सुब्बाभन्दा माथि ट्रेड युनियनको नेता बन्न नपाइने | Khabarhub Khabarhub

निजामती कर्मचारी विधेयकमा बहस

सुब्बाभन्दा माथि ट्रेड युनियनको नेता बन्न नपाइने

अवकास लिएको दुई वर्षसम्म अन्यत्र जागिर खान बन्देज



काठमाडौं– संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि अहिले राज्य व्यवस्था समितिअन्तरगतको उपसमितिमा दफावार छलफल भइरहेको छ । उपसमितिले सम्भवतः मंगलबार समितिलाई प्रतिवेदन बुझाएपछि संसदको यही अधिवेशनबाट विधेयक पारित गर्ने सरकारको तयारी छ ।

दफावार छलफलका लागि गठित उपसमितिले विज्ञहरूसँग समेत परामर्श गरेर काम अगाडि बढाइरहेको समितिका सदस्य सांसद राजेन्द्र राईले खबरहबलाई बताए ।

प्रतिनिधि सभामा ०८० फागुन २१ गते दर्ता भएको संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि छलफल चलिरहँदा अहिले टे«ड युनियनमा बस्न पाउने अधिकार नायब सुब्बासम्म झार्ने विषयमा पनि चर्चा चलेको छ ।

हाल उपसचिवसम्मका कर्मचारीले ट्रेड युनियनमा बस्न पाउने व्यवस्था छ । त्यसलाई झारेर नायब सुब्बासम्म मात्र ट्रेड युनियनमा बस्न पाउने कानुन ल्याउनेबारे छलफल चलिरहेको स्रोतले बतायो । तर, यसको निष्कर्षमा अहिले नै नपुगिएको सांसद तथा समिति सदस्य रघुजी पन्तको भनाइ छ ।

पन्तका अनुसार अहिले यो विषयमा विभिन्न पाटोबाट अध्ययन भइरहेको छ । उनी भन्छन्, ‘छलफल जारी छ, सहमति जुटेको छैन । तर ट्रेड युनियनलाई नायव सुब्बासम्म झार्नुपर्छ भन्ने मत बलियो छ ।’

उपसमितिका संयोजक दिलेन्द्र प्रसाद बडू छन् । उपसमितिले समितिमा प्रतिवेदन बुझाएपछि समितिमा समेत केहीदिन छलफल गरेर प्रतिनिधि सभामा लैजाने तयारी छ । समितिका सदस्यहरू उपसमितिले ‘फास्ट ट्रयाक’बाट काम अगाडि बढाइरहेकाले हिउँदे अधिवेशनबाटै यो विधेयक पारित हुने दाबी गर्छन् ।

मिल्न बाँकी विषय

दफादार छलफलमा सहभागी उपसमितिका सदस्यहरूका अनुसार संघीय निजामति कर्मचारी विधेयकमा सहमति जुट्न बाँकी विषय निम्न छन् –

१.ट्रेड युनियनलाई नायक सुब्बासम्म सीमित राख्ने विषय ।
२. अतिरिक्त सचिवहरूको व्यवस्थापन कसरी गर्ने ?
३. कर्मचारीको सेवा अवकाश अवधिलाई ५८ वर्षबाट ६० मा पु¥याउने विषय । यो उमेर हद आगामी आर्थिक वर्षदेखि नै लागू गर्ने या क्रमशः १/२ वर्षमा लागू गर्दै जाने ?
४.अन्तरप्रदेश सरुवामा के गर्ने ? स्थानीय तहबाट भर्ना हुने कर्मचारीको अन्तरप्रदेश सरुवा हुने कि नहुने ? संघबाट प्रदेशमा सरुवा गर्ने कि नगर्ने ?
५. मुख्यसचिव, सचिव लगायतका कर्मचारीहरु अवकाश पाएको भोलिपल्टैदेखि अन्यत्र जागिर खान जाने गरेका छन् । उनीहरुलाई २ वर्षसम्म अन्यत्र जागिर गर्न नदिने गरी ‘कुलिङ पिरियड’ राख्ने विषय ।
६. मुख्यसचिव र सचिवको कार्यकाल पुरानै राख्ने कि केही वर्ष घटाउने ?
७. करार कर्मचारीहरुलाई अवकासमा पठाउँदा कस्तो सेवा सुविधा दिने ?
८.बढुवाको मापदण्ड कस्तो बनाउने ?

आन्दोलनको चेतावनी

यसैबीच, नायब सुब्बासम्म मात्रै कर्मचारीले ट्रेड युनियनमा बस्न पाउने कानुन बने कर्मचारीहरू आन्दोलनमा निस्कने युनियनका नेताहरु बताउँछन् ।

विधेयकमा अन्य थुप्रै कुराहरू सच्चिनुपर्ने नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराई बताउँछन् । भट्टराई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत कर्मचारी हुन् ।

‘ड्राफ्टमा आएको भन्दा फरक किसिमले ऐन आएन भने कर्मचारी आन्दोलनको तहमा पुग्न सकिन्छ,’ भट्टराईले भने, ट्रेड युनियनको कुरामा पनि हाम्रो असमति छ । सरुवा प्रणाली चक्रीय र पूर्वानुमानयोग्य हुनुपर्ने भन्ने छ ।’

ट्रेड युनियनमा बस्न पाउने अधिकार नासुसम्म मात्रै गरियो भने प्रभावकारी नहुने र कर्मचारीको आवाज सुन्ने संस्था पनि नबन्ने उनले बताए । उनले भने, ‘शाखा अधिकृत तहसम्म दिँदा फरक पर्दैन । साविकको ऐनमा कार्यालय प्रमुख बाहेकको भनेर लेखिएकाले यसमा संशोधन गर्नुपर्ने जरुरी नै छैन ।’

भट्टराईले अगाडि भने, ‘सबै पदमा आन्तरिक प्रतिस्पर्धा पनि राख्नुपर्छ र निश्चित अवधि पूरा भएपछि बढुवा हुनुपर्छ भन्ने हाम्रो माग छ । स्थानीय र प्रदेशमा सरुवा भएका कर्मचारीको अन्तर प्रदेश सरुवा पनि राख्नुपर्छ भन्ने लगायत हाम्रो माग छ ।’

विधेयकमा १५–२० वर्षसम्म पनि एउटै पदमा कर्मचारीले काम गर्नुपर्ने अवस्था आउने व्यवस्था भएकाले यसले कर्मचारीलाई अन्याय हुने भट्टराई दाबी गर्छन् ।

के–के छन् कर्मचारीका अन्य माग ?

विभिन्न कर्मचारीले विभिन्न मागहरू बुझाए पनि मुख्यरूपमा ७/८ वटा माग पूरा गर्नका लागि समितिमा पत्रहरू आएको राज्य व्यवस्था समिति सदस्यको भनाइ छ ।

समितिका एक सदस्यका अनुसार मुख्य रूपमा कर्मचारीले ८ वटा माग अगाडि सारेका छन् –

१.सहसचिव र उपसचिवको खुल्ला तर्फ तोकिएको सेवा अवधि र योग्यता भएका राजपत्र अनंकित कर्मचारीहरूले पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरियोस् ।

२. राजपत्रांकित तृतीय श्रेणीको पदपूर्तिमा ५० % खुला, ४० % बढुवा र १०% आन्तरिक र अन्तरतह प्रतिस्पर्धाको व्यवस्था गरियोस् ।

३. सात वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई १ तह र १२ वर्ष सेवा अवधि पूरा गरेकालाई २ तह बढुवाको व्यवस्था गरियोस् ।

४. तृतीय श्रेणीको प्रवेश विन्दु छैटौँ तह कायम गरियोस् ।

५. तीनै तहमा कार्यरत कर्मचारीहरूलाई निजामती कर्मचारीको परिभाषामा समेटियोस् ।

६. तीनै तहमा पूर्वानुमानयोग्य र स्वचालित सरुवा प्रणाली तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई अन्तर प्रदेश सरुवाको व्यवस्था गरियोस् ।

७. क्षतिपूर्तिसहितको नागरिक सेवा र कर्मचारीलाई मर्यादित जीवन यापनका लागि आवश्यक सेवा सुविधाको सुनिश्चित गरियोस्।

८. ट्रेड युनियन शाखा अधिकृत तहसम्म भन्दा नघटाइयोस् ।

ट्रेड युनियनलाई नासुसम्म झार्दा समस्या हुँदैन : पूर्वसचिव रवीन्द्रनाथ श्रेष्ठ

नेपवाल सरकारका पूर्वसचिव रवीन्द्रनाथ श्रेष्ठ भने ट्रेड युनियनको अधिकार नायब सुब्बासम्म झार्दा कर्मचारीलाई अन्याय नहुने दाबी गर्छन् । पछिल्लो समय ट्रेड युनियनहरुले उद्देश्यअनुसार काम नगर्दा इमान्दार कर्मचारीलाई सरुवा बढुवामा समेत समस्या भएकाले ट्रेड युनियनले आफ्नो कर्तव्यपालनको जिम्मेवारी समेत हेनुपर्र्ने उनको आग्रह छ ।

श्रेष्ठ भन्छन्, ‘अहिलेका कर्मचारी ट्रेड युनियनहरूले आफू अनुकूलका कर्मचारीको मात्रै सरुवा–बढुवामा लागेर कर्मचारी हकहितको कुरा नै बिर्सिएका छन् । साझा ट्रेड युनियन बनेन, स्वार्थको बन्यो ।’

श्रेष्ठले खबरहबसँग भने, ‘उद्देश्यअनुसार काम नभएपछि नायब सुब्बासम्म मात्रै ट्रेड युनियनमा बस्न पाउने व्यवस्था हुँदा कुनै समस्या हुँदैन ।’

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ७ : ०१ बजे

चीनमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

एजेन्सी – चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिबार देशका विभिन्न

पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो

सङ्खुवासभा– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको

बाढीपहिरो पीडितको रकम गायब बनाएका गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

सुर्खेत- कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका बाढीपहिरो पीडितका नाममा सङ्कलन भएको

पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन सुरु (तस्बिरहरू) 

काठमाडौं– लाङटाङ, क्यान्जिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले

सुनसरीबाट ब्राउनसुगरसहित ९ जना पक्राउ

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले ९