सुर्खेत– कर्णाली प्रदेशको राजधानीको रूपमा रहेको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमहरू ल्याएको छ ।
नगरपालिका कर्णाली प्रदेशको राजधानी भएसँगै यहाँ बसाइँसराइ आउनेको सीप, क्षमता र उनीहरूको विकास र समृद्धिका लागि ‘ज्ञान बैंक स्थापना’ गर्ने भएको हो ।
प्रदेशको राजधानी शहरमा पाइने सुविधाको खोजीमा कर्णालीबाट मात्रै हैन कर्णाली बाहिरका जिल्लाहरूबाट पनि यस नगरपालिकामा भइरहेको उच्च आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्नुपर्ने नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् ।
‘सम्भावनाको खोजी गर्दै बसाइँसराइ भई आएकाहरूलाई स्वागत गर्दै उनीहरूसँग भएको रैथाने सीप र क्षमता नगरको विकास र समृद्धिमा उपयोग गर्न ज्ञान बैंकको स्थापना गरी नगरलाई समृद्ध बनाउँदै लैजाने छ,’ उनले भनिन्,‘थप सृजनात्मक भएर यो नगरपालिका अगाडि बढिरहेको छ ।’
प्राप्त स्रोत र साधनको अधिकतम उपयोग गर्दैं पूर्वाधार तथा सामाजिक र समावेशीकरण विकासको क्षेत्रलाई अगाडि बढाएका र नेपाल सरकारको मापदण्ड अनुसार नगरपालिकालाई स्तरोन्नति गर्न आवश्यक पूर्वाधार, जनसंख्या र राजस्व पुर्याउन सफल नगरपालिका भएको हुँदा यस नगरपालिकालाई उपमहानगरपालिकाको रूपमा विकास गर्न वीरेन्द्रननगर नगरपालिकाको ४९ औँ स्थापना दिवसको अवसर पारी प्रदेश सरकारलाई आवश्यक प्रक्रिया अगाडि बढाई स्तरोन्नतिको प्रक्रियाका थालनी गरेको प्रमुख ढकालले जानकारी दिइन् ।
‘प्रदेश राजधानी भए सँगै यो नगरपालिका प्रचुर सम्भावना बढेर गएका छन्,’ उनले भनिन्,‘दिन प्रतिदिन उच्च जनसंख्या वृद्धिको अवस्था रहेको यस नगरपालिकामा सीमित स्रोत र साधनका कारण समुदायको आकांक्षालाई पूर्ण सम्बोधन गर्न सकिएको छैन । तर पनि नगरपालिकाका सामु उपलब्ध सीमित स्रोत र साधनबाट आशातीत नतिजा हासिल गर्नुपर्ने हुन्छ । ’
प्रतिक्रिया