काठमाडौं– सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोग गठनका लागि सिफारिस समिति गठन प्रक्रिया अगाडि प्रक्रिया अगाडि बढाउने भएको छ । सिंहदरबारमा सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भएको समझदारीअनुसार सरकार दुवै आयोगको गठनका लागि सिफारिस समिति गठन प्रक्रिया अगाडि बढाउने भएको हो ।
बैठकपछि छलफलमा सहभागी नेकपा एमालेका नेता तथा पूर्व कानुनमन्त्री अग्नि खरेलले नेत्राद्वयबीच भएको परामर्शबमोजिम सिफारिस समिति गठनको प्रक्रिया अगाडि बढ्ने जानकारी दिए ।
‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुबै आयोगको अध्यक्ष तथा सदस्यहरूको नियुक्तिका लागि सिफारिस समिति गठन प्रक्रिया अगाडि बढाउन सम्माननीय प्रधानमन्त्रीज्यूले दुबै दलका नेताहरूसँग परामर्श गर्नुभयो,’ उनले भने, ‘परामर्शबमोजिम अब सिफारिस समिति गठनको प्रक्रिया अगाडि बढ्छ ।’
बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले सङ्क्रमणकालीन न्यायको विषय अगाडि बढाउन दुबै आयोग गठनका लागि सिफारिस समिति गठन गर्न तीन दलका शीर्ष नेताबीच सहमति भएको बताए ।
‘अब सरकारले चाँडै सिफारिस समिति गठन गर्नेछ,’ उनले भने ।
बैठकमा शान्ति प्रक्रियाको बाँकी काम, बेपत्ता तथा सत्य निरुपण सम्बन्धि आयोग गठनको विषयमा छलफल भएको खरेलले बताए ।
‘केही समय अगाडि दुईवटै आयोग गठनका निम्ति गठन बनेको सर्च कमिटी (सिफारिस समिति)ले एउटा प्रतिवेदन पनि दिएको थियो,’ त्यो प्रतिवेदनलाई पनि त्यहाँ राखियो । त्यसपछि दलहरूको बीचमा उनले भने, ‘एउटा सहमति निर्माण गरेर अगाडि जाने विगतको परम्पराजस्तै नै यसपटक पनि तीन दलक नेताहरू बसेर छलफल गर्नुभयो ।’
प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबार पुगेका थिए ।
शीर्ष नेताहरूको बैठकमा सत्तारुढ एमालेका तर्फबाट अग्नि खरेल, कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, माओवादीका तर्फबाट शक्ति बस्नेत र खिमलाल देवकोटा पनि सहभागी थिए। सत्ता साझेदार दलका नेतृत्वसँगको छलफल अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए ।
प्रतिक्रिया