जब रेञ्जरको काज सरुवामा हल्लियो मधेस प्रदेश सरकार | Khabarhub Khabarhub

जब रेञ्जरको काज सरुवामा हल्लियो मधेस प्रदेश सरकार


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– वनजङ्गल फडानी र ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन एवम् ओसारपसार गराउन बदनाम गैँडाटार सबडिभिजन वन कार्यालयमा कार्यरत रेञ्जर लक्ष्मी कर्णलाई जनकपुरधामस्थित प्रदेश वन निर्देशनालयमा काजसरुवा गरिएपछि डिभिजन वन कार्यालय रौतहटका प्रमुख एवम् डिभिजनल वन अधिकृत (डिएफओ) हेमन्तप्रसाद साह रन्थनिएका छन् । 

डिभिजन वन कार्यालय रौतहटको वन व्यवस्थापन शाखाका प्रमुख एवम् वन अधिकृत रामगणेश साह र गैँडाटार सबडिभिजन वन कार्यालयका निमित्त प्रमुख रहँदै आएकी रेञ्जर कर्णको मिलोमतोमा डिभिजनल वन अधिकृत साहले अवैध रुख कटानी तथा ढुवानी र नदीजन्य पदार्थ दोहन तथा ओसारपसार गराउँदै आएको उजुरी प्रदेश वन निर्देशनालय लगायत माथ्लो अड्डाहरूमा परेपछि रेञ्जर कर्णलाई निर्देशनालयमा तानिएको छ । डिएफओ साहसँग निकट भएर अनियमिततामा संलग्न भएको आरोप पुष्टि हुने आधार सतहमै देखिएपछि कर्णलाई निर्देशनालय तानिएको हो । 

प्रदेश वन निर्देशनालयका निर्देशक जगन्नाथ जयसवालले डिएफओ साह र रेञ्जर कर्णको साँठगाँठमा वन मास्ने तथा नदीजन्य पदार्थ दोहन गराउने कार्य भइरहेको उजुरीबारे अनुसन्धान भइरहेको स्वीकार गरे । तर, रेञ्जर कर्णको सरुवा सोही कारणले भएको भन्नेबारे खुलाएनन् । उनले भने,  ‘निर्देशनालयले आफ्नो क्षेत्राधिकारभित्र रहेर विशेष प्रयोजनले रेञ्जर कर्णको सरुवा गरेको हो ।’ 

कार्यालयका काम र विभिन्न औपचारिक कार्यक्रममा डिएफओ साह र रेञ्जर कर्णबीचको उठबस तथा हिँडडुल समेत पदीय मर्यादा विपरीत रहेको भन्दै डिभिजन वन कार्यालय रौतहटका कर्मचारीहरूले अनियमितता हुने गरी दुबैबीचको सम्बन्ध प्रगाढ रहेको अनुमान गर्दै आएका थिए । 

रेञ्जर कर्ण निमित्त प्रमुख रहेको गैँडाटार सबडिभिजन वन कार्यालयमा प्रमुखका रूपमा वन अधिकृत सातौँ वा आठौँ रहने कानुनी व्यवस्था छ । त्यस विपरीत डिएफओ साहले पाँचौँ तहका रेञ्जर कर्णलाई निमित्त प्रमुखका रूपमा जिम्मेवारी दिएका थिए । डेढ वर्षअघि वन सेवामा प्रवेश गरेकी कर्ण तुलनात्मक रूपमा अत्यन्त संवेदनशील मानिएको गैँडाटार सबडिभिजन वन कार्यालयका प्रमुखका लागि आवश्यक अनुभव र सुझबुझ नभएको कर्मचारी हुन् । 

रेञ्जर कर्ण काजसरुवामा निर्देशनालय तानिएपछि उनलाई पुनः फर्काउन डिएफओ साह शक्तिकेन्द्रहरू चहारिरहेका छन् । उनी दिनहुँ रेञ्जर कर्णसँगै वा एक्लै प्रदेशको राजधानी जनकपुरधाम आएर वन तथा वातावरण मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूलगायतलाई भेटेर रेञ्जर कर्णलाई फर्काउन दबाब दिइरहेका छन् । 

वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले रेञ्जर कर्णको सरुवा निर्देशनालयले गरेको र त्यसलाई माथ्लो तहबाट उल्ट्याउने प्रयासबारे आफूलाई जानकारी नभएको जानकारी दिए ।   

डिएफओ साहले प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहलाई भेटेर रेञ्जर कर्णलाई फर्काइदिए ठूलो रकम दिने प्रस्तावसमेत दिएको स्रोतले बताएको छ । तर, मुख्यमन्त्री सतिशकुमार सिंहकै निर्देशनमा वन निर्देशक जग्गनाथ जयसवालले काजसरुवा गरेकाले त्यस प्रसङ्गमा आफूले अर्को निर्णय नगर्ने मन्त्री साहले उत्तर फर्काएको स्रोतको दाबी छ । यद्यपि रेञ्जर कर्ण मन्त्री साहको निर्वाचन क्षेत्रकै बासिन्दा भएकी र डिएफओ साह कथित नातामा भिनाजु भएकाले थप अर्को निर्णय गर्ने जोखिम पनि उत्तिकै रहेको स्रोतको भनाइ छ । 

निर्देशनालयले रेञ्जर कर्णलाई तीन दिनभित्र हाजिर हुन भनेको र सोको अवज्ञा भएपछि अर्को पत्र लेखी २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिएको छ । तर, उनी निर्देशनालयका निर्देशन मानेकी छैनन् । डिएफओ साहले बरबुझारथ र म्यादका कुरा भएकाले दश दिनभित्र रेञ्जर कर्णलाई रमाना दिने बताए । उनले निर्देशनालयले वन मास्ने तथा नदीजन्य पदार्थ दोहनका विषयमा निर्देशनालयले छानबिन गरिरहेको विषयमा आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘मेरो काम काम गर्ने हो । छानबिन गर्नेले गरिरहोस् ।’ 

वनक्षेत्र भएर बग्ने खोलाहरूबाट ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन र ओसारपसारबाट नियमित रकम आर्जन गरिरहेकी भनिएको रेञ्जर कर्णले जनमत पार्टीका स्थानीय नेता एवम् जिल्ला वनपैदावार आपूर्ति समिति रौतहटका अध्यक्ष ललित मल्लिक सानु तथा मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णमाथि फिर्ता हुन दबाब बनाइरहेका छन् । मल्लिक र कर्ण रेञ्जर कर्णका स्वजाति हुन् । 

वन निर्देशक जयसवालले रेञ्जर कर्णको सरुवा गर्दा सबैसँग समन्वय गरिएको बताए । उनले आफ्नो काम संस्थालाई बलियो बनाउने भएकाले त्यसअनुसार अगाडि बढिरहेको प्रस्ट्याए । 

मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले सत्ता सञ्चालनमा विधि र प्रक्रिया महत्त्वपूर्ण भएको र यस कार्यमा कुनै पनि पदाधिकारी तथा अधिकारीको जातीय वा अन्य कुनै पूर्वाग्रह नरहेको दाबी गरे । रेञ्जर सरुवाका लागि निर्देशनालय आधिकारिक निकाय भएको भन्दै रेञ्जर कर्णको सरुवा आफ्ना लागि आग्रहको विषय नभएको उनले जिकिर गरे । 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १२ : २९ बजे

यस्तो देखियो एमालेको ‘युथ सेलिब्रेसन’ (तस्बिरहरू)

काठमाडौं– सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको

राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सव रक्तदान गरेर मनायो 

काठमाडौं– नेपाल राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सव मनाएको छ ।

बालेनको दाबी- काठमाडौं टावरमा अर्बौँको नीतिगत भ्रष्टाचार, गुरागाईं केन्द्र सरकारको मिसन बोकेर आए

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पुरानो बसपार्कस्थित काठमाडौं टावरको

खाद्य व्यवस्था जनकपुरद्वारा गहुँ खरिद सुरु

जनकपुरधाम– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले

निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले सरकारी