अमानवीय मान्छे : जिउँदो गोरुको मासु चोर्ने, नदीमा गाई बगाउने ! | Khabarhub Khabarhub

अमानवीय मान्छे : जिउँदो गोरुको मासु चोर्ने, नदीमा गाई बगाउने !

पशुमाथि अत्याचार गर्दा के हुन सक्छ सजाय ?


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भनिन्छ, हिंस्रक बाघले पनि जनावरलाई नमारिकन मासु खाँदैन । तर, विवेकशील भनिएको मानिसले मासु खानकै लागि जिउँदो गोरुको फिला ताछेर मासु चोर्छ भनेर कसरी पत्याउने ? यसै साता इलामको कन्याममा भएको घटनाले मानिस त्यतिसम्म निर्दयी हुँदोरहेछ भनेर पत्याउनै कर लाग्छ ।

इलामको सूर्योदय नगरपालिका–६, कन्याममा जिउँदो गोरुको फिलाको मासु चोरेर लगिएको घटनाले धेरैलाई अचम्मित बनाएको छ ।

गोरुधनी राम राईले मिडियाहरुलाई दिएको जानकारीअनुसार उनको गोठमा रहेको गोरु शुक्रबार राति फिला काटिएको अवस्थामा भेटिएको थियो । केही समय पहिले पनि त्यही गोरुको फिला काटेर अज्ञात व्यक्तिले मासु लगेका थिए ।

उपचारपछि घाइते गोरु बिस्तारै सञ्चो हुँदै थियो । तर, शुक्रबार फेरि त्यही गोरुको फिला काटेर मासु चोरले करीब पाँच किलोजति मासु लगेको पाइएको छ ।

सामान्य खेती किसानी गर्दै परिवार सम्हाल्दै आएका राईले अपराधीको पहिचान गरी कारबाही गर्न माग गरेका छन् । तर, अहिलेसम्म प्रहरीले अपराधीलाई पक्रन सकेको छैन ।

गाईलाई कुट्दै कर्णाली नदीमा

अर्को घटना बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्रेमा भएको छ । त्यहाँ गाईलाई ढुंगाले हान्दै नदीमा बगाएको भिडियो सामाजिक सञ्जालमा आयो । ‘गौदान गरेको दृश्य’ भनेर परम्पराका नाममा गाईलाई ढुंगाले हान्दै कर्णालीपारि खेदाइएको दृश्य उक्त भिडियोमा देख्न सकिन्छ ।

स्थानीय व्यक्तिको मृत्युपछि दाहसंस्कार गर्ने क्रममा ‘गौदान’ गरेको भन्दै मानिसहरुले जर्बजस्ती गाईलाई नदीमा हेलेका थिए । गाई डरले फर्किन थालेपछि स्थानीयले ढुङगाले हानेको दृश्य निकै हृदयविदारक थियो ।

उक्त घटनालाई लिएर प्रतिनिधि सभामा सकेत परम्पराका नाममा जनावरमाथि ज्याजती गर्नेहरुलाई कारवाही हुनुपर्ने माग उठेको थियो ।

हालसालैका भएका यी दुई प्रतिनिधि घटनाले मानिसभित्र करुणा मर्दै गएको संकेत गर्छ ।

इलाम सुर्येदय नगरपालिकाका जनप्रतिनिधि आफ्नो क्षेत्रकै घटनाबारे अनभिज्ञ छन् । गोरुधनीले न्यायका लागि प्रतिनिधिसँग बारम्बार हारगुहार गर्दा पनि चासो नदेखाएको गुनासो गरेपछि खबरहबले सूर्योदय नगरपालिकामा सम्पर्क गरेको थियो ।

खबरहबसँग कुरा गर्दै पालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले घटना भएको ठाउँ टाढा भएकाले आफूले विस्तृत जान्न नपाएको बताए ।

के भन्छन् पशु अधिकारकर्मी ?

स्नेहा केयरकी अध्यक्ष एवं पशुअधिकारकर्मी स्नेहा श्रेष्ठले कानुनकमजोर हुँदा जनावरमाथिको क्रुरतालाई रोक्न कठिन भएको बताइन् । उनले खबरहबसँग भनिन्, ‘सबै जनावरको हकमा कानुन अपर्याप्त भए पनि गाईगोरुको हकमा कानुन छ । मानिसका लागि जस्तो कानुन छ, जनावरका लागि पनि उस्तै कानुन बन्नुपर्छ ।’

उनले अगाडि भनिन्, ‘जे गर्दा पनि हुन्छ, जाबो गोरुको फिला नै काटेको त हो, मान्छे काटेको होइन भनेर सजिलै लिइदिन्छौं । पशु अधिकारका बारेमा बुझेका न प्रतिनिधि छन्, न प्रहरी, न कर्मचारी । त्यसैले जनावरमाथि भइरहेको क्रुरता र अत्याचार रोक्न गाह्रो भैइरहेको छ ।’

स्नेहा थप्छिन्, ‘प्रशासनले पनि यस्ता घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्नुपर्छ । तर, भएको कानुनसमेत कार्यान्वयन हुन सकेको छैन ।’

बारम्बार भइरहेका यस्ता घटनामा स्थानीय सरकार मूकदर्शक बनेर बस्नु आफैंमा लाजमर्दो विषय भएको स्नेहाले बताइन् । उनले भनिन् ‘इलाममा गोरुको फिला काटेको घटना पहिलो होइन । त्यहाँको प्रहरी प्रशासन के हेरेर बसेको छ ? बाटोमा हिँडेको बेवारिसे जनावर पनि होइन, व्यक्तिले पालेको गोरु हो । त्यो जनावर मात्र नभएर व्यक्तिको सम्पत्ति पनि हो नि । यो त कानुनी राज्यमाथिकै चेतावनी हो । घटनामा संलग्नलाई प्रहरीले अनुसनधान गरी कडा कारवाहीको दायरामा ल्याउन सक्नुपर्छ ।’

यस्ता कतिपय घटनामा पशुअधिकारकर्मीले जाहेरी दिए पनि पशुधनीलाई दबाबमा पारेर जाहेरी फिर्ता लिन लगाइने गरेको दुःखेसो स्नेहाले पोखिन् । उनी भन्छिन्, ‘स्थानीय प्रतिनिधि र प्रहरीले मिल्न दबाब दिन्छन् । जनावरका लागि छुट्टै कानुन नै नभएको कारणले गर्दा समस्या भइरहेको छ । यो कानुन मन्त्रालयमा अड्किएर बसेको छ । जनावरका लागि छुट्टै ठोस कानुन हुन्थ्यो भने यस्ता घटना रोकिन्थे । भइहाले पनि कारवाही गर्न सकिन्थ्यो ।’

कानुनीरुपमा आफूहरुले लडिरहेको बताउँदै इलामका गोरु धनीलाई चाहिने सहयोग गर्न अधिकारकर्मी तयार रहेको उनले बताइन् ।

कानुनले के भन्छ ?

मुलुकी फौजदारी संहिता २०७४ ले दण्डनीय अपराधको रुपमा उल्लेख गरेको छ । परिच्छेद–२७ को दफा २८९ मा गाईगोरु कुट्न वा मार्न हुँदैन भन्ने उल्लेख छ । कसुर गर्ने व्यक्तिलाई ३ वर्ष कैदको व्यवस्था छ ।

साथै, दफा २८९ को उपदफा ३ अनुसार गाईगोरुको अंगभंग गरेमा ६ महिना कैद र ५० हजार जरिवाना तोकिएको छ ।

अधिवक्ता रामकृष्ण बञ्जाराले गाईगोरु काट्नु दण्डनीय अपराध भएको बताए । उनले भने, ‘पशुसम्बन्धी हक अधिकारको विषयमा मानिसहरुलाई ज्ञानको अभाव छ । जसले गर्दा यस्ता अपराध भइरहेको छ । वध नै गर्ने ठाउँको पनि मापदण्ड छन् । तर, इलाम र बझाङमा भएको घटनाले मानवीयतामाथि नै प्रश्न उठाएको छ । अझ डरलाग्दो त धर्म र परम्पराका नाममा पशुमाथि हुने क्रुरता हो ।’

बञ्जाराले अगाडि भने, ‘समयको परिवर्तनसँगै धर्म–संस्कृतिका कुरा पनि परमार्जित हुँदै जानुपर्छ । आजको आधुनिक पुस्ताले जनावरको हकहित मात्र नभई जनावरको कल्याणसमेत सोच्ने युगमा छ । यो युगमा जिउँदो गोरुको फिला काट्नु दण्डनीय अपराध हो । जनावर त हो भनेर यस्ता अपराधलाई हल्कारुपमा लिनु हुँदैन । कानुनले दण्ड गरेको अपराधमा सजाय हुनै पर्छ ।’

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ११ : ०० बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर

श्रेयास ऐयारको कप्तानी पारीमा पञ्जाब विजयी : गुजरात ११ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार अर्को हाइ

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल चैत १३ गते बुधबार चैत

आज २०८१ साल चैत १३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल चैत १३ गते बुधबार चैत

ढुकुटीको भ्वाङ बढाएका अर्थमन्त्री पौडेल तनावमा, खर्च बढाउन सचिव गुहारे

काठमाडौं – संसद्‌का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा