सिमकोट– सिमकोट गाउँपालिका–५ को सिममा आज बिहान भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् ।
स्थानीय ५९ वर्षीय लक्ष्य रावत, उनकी ५५ वर्षीया श्रीमती बाँचु रावत र सिमकोट बस्दै आएकी सर्केगाड गाउँपालिका–१ जैरगाउँकी ३८ वर्षीया रजनी रावत घाइते भएका हुन् ।
आज बिहान करिब ६ः१० बजे सिम क्षेत्रमा घाँस काटिरहेका बेला अचानक जङ्गली भालुले उनीहरूलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए ।
उनका अनुसार आक्रमणबाट लक्ष्य र उनकी श्रीमतीको टाउकामा चोट लागेको छ भने रजनीको खुट्टा र ढाडमा सामान्य चोट लागेको छ ।
घाइते तीनै जनालाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल जिल्ला अस्पताल सिमकोट पुर्याइएको जनाउँदै प्रनाउ पोखरेलले अहिले घाइतेको उपचार भइरहेको बताए । उनका अनुसार लक्ष्य र बाँचुको अवस्था गम्भीर छ भने रजनीको अवस्था खतरामुक्त छ ।
स्थानीयका अनुसार हुम्लामा पछिल्ला केही महिनादेखि भालुको आक्रमणका घटना बढ्दै गएका छन् । सदरमुकाम सिमकोटमा भने भालुले आक्रमण गरेको यो पहिलो घटना हो । घाँस, दाउरा तथा खेतीपातीका लागि जाने ग्रामीण बस्तीका बासिन्दा जङ्गली जनावरको जोखिममा पर्ने गरेका छन् ।
भालुको गाउँमा प्रवेश गर्ने क्रम बढिरहेकाले स्थानीयलाई सतर्क भएर दैनिक कामकाज गर्न प्रहरी प्रमुख पोखरेलले आग्रह गरे ।
आगामी दिनमा वन कार्यालय र स्थानीय तहसँग समन्वय गरी जङ्गली जनावर नियन्त्रण तथा सुरक्षाका उपाय अपनाइने उनले बताए । रासस













प्रतिक्रिया