बालेनको दाबी- काठमाडौं टावरमा अर्बौँको नीतिगत भ्रष्टाचार, गुरागाईं केन्द्र सरकारको मिसन बोकेर आए « Khabarhub

बालेनको दाबी- काठमाडौं टावरमा अर्बौँको नीतिगत भ्रष्टाचार, गुरागाईं केन्द्र सरकारको मिसन बोकेर आए


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सापास प्रक्रियामा अर्बौको नीतिगत भ्रष्टाचार भएको दाबी गरेका छन् ।

लामो समयपछि सामाजिक सञ्जालमार्फत् उक्त प्रकरणको विवादबारे लेख्दै साहले काठमाडौं टावरबाट महानगरलाई एक अर्बभन्दा बढी आर्थिक क्षति हुने त्क गरेका हुन् । उनले गलत ढंगबाट अघि बढाइएको टावर निर्माण प्रक्रियाले ठेकेदारलाई अर्बौँ फाइदा हुने जिकिर गरेका हुन् ।

साहकाअनुसार २०७३ मा १२ तलासम्मको स्वीकृति दिँदा महानगरको तत्कालीन नेतृत्वले न्यून आर्थिक लाभ हुने गरी सम्झौता गरेको थियो ।

उक्त सम्झौताअनुसार चौथो वर्षसम्म वार्षिक ९८.३३ लाख र ३०औँ वर्षमा ३.९० करोड रुपैयाँ मात्रै महानगरले प्राप्त गर्ने उल्लेख रहेको साहको तर्क छ ।

तर, १२ तलालाई १९ तला बनाउँदा थप ७ तलाको क्षेत्रफल १.२८ लाख वर्गफुट हुँदा वार्षिक २३ करोड बढी भाडा आउनुपर्ने दाबी उनले गरेका छन् ।

‘३० वर्षमा प्रतिवर्गफुट भाडा ६७० रुपैयाँ पुग्छ, जसबाट थप ७ तलाले मात्रै एक अर्बभन्दा बढी आम्दानी गर्नुपर्ने हो,’ उनले भनेका छन्, ‘तर सम्झौताअनुसार महानगरले ३ करोड मात्रै पाउँछ, जसले ठेकेदारलाई अर्बौँ फाइदा हुन्छ ।’

साहले भवन निर्माणमा धेरै अनियमितता र अवैधानिक काम भएको पनि जिकिर गरेका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले २०७२ सालमा १२ तलामाथि नजाने गरी काठमाडौं टावर बनाउन अनुमति दिएको थियो ।

तर, १९ तले टावर बनाउँदा प्राधिकरणको राय र वातावरणीय प्रभाव मूल्याङ्कनबिनै नक्सापास गरिएको उनको तर्क छ । ‘स्ट्रक्चरल इन्जिनियरको हैसियतले मैले हेर्दा एनबीसी १०५ :२०२० मापदण्डअनुसार १९ तलाको डिजाइनमा ७० प्रतिशत भन्दा बढी कोलम फेल हुन्छ,’ साहको तर्क छ ।

नक्सापास प्रक्रियामा वर्तमान प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गम्भीर त्रुटि गरेको आरोप साहले लगाएका छन् ।

‘आधिकारिक ईबीपीएस प्रणालीबिना, विभागीय प्रमुखलाई जानकारी नदिई गुरागाईंले हाजिर भएको दोस्रो दिनमै नक्सापास गरे,’ साहको जिकिर छ, ‘यो नीतिगत भ्रष्टाचारको अंश हो ।’

गुरागाईंलाई संघीय सरकारले विशेष ‘म्यान्डेट’ दिएर काठमाडौं पठाएको आशंका गरेका छन् । यो प्रकरण छानबिनका लागि सम्बन्धित निकायलाई सहयोग गर्न तयार रहेको पनि उनको तर्क छ ।

‘महानगरको आधिकारिक प्रणालीमा अहिलेसम्म नक्सापास भएको छैन, यो कागजलाई मान्यता दिँदैनौँ,’ उनले अगाडि थपेका छन्, ‘हिल्टन होटलको नक्सापास पनि गुरागाईंले त्यही दिन गरेका रहेछन्, त्यसबारे पनि छानबिन हुँदैछ ।’

उनले यस्तै अनियमितता भेटिएमा महानगरमा सूचना दिन पनि भनेका छन् । उनले वैशाख ११ अर्थात् आज लोकतन्त्र दिवस भन्दै भ्रष्टाचाररहित समाज बनाउन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ८ : ०३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना