सुनसरी – फेसबुक स्टाटस लेखेकै आधारमा सुनसरीको वराहक्षेत्र नगरपालिका-८ स्थित कोशी माविका एक शिक्षकले सरुवाको ‘कारबाही’ भोगेका छन् । शिक्षक सरुवा गर्ने निर्णय भएको सूचना बाहिरिएपछि विद्यार्थी र अभिभावक आन्दोलित भएका छन् ।
आइतबार विद्यार्थीले शिक्षक बालकृष्ण बोहोराको सरुवा गर्न नहुने भन्दै विद्यालय परिसरमा नाराबाजी गरे । यस्तै अभिभावकले समेत शिक्षक बोहोराको काज सरुवा अविलम्ब बदर गरी नियमित कामकाज गर्ने वातावरण तयार गर्न ज्ञापनपत्र बुझाएका छन् ।
शिक्षक बोहोराले ‘फेसबुक स्टाटस’ मा कसैको नाम उल्लेख नगरी ‘२/३ वटी श्रीमती बिहे गरेका मेयर र वडाअध्यक्षहरूले कार्यक्रमपिच्छे पालैपालो श्रीमतीहरूलाई लगेर कार्यक्रममा प्रत्येकलाई प्रथम महिला भन्दै सम्बोधन गरेको सुन्छु। खासमा प्रथम महिला भनेको को हो ?’ भन्दै स्टाटस लेखेका थिए ।

शुक्रबार ‘फेसबुक स्टाटस’ लेखेका शिक्षक बोहोरालाई शनिबार बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले इलाका प्रहरी कार्यालयमा झिकाई ‘झाँको झारेका’ थिए ।
नगर प्रमुख कार्कीले इलाका प्रहरी कार्यालयका प्रमुखकै अगाडि तथानाम भन्दै ‘स्टाटस डिलेट’ गर्न लगाएको शिक्षक बोहोराले बताए ।
‘मेरो स्टाटसले कसैको मानमर्दन भएको वा गालीबेइज्जती ठहरिएको भए ‘साइबर क्राइम’ को मुद्दा लगाउन प्रहरीसामु नै आग्रह गरेको थिएँ । तर मेयरले प्रहरीसामु नै गाली बेइज्जती गर्दै स्टाटससमेत डिलेट गर्न लगाए ।’ शिक्षक बोहोराले भने ।
नगर प्रमुख कार्कीले सूर्यकुण्ड सरुवा गर्ने धम्की दिएको समेत शिक्षक बोहोराले बताए । नगर प्रमुखले धम्की दिएको भोलिपल्टै शिक्षा समितिले शिक्षक बोहोराको नगरको पहाडी क्षेत्रमा पर्ने सूर्यकुण्डमा काज सरुवा गरेको थियो ।

विद्यार्थी आन्दोलित भएपछि विद्यालयका केही शिक्षकले आन्दोलन गर्ने विद्यार्थीलाई ‘रेस्टिकेट’ गर्ने भनेपछि विद्यार्थी थप आक्रोशित बनेका छन् । उनीहरूले प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।
विद्यालयका पूर्व शिक्षक रत्न राउतका अनुसार शिक्षक बोहोरालाई पटक पटक सरुवा गर्न चलखेल भइरहेको छ । उनका अनुसार नगरपालिकाको शिक्षा शाखाले विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको बताउने गरेको छ भने विद्यालय व्यवस्थापन समितिले भने नगर प्रमुखको आदेशमा काज सरुवा गरेको बताएको छ ।

प्रधानाध्यापक बालकृष्ण अधिकारीले शिक्षक बोहोराको सरुवाको सिफारिस गरेको बताइएको छ । उनी आफैँ पनि शिक्षा समितिका सदस्य छन् ।
‘प्रधानाध्यापक आफैँले नगर प्रमुखको आदेशमा काज सरुवाको सिफारिस गरेको र निर्णय गर्ने समितिको सदस्यमा प्रअ अधिकारी आफैँ रहेका छन्,’ एक अभिभावकले भने ।
प्रधानाध्यापकपछि विद्यालयमा दोस्रो बरियतामा रहेका शिक्षक बोहोराले यसअघि सहायक प्रधानाध्यापक पदमा आवेदन दिएका थिए । दरखास्त आह्वान भएपछि निवेदन दिएका उनको निवेदन शिक्षा समितिले दरपीठ गरेको थियो ।
नगर शिक्षा समितिले बोहोरालाई नियुक्त नगरी उनीभन्दा कनिष्ठ शिक्षकलाई सहायक प्रअमा नियुक्त गरेको थियो । शिक्षक बोहोराले आफ्नो आवेदनमाथि सूचना माग गर्दा निवेदन दरपीठ गरिएको जानकारी पाएपछि उनी असन्तुष्ट थिए ।
सोही सन्दर्भमा शिक्षक बोहोराले शिक्षा ऐन २०२८ (संशोधनसहित), शिक्षा नियमावली २०५९ (संशोधनसहित) साथै बराहक्षेत्र नगरपालिकाको शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ अनुसार प्रअ र शिक्षा समितिलाई दरपीठ किन गरिएको भन्दै नियमविपरीत भएको भन्दै असन्तुष्टिसहित पाँच पृष्ठको असन्तुष्टिपत्र बुझाएका थिए । उक्त प्रकरण देखि विद्यालय व्यवस्थापन समिति, शिक्षा समिति र शिक्षक बोहोराबीच सम्बन्ध चिसिएको थियो ।

शिक्षक बोहोराले ‘फेसबुक स्टाटस’ मा स्पष्ट किटान गरेका छैनन् । तर संयोगवश स्टाटसले नगरप्रमुख कार्कीको मानहानी भएको निर्क्यौल निकालेको बताइएको छ । केही दिन अघि बिपी स्मृति दिवसको कार्यक्रममा नगर प्रमुख कार्कीलाई आसन ग्रहण गराइएपछि ‘फर्स्टलेडी’ भन्दै नगर प्रमुखकी श्रीमतीलाई आसनग्रहण गराइएको थियो ।
त्यसपछि मात्रै कोशी प्रदेश सभा सदस्य ममता तामाङलाई आसन ग्रहण गराएपछि सामाजिक सञ्जाजालमा विषय बहसका रुपमा आएको थियो । शिक्षक बोहोराले स्टाटस लेख्दा कारबाही भोग्नुपरेको छ ।
नगर शिक्षा समितिले बुझेन ज्ञापनपत्र
शिक्षक बोहोराको सरुवा बदर गरी काम गर्ने कोशी माविमै शिक्षण गर्ने वातावरण तयार गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन गएका विद्यार्थी र अभिभावकको ज्ञापनपत्र बुझ्न शिक्षा समितिले अस्वीकार गरेको छ ।
शिक्षा समितिले ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि विद्यार्थीले नगरपालिकाको मुख्य गेटमा नाराबाजी गरेका छन् । गेट अगाडि नाराबाजी गरेका विद्यार्थीलाई नगर प्रहरीले पछाडि धकेलेको थियो । सो क्रममा विद्यार्थीले नगर प्रहरी विरुद्धसमेत नाराबाजी गरेका थिए ।
हेर्नुहाेस् भिडियाेमा:
प्रतिक्रिया