लगाइयो भाइटीका, सकियो तिहार « Khabarhub

लगाइयो भाइटीका, सकियो तिहार


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको छैटौँ एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।

आज भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

भाइटीका लगाउन आज दिनभर बाधा नभए पनि साइत खोज्नेका लागि समितिले मध्याह्न ११ः३९ बजेको साइत उत्तम भनी सार्वजनिक गरेको थियो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता अनुसार बिहान ११ः३९ बजे नै टीका लगाइएको थियो ।

आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिएका छन् ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा भट्टराईले जानकारी दिए । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने तथा दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रहीआएको छ ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी नहुनेहरु भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजाआजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ । यसै मान्यता अनुसार खञ्जनेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ७ : २० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना