राज्य अनुत्तरित हुनुहुन्न, युवाको ऊर्जा र प्रतिभाबाट लाभ लिनुपर्छ | Khabarhub Khabarhub

राज्य अनुत्तरित हुनुहुन्न, युवाको ऊर्जा र प्रतिभाबाट लाभ लिनुपर्छ

राजनीति प्रायोजित र पोषित भयो भने सबैभन्दा ठूलो प्रहार दलमाथि हुनेछ



अधिकांश देशमा युवाको उमेर १५–३५ वर्षको हुन्छ । नेपालको सन्दर्भमा नेपालको अन्तरिम संविधानले १५ देखि २९ वर्षको उमेर समूहलाई युवा भनेर परिभाषित गरेको थियो भने राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ ।

यस नीतिलाई टेकेर राष्ट्रिय युवा संघ नेपालले पनि आफ्नो सङ्ठनमा १६–४० उमेर लाई विधानतः स्वीकार गरेको छ । राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशन जेठ ९–११ सम्म भव्यताको साथ सुसम्पन्न भइरहेको छ । महाधिवेशन संघका संस्थापक अध्यक्ष तथा नेकपा एमालेका श्रद्धेय अध्यक्ष सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा उद्घाटन गर्नु भएको छ ।

अन्य सङ्गठन भन्दा राष्ट्रिय युवा संघ नेपाललाई उहाँले विशेष चासो र महत्त्व दिनु हामी राष्ट्रिय युवा संघका नेताकार्यकर्ताका लागि निक्कै सुखद पक्ष हो । यस महाधिवेशनलाई सर्वत्र महत्त्वका साथ चासो राखिएको पाइएको छ । महाधिवेशनको सन्दर्भमा पोखरा बेहुलीझैँ सिङ्गारिएको थियो ।

महाधिवेशनमा नीति तथा नेतृत्वको बहस हुन्छ नै । वर्तमान नेतृत्व दोहोरिन खोज्ने र नव नेतृत्व स्थापित हुन खोज्नु स्वाभाविकै हो तर यो पटक पदाधिकारी ९ जना र केन्द्रीय कमिटी को सङ्ख्या १५१ मा सीमित भएको छ । हिजो विषम परिस्थितिमा तत् कमिटी १००० भन्दा बढीको थियो भने ठूलो सङ्ख्यामा पदाधिकारी र पदाधिकारी सो सरह भनेर थुप्रै साथीहरूलाई जिम्मेवारी दिइएको थियो । नेतृत्वमा यति जाम छ कि २०६९ मा बुटवल महाधिवेशनपश्चात् लगभग ११ वर्ष अधिवेशन भएन ।

२ वर्षअघि नेपालगञ्जमा सम्पन्न अधिवेशनले केही हदसम्म नेतृत्व व्यवस्थित त गर्‍यो तर युवाहरूमा काठमाडौं केन्द्रित गतिविधि गरे पुग्ने, अग्रजहरूसँग सङगत गरे पुग्ने जस्ता दुर्गुणले सताएको छ । भूगोलको राजनीति गर्नेहरूको मनोबल खासमा उकास्न सकिएन । जिल्ला कमिटीभन्दा तल्ला कमिटी खास परिचालित भएनन् । परिचालित हुनेहरूलाई प्रोत्साहन गरिएन । प्रमुख अतिथि र अतिथिमै लडाइँ चल्दै गयो ।

‘ग्राँस’मा सङ्गठन छैन त युवाहरूमा एकाएक महत्वाकांक्षा र निराशा दुवैको ‘ग्राफ’ उँचो गतिमा बढेर गयो । एउटा पङ्क्ति दम्भले छेपारोले गाँड फुलाएझैँ फुलेर बस्यो र अर्को पङ्क्ति लाखेस्, देखाउँला र हेरौँला भनेरै बस्यो ।

जब आदर्श सङ्गठनभित्र कल्पनै नगरेको रोग लाग्यो त्यसको डाइग्नोसिस र निदान गर्नुभन्दा आन्दोलन र अभियानहरू केन्द्रका इभेन्टतर्फ मोडियो । आत्मकेन्द्रित र पर्सनल ब्राण्डिङको राम्रो हेक्का भएका साथीहरू विज्ञान तथा प्रविधि, खोज, अनुसन्धान तथा अन्वेषणमार्फत् सुपेरियर बन्दै गए ।

कोही खटेको खट्यै भए, कोही स्टाटस मात्रै लेख्दै गए । कोही टिकटक र रिल्स मात्रै बनाउन लागे त कोही शुभकामना र बधाई मात्रै दिँदै गए । सामाजिक सञ्जाल मार्फत पपुलिष्टहरू, प्रतिक्रियावादीहरू, प्रतिक्रान्तीकारीहरू, पुनरुत्थानवादीहरू, डलरे अनि आईसीवालाहरू र धमिलो पानीमा माछा मार्न पल्केकाहरूको अगाडि हामी फिक्का हुँदै गयौँ ।

हामीमा गहिरो दर्शनको अध्ययन हट्यो सस्ता सतही कुरामा ‘साँच्चै हो कि क्याहो ?’ भन्दै हामी बिस्तारै मेनुप्लेट हुँदै गयौँ । पार्टी र सङ्गठनलाई गरिएको चौतर्फी घेराबन्दी चिर्न सकेनौँ । साँच्चै भनौं भने गर्विलो इतिहास बोकेको युवा आन्दोलन यति भुत्ते भयो कि साँध लाउने आरनसम्म पुग्न ल्याकत र चाहसमेत भएन ।

किन लाग्ने ? राजनीतिक भविष्य के हुने ? कुन बेला आन्तरिक राजनीतिक आक्रमण हुने र राजनीति अन्त्य हुने त्रासले आलोचनात्मक चेत गौण हुँदै गयो । आत्मालोचना भन्ने शब्द त सङ्घ–सङ्गठनको शब्दकोशमै लोप भयो । युवाहरू बोल्न छाडे लेख्न छाडे । सङ्गठित हुन छाडे । अघिल्लो पुस्ता हेर्दा आशा लाग्न छोड्यो । सुरुमा भयङ्कर देखिनेहरू ल्याङ्टो देखिन थाले । आदर्श सोचिएको सङ्गठनको श्रद्धा घट्दै गयो ।

अर्कोतिर आफ्नो व्यवहारिक र व्यवसायिक पाटो खच्किँदै गयो । बैङ्क तथा वित्तीय संस्थाको मनोपोली ट्याकल गर्न सकिएन । बरु, भाग्न थालियो । न त सामाजिक काम गर्ने न जनजीविकाको सवालमा बोल्ने न त विकृति विसङ्गतिविरुद्ध बोल्ने आँट र जागर आयो । न संस्कृति बारे बोलियो न बजार बारे नै बोलियो । पेशा व्यवसायभन्दा छिटो कमाइ हुनेतर्फ सोच मोडिने समेत देखियो । राजनीति, पेशा र देशबाटै युवाहरू पलायन हुन थाले । यस्तै चरम निराशा बीचमा यो कार्यकाल सकियो ।

जसको जस अपजसको निम्ति आआफ्नो गच्छेअनुसार म पनि भागी बस्न तयार छु । अहिले हेर्दा अधिकांश साथीहरू आफ्ना उमेर समूहका विशिष्ट प्रतिनिधिमार्फत् अनुमोदित भएर योग्य पुस्ताको रूपमा जनतामाझ जान चाहन्छन् । कसरी यी समस्या हल गरेर अगाडि बढ्ने त ?

अब आर्थिक, सामाजिक, राजनीतिक र टेक्नोलोजीका हिसाबले युवा शक्तिलाई प्रोत्साहन गरिनु पर्दछ । बौद्धिक तथा दक्ष युवाहरूको पलायनलाई देशमै अवसर र महत्त्व दिइनुपर्छ । खेलकुद तथा मनोरञ्जनमार्फत् शारीरिक र मानसिक विकासको अवसर, युवा नेतृत्व विकास, सहभागिता र परिचालन गरिनुपर्छ ।

युवाको क्षमता विकास गरी देशभक्त, कर्मठ, अनुशासित र उद्यमशील बनाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा युवाको सार्थक सहभागिताका लागि लक्षित कार्यक्रम ल्याइनुपर्छ । स्थानीय तहमा विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, वातावरण संरक्षण, पूर्वाधार विकासमा खबरदारी र साझेदारी, राहत, खोज तथा उद्धार, विषम परिस्थितिमा जनचेतना अभिवृद्धिलगायत सामाजिक कार्यमा सङ्ठित गरी परिचालन गरिन ढिला गर्नु हुँदैन ।

युवालाई सिर्जनशील, दक्ष, सीपयुक्त, उद्यमी तथा जिम्मेवार नागरिक बनाउन खास भूमिका निर्वाह गर्नुपर्छ । ठोस रूपमा राष्ट्रका र भविष्यका कर्णधार, वर्तमानका साझेदार, विकास र परिवर्तनका संवाहकका रूपमा नेतृत्व विकास गर्नुपर्छ । राज्यले युवाहरूको ऊर्जा र प्रतिभाबाट लाभ लिनुपर्छ । अब अनुत्तरित हुन हुन्न ।

एक प्रसङ्गमा महात्मागान्धीले भनेका छन्, ‘जो व्यक्ति आफूलाई परिवर्तन नगरी अरूलाई परिवर्तन गराउन खोज्छ, त्यो मूर्ख हो, त्यो ढोँगी प्रवृत्ति हो ।’ पछिल्लो समय सङ्गठनमा नेतृत्व चयन प्रक्रियामा देखिएको प्रवृत्तिप्रति पनि असन्तुष्टि बढ्दो छ । सङ्गठन निर्माणभन्दा नेतालाई खुशी पार्ने प्रवृत्तिले सङ्गठन कमजोर बन्दै गएको प्रतिनिधिहरूको भनाइ आउँछ । विश्वमा गत डेढ दशकमा केही देशहरूमा सामाजिक सञ्जालका माध्यमहरू खासगरी फेसबुक, टिकटक, ट्वीटर (एक्स), भाइबर, मेसेन्जर, इन्स्टाग्रामका साथै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबाट सरकार या व्यवस्थाका विरुद्ध नेतृत्वविहीन आन्दोलनहरू सफल भएका छन् ।

बङ्गलादेशमा भएको विगतको आन्दोलन एउटा उदाहरण हो भने काठमाडौंमा भएको तोडफोड, हत्या र भाटभटेनी चोरी, लुटपाट त्यसकै नेपाली भेरियण्ट मात्रै हो । जब युवाले प्रत्यक्ष रूपमा आफ्नो राजनीति होस् या रोजगारीमा या आय स्रोतमा या जीवनस्तर सुधारमा कुनै सकारात्मक परिवर्तन देख्दैन, त्यसले देख्छ त केवल नेताहरूको विलासी जीवनशैली, पारिवारिक लिप्तता, राजनीतिक अदूरदर्शिता र भ्रष्टाचारबाट ठडिएका महलमा बसेर समाजवादको ढोँगी आदर्श फुक्ने नक्कली राजनीति । आफू लिस्टमा नपरेपछि पार्टीका तमाम कार्यकर्ताहरू दलका नेताहरूले अधिनायकवादी शैलीमा घोषणा गरेको देख्छन् । नातावाद र कृपावाद देख्छन् । दलका शीर्ष नेता एकाधिकारवादी प्रवृत्तिमा लागेको देख्छन् ।

नेपाली समाजको विद्रोही चेतना

तत्काल नेता र कार्यकर्ताले बोल्न नसके पनि भविष्यमा पात्र वा पद्धतिका विरुद्धमा हुन सक्ने जनविद्रोहमा यी दलहरूका कार्यकर्ताहरूको पनि अप्रत्यक्ष समर्थनको सम्भावना छ ।

विद्रोही सचेत जनता खासमा जो शिक्षित, चेतनशील, मध्यम वर्गीय र सहरिया छ र आफ्नो अनि देशको वर्तमान अवस्थाप्रति चिन्तित भएर सरकार या दलहरूका नेता या पद्धतिको विरुद्ध सोचेरै, बुझेरै विद्रोही कित्तामा उभिएको छ । यो खतराबारे हाम्रो अधिवेशन जिम्मेवार हुनु जरुरी छ । २०६२–६३ को जनआन्दोलन र २०६४ को पहिलो संविधानसभाको समयमा जन्मिएका बालकहरू अहिले १६ देखि १८ वर्ष उमेरका भए । यो उमेर समूह सङ्ख्या अहिले करिब ३५ लाख छ । यो समूहलाई अहिलेको र पहिलेको व्यवस्था बारे कुन ‘बेस्ट’ हो भनेर हामीले प्रशिक्षण गरिएको छैन । न त स्कुल कलेजका कोर्समै लेखिएको छ । अहिले शिक्षा छ तर कामकाजी र व्यवहारिक छैन ।

एउटा भनाइ सापटी लिन चाहन्छु । ‘जुन दिन शिक्षाका निम्ति स्कुल खोलियो त्यै दिनदेखि अशिक्षा सुरु भयो ।’ हो यो पुस्ता अघिल्लो पुस्तालाई अशिक्षित देख्छ । पाखे देख्छ । यो पुस्तामा नेपालमा अध्ययन गरेर भविष्य राम्रो हुन्छ भन्ने छैन । यो ‘न्यारेटिभ बिल्ड अप’ भएको छ । यो निक्कै खतरापूर्ण छ । नेपालमा डेढ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता छन् र एक करोड तीस लाखभन्दा बढी सामाजिक सञ्जाल प्रयोगकर्ता छन् ।

विद्रोही चेतनाका युवाको मनस्थिति र सरकारविरोधी वातावरण निर्माण हुँदै जादा अर्को ठूलो चुनौती भनेको अराजक र पुनरुत्थानवादी आन्दोलनले बृहत् रूप लियो भने त्यसबेला कसले र कसरी यसलाई सम्झौतामार्फत् टुङ्ग्याउन सक्छ ? यो अति गम्भीर प्रश्न छ ।

हाम्रो महाधिवेशनमा यस्ता विषयमा समेत आवाज बुलन्द गर्नुपर्ने बेला आएको छ । हामीले र दलहरूले आन्दोलन या विद्रोहको सम्भावना छैन भनेर नजरअन्दाज गर्नु राजनीतिक भूल हुनेछ । अहिले सरकार जनताबाट टाढिँदै चुँडिएको चङ्गा बन्ने सम्भावना बढ्दो छ । राजनीति भनेको सम्भावनाको खेल हो प्रायोजित र पोषित आन्तरिक या बाह्य परिस्थितिको कारण यस्तो सम्भावना भयो भने सबैभन्दा ठूलो प्रहार हामी दल र दलका नेताकार्यकर्तालाई नै हुनेछ ।

र अन्तमा आशा छ, राष्ट्रिय युवा संघ नेपालको दशौँ राष्ट्रिय महाधिवेशनले यस्ता विषयको निदानसहितको खाका लिएर नयाँ उर्जाका साथ नयाँ नेतृत्व लिने छ ।

लेखक राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य हुन् ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ७ : ३१ बजे

सियरा लियोनमा तीन हजारभन्दा बढी व्यक्तिमा एमपक्स सङ्क्रमण, १४ को मृत्यु

सियरा लियोन – सियरा लियोनमा सन् २०२५ को सुरुदेखि अहिलेसम्म

खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान

तनहुँ – खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुर

सुनसरीमा गोली चल्यो, एक जना घाइते

विराटनगर –सुनसरीको बराहक्षेत्रमा गोली चलेको छ । शनिबार बेलुका करिब

जनताले रोजगारी र सुशासन चाहेका छन्ः महासचिव भुसाल

डडेल्धुरा – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले

भोजपुर टुँडिखेलमा साकेला सिली नाच्दै सकियो उभौलीपर्व

भोजपुर – किरात समुदायको पर्व साकेला उभौली विधिवत् रूपमा समापन