थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै | Khabarhub Khabarhub

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ तथा बस्तीमा आजदेखि ‘अटवारी पर्व’को तयारी सुरु भएको छ । 

श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबारका दिन पर्ने यो पर्वका लागि अनदीको चामलको भात र रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरीलगायत स्थानीय खानाका परिकार बनाउन आवश्यक पर्ने खाद्यान्नको खोजीमा स्थानीय जुटेका हुन् । 

भोलि आइतबार यस क्षेत्रमा अटवारी पर्व मनाउने परम्परा रहेकाले आवश्यक सामग्री जुटाउने काम भइरहेको धनगढी उपमहानगरापालिका–१५ कनरीका थारु अगुवा रतीराम चौधरीले जानकारी दिए । पूजाआराधना तथा ‘अग्रासन’ कोसेली राख्नका लागि चाहिने दुना, टपरी बनाउनेदेखि घर, आँगन सरसफाइ गर्ने काम भइरहेको उनले बताए।

गाँउका बस्तीमा पर्वको व्यवस्थापनका लागि परिवारका सदस्य जम्मा भएर प्रत्येकले गर्ने कामको बाँडफाँड गर्न सामूहिक छलफलमा जुटेका छन् । पर्वमा दर खानाका लागि आज दिनभरि माछा मार्ने र विभिन्न थरीका तरकारी, सरसामानको जोहो गर्ने काम भइरहेको कनरी टोलका भलमन्सा टेकराज चौधरीले बताए। ‘अनदीको चामलबाट विभिन्न खानाका परिकार तयार पार्ने गरिन्छ’, उनले भने, ‘थारु रैथाने जातको उक्त धान प्राप्तिका लागि टाढाटाढाका थारु गाउँ, बस्तीमा गएर खोजी गर्ने र साटबदल गर्ने गर्छौँ ।’

दुई दिनसम्म मनाइने यो पर्वमा आइतबारको अघिल्लो दिन अर्थात् आज राति व्रतालुले दर खाने चलन छ । पर्वको पहिलो दिन भोलि व्रतालु पानीसमेत नखाई आधा दिन निरहार व्रत बस्ने गर्दछन् भने मध्याह्नमा नजिकैको नदी, पोखरी वा तलाउमा गएर स्नान गरी पूजाआरधना गर्ने चलन रहेको टेकराजले बताए।

यसरी पूजाआरधाना गरिसकेपछि घरमा तयार गरिएका खानाका परिकार तथा फलफूलबाट एक भाग निकालेर घरका विवाहित छोरीलाई छुट्याएपछि मात्रै व्रतालुले खाने गर्दछन् । यस पर्वका दिन विशेष गरी अनदीको चामलको रोटी, केरा, काँक्रो, अम्बा, सुकेको माछालगायत खानाका साथै फलफूल खाने परम्परा रहेको उहाँले जानकारी दिए ।

पर्वको दोस्रो दिन अर्थात् सोमबार बिहानै व्रतालुहरूले स्नान गरी पुनः पूजाआरधना गर्दछन् । गुइँठाको आगो बाली ध्यू र सल्लाका साना टुक्रा हालेर पूजा गर्ने परम्परा रहेको स्थानीय बताउँछन् । 

धार्मिक नित्यकर्म सकिएपछि अनदीको चामलको भात, रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरीलगायत खानाका मिठामिठा पकवान खाने गर्दछन् । तयार गरिएका खानाका परिकारमध्ये एक भाग आफ्ना विवाहित छोरीचेटीलाई ‘अग्रासन’ अर्थात् कोसेली दिनका लागि पहिले अलग्गै छुट्याइन्छ । त्यसपछि मात्रै व्रतालुले खाने गर्दछन् ।

थारु राजा दङ्गीशरणको राज्य अप्ठ्यारोमा परेको बेला सुर्खेतको काँक्रेविहार घुम्न आएका पाँच पाण्डवमध्येका माइला भाइ भीमले राजा दङ्गीशरणलाई सहयोग गरेकाले भीमको नाममा व्रत बसेर अटवारी पर्व मनाउने चलन चलेको थारु अगुवा रतीरामले उल्लेख गरे । 

‘कसैले भीम आइतबारका दिन एक दानवको आहार बन्न गएको अवस्थामा त्यो दानवलाई मारेर गाउँलेलाई दानवको आतकङ्बाट मुक्त गराएका कारण भीम र सूर्यदेवको उपासना गरेर यो पर्व मनाउने गरिएको जनविश्वास रहिआएको छ’, उनले भने।

विवाहित छोरीलाई उपहार दिएर सम्बन्ध प्रगाढ बनाउने यो पर्व कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, दाङलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले मनाउने गर्दछन् ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ७ : २३ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको