जनार्दन र वर्षमानलाई अंगालो हालेका प्रचण्ड : चुनौतीको डर कि फेरि अल्मल्याउने रणनीति ? | Khabarhub Khabarhub

जनार्दन र वर्षमानलाई अंगालो हालेका प्रचण्ड : चुनौतीको डर कि फेरि अल्मल्याउने रणनीति ?



काठमाडौं– नेकपा माओवादी केन्द्रले सोमबारदेखि ‘तराई मधेश जागरण अभियान’ सुरु गरेको छ । जागरण अभियान झापाको कचनकवलबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार सुरु गरे । अभियान सुरु गर्न आइतबार नै माओवादीका नेताहरू झापा पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका गृहजिल्ला पुगेर प्रचण्डले मर्निङ वाक गरे । किच्चकबधबाट मर्निङ वाक गरेका प्रचण्डका पछाडि धेरै नेता–कार्यकर्ता थिए ।

पृथ्वीनगर चोकमा पुग्दा मर्निङवाकमा धेरै नेता कार्यकर्ता थपिए । त्यसपछि प्रचण्ड किच्चकबधबाट सगरमाथा चोकसम्म ३ किलोमिटर हिँडे, स्थानीयसँग भेटघाट पनि गरे ।

महाभारतकालीन कथामा आधारित किच्चक बधमा फोटो सेसन…

किच्चक बध झापा सदरमुकाम चन्द्रगढीबाट करिब १० किलोमिटर दक्षिणस्थित देवनिया र मेची नदीको किनारमा पर्छ । महाभारतकालीन कथामा आधारित किच्चकबधमा थुप्रै पुरातात्त्विक वस्तु छन् । त्यसको छेउबाट देवयानी नदी बगेको छ भने वरिपरि देवी–देवताका मन्दिर छन् । महाभारतकालीन कथाको प्रसङ्गसँग जोडिएको किच्चकबध करिब १० बिगाहा क्षेत्रफलमा छ ।

त्यहीँ पुगेर प्रचण्डले स्थानीयसँग केही समय बिताए । त्यसपछि फोटो खिच्ने पालो आयो । सुरुमा स्थानीय कार्यकर्ता र नेतासँग फोटो सेसनपछि प्रचण्डले माओवादी पदाधिकारी र कोशी प्रदेशका नेताहरूसँग फोटो खिचाए ।

त्यसपछि उपमहासचिव जनार्दन शर्मा प्रभाकर, वर्षमान पुन अनन्त, शक्ति बस्नेत, झापा इन्चार्ज रञ्जीत तामाङ, प्रदेश सांसद दुर्गाप्रसाद चापागाईँ, विद्यार्थीबाट बिदा भएका मदन भट्टराई, युवा नेता कुमार आचार्य लगायतले फोटो खिचाए ।

अरु नेताहरूले पनि प्रचण्डसँग पनि फोटो खिच्ने इच्छा राखे । त्यसपछि बोलाइयो । प्रचण्ड आएर जनार्दन र वर्षमानको बीचमा उभिँदै दुवैला अँगालो हाले ।
माओवादीमा आफूलाई टक्कर दिने नेताका रुपमा चिनिएका यी दुईलाई प्रचण्डले अंगालो हालेपछि अरु नेता कार्यकर्तालाई के चाहियो, हुटिङ लगाए । त्यसपछि उपाध्यक्ष अग्नि सापकोटा पनि फोटो सेसनमा जोडिए ।

प्रचण्डले पछिल्लो समय दुईवटा समूह चलाइरहेका जनार्दन र वर्षमानलाई अँगालो हालेर खिचेको फोटो लगत्तै भाइरल भयो । यी दुई नेताबीच तथा प्रचण्ड र जनार्दनबीच सम्बन्ध चिसिएको चर्चाबीच किच्चकबधको फोटोले माओवादी नेता कार्यकर्ता भने खुसी देखिए । अहिले जनार्दनसँग संघर्षका लागि आफ्नै समूह बनाइरहेका छन् भने वर्षमान प्रचण्डनिकट देखिएका छन् ।

झापामै केराको पातमा भात खाँदै प्रचण्ड र नेताहरू ।

फोटोको चर्चा ?

२०७८ पुस १९ गते भएको नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट प्रचण्ड अध्यक्षमा दोहोरिए । त्यसबेला कृष्णबहादुर महरा समर्थक र नारायणकाजी श्रेष्ठ प्रस्तावक बसेर अध्यक्षमा प्रचण्डलाई सघाए । अन्य पदाधिकारीमा विवाद नभए पनि महासचिवमा तनाव थियो । त्यहीकारण महाधिवेशनमा पदाधिकारी चयन हुन सकेन ।

महाधिवेशनमा आएका १७ सय ५० प्रतिनिधिले न भोट हालेर नेता चुन्न पाएनन् । महाधिवेशनमै जनार्दन र वर्षमान महासचिवको दौडमा थिए । त्यसबेला वर्षमान प्रचण्डनिकट भएका थिए । जनार्दन पार्टीमा पकड बनाउने कोसिसमा थिए । त्यहीबेलादेखि प्रचण्ड र जनार्दनको दूरी बढेर गयो । चीनमा उपचाररत वर्षमानकै कारण प्रचण्डले महासचिव नछानी बसे । त्यहीबीचमा जनार्दनले टीकेप्रथा अन्त्य हुनुपर्ने वकालत गरिरहे । वर्षमान चीनबाट उपचार गरेर फर्किएपछि दुई नेता राखेर प्रचण्डले सहमति बनाउन खोजे ।

तर यी दुई नेताले माओवादीमा आफूलाई टक्कर दिने गरी गुट बनाउने कुराले उनी सशंकित भए । सहमतिका नाममा प्रचण्डले संवाद गरे पनि भित्रभित्रै अर्को विकल्प खोजिरहेका थिए । अर्थात आफूलाई कम्फर्टेबल हुने नेतालाई महासचिवमा ल्याउने उनको योजना थियो । त्यहीकारण जनार्दन र वर्षमानबीच सहमति नभएको बहानामा उनले देव गुरुङलाई रोजे । महाधिवेशनको करिब १ वर्षपछि भदौ ४, २०७९ मा तेस्रो विकल्पका रुपमा प्रचण्डले गुरुङलाई रोजेर महासचिव बनाए ।

गुरुङलाई महासचिव बनाउन वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलगायतले पनि साथ दिएका थिए । वर्षमानले जनार्दन रोक्ने पक्षमा लबिइङ गर्दा देव गुरुङ महासचिव बने ।

त्यसपछि शर्माले पार्टी नेतृत्व र प्रचण्डसँग निरन्तर लिखित र मौखिक रुपमा फरक मत राख्दै आएका छन् । उनी अहिले माओवादी नेतृत्व युवा पुस्तामा जानुपर्ने वकालत गरिरहेका छन् । विशेष महाधिवेशन गरेर युवालाई पार्टी हस्तातरण गर्नुपर्ने उनको मागलाई प्रचण्डले अस्वीकार गरिरहेका छन् ।

२७ साउन २०८१ मा भएको स्थाय समिति बैठकमा शर्माले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठको फरक प्रस्ताव पेस गरेका थिए । उक्त प्रतिवेदनमा शर्माले पार्टी र नेतृत्वप्रति विश्वास गरेर ‘जनयुद्ध’, जनआन्दोलनमा लागेको वर्ग र समुदायका दैनिक जीवनका समस्या समाधान गर्न नसकेका कारण त्यो वर्ग र समुदाय माओवादी पार्टीबाट टाढिँदै गएको लेखेका थिए ।

‘माओवादी पार्टी योजनाविहीन र सङ्गठनविहीन बन्न पुग्यो, आज हामीसँग संविधानका अलावा न जनाधार छ न सङ्गठन छ’, शर्माले प्रतिवेदनमा लेखेका थिए, ‘केही सीमित उपलब्धिबाहेक न कुनै देखाउनलायक कामहरू छन्, न हाम्रो मौलिक विकासको मोडेल छ ।’

माओवादीको एजेन्डा खोसिँदै जाँदा आफूहरूलाई माया गर्ने वर्ग, जाति, समुदाय टाढिएको पनि शर्माले उल्लेख गरेका थिए । । तर, त्यसो हुनुमा आफूहरूकै व्यवहार र निर्णय कारक रहेको उनले भनेका थिए । त्यसपछि माओवादीमा प्रचण्ड र जनार्दनबीच अझ ठूलो खाडल देखिएको थियो ।

यतिमात्रै होइन, माओवादी सत्तामुखी हुँदा कार्यकर्ता बिर्सिएको कुरा पनि २०८० फागुन १ देखि काठमाडौंको प्रज्ञा भवनमा भएको विधान सम्मेलनमा उठेको थियो । त्यहाँ माओवादी सत्तामुखी भएको, सशस्त्र द्वन्द्वपीडितलाई बेवास्ता गरेको, सहिद परिवारलाई अन्देखा गरेको लगायतका कुरासहित नेता कार्यकर्ताले आक्रोश पोखेका थिए । त्यसबेला प्रचण्डको आलोचना हुँदा जनार्दनले विश्वास बढाउन सफल भए । त्यहाँ उनले भनेजस्तै विचार माओवादीका नेताले पनि राखे ।

१० वर्षे सशस्त्र संघर्ष दौरान दुई लाइन संघर्षबाट आफूलाई नेतृत्वमा टिकाउने गरेका ‘प्रचण्ड’लाई उपमहासचिव शर्मा निरन्तर दबाब दिइरहेका छन् । पार्टीमा एकल पकड बनाइरहन पालैपालो दोस्रो तहका नेताको काँधमा खेल्ने गरेका प्रचण्डले अखिल क्रान्तिकारीको चुनावमा जनार्दनबाट धक्का ब्यहोरे ।

क्रान्तिकारीको निर्वाचनबाट जनार्दनले पार्टीमा पकड बढाए । क्रान्तिकारीका ३३ जना पदाधिकारीका लागि भएको निर्वाचनमा जनार्दन प्यानलकै २० जना निर्वाचित भए । विभिन्न आयोगमा पनि जनार्दन समूहले पकड बनायो ।

कुनैबेला प्रचण्डसँग दुई लाइन संघर्ष चलाएका डा. बाबुराम भट्टराई र मोहन वैद्य ‘किरण’ अहिले माओवादीमा छैनन् । प्रचण्डले चाहिँ पार्टीमा ३५ वर्षदेखि बनाएको एकछत्र राज टिकाउन प्रयत्न गरिरहेका छन् ।

आठौँ महाधिवेशनमै अध्यक्षमा टक्कर दिन तयार जनार्दन र अर्का नेता वर्षमानलाई उपमहासचिवमा खुम्च्याएर सजिलो नेता गुरुङलाई महासचिव बनाएका प्रचण्डका लागि विस्तारै चुनौती थपिँदै थियो । तिनै चुनौतीलाई बुझेर जिल्ला झापा पुगेका प्रचण्डले दुवै नेतालाई अँगालो हालेर कार्यकर्तालाई एकैठाउँ रहेको सन्देश दिए ।

यो भाइरल फोटोबारे माओवादी झापा इन्चार्ज रञ्जीत तामाङ नेताहरूबीचको आत्मीयताकारुपमा व्याख्या गर्छन् । ‘यो अभियानको उद्देश्य मुलुकमा विद्यमान भ्रष्टाचार, अनियमितता र राज्यको मनपरी दोहनबारे जनतालाई जागरुक बनाउने, सरकारलाई खबरदारी गर्ने हो,’ तामाङले भने, ‘दुई प्रभावशाली नेताका काँधमा हात राखेर अध्यक्ष कमरेडले सकरात्मक र एक रहेको सन्देश दिन खोज्नुभएको हो ।’

अर्का युवा नेता मदन भट्टराई पनि फोटोले राम्रो सन्देश दिएको बताउँछन् । फोटो चर्चामा आइरहँदा उनी नेताहरूमा वैचारिक मतभेद देखिए पनि कुनै शत्रुता नरहेको बताउँछन् । ‘अध्यक्ष र उपमहासचिवद्वयको सम्बन्ध राम्रो छ । अध्यक्षले अँगालो हालेको फोटोलाई दुई नेता मिलाउने अर्थका रुपमा बुझ्नु गलत हो’, भट्टराईले भने, ‘उहाँहरूबीच कुनै तुस र रिसराग छैन । समान व्यवहार भएको बुझेको छु । वैचारिक मतभेद कुरा हुन् ।’

इतिहासमा प्रचण्डले आफूविरुद्ध लाग्ने नेताहरूलाई नजिक बनाएर पार्टीबाटै बिदा गरेका उदाहरण छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि मोहन वैद्य समूहका रहेका डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादल पनि प्रचण्डनिकट थिए । तर उनीहरू दुवै माओवादीमा छैनन् ।

बाबुराम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) चलाएर बसेका छन् । बादल एमाले उपाध्यक्षको भूमिकामा छन् । उनीहरू दुवै हिजोको सशस्त्र संघर्षका लिगेसीबाट बाहिरिइसकेका छन् ।

अहिले वैद्य र भट्टराईका पनि अलग्गै पार्टी छन् । यस्तै नेत्रविक्रम चन्द विप्लव पनि प्रचण्डनिकट थिए । तर उनी पनि अहिले नेकपा महासचिव छन् । उनलाई माओवादीमा ल्याउने भनेर प्रचण्डले नेपाल समाजवादी मोर्चाको सदस्यका रुपमा झुलाइरहेका छन् । तर, विप्लवसँगको एकता पनि अहिलेलाई एकादेशको कथा भएको छ ।

अर्कातिर जनार्दनसहितका नेताको चुनौती बढिरहँदा विप्लवलाई भित्र्याउने अर्को विकल्प पनि प्रचण्डले प्रयोग गरिरहेका छन् । तर, अहिलेलाई प्रचण्ड नेतृत्व हस्तान्तरणको योजनामा देखिँदैनन् । विप्लवलाई ल्याएर आफ्नो उत्तराधिकारी बनाउने कुरा पनि तत्काललाई टरेको देखिन्छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ७ : ५८ बजे

परिवर्तन विरोधी शक्ति सक्रिय : अध्यक्ष दाहाल

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था परिवर्तन भए पनि

अण्डाको मूल्य बढ्यो

चितवन – आजैदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ

बागलुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते

बागलुङ – बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको

बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

काठमाडौं – बिमा कम्पनीहरूको नियामक निकाय बिमा प्राधिकरणको अध्यक्षमा शरद

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्धः परराष्ट्रमन्त्री देउवा

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण