'बिग्रिएको ग्याष्ट्रिकले अल्सर हुँदै क्यान्सर निम्त्याउँछ भन्ने बुझाइ गलत'  | Khabarhub Khabarhub

‘बिग्रिएको ग्याष्ट्रिकले अल्सर हुँदै क्यान्सर निम्त्याउँछ भन्ने बुझाइ गलत’ 


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 7 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मलाई ग्याष्ट्रिकको समस्या छ नभन्ने मान्छे प्राय बिरलै भेटिन्छन् । त्यसैले पछिल्लो समय ग्याष्ट्रिक नेपालीको साझा समस्या भनेर चिनिन्छ । 

कतिले त मलाई ग्याष्ट्रिक छ भन्दै आफैँ औषधी किनेर पनि खाइरहेको पाइन्छ । धेरैलाई हुने भएपछि यो सामान्य रोगका रुपमा चिनिएको छ । तर चिकित्सकका अनुसार सवै अवस्थामा ग्याष्ट्रिकको लक्षणलाई सामान्य मान्नुहुँदैन । 

अल्सर अर्थात आन्द्रामा घाउ हुँदा, कलेजोको समस्या हुँदा, पेटको क्यान्सर हुँदा पनि ग्याष्ट्रिकको लक्षण देखिने भएकाले आवश्यक परीक्षण गराउनुपर्ने चिकित्सक बताउँछन् । ग्याष्ट्रिकका लक्षणहरू के के हुन् ? के कारण ग्यष्ट्रिक भएको हो भनेर कसरी थाहा पाउने ? के कस्ता परीक्षण गर्ने ? यसको निदान कसरी खोज्ने? यिनै विषयमा पेटरोग विशेषज्ञ डा. शेखर पौडेलसँग गरिएको कुराकानी 

पछिल्लो समय आम नेपालीको साझा रोगका रुपमा चिनिएको ग्याष्ट्रिक कस्तो रोग हो ?

ग्याष्ट्रिकलाई अंग्रेजी भाषा अर्थात मेडिकल भाषामा ग्याष्ट्राईटिस् भनिन्छ । कुनैपनि मेडिकल –टममा आइटीस थपियो भने सुन्निएको भन्ने बुझिन्छ । 

जस्तै कलेजो सुन्निएर हुने रोगलाई हेपाटाइटिस, एपेण्डीक्स सुन्निएर हुने रोगलाई एपेण्डिसाईटिस भनेजस्तै पेटभित्रको छाला सुन्निएर हुने समस्यालाई ग्याष्ट्राइटिस अर्थात ग्याष्ट्रिक भनिन्छ । पेटको भित्री छालामा घाउ या अल्सर भएर सुन्निएको छ भने त्यस्तो अवस्थामा ग्याष्ट्रिक भएको मानिन्छ । 

ग्याष्ट्रिक हुनुको मुख्य कारण केलाई मान्ने त ?

ग्याष्ट्रिक विशेष गरी ३–४ वटा कारणले हुन्छ । जुन कारणले भित्री छाला सुनिन्छ, त्यहीबाट ग्याष्ट्रिक हुने हो । पहिलो कारण खानपिन नै भइहाल्यो । जस्तै समयमा खाइएन, धेरै समयसम्म खाली पेट बसियो या तेल मसला धेरै भएका खानेकुरा अलि बढी खाइयो भने ग्यास धेरै उत्पादन भएर पेटमा घाउ हुने र ग्याष्ट्रिक हुन्छ । 

त्यस्तै अर्को कारण भनेको पेनकिलरहरु अर्थात दुखाई कम गर्ने औषधीले गर्दा पनि पेटमा घाउ हुने र अल्सर हुने कारणले गर्दा ग्याष्ट्रिकको समस्या हुन्छ । जसलाई एनएसएआइडी ग्याष्ट्राईटिस भनिन्छ । तेस्रो र महत्वपूर्ण कारण भनेको एचपाइलोरी इन्फेक्शन हो । जुन पेटको बीचमा बसेर विभिन्न रोगसंग लड्ने क्षमता कम गराइदिन्छ र बिस्तारै पेटभित्रको छाला सुन्निँदै जाने, घाउ हुने, अल्सर हुने र क्यान्सरसम्म गराउने सम्भावना हुन्छ । त्यसैले यस्तो ग्याष्ट्रिकलाई एचपाइलोरी ग्याष्ट्राईसी भनिन्छ । 

एचपाइलोरी भनेको के हो ?

एचपाइलोरी भन्ने एउटा ब्याक्टेरिया हो । पहिले पहिले हाम्रो खानपिन र जीवनशैलीले गदा मात्रै ग्याष्ट्रिक हुन्छ भन्ने बुझाई थियो । तर सन् १९९० पछि चाहिँ सबैभन्दा बढी ग्याष्ट्रिक हुने कारण एचपाइलोरीको संक्रमण रहेको पाइयो ।  जुन भाइरस शरीरको भित्री छालामा बसेर घाउ बनाउँछ र छाला सुनिन्छ । 

ग्याष्ट्रिकका बारेमा नेपाली समाजमा धेरै भ्रम छ । खाएर ग्याष्ट्रिक हुने हो कि नखाएर ?

ग्याष्ट्रिक खाएर पनि हुन्छ नखाएर पनि हुन्छ । दुवै स्थितिमा यसको सङ्क्रमण रहन्छ । कुनै पनि कारणले आमाशयभित्रको छाला सुन्नियो भने ग्याष्ट्रिक हुने हो । खाना पचाउनका लागि हाम्रो आमाशयमा इञ्जायम, एसिड बन्ने गर्दछ । तर जब चाहिने बढी एसिड उत्पादन हुन्छ या एसिडले चाहिने बढी काम गर्छ, त्यतिखेर भित्री छालामा घाउ, अल्सर र ग्याष्ट्रिक हुने हो । 

हाम्रो शरीरमा २ तरिकाले एसिड उत्पादन हुन्छ । जस्तै हामीले लामो समयसम्म खाना नखाएर बस्दा उत्पादन हुने एसिडलाई बेसल एसिड आउटपूट भनिन्छ । खाना खाइसकेपछि उत्पादन हुने एसिडलाई मिल इण्डोसिएस एसिड भनिन्छ । 

हामीले खाएको खाना पचाउन एसिड उत्पादन हुने हो । हामीले खाना नै खाएनौँ भने त्यसले छाला खान थाल्छ र ग्याष्ट्रिक हुन्छ । त्यस्तै एसिड बढी उत्पादन गर्ने खानेकुरा धेरै चिल्लो तथा मसालेदार खाना, मैदाबाट बनेका खानेकुराहरू धेरै मात्रामा खायौँ भने पनि ग्याष्ट्रिक हुन्छ । 

ग्याष्ट्रिकको प्रभावले खुट्टाको नङदेखि टाउकाको रौंसम्म छोड्दैन भन्छन् ।  कति त हर्टएट्याकको शंकाले इमर्जेन्सी पुगेका हुन्छन् , यसलाई कसरी बुझ्ने ?

ग्याष्ट्रिक आमाशयको रोग हो । हाम्रो शरीरमा आमाशय पेटको माथिल्लो भागतिर बस्ने भएकाले मुख्य समस्या हुने, दुखाई हुने भनेको त्यही भागमा हो । ग्यािष्ट्रक हुँदा पेट फुल्ने, पोल्ने, वाकवाकी लाग्ने, कसै कसैलाई एसिड माथि फर्केर छाती पोल्ने, अमिलो पानी आउने डकार आउने हुन्छ । यस्तो लक्षणहरू देखिँदा ग्याष्ट्रिक भएको मान्न सकिन्छ । 

त्यो बाहेक कसैले टाउको दुखेको, खुट्टा दुखेको लगायतका लक्षणहरू लिएर आउँछन् । तर त्यो लक्षण खाली ग्याष्ट्रिकको मात्रै नभई तनाव भएर आत्तिएर दुखेको हुन्छ । ग्याष्ट्रिककै कारणले पेट नदुखेर सीधै टाउको दुख्ने, खुट्टा दुख्ने भने हुँदैन । 

त्यस्तै कतिपय बिरामीहरू पखाला लाग्दा पनि ग्याष्ट्रिक भयो भन्दै आउँछन् । त्यस्ता बिरामीहरुलाई ग्याष्ट्रिक हो कि होइन भनेर जाँच गराउनुपर्ने हुन्छ । 

ग्याष्ट्रिक भएको थाहा पाउन के कस्ता परीक्षण आवश्यक छ ?

मुख्यतया ग्याष्ट्रिक थाहा पाउने भनेको लक्षणहरूका आधारमा हो । जस्तै माथिल्लो पेट पोल्ने, दुख्ने, औषधी खाँदा आराम हुने हुन्छ ।  त्यो बाहेक इण्डोस्कोपी गरेर पनि थाहा पाउन सकिन्छ । 

त्यस्तै भिडियो एक्सरे गरेर पनि ग्याष्ट्रिक भएको पत्ता पाउन सकिन्छ । भिडियो एक्सरे मा ग्याष्ट्रिक त देखिँदैन । तर अरु समस्या छ, छैन जस्तै त्यो ठाउँमा अर्को दुख्ने भनेको पित्तथैलीमा पत्थरी, प्याङ्क्रियाज, कलेजोको समस्याले दुख्ने हुन्छ ।  भिडियो एक्सरे गर्दा केही पनि देखिएन तर दुखिरहेको छ भने ग्याष्ट्रिक होला भन्ने हुन्छ । 

त्यो बाहेक एचापाइलोरीको परीक्षण मुख्य गरी तिनवटा तरिकाले गर्न सकिन्छ । एउटा इण्डोष्कोपी अर्को मासुको टुक्रा निकालेर पनि जाँच गर्न सकिन्छ भने अर्को भनेको इष्टुलेन्डिजिज टेष्ट अर्थात दिसामा एचपाइलोरीको भाइस छ की छैन भनेर पनि जाँच गर्न सकिन्छ । 

त्यस्तै युरिया ब्रेड टेष्टबाट पनि ग्याष्ट्रिकको जाँच गर्न सकिन्छ । जसमा युरिया पिउन दिएर त्यसबाट निस्किने कार्बनडाईअक्साईड सासमा नापेर एचपाइलोरी छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ । 

तर सबैभन्दा बढी ग्याष्ट्रिक पत्ता लाग्ने भनेको लक्षणबाटै हो । जस्तै कुनै युवावस्थाको बिरामी पेट दुख्ने, पोल्ने जस्ता लक्षणहरू लिएर आयो भने केही दिन औषधी खान दिइन्छ । तर ती लक्षणसंगै बिरामीको तौलमा कमी भइरहेको, बान्ता हुने, खान मन नलाग्ने, रगतको कमी हुने, जस्ता समस्याभइरहेको छ भने अरु पनि समस्या छ कि भनेर विभिन्न जाँच गराउनु पर्छ । 

 यहाँले भन्नुभएको एचपाइलोरी भाइरसले ग्याष्ट्रिकको मात्रै समस्या गराउने हो कि अन्य रोग लाग्न पनि मद्दत गर्छ ?

एचपाइलोरी भनेको मान्छेमा सदियौंदेखि भइरहेको भाइरस हो । जब मान्छेहरू अफ्रिकाबाट संसारभर फैलिए, त्यतिखेरैबाट उनीहरूको पेटमा एचपाइलोरी थियो भन्ने थाहा भइसकेको थियो भनिन्छ । 

सदियौंदेखि मान्छेको पेटभित्र बसिरहेको एचपाइलोरीको संक्रमण नेपालमा पनि ७० देखि ८० प्रतिशत मानिसमा रहेको छ । तर ती मध्ये केही मान्छेहरुलाई मात्रै यसले समस्या गराउँछ । धेरैलाई यसको संक्रमणले केही दुःख दिँदैन । 

यसको संक्रमण भएका १० देखि १५ प्रतिशतलाई ग्याष्ट्रिक, अल्सर गराउने हुन्छ भने १ प्रतिशतलाई पेटको क्यान्सर गराउन सक्छ । त्यो बाहेक रगत कम हुने प्लेटलेट घट्ने, पित्तथैलीको क्यान्सर हुने समस्या पनि हुनसक्छ भनिएको छ । तर त्यसको प्रमाण छैन । यसको संक्रमण भएका एकदमै कम व्यक्तिलाई मात्रै समस्या गराउँछ । धेरैलाई केही हुँदैन । 

ग्याष्ट्रिक आफैंमा रोग हो कि कुनै रोगका कारणले निम्तिएको समस्या ?

पेटको भित्री भाग सुन्निएर ग्याष्ट्राइटिस भयो, यो आफैँमा एउटा रोग भयो । तर ग्याष्ट्रिकका लक्षणहरू जसलाई मेडिकल भाषामा डिस्पेक्टिभ सिन्टोम भनिन्छ । जस्तै खान मन नलाग्ने, पेट पोल्ने, फुल्ने, वाकवाकी लाग्ने जस्ता लक्षणहरू देखियो भने ग्याष्ट्रिकमा मात्रै आउँदैन । 

यस्ता लक्षण देखिएका ९० प्रतिशत बिरामीमा ग्याष्ट्रिक देखिन्छ । तर भर्खरै गर्भवती भएका महिला या तौल बढी भएका महिलाहरूका पित्त थैलीमा ढुङ्गा हुँदा यस्ता लक्षण देखिन सक्छन् । 

कसैलाई प्याङ्क्रियाजमा समस्या छ भने पनि ग्याष्ट्रिकका जस्तै लक्षणहरू देखिन्छन् । त्यस्तै कोही उमेर पुगेको मान्छे छ र धूम्रपान तथा मदिरापन गर्छ र उसलाई पनि यस्तै लक्षणहरू देखिरहेको छ भने त्यस्तो व्यक्तिमा ग्याष्ट्रिकसंगै पेट तथा कलेजोको क्यान्सर हुनसक्छ । त्यसैले आफ्नो उमेर आनीबानी, लक्षणहरू हेरेर आवश्यक जाँचहरू गराएर मात्रै औषधी खानु उपयुक्त मानिन्छ । 

ग्याष्ट्रिक निदानका लागि जनस्तरमा धामीझाँक्री, झारफुक, आयुर्वेदिक, होमियोपेथीदेखि एलोपेथीसम्मका उपाय अपनाउन अर्ती दिनेहरू भेटिन्छन् । यसले रोगभन्दा पनि खराब उपचार हावी हुने सम्भावना देखिन्छ । यसको निराकरण कसरी खोज्न सकिएला ?

पहिले त आफूलाई ग्याष्ट्रिक हो होइन भनेर बुझ्नुपर्छ । पखाला लागिरहेको छ– मलाई ग्याष्ट्रिक भयो भन्दै औषधी खाएर बस्नुहुँदैन ।  ग्याष्ट्रिकले कहिल्यै पनि पखाला गराउँदैन । त्यस्तै बढ्दो उमेरको व्यक्तिले कुनै समस्या आउँदा मलाई ग्याष्ट्रिक भयो भनेर आयुर्वेदिक, होमियोप्याथिक औषधीहरु खाएर बस्यो भने केही समय निको भएको जस्तो हुन्छ । तर समस्या पेटको क्यान्सरको रहेछ भने पछि गएर पछुताउनुपर्ने हुनसक्छ । 

त्यसैले अवस्था सामान्य छ र आयुर्वेदिक या होमियोप्याथिक खाएर निको भइरहेको छ भने जुनसुकै औषधी खाँदा फरक पर्दैन । समस्या निदान भइरहेको छैन, तौल कम हुँदै गएको छ, रगत कम हुने जस्ता खतराका लक्षणहरू छन् भने सबैभन्दा पहिले जाँच गराएर ग्याष्ट्रिक हो कि होइन भनेर छुट्याउने अनि मात्रै औषधी खाने, खाना तथा जीवनशैली परिवर्तन गर्ने जस्ता कुराहरू गर्नुपर्छ । 

त्यस्तै यसको निदानमा बुझ्नैपर्ने कुरा के हो भने ग्याष्ट्रिक हाम्रो खानपान र जीवनशैलीले गर्दा देखिने रोग भएकाले यो सधैँभरि निको हुन्छ भन्ने हुँदैन । 

जस्तै कसैलाई एचपायलोरीको संक्रमणका कारण ग्याष्ट्रिक देखिएको थियो र औषधी खाएर निको भयो । त्यसपछि फेरि चुरोट, रक्सी, चिल्लो खानेकुरा खाने गर्नथाल्यो भने पुनः बल्झिन्छ । त्यसैले खानपान र जीवनशैली परिवर्तन आवश्यक छ । 

ग्याष्ट्रिक बिग्रे अल्सर, अल्सर बिग्रेर क्यान्सरसम्म हुन्छ भनिन्छ । कस्तो अवस्थालाई बिग्रेको मान्ने हो ?

ग्याष्ट्रिक बिग्रेरै अल्सर हुन्छ भन्ने हुँदैन । यो एउटा भनाइ मात्रै हो । कतिपय बिरामीहरूलाई लक्षण नै नदेखिएर अल्सर भइरहेको हुन्छ भने कसैलाई लक्षणहरू एकदमै धेरै देखिँदा पनि भित्र केही समस्या हुँदैन । 

त्यसैले ग्याष्ट्रिक बिग्रिँदैमा अल्सर हुन्छ भन्ने छैन । तर लामो समयसम्म उपचार गरिएन र लक्षणहरू रहिरह्यो भने अल्सर हुनसक्छ । तर ग्याष्ट्रिकको अल्सरले सिधै क्यान्सर गराउँदैन । किनकी क्यान्सर गराउने बाटो र अल्सर गराउने बाटो अलि फरक हुन्छ । 

धेरैजसो क्यान्सर एचपाइलोरीको सङ्क्रमणले हुने हो । एचपाइलोरीको संक्रमणसंगै रक्सी, चुरोट खाने मान्छेहरूमा भित्री छाला परिवर्तन हुन थाल्छ । जसलाई इण्टर्स टर्मिन मेटाप्लाजिया भनिन्छ । 

त्यो समस्या बिस्तारै बढ्दै गयो भने त्यसमा असामान्य कोषहरू आउन थाल्छन् , जसलाई डिस्प्लाजिया भनिन्छ । त्यो बढ्दै गएर क्यान्सरमा परिणत हुन्छ । 

ग्याष्ट्रिकको समस्या कुन उमेरमा धेरै देखिएको छ  ?

धेरैजसो २५ देखि ४५ वर्ष उमेर भित्रका बिरामीहरू यो समस्या लिएर आउँछन् । किनकी यस बीचको उमेरका मानिसको जीवनशैली त्यही खालको हुन्छ । बाहिरको खाना धेरै खाने, रक्सी चुरोट पिउने, कामको सिलसिलामा लामो समय भोकै बस्नेहरू यो समूहमा धेरै हुने भएकाले तिनीहरु प्रभावित हुन पुगेका हुन् । 

यसो भन्दैमा अन्य उमेर समुहका व्यक्तिहरूमा ग्याष्ट्रिकको समस्या छैन भन्ने होइन । ४–५ वर्षका बच्चाहरू पनि ग्याष्ट्रिकको समस्या लिएर आइरहेका हुन्छन् । अन्य उमेरका मान्छेहरूमा पनि प्रभाव देखिने गरेको छ । कम उमेर धेरै उमेरका व्यक्तिहरूमा ग्याष्ट्रिक मात्रै भन्दा पनि अन्य कुनै समस्या छ कि भनेर जाँच गरेर मात्रै उपचार सुरु गर्नुपर्छ । 

ग्याष्ट्रिक हुनबाट बच्ने र भएकाहरूले निदान खोज्ने उपाय बुँदागत रुपमा बताइदिनुस् न ?
सबैभन्दा पहिले त ग्याष्ट्रिक हुँदैमा आत्तिहाल्नुपर्दैन । यसले सिधै अल्सर र क्यान्सर बनाइहाल्छ भन्ने हुँदैन । तर लामो समयसम्म उपचार गरिएन भने सम्भावना रहन्छ । त्यसैले समयमै जाँच गरेर औषधी खाने या आवश्यक उपचार गर्नुपर्यो । 

आफ्नो खानपान र जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । जस्तै : रक्सी चुरोट नखाने, धेरै चिल्लो र मसालेदार खानाहरू नखाने, सकेसम्म समयमै खाना खाने बानी बसाउनुपर्छ । ग्याष्ट्रिक कम गराउने खानाहरु जस्तै चियाको सट्टा ग्रिन टी खाने, ताजा फलफूल तथा तरकारीहरू  खाने गर्नुपर्दछ । 

केराले पनि ग्याष्ट्रिक कम गराउँछ । त्यस्तै दही खाने, दूधमा अलि चिल्लो बढी हुने भएकाले नखाने, एचपाइलोरी इन्सफेक्सन भएको मान्छेहरूले लसुन खाने, मनतातो पानीमा मह मिसाएर खाने, ब्रोकाउली, क्वाँटी लगायतका खानेकुरामा जोड गर्नुपर्छ । खानपान तथा जीवनशैली परिवर्तन गर्दा पनि निको भएन भने आवश्यक जाँच गराउने र त्यो अनुसारको उपचार गर्नुपर्छ । 

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ३ : ४० बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको