विदेशबाट फर्केका युवाले सिकेको सीप प्रयोग गर्नेगरी कृषिमा आकर्षित गर्न आवश्यक : राष्ट्रपति पौडेल  | Khabarhub Khabarhub

विदेशबाट फर्केका युवाले सिकेको सीप प्रयोग गर्नेगरी कृषिमा आकर्षित गर्न आवश्यक : राष्ट्रपति पौडेल 


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने युवा शक्तिलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न कृषि क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका छन् । 

राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गरे । 

उनले विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने पनि वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताए । 

राष्ट्रपति पौडेलले भने, ‘कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजार/उपकरण/यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्ने विषयहरू हुन् । यसतर्फ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’ 

उनले निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको भन्दै कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गरी संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पूरा गर्न सकिने बताए ।   

राष्ट्रपति पौडेलले नेपालको कृषि क्षेत्रले उपभोगमुखी उत्पादन र न्यून निर्यात क्षमता र उच्च व्यापार घाटाको प्रतिबिम्ब गर्ने गरेको उल्लेख गर्दै अशिक्षित, गरिबी र न्यून आय हुने परिवारको पेसाको रूपमा रहेको कृषि व्यवसायले अहिले परिचय फेरेको बताए । 

उनले भने,‘शिक्षित युवा वर्ग तथा उच्च आय हुने परिवारले पनि अहिले कृषिलाई मुख्य पेशा बनाई यसैबाट लाखौँ आम्दानी गरिरहेका उदाहरणहरू छन् र कृषिमा नवीनतम प्रविधि भित्रिएको छ । कृषि क्षेत्रमा प्रशस्त सम्भावना देखिएका छन् । अहिले नेपालले कतिपय कृषिजन्य उत्पादनहरू निर्यात गरी आम्दानी गरिरहेको छ भने दुग्ध उत्पादन, माछा मासु र अण्डामा आत्मनिर्भर भएको छ । यसरी कृषिले गति लिनुमा तपाईँहरूजस्तै पौरखी कृषकहरूको मेहनत र लगनको कारण हो ।’ 

उनले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति भएको भन्दै मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउन अति जरुरी रहेको बताए ।

सो अवसरमा राष्ट्रपति पौडेलले कोशी प्रदेशबाट आर्य कृषि फर्मका सुरेश कुमार मेहता, कोशी प्रदेशकै रमेश कृषि फर्मका रमेश साह, मधेश प्रदेशबाट शम्भुनाथ माछा फार्मका भरत कुमार यादव, मधेश प्रदेशबाट निजगढ केरा एग्रिकल्चर फार्मका हिरा बहादुर थापा मगर, बागमतिबाट श्री कालिका पशु विकास केन्द्रका चेत प्रसाद ढकाल, बागमतिबाटै श्री ग्रिनलाइन एग्रो प्रालिका दयाराम मचामसी, गण्डकीबाट श्री ङवाङहिसी कृषि तथा पशुपन्छी अर्गानिक फर्मका छिरिङ गुरुङ, गण्डकीबाटै श्री मित्र बाटिका कृषि फर्मका बाटुली तिवारी, लुम्बीनीबाट श्री जयपाल मौर्य, लुम्बिनीबाट श्री शान्ति उन्नत पशुपालन तथा माछा फर्म प्रालिका सुवास कुर्मी, कर्णालीबाट श्री गोविन्द ओली र भरतनाथ योगी, सुदुरपश्चिमबाट खप्तड पशुपन्छी तथा कृषि फर्मका प्रेम प्रसाद जोशी र कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्रालिका लोकबहादुर थापालाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ४ : ३१ बजे

गण्डकीमा राइड सेयरिङ नरोक्न अन्तरिम आदेश

पोखरा – गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा सञ्चालनमा रोक लगाउने

योजना आयोगका उपाध्यक्ष भन्छन्‌ : बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य जोखिममा पर्‍यो

काठमाडौँ – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले बाह्य

‘इजरायलले सहायता कुरिरहेका २१ जनाको हत्या गर्‍यो’

एजेन्सी – गाजाको नागरिक सुरक्षा एजेन्सीले इजरायली सेनाले मङ्गलबार प्यालेस्टिनी

हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाद्वारा आज आयोजित १७औँ नगरसभामा उपप्रमुख राजेशकुमार

दोलखाका अधिकांश स्थानीय तहहरूको बजेट सार्वजनिक

दोलखा– जिल्लाका ९ स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२-०८३ को