टक्सार– भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत सामग्री संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो ।
नवोदय नामक संस्थाले ‘भोजपुर सङ्ग्रहालय’ स्थापना गरी सर्वसाधारणका लागि खुला गरेको हो । परम्परागत सामग्री भावी पुस्ताका लागि संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको संस्थाका अध्यक्ष किशोरकुमार ताम्रकारले बताए ।
उनले भने, ‘टक्सारमा पहिला एक र दुई पैसाका टक पनि काटिने गरिन्थ्यो, त्यो पैसा समेत सङ्ग्रहालयमा देख्न सकिन्छ, यसको व्यवस्थापन र सञ्चालनका लागि आगामी दिनमा दीर्घकालीन योजनाका साथ अघि बढ्नेछौँ ।’
सङ्ग्रहालयमा हलो, काठका विभिन्न सामग्री, लालटिन, माटाका भाँडा, क्यासेट राखिएको छ । संस्थाका सचिव यदु सुवालले स्थानीय स्तरमा प्रयोग भएका पुराना सामग्री सङ्ग्रह गरी सङ्ग्रहालय स्थापना गरिएको बताए ।
कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सिर्जना राईले टक्सार इतिहास ठाउँ भएको उल्लेख गर्दै सङ्ग्रहालयले यहाँको संस्कार र संस्कृति जोगाउन सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरिन् ।
विसं १८७२ मा राजा गीर्वाण युद्ध शाहको पालामा स्थापना भएको ऐतिहासिक टक्सार बजारको संरक्षण गर्न पनि सङ्ग्रहालय स्थापना गरिएको समाजसेवी चन्द्रकुमार उदासले बताए । रासस
प्रतिक्रिया