दिन मानिएको छ ।

गोकर्ण औंसीको दिनचाहिं स्वर्गबाट सारा देव-देवीहरू यहाँ ओल्हीं बागमतीमा स्नान गरी शिवको पूजाभाव गरेका थिए । यसै धार्मिक तत्त्वको आधारमा अद्यापि हाम्रा उपत्यका र त्यसको वरिपरिका मानिसहरू यहाँ आई भाद्र महिनाको औंसीको दिन मेला भर्दछन् । यो एक पौराणिक पक्षको कुरा हो । तर गोकर्ण औंसीको दिन पितृविहीन जनताले विशेष गरेर यहाँ आई स्नान दान गरी दिवंगत आत्माको तुष्टिका लागि प्रार्थना गर्ने पनि चलन छ ।

यस विषयमा एक वेश्या-पुत्र वैश्यको जीवनीमा आधारित भिन्नै किंवदन्ती छ । यद्यपि यस विषयमा उपर्युक्त पौराणिक
कुराको केही सम्बन्ध देखिदैन । यसकारण यस विषयमा भिन्नै दृष्टिकोणले विचार गर्नु आवश्यक छ ।

चरक-सुश्रुत आदि ग्रन्थहरूमा उल्लेख भएका उहिलेका हाम्रा मनोवैज्ञानिक तत्त्वहरूको खोजीको आधारमा कुनै व्यक्तिको मानसिक स्थिति कुनै भावविशेषमा विकृत या आकृष्ट हुने चान्द्रिक मासका तत्-तत् दिनहरू र सौर्य प्रभावहरू विशिष्ठ ढङ्गमा श्रभिप्रेत कारण मानिएका छन् ।

अर्थात् तिथि-मितिका हिसाबले मनाउने दिनहरूमा र दिन-रातका पृथक् अवस्था-हरूमा हाम्रो मनमा भिन्नाभिन्नै भावनाहरू उत्पन्न हुन्छन् । यसै प्रकरणमा हाम्रो मनमा सन्धि-पर्वहरूमा, अर्थात् औंसीको दिन मृत आत्माको सम्बन्ध प्रबल हुने कुरा उल्लेख भएको छ । वास्तवमा यसै तथ्यको आधारमा हाम्रो यहाँ गोकर्ण औंसीको सांस्कृतिक महिमा चलेको देखिन्छ ।

अर्थात् उपर्युक्त पौराणिक धारणाअनुसार गोकर्णेश्वरको स्थापना भएको अवसर भाद्र औंसीको दिन परी गोकर्णेश्वरको मेला लाग्ने भएको हुनाले नै औंसीको भावनाले र वैश्यको किंवदन्तीको आधारमा पितृविहीन जनताको त्यहाँ विशेष आकर्षण रहेको कुरा स्पष्ट झल्कन्छ । अर्को कुरा, हाम्रो परम्परा अनुसार बाबुको मुख हेर्ने चाड पनि यही दिन पर्न आएको छ ।

यस पर्व-दिनमा हरेक मानिसले वर्षको एकपटक ठूलो भक्तिले आफूलाई जन्म दिने आफ्ना पूज्य पिताको चरण छोई बाबुलाई संतुष्ट पार्न मीठा-मीठा कुराहरू ख्वाउने चलन छ । यस्तो पर्व-दिनमा बाबु नभएका मानिसहरू दुखित हुनु स्वाभाविक छ । एक त औंसीको दिन, तथा अर्को हरेक मानिसले आफ्ना आफ्ना पूज्य बाबुको सम्मान गर्ने सुखकर चाड, यस्तो अवस्थामा पितृविहीन जनताहरू गोकर्णेश्वरको मेलामा सरीक भएर पवित्र बागमतीमा स्नान गरी दिवंगत आत्माको संतुष्टिका लागि ईश्वरसँग प्रार्थना गर्न उपस्थित हुने कुरा पनि युक्तिसंगत नै देखिन्छ ।

यस प्रकार वस्तुस्थितिको विचार गर्दा रावणलाई वर दिने गोकर्णेश्वर स्थापना भएको पौराणिक कुरा र औंसीको चाडले गोकर्ण औंसीको दिन स्वतः उत्पन्न हुने सांस्कृतिक भावना हाम्रो मनमा जमेको छ ।

हाम्रो देशमा मनाइने चाड पर्वहरू अनगिन्ती छन् । तिनमध्ये अधिकांश चाड पर्वहरूको महिमा स्थानीय रूपमा नै सीमित छन् । जसलाई हामी राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूप दिन सक्दछौं । तर आमाको मुख हेर्ने र बाबुको मुख हेर्ने यी दुई सांस्कृतिक चाड यस्ता चाड हुन्, जसलाई हामी अन्तरराष्ट्रिय जगतमा पनि आदर्शको कुरा बनाउन सक्दछौँ ।

यी चाडहरूमा हाम्रो परम्पराको रूपमा कुनै धार्मिक बन्धन छैन । आफूलाई जन्म दिने आमा-बाबुको संतुष्टिका लागि कुनै चिरस्थायी सम्मानको भावना जागृत गर्नु नै यसको पवित्र ध्येय रहेको छ । आजको अन्तरराष्ट्रिय युगमा एकले अर्काको सांस्कृतिक तत्त्वहरूको आदान-प्रदान गर्न सक्दछन् । कुनै पनि हाम्रा सांस्कृतिक तत्त्वहरूमा मानवताको कल्याण हुने यदि कुनै गुण छ भने त्यस्ता सांस्कृतिक तत्त्वहरूलाई अन्तरराष्ट्रिय स्तरमा लैजान नसक्ने कुरा पनि छैन ।

जहाँसम्म मानवमात्रमा हुने, प्राणीमात्रमा हुने ममताको सवाल छ, आफूलाई जन्म दिने र आफूले जन्माएका दुवै पक्षमा परस्परमा प्रेम, सद्‌भावना र ममताको सुखानुभूति हुनु स्वाभाविक छ । यस नैसर्गिक भावनामा आघात पुऱ्याउने भौतिक तत्त्वहरू र त्यसबाट सोचिने कुराहरू कुनै हालतमा पनि मानवसमाजको लागि हितकर बनेका छैनन् ।

यस कारण यस्तो अवस्थामा आफूलाई जन्म दिने पक्ष र आफूले जन्माएको पक्षमा परश्वरमा प्रेम-स‌द्भावना, ममताको सुखानुभूति प्रदान गर्न हाम्रा यी चाडहरू न केवल हाम्रो देशमा मात्र लोकप्रिय हुने कुरा छ किन्तु विश्वभरमा नै यसको आस्था हुने कुरा छ। विश्वभरका मानिसले यसलाई रुचाउने कुरा छ । किनभने यो चाड मानवमात्रले अनुकरणीय हुनुको साथ-साथ यसमा हाम्रो कुनै धर्मको बन्धन पनि छैन ।

पौराणिक कथा र किंवदन्ती

() एकदिन शिवजी पशुयोनिमा जन्म लिई मृगको रूपमा घुमिरहेका थिए । धेरै काल बित्दा पनि शिवजीको कतै पत्तो नभएकोले दुःखी मन भएका इन्द्रादि देवताहरू मिलेर ब्रह्माजीकहाँ पुगे । ब्रह्माजीले पनि शिवजी कहाँ हुनुहुन्छ भन्ने कुरा पत्ता लगाउन सकेनन् ।

आखिर ब्रह्मा, विष्णु, इन्द्र आदि सबै देवताहरू महादेवको खोजीमा यताउती घुमिरहेको बखत कुनै अदृश्य देवीले शिवजी मृग-लीलामा विचरण गरिरहेको कुराको संकेत दिनुभयो । यस कुरालाई सुनेर ब्रह्मादि देवहरू शिवरूप मृग भएकै ठाउँमा आइपुगे ।

यसैबखत एक सिङमात्र भएको विलक्षण स्वभाव भएको मृगलाई देखेर अवश्यमेव यही शिव हो भनी हत्पत सिंगै समात्न पुग्दा सिङ भाँचिएर तीन टुक्रा भयो ।

त्यसपछि आकाशवाणीको रूपमा शिवजीले भन्नुभयो- ‘हे ब्रह्मादिदेवता हो, मेरो यो सिङ आकाश पाताल तथा मर्त्यलोकमा स्थापना गर्नू, त्यसबाट ठूलो पुण्य मिल्नेछ ।’

महादेवको यही आज्ञाअनुसार भाद्र कृष्ण चतुर्दशीको दिन ब्रह्माजीले आफ्नो हातमा रहेको सिंगबाट गोकर्णेश्वरको स्थापना गर्नुभयो ।

() दन्तुर नामका एक वैश्य थिए । यिनी नगरबधुका छोरा थिए । यस कारण यिनलाई तिम्रो बाबु को हो भनेर सबैले गिल्ला गर्दथे ।

यही कुरामा दुखित भएर उनी पुलह नाम भएका ऋषिकहाँ गएर आफ्नो वेदनाहरू सुनाउन थाले । ऋषिले पनि उनलाई गोकर्णेश्वरको पूजा गर्ने र त्यही संगैको पितामह तीर्थमा स्नान र पिण्ड-दान दिनाले मुक्त हुने कुरा सुनाइदिए ।

यो कुरा सुनेर वैश्यको चित्त बुझ्यो र त्यहीअनुसार गोकर्णेश्वर-को पूजा गरी भाद्र कृष्ण औंसीको दिन कुश हातमा लिएर आफ्ना पिताजीको नाउँमा पिण्ड दिन थाले ।

यिनको पिण्ड ग्रहण गर्न सारा पितृहरू एकत्रित भए । पिण्ड खान सबै पितृहरूले छोरा-छोरा भन्न थाले । यस्तो कुरा देखेर वैश्य अल्मलिए । कुनचाहि मेरो बाबु हो भन्ने कुरा उनले निर्णय गर्न सकेनन् ।

आखिर विश्रवा ऋषिको योगसाधनाले खिचिएको ब्रह्माजीले उनलाई आफ्नो पिताजीको परिचय सुनाइदिए । यसरी ब्रह्माजीबाट आफ्ना पिताजीको परिचय पाएपछि उनलाई विधिपूर्वक तिल, पानी, कुश हातमा लिएर पिण्ड प्रदान गरे । जसको पुण्यले उनी चक्रवर्तीसम्म भए । (हिमवत् खण्डबाट)

[प्रस्तुत लेख संस्कृतिविद्‌ मनबज्र बज्राचार्यको ‘हाम्रा चाड-पर्वहरूको विवेचना’ पुस्तकबाट साभार गरिएको हो । उक्त पुस्तक रत्न पुस्तक भण्डारले वि.सं. २०२५ मा प्रकाशन गरेको थियो । सं.]

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  १ : ४२ बजे

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’

रास्वपाद्वारा ‘सद्भाव तथा सहकार्य अभियान’ घोषणा, प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न पहल गर्ने

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले हालको

रुसद्वारा एक हजार युक्रेनी मृतक फिर्ता

किएभ – रूस–युक्रेन युद्धमा मारिएका करिब एक हजार युक्रेनीको मृत