सुपादेउराली पुग्ने गोरुसिङ्गे-सन्धिखर्क स्तरोन्नतिपछि धार्मिक पर्यटक लाभान्वित | Khabarhub Khabarhub

सुपादेउराली पुग्ने गोरुसिङ्गे-सन्धिखर्क स्तरोन्नतिपछि धार्मिक पर्यटक लाभान्वित


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– पूर्व-पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे-सन्धिखर्क सडक विस्तार तथा स्तरोन्नति गरेपछि सुपादेउराली पुग्ने पर्यटक लाभान्वित भएका छन् ।

साँघुरो खाल्टाखुल्टीसहितको पुरानो र जीर्ण बनेको गोरुसिङ्गे-सन्धिखर्क खण्डलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गर्ने काम गरेपछि आजभोलि यात्रा सहज भएको हो ।

गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म करिब ६८ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । केही ठाउँमा सात मिटर र केही स्थानमा पाँच मिटर चौडाइमा सडक फराकिलो बनाइएको सडक डिभिजन कार्यालय शिवपुरका डिभिजन प्रमुख एवं इञ्जिनीयर सविन कोइरालाले बताए । उनका अनुसार गोरुसिङ्गेबाट सन्धिखर्कसम्म ६७ दशमलव पाँच किमी सडक कालोपत्र गरिएको छ । 

पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्रगतिमा अघि बढेको थियो ।

गत आर्थिक वर्षमा पहिरो रोकथाम तथा स्तरोन्नतिमा एक करोड, मर्मतमा एक करोड ५० लाख, सडक सुरक्षामा ५५ लाख, सडकको अत्यधिक मर्मतमा दुई करोड रुपैयाँ रकम खर्च भएको प्रमुख कोइरालाले जानकारी दिए । 

वर्षामा आउने पहिरोले सडकअवरुद्ध हुने भएकाले नियमित सञ्चालनका लागि दुई वटा पहिरो पन्छ्याउन प्रयोग गरिने उपकरण तयारी अवस्थामा राखिएको छ । ठाँडामा जेसिभी र नरपानीमा लोडर तयारी अवस्थामा राखिएको उनले बताए ।

गोरुसिङ्गे–सन्धिखर्क खण्डअन्तर्गत शितगङ्गा नगरपालिकाको बसेरीको जङ्गल, अमराई, रिब्दी, सितापुर तथा सन्धिखर्क नगरपालिकाको नरपानीबाट फुद्बाङ्गसम्मको सडकमा पहिरोको उच्च जोखिममा रहेका डिभिजन प्रमुख कोइरालाले उल्लेख गरे ।

उनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा सडक मर्मत तथा स्तरोन्नतिका लागि आठ करोड ४० लाख रुपैयाँ बजेट प्राप्त भएको छ । 

यो खण्ड स्तरोन्नति गरिएपछि विशेष गरी शक्तिपीठका रूपमा रहेको सुपादेउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई सहज भएको कोइरालाको भनाइ छ । अवरोधबिना यात्रा गर्न पाएपछि मन्दिर दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक लाभान्वित भएका उनले बताए । 

‘यसअघि सुपादेउराली मन्दिरमा पुगेका जो कोहीले चट्टानी भिरमा रहेको साँघुरो र डरलाग्दो सडक सम्झन्थे । त्यही चट्टानी डरलाग्दो भिरमा रहेको साँघुरो सडक फराकिलो बनेपछि मन्दिर आउने धार्मिक पर्यटकलाई सहजता भएको छ’, उनले भने ।

उक्त खण्डमा कडा चट्टान भएकाले नयाँ प्रविधि ‘रक एञ्चोज’ प्रयोगमार्फत ड्रिल गरेर आरसिसी ढलान गरी सडक विस्तार गरिएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख कोइरालाले जानकारी दिए ।

यसअघि लाहुरेबजारबाट सुपा मन्दिरसम्म सडकको चौडाइ चार दशमलव पाँच मिटर हुँदा यातायात आवागमनमा कठिनाइ हुँदै आएको थियो । सडक डिभिजन शिवपुरले सडक स्तरोन्नति गरी नौ मिटर चौडाइको बनाएको हो ।

जिल्ला सदरमुकाम जोड्ने पुरानो र महत्त्वपूर्ण मार्गका रूपमा रहेको गोरुसिङ्गे–सन्धिखर्क खण्डको लाहुरेबजारबाट सुपा मन्दिरसम्म करिब तीन सय मिटर कडा चट्टान र भिरालोका कारण सात्रा सङ्घर्षपूर्ण बनेको थियो । सडक डिभिजन कार्यालय शिवपुरबाट नयाँ प्रविधिको प्रयोग गरी वाल निर्माण गरिएको प्रमुख कोइरालाले उल्लेख गरे  ।

नेपालको प्रसिद्ध धार्मिकस्थल सुपादेउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्या वृद्धि गर्न तथा सुपादेउराली आसपासका पर्यटकीय गन्तव्य नरपानीको डाँडाको प्रचारप्रसार हुने अपेक्षा लिइएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष हरि खनालले बताए  ।  

‘नरपानीडाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ । यहाँबाट मनमोहक दृश्यहरूसँगै हिमाल देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न पर्यटक आउने गर्छन् । भारतबाट आउने पर्यटकको सङ्ख्या पनि पछिल्लो समय वृद्धि हुँदै गएको छ’, उनले भने । 

मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, रुपन्देहीलगायत जिल्लाबाट पर्यटक आउने जनाउँदै भारतको उत्तर प्रदेश, विहारबाट पनि धार्मिक पर्यटक यहाँ आउने गरेका सन्धिखर्क–७ का वडाध्यक्ष चुराबहादुर केसीले बताए ।

यहाँ आएका धार्मिक पर्यटकलाई खाँचीकोट हुँदै, एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति रहेको अर्घा भगवती मन्दिर र अर्घा दरबार क्षेत्रसम्म पुर्‍याउने योजनासहित गरपालिकाले काम अगाडि बढाएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

सुपादेउरालीमा आएका भक्तजनका लागि लक्षित गरेर भौतिक संरचना निर्माण गर्न थालिएको उनले जानकारी दिए । रासस

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ३ : ४१ बजे

हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

कैलाली – कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका

उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

सुदूरपश्चिम – भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा

राष्ट्रिय वाणिज्य बैंकद्वारा घर तथा सवारी कर्जामा सुविधा घोषणा

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि कर्जामा विशेष सुविधा

नेपाल चेम्बर अफ कमर्सद्वारा उपराष्ट्रपति सुआनसँग छलफल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो