काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच पहिलो पटक शीतल निवासमा प्रत्यक्ष वार्ता भइरहेको छ ।
गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्की र तीन दलका शीर्ष नेतालाई राष्ट्रपतिले भेटाएका हुन् ।
राष्ट्रपति पौडेलको पहलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच पहिलो पटक प्रत्यक्ष वार्ता भएको हो ।
देशमा राजनीतिक संकट गहिरिँदै गएका बेला राष्ट्रपति पौडेलको पहलमा तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच पहिलो पटक प्रत्यक्ष संवाद भएको हो । सरकार र तीन ठूला दलको यो वार्ताले अब फागुन २१ मा निर्वाचन हुने नहुने कुराको करिब निर्क्योल गर्नेछ ।
जेन-जी आन्दोलनपछि भदौ २७ गते अन्तरिम सरकारको नेतृत्व गरेयता कार्कीले यी शीर्ष नेतासँग संवाद गर्न अनिच्छा देखाउँदै आएकी थिइन् ।
उनले नवयुवाहरूको चहानाअनुसार यी तिनै नेताले राजनीतिबाट बिदा लिइदिए हुने पनि बताएकी थिइन् । तर उनको चहानाअनुसार तीनै नेता बिदा हुन चाहेनन् ।
ओली एघारौँ महाधिवेशनबाट तेस्रो कार्यकाल अध्यक्ष बनेका छन् । उता प्रचण्डले माओवाद छाडेर नेकपा गठन गरी संयोजक बनेका छन् । देउवा भने आगामी निर्वाचनमा फेरि उठ्ने तयारीमा लागिसकेका छन् ।
यस्तो अवस्थामा एमाले र कांग्रेसले सरकारले फागुन २१ मा चुनाव हुने गरी वातावरण नबनाएको बताइरहेका छन् । उता एमाले अध्यक्ष ओलीलाई स्थान हदमा राखेर चुनाव गर्न खोजिनुले विरोधाभाष भएको पनि दलहरूको भनाइ थियो ।














प्रतिक्रिया