कञ्चनपुर– कृष्णपुर नगरपालिका-६ वञ्जरियास्थित महाकाली सामुदायिक वनले वन पैदावारको आम्दानीलाई समाज विकास र पूर्वाधार निर्माणका क्षेत्रमा उपयोग गर्दै आएको छ । वन उपभोक्ताको सक्रियता र संस्थाको लगानीमा पूर्वाधार निर्माणसँगै आयमूलक कार्यक्रम सञ्चालन गरिने भएको हो ।
सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीका अनुसार दाउरा, काठ, घाँसलगायत वन पैदावार बिक्रीबाट आएको रकम सामाजिक र संस्थागत विकासका क्षेत्रमा खर्च गरिएको हो । वन क्षेत्रभित्र पस्ने बालुवाको उचित व्यवस्थापनका लागि खोलामा जनश्रमदानसहित करिब रु ३४ लाखको लागतमा पक्की पुल निर्माण गरिएको उनले जानकारी दिए ।
धार्मिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै करिब छ लाखको लागतमा कालिका र वनदेवीका दुई वटा मन्दिर निर्माण भइरहेको उनले जानकारी दिए । वन कार्यालय परिसरमा विश्राम स्थल(प्रतिक्षालय) निर्माण गरिएको छ ।
नदीले भूक्षय गर्दै आएको क्षेत्रमा तटबन्ध र टेवा पर्खाल निर्माण गरिएको जनाउँदै उहाँले माटो भरानमार्फत जमिनलाई सुरक्षित राख्ने कार्य गरिएको बताए। ‘वन क्षेत्रलाई अतिक्रमण र अवैध प्रवेशबाट जोगाउन एक दशमलव पाँच किलोमिटर क्षेत्रमा मेसवायर तारजाली लगाइएको छ भने पर्यटकीय दृष्टिले आकर्षक बनाउन वन पथ निर्माण गरिएको छ । यसले वन गस्तीलाई पनि सहज बनाएको छ’, उनले भने।
उपभोक्ताको आयआर्जन बढाउन सामुदायिक वनले विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको अध्यक्ष राजवंशीले जानकारी दिए । उनका अनुसार दुना–टपरी बनाउने, लहेङ्गा–चोलिया सिलाउने, वेतबाँसका सामग्री निर्माण गर्नेलगायत तालिम दिइएको छ ।
यी तालिमबाट सीप सिकेका उपभोक्ता हाल आयआर्जनमा संलग्न हुन थालेका उनको भनाइ छ । युवालाई खेलकुदतर्फ आकर्षित गर्न खेल सामग्री उपलब्ध गराइएको अध्यक्ष राजवंशीले बताए।
खेलसम्बन्धी सामग्री प्राप्त भएसँगै स्थानीय युवामा सकारात्मक प्रभाव पारेको सामुदायिक वन उपभोक्ता बताउँछन् । महिला सशक्तीकरण तथा क्षमता अभिवृद्धिका कार्यक्रमलाई सशक्त बनाउन वनले आगामी वर्षदेखि थप तालिम सञ्चालन गर्ने योजना बनाएको वनका अध्यक्ष राजवंशीले जानकारी दिए ।
विशेष गरी विपन्न, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका वर्गलाई लक्षित गरी मौरीपालन, बाख्रापालन, भैँसीपालन, उन्नत जातका गाईपालन र बेमौसमी तरकारीखेतीसम्बन्धी तालिम दिने योजना बनाइएको उनले उल्लेख गरे ।
साथै समूह व्यवस्थापन, नेतृत्व विकास, तरकारी उत्पादनका लागि उत्पादनमुखी अनुदान र आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ । यसका लागि सामुदायिक वनले घुम्ती कोषको व्यवस्था गरेको छ ।
महाकाली सामुदायिक वन १९७ दशमलव ५७ हेक्टर क्षेत्रफलमा फैलिएकामा करिब एक हजार १६३ उपभोक्ता आश्रित छन् । वन उपभोक्ताको सक्रियतामा सञ्चालन भएका कार्यक्रमले सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याइरहेको सामुदायिक वनका पदाधिकारीहरू बताउँछन् ।
प्रतिक्रिया