‘लालसम्राट’ सीले थालेको महत्वकांक्षी परियोजना | Khabarhub Khabarhub

‘लालसम्राट’ सीले थालेको महत्वकांक्षी परियोजना



काठमाडौं- चिनियाँ इतिहासको एउटा घटनाबाट आजको सामग्री शुरु गरौँ ।

प्राचीन चिनियाँ इतिहासमा ‘तीन अधिपति र पाँच सम्राट’ भनिने कालखण्डको एक समय अतिविशाल मुसलधारे वर्षा भयो । चिनियाँ भूमिमा यसअघि कहिल्यै थाहा नभएको बाढी आयो ।

बाढी यति ठूलो थियो कि पानीको सतहले पहाड र हिमालको टुप्पोसम्म भेटेको थियो । चिनियाँहरु त्राहिमाम् थिए । बाढीको रौद्र रुप देखेर सम्राट याओ पनि लाचार भए ।

उनले बाढी नियन्त्रण गर्नसक्ने सक्षम मान्छे खोज्न थाले । याओलाई उनका आसोपासे र अधिकारीहरुले गुन नाम गरेका व्यक्तिसँग कुरा गर्न भने । तर, याओलाई ती गुन भन्ने मान्छे पटक्कै मन पर्दैनथ्यो । भरदार र अधिकारीले कर गरेपछि भने सम्राट याओले उनै गुनलाई बाढी नियन्त्रण गर्ने अख्तियारी दिए ।

नौ वर्ष प्रयास गर्दा पनि गुनले बाढी नियन्त्रण गर्न सकेनन् । त्यसपछि सम्राटले शुन भन्ने अर्का मान्छेलाई बाढी नियन्त्रणको निगरानी गर्ने जिम्मा दिए । बाढी नियन्त्रणमा केही प्रगति गर्न नसकेको थाहा पाएपछि शुनले गुनलाई पहाडीमा रहेको जेलमा पठाए । त्यसपछि शुनले उनै गुनका छोरा यूलाई बाबुको कामलाई अघि बढाउने गर्ने निर्देशन दिए ।

यू कुशलतापूर्वक नदी नियन्त्रण गरेर जनजीवनलाई सामान्य बनाउन सफलता प्राप्त गरे ।

चिनियाँ इतिहासका पिता सिमा चियान यूका बारेमा लेख्छन्–

यू छरिता, जोशिला, परिश्रमी थिए, सदाचारबाट भाग्दैनथे, दयालु र स्नेही थिए, उनको बोलीमा भर पर्न सकिन्थ्यो, उनको आवाज सङ्गीतमय थियो र उनको शरीर तराजुजस्तै उत्तम थियो, थकित नभइ हिंड्दथे र निश्चित नियममा आधारित रहने सत्यनिष्ठ थिए ।

विशाल बाढी नियन्त्रण गर्न सफल भएपछि यू पछि गएर चीनको नयाँ सम्राट बने । उनै यूले चिनियाँ इतिहासको पहिलो राजवंश सिया स्थापना गरेको विश्वास गरिन्छ ।

माथि उल्लेखित सबै विवरण चिनियाँ इतिहासका पिता सिमा चियानको ‘शिजी’ भनिने महान् इतिहासकारको अभिलेख नामक पुस्तकबाट लिइएको हो । आधुनिक इतिहासकारहरु यथार्थमा सिया राजवंशको अस्तित्व नभएको दाबी गर्छन् । उनीहरुको दाबी अनुसार यो राजवंश केबल मिथकमा आधारित छ । हुन त सिमा चियान आफैँ विवादित पात्र हुन् । उनको आफ्नै अस्तित्वबारे बहस हुने गरेको छ ।

तर, यो विवरणबाट चिनियाँ सभ्यतामा नदी नियन्त्रणको महत्व कति रहेछ भन्ने बुझ्न सकिन्छ । चिनियाँ इतिहासमा नदीमा बाढी आएर खेतबाली नष्ट भइ अनिकाल आएको र त्यसबाट व्यापक सामाजिक तथा राजनीतिक अस्थीरता उत्पन्न भएका घटना बारम्बार पढ्न पाइन्छ ।

परम्परागत रुपमा चिनियाँ राजनीतिक दर्शन स्वर्गीयको शासनाधिकार अर्थात् ‘म्यान्डेट अफ हेभन’ मा आधारित छ । सियापछि शाङ राजवंशले चीनमा शासन चलाएको थियो । त्यही शाङपछिको झो राजवंशले यो दर्शन पहिलो पटक प्रचलनमा ल्याएको विश्वास गरिन्छ ।

यस दर्शन अनुसार जबसम्म स्वर्ग वा दैवी शक्तिले आशिर्वाद दिइरहन्छ, तबसम्म चिनियाँ शासकको शासन चलिरहन्छ । समाजमा स्थीरता, समृद्धि, शान्ति भएको खण्डमा शासकले दैवी शक्तिको आर्शिवाद पाएको ठानिन्थ्यो । अशान्ति, अस्थीरता, दुश्मनको आक्रमण, अनिकाल, प्राकृतिक प्रकोप, रोगब्याधी भएका बेला शासकले स्वर्गीय शासनाधिकार गुमाएको ठानिन्थ्यो । स्वर्गको आशिर्वाद गुमाएका शासकविरुद्ध चीनमा बारम्बार विद्रोह भएको इतिहास पाइन्छ ।

चीनको पछिल्लो राजवंश चिङ हो । सन् १९११ मा भएको छिन्हाइ क्रान्तिले चिङ राजवंश हटाएर चीनलाई गणतन्त्रमा परिणत गर्‍यो । त्यसपछि ‘म्यान्डेट अफ हेभन’ को दर्शन पनि हटेर गयो ।

छिन्हाइ क्रान्तिपछिको झण्डै चार दशक चीनले गृहयुद्ध र विदेशी आक्रमण झेल्यो । बल्ल सन् १९४९ मा माओत्सेतुङको नेतृत्वमा चीनमा साम्यवादी जनगणतन्त्र स्थापना भयो ।

धेरैले जनगणतन्त्रलाई पुराना चिनियाँ साम्राज्य वा राजवंशकै सिलसिला र राष्ट्रपतिलाई नयाँ सम्राटको रुपमा हेर्ने गर्छन् । अहिले चीनमा सी जिन्पिङ राष्ट्रपति छन् । लामो समय हङकङ र चीनमा बसेर पत्रकारिता गरेका माइकल सेरेडनले त राष्ट्रपति सीलाई ‘द रेड इम्पेरर’ अर्थात् लालसम्राटको संज्ञा दिएका छन् ।

सेरेडिनको संज्ञा सापटी लिने हो भने लालसम्राट सीले सिया राजवंशका संस्थापक यूले जस्तै अभूतपूर्व स्तरमा नदी नियन्त्रणको प्रयास थालेका छन् । सीले लिएको महत्वकांक्षी नीतिलाई ‘सीडियानडोङसोङ’ अर्थात् ‘पश्चिमी विद्युतलाई पूर्व लैजाने’ नाम दिइएको छ ।

यही नीतिअनुसार चीनले तिब्बतको एउटा महत्वपूर्ण नदीमा अतिविशाल बाँध बानाउन थालेको छ । चिनियाँ प्रधानमन्त्री लि चियाङले जलविद्युत् उत्पादन गर्नका लागि भन्दै तिब्बतको यार्लुङ साङ्पो नदीमा संसारकै सबैभन्दा ठूलो बाँध बनाउन अनुमति दिएका छन् । चीनबाट भारत प्रवेश गरेपछि यो नदी ब्रम्हपुत्र र भारतबाट बंगलादेश प्रवेश गरेपछि जमुना कहलाउँछ ।

‘शताब्दीको परियोजना’ भनिएको यस बाँधमा पाँच वटा जलविद्युत केन्द्र निर्माण गरिने योजना छ । समाचार संस्था रोयटर्सका अनुसार यस परियोजनामार्फत् हरेक वर्ष ३ खर्ब किलोवाट–प्रतिघण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । यो भनेको बेलायतको एक वर्षको कुल विद्युत् खपत हो ।

योजना सफल भएमा यो संसारकै सबैभन्दा ठूलो जलविद्युत् परियोजना हुनेछ । अहिले चीनकै हुबेई प्रान्तमा याङ्जे नदीमा निर्मित थ्री गर्जेज जलविद्युत परियोजनालाई संसारकै ठूलो हो । यसको क्षमता ८ करोड ८२ लाख किलोवाट रहेको छ ।

चीनले सर्वप्रथम सन् १९८६ मा अमेरिकाको अलास्का राज्यको एन्कोरेज शहरमा आयोजित विश्व पूर्वाधार कोषको प्रथम सम्मेलनमा ब्रम्हपुत्र नदीको पानी ‘डाइभर्ट’ गर्ने योजना अघि सारेको थियो । यद्यपि यो परियोजनालाई चीनले सन् २०२० मा आफ्नो १४ औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) मा औपचारिक रुपमा समेटेको थियो ।

चीनले नवीकरणीय ऊर्जालाई प्राथमिकता दिन तथा कार्बन उत्सर्जन घटाउनका लागि यति ठूलो परियोजना निर्माण गर्नुपरेको बताउँदै आएको छ । उसै पनि चीन संसारको सबैभन्दा ठूलो कार्बन उत्सर्जनकर्ता मुलुक हो ।

पछिल्लो तथ्यांकअनुसार सन् २०२२ मा चीनले १२ अर्ब ७१ करोड ६० लाख टन अर्थात् विश्वको २६ प्रतिशत कार्बन उत्सर्जन गरेको थियो । चीनले सन् २०३० को दशकपछि कार्बन उत्सर्जन घटाउँदै लैजाने र सन् २०६० सम्म शून्यमा झारिसक्ने लक्ष्य राखेको छ ।

यार्लुङ साङ्पोमा निर्माण हुने परियोजनाको लागत १२ खर्ब चिनियाँ युआन अर्थात् झण्डै २ नील ३१ खर्ब ३ अर्ब नेपाली रुपैयाँ पर्न आउँछ । यस परियोजना सन् २०३० को दशकमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।

यो परियोजनाबाट उत्पादित विद्युत् मुख्यगरी वाह्य प्रयोगका लागि पठाइनेछ । यद्यपि यसले तिब्बतको विद्युत् मागलाई पनि सम्बोधन गर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

पश्चिमी नेपालको हुम्ला जिल्ला नजिकै कैलाश मानसरोवर छेउ यार्लुङ साङ्पोको उद्गम छ । यस नदीको लम्बाइ २ हजार ९ सय किलोमिटर छ । उद्गमस्थलबाट यो नदी सीधै पूर्व लाग्छ । लामो यात्रापछि पूर्वी तिब्बतमा हिमाल र खोँचलाई चिर्दै यो नदीले भारतको अरुणाचल प्रदेशनजिकै नाम्चा बरुवा क्षेत्रमा उत्तरी मोड लिन्छ । त्यसपछि फेरि अलिकति पूर्व लागेर यो नदी दक्षिण झर्छ र भारत प्रवेश गर्छ ।

जर्मन प्रसारक डोइच वेलका अनुसार यो नदी बग्ने उचाइमा पनि ठूलो विसमता देखिन्छ । यो नदीको प्रारम्भीक वहाव समुद्री सतहबाट ५ हजार मिटरको उचाइमा छ । एक ठाउँमा केबल ५० किलोमिटरको दूरीमा यो नदी २ हजार मिटर तल झर्छ । नदीको यस वहाव परिवर्तनबाट प्रचुर मात्रामा विद्युत उत्पादन गर्न सकिने जानकारहरु बताउँछन् ।

भारतको सीमाछेउ नदीले मोड लिएको ठाउँमै चीनले नयाँ परियोजना निर्माण गर्न लागेको हो । यो परियोजना भारतको अरुणाचल प्रदेश सीमाभन्दा केबल ३० किलोमिटरको दूरीमा रहेको छ ।

यसअघि प्रकाशित रिपोर्टमा नाम्चा बरुवा पहाडमा २० किलोमिटर लामा सुरुङहरु खनेर नदीको पानी ‘डाइभर्ट’ गर्ने योजना रहेको जनाइएको थियो । यद्यपि पछिल्लो समय यस परियोजनाबारे नवीन जानकारी भने सार्वजनिक गरिएको छैन ।

हुन पनि अरुणाचल प्रदेशमा चीनले लामो समयदेखि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । यो परियोजनाले उसै पनि परम्परागत रुपमा तिक्ततापूर्ण सम्बन्ध रहेका चीन र भारतबीचको सम्बन्धलाई अझ बिगार्ने विश्लेषण गरिएको छ ।

भारतले लामो समयदेखि चिनियाँ परियोजनाको विरोध गर्दै आएको छ । गत जनवरी महिनामा भारतीय विदेश मन्त्रालयले यस परियोजनाप्रति चिन्ता व्यक्त गरेको थियो । त्यसबेला मन्त्रालयले घटनाक्रमको निगरानी गरिरहेको र आफ्नो हितको रक्षा गर्न आवश्यक कदम चाल्ने बताएको थियो । मन्त्रालयले चीनलाई ‘माथिल्लो तटीय क्षेत्रमा हुने गतिविधिले तल्लो तटीय राज्यको हितलाई सुनिश्चित गर्न आग्रह गरेको’ जनाएको थियो ।

भारतमा यो परियोजनालाई लिएर अहिले व्यापक आलोचना भइरहेको छ । कतिपय भारतीय सञ्चार माध्यमले यस परियोजनालाई ‘वाटर बम’ अर्थात् जलविष्फोटकको संज्ञा समेत दिएका छन् ।

यसै वर्षको शुरुमा भारतको अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाँडुले यस विशालकाय बाँधले राज्यबाट बग्ने नदीको जलसतह ८० प्रतिशतले घटाउने चेतावनी दिएका थिए ।

हुन पनि भारत र बंगलादेशका दशौँ लाख मानिसहरु कृषि र अन्य कामका लागि ब्रम्हपुत्रको पानीमा निर्भर छन् । चीनले ब्रम्हपुत्रको पानी रोकेर राखेमा अथवा पानीको वहाव नियन्त्रण गरेको खण्डमा त्यसको असर भयावह हुने भारतीय पक्षको चिन्ता छ ।

त्यसबाहेक तिब्बती उच्चसमस्थली पर्यावरणीय र भौगर्भिक रुपमा निकै संवेदनशील मानिन्छ । जैविक विविधताले सम्पन्न तिब्बत दुर्लभ जीवजन्तुको आश्रयस्थल पनि हो । त्यसैगरी, युरेशियाली र भारतीय टेक्टोनिक प्लेटको टक्करका कारण यस क्षेत्रमा बारम्बार भूकम्प पनि गइरहन्छ ।

गत डिसेम्बर महिनामा चिनियाँ विदेश मन्त्रालयले यस परियोजनाको ‘नकारात्मक प्रभाव’ नहुने आश्वासन दिएको थियो । मन्त्रालयले तल्लो क्षेत्रमा रहेका मुलुकहरुसँग सूचना आदान प्रदानलाई पनि कायम राख्ने बताएको थियो ।

शनिबार यस परियोजना निर्माणको शिलान्यास कार्यक्रममा पनि चिनियाँ प्रधानमन्त्री लिले ‘वातावरणलाई बिगार्न नदिनका लागि पर्यावरणीय संरक्षणमा विशेष ध्यान दिइने’ बताएका थिए ।

तीव्र गतिमा आर्थिक विकास गरिरहेको चीनले पछिल्लो समय ठूल्ठूला भौतिक पूर्वाधारको परियोजना निर्माण गरिरहेको छ । चीनले तीव्र गतिको रेल सञ्जालदेखि अग्ला पुल र जलविद्युत परियोजना निर्माण गरिरहेको छ । भौतिक पूर्वाधार निर्माण गर्ने चीनको क्षमतामा कुनै शंका छैन । तर, चीनले यत्रो ठूलो स्तरको पूर्वाधार निर्माण परियोजना गरेर के कस्तो आर्थिक लाभ हासिल गर्छ ? त्यो भने समयले बताउनेछ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ७ : १७ बजे

चितवनमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

चितवन – पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-३ शान्ति चोकमा सागसब्जी

‘सन अफ सरदार २’ मा सञ्जय दत्तको स्थानमा रवि किशन, कारण

काठमाडौं – बलिउड अभिनेता अजय देवगनको मुख्य भूमिका रहेको बहुप्रतीक्षित

मनसुन प्रतिकूल : धान उत्पादन घट्ने चिन्ता

काठमाडौं – नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौं – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे

प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार विभिन्न कार्यक्रमका लागि