प्रयोगशाला देखेर तर्सिन थाले पूर्वका किसान, जे जाँच्यो – त्यसैमा विषादी ! | Khabarhub Khabarhub

कृषि

प्रयोगशाला देखेर तर्सिन थाले पूर्वका किसान, जे जाँच्यो – त्यसैमा विषादी !

सचेतना किसानलाई आवश्यक, तर मारमा व्यापारी



सुनसरी – विषादीरहित वा तोकिएको मापदण्डभन्दा कम विषादीमात्र प्रयोग भएका हरिया सागसब्जी, फलफूल र तरकारी किनमेल गराउने उद्देश्यले सात महिनाअघि धरानमा ‘केन्द्रीय कृषि प्रयोगशाला विषादी अवषेश द्रूत विश्लेषण प्रयोगशाला इकाइ’ स्थापना भयो ।

तरकारी र फलफूलमा विषादी अवषेश मापन गर्ने यो प्रयोगशाला देख्दा यतिखेर पूर्वी पहाड र तराईका कृषक/व्यवसायी तर्सिन थालेका छन् ।

धरानको कृषिउपज बजार राष्ट्रियस्तरमा आठपटक लगातार उत्कृष्ट घोषित र पुरस्कृत भइसकेको छ । विषादी मापनकै कारण किसान र व्यापारीहरू तर्सिँदै तर्किन थालेपछि अब कृषिबजार सञ्चालन गर्नै समस्या पर्ने देखिएको छ ।

वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढीको कृषिउपज कारोबार हुने गरेको बजारमा विषादी मापन कडाइ गर्न थालेपछि कारोबार २५ प्रतिशतले घटिसकेको छ ।

धरानको कृषिउपज बजारबाट भारत र बङ्गालादेशमा समेत अदुवा, अम्रिसो, तेजपात, मजिटो, रिठ्ठा, बन्दा र अलैँची लगायत कृषिउत्पादन निर्यात हुने गरेको छ । कृषिउपज बजारमा हुने कुल कारोबारमा २० प्रतिशत हिस्सा त निर्यातकै छ ।

विषादी परीक्षणमा कडाइपछि पछिल्लो समयमा किसान र व्यापारीहरू तर्सिनेमात्र होइन, कृषिउपज थोक बजारमा बिक्रीका लागि नल्याएर अन्यत्रै लैजान थालेका छन् ।

कृषिजन्य उत्पादन बढाउने उद्देश्यले जथाभावी विषादी प्रयोग गर्ने किसान र व्यापारी प्रयोगशालामा परीक्षण गर्न तर्सिएर तर्किँदै भागे पनि अन्ततः ती विषादीयुक्त उत्पादन उपभोक्ताको चुलाचौकामा पुगेको छ ।

जब धरानमा विषादी अवशेष मापन गर्ने प्रयोगशाला स्थापना भयो – त्यसयता पूर्वी पहाड र तराईका करिब २५ प्रतिशत किसान र व्यापारीहरूले थोक बजारमा फलफूल तथा तरकारी ल्याउनै छाडेका छन् ।

धरानमा नल्याए कहाँ लगेर बिक्री गरिरहेका छन् त ? यो भने खोजीको विषय भएको छ । धरानको कृषिबजारमा ल्याउँदा विषादी अनिवार्य परीक्षण गर्नुपर्छ । परीक्षणको नतिजा आएपछि मात्र खुद्रा व्यापारीलाई कृषिउपज बिक्री गर्न दिइन्छ ।

तोकिएको मापदण्डभन्दा बढी विषादी प्रयोग भएको पाए तत्काल बरामद र लगत्तै नष्ट गर्ने प्रावधान राखिएपछि किसान र व्यापारीहरू तर्किन थालेको कृषिबजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।

उनले खबरहबलाई भने, ‘धरानको कृषि बजारमा फलफूल तथा तरकारी ल्याउने किसान र व्यापारीको सङ्ख्या विगत केही महिनादेखि घट्दो क्रममा छ । खासगरी विषादी अवशेष मापन प्रयोगशाला स्थापना भएपछि उनीहरूले आफ्नो उत्पादन ल्याउन छाडेका छन् । यहाँ नल्याएपनि अन्यत्र भने पुर्‍याइरहेका छन् ।’

विषादी मापनकै कारण कृषिबजारमा किसान र व्यापारीले आफ्नो उत्पादन नल्याउनु र अन्यत्र नै लैजानु अलिक चिन्ताको विषय बनेको भट्टराईले बताए । उनका अनुसार; गत पुस २६ गते स्थापना भएको प्रयोगशालामा तोकिएकोभन्दा बढी मात्रामा विषादी देखिएका कृषिउपज नष्ट थालिएको थियो ।

उपभोक्ताको चुल्हो हुँदै मानिसको शरीरमा पुग्ने विषादीको मापदण्ड एकीन गर्न ल्याबटेस्ट नगरी फलफूल तरकारी बिक्रीवितरण गर्न पाइँदैन । धरानको प्रयोगशाला इकाईमा हालसम्म दुई हजारभन्दा बढी नमूना परीक्षण गरिसकिएको छ ।

सो क्रममा पूर्वी पहाडी जिल्लाका किसानले उत्पादन गरेका हरिया सागसब्जीमा पनि अखाद्य विषादी मापदण्डभन्दा बढी प्रयोग भएको पाइएको थियो ।

पालुङको काउलीमा विषादी

गत जेठमा मकवानपुरको पालुङबाट धरानको कृषिउपज बजारमा ल्याइएको फूलकोपी (काउली) मा अत्याधिक विषादी पाइएपछि तत्काल बरामद र नष्ट गरिएको थियो ।

पालुङबाट धरानका लागि दुई हजार ४४२ केजी फूलकोपी ल्याइएको थियो । ती सबैमा ९७.४ प्रतिशत विषादी भेटिएपछि नष्ट गरिएको व्यवस्थापक भट्टराईले बताए । यो मात्रा भनेको तोकिएको मापदण्डभन्दा दोब्बरले बढी हो ।

धरानस्थित प्रयोगशाला एकाइका नायब प्राविधिक सहायक रूपेश रिजालका अनुसार तरकारीमा कार्बामेन्ट र अर्गानोफस्फेट समूहका विषादीहरूको परीक्षण गरिन्छ । ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म उक्त विषादी पाइएमा केही दिन क्वारेन्टाइनमा राखेर बजारमा पठाउने गरिन्छ । ४५ प्रतिशतभन्दा बढी विषादी पाइएमा नष्ट गरिन्छ ।

धनकुटाको डाँडाबजारकै रायोसागमा विषादी !

मकवानपुरको पालुङबाट मुलुकभरका शहरी उपभोक्ताकहाँ मौसमी र बेमौसमी फलफूल तरकारी आपूर्ति भएजस्तै धनकुटाको डाँडाबजारमा पनि किसानहरूले धेरै मात्रामा हरिया सागसब्जी र फलफूल उत्पादन गर्दै आएका छन् ।

डाँडाबजारमा उत्पादित हरिया सागसब्जी र फलफूल तरकारी पूर्वका शहरी क्षेत्रका उपभोक्ताको चुल्होसम्म पुग्छ ।

तर, गत साउन २८ गते डाँडाबजारबाट चन्द्र मगरले बिक्रीका लागि धरानको कृषिबजारमा ल्याएका हरियो रायोसाग प्रयोगशालामा परीक्षण गर्दा कार्बामेन्ट ५.५७ प्रतिशत र अर्गानोफेस्फेट ६१.९१ प्रतिशत पाइएपछि उपभोग अयोग्य घाषित गर्दै नष्ट गरिएको थियो ।

बजार व्यवस्थापक भट्टराईका अनुसार; धरानको कृषिउपज बजारमा मौसमी हरिया तरकारी फलफूलहरूमा बन्दा, मुला, काँक्रा, काउली, इस्कुसको मुन्टा, साग, टमाटर, करेला, भेडे खोसानी, नास्पाती, सुन्तला, अकबरे खोर्सानी, सिमी, बोडी, गाजर र चुकुन्दर दैनिक २०० मेट्रिकटन अर्थात थोक मूल्यमा करिब ६० लाख रुपैयाँ बराबरको आउने गरेको छ । ती सबैमा पाँचदेखि १५ प्रतिशतसमम विषादी प्रयोग भएको पाइएको छ ।

‘रुखमै फल्ने नास्पाती र सुन्तलामा समेत विषादी भेटिएको छ । सामान्य उपभोक्ताले नास्पाती, सुन्तला, इस्कुस र इस्कुसको मुन्टामा विषादी लगाउँदैनन् होला भन्ने ठान्छन् । तर प्रयोगशालामा परीक्षण गर्दा विषादी प्रयोग भएको पाइनु चिन्ताको विषय हो’, भट्टराईले भने ।

केही दशक अघिसम्म नास्पातीका उपभोक्ता कमै थिए । तर, पछिल्लो समयमा नास्पातीको महत्व र माग बढेपछि किसानहरूले व्यवसायिक रूपमा बढी उत्पादन र बिक्री गर्ने उद्देश्यले विषादी प्रयोग गर्न थालेका हुन् ।

गत वर्ष धनकुटास्थित पारीपात्ले सुन्तला अनुसन्धान केन्द्रमा परीक्षण गर्दा सुन्तलामा समेत २२ प्रतिशत र नास्पाती र इस्कुसमा १५ प्रतिशतसम्म विषादी पाइएको भट्टराईले बताए ।

सरकारले बजेट वत्तव्यमा उपभोक्ताकोमा पुग्नुभन्दा अगाडि नै जुनसुकै कृषिजन्य उत्पादनको विषादी मापन अनिवार्य गरिने बताए पनि व्यवहारमा भने लागु हुन सकेको छैन ।

काउली र रायोको सागमा अत्यधिक विषादी देखिएपछि कृषिउपज बजारमा ल्याइने तरकारी परीक्षणमा भने थप कडाइ गरियो ।

विषादीयुक्त तरकारी नष्ट गर्न थालेपछि कृषक र व्यापारीले थोक बजार नल्याइ अन्तै लैजाने र ती अन्तैका पनि उपभोक्ता नै भएकाले विषादी प्रयोगमा नियन्त्रण गर्नु चुनौतीयुक्त रहेको भट्टराईको भनाइ छ ।

परीक्षण व्यवस्थित बनाउन छलफल

कृषिउपज बजारभित्र स्थापना गरिएको प्रयोगशालामा विषादी परीक्षणलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय छलफल भएको छ ।

विषादी परीक्षणका लागि बनेको समितिका पदाधिकारी, प्रहरी प्रशासन, धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरू, कृषिबजार व्यवस्थापन समितिका पदाधिकारीहरू, विषादी मापनका विज्ञ कर्मचारीलगायत व्यापारी तथा कृषकहरूको सर्वसपक्षीय छलफलले व्यवस्थित बनाएर लैजाने निर्णय गरेको हो ।

प्रयोगशाला एकाइले धरान–१३ स्थित कृषिबजारमा पहाड तथा तराईबाट आएका कृषिजन्य सामग्रीमा विषादी मापन गरेपनि कृषिबजार बाहेक धरान–२ मा रहेको सब्जीमण्डी, धरान–३ मा रहेको पालिका तरकारी बजार लगायतका अन्य कृषि सामग्री वितरण केन्द्रमा मापन नगरेको भन्दै मापन गुणस्तरीय र प्रभावकारी नभएको छलफलमा कुरा उठेको थियो ।

छलफलमा कृषकका तर्फबाट समितिमा रहेका मचिन्द्र राईले धरान–१३ को कृषिउपज बजारमा मात्र विषादीमापन केन्द्रित गर्दा कृषकहरूले उत्पादन गरेको सामग्री कृषिबजार ल्याउनै छाडेको बताए ।

उनले अहिले जति पनि मापन भएका कृषि सामग्री व्यापारीले कृषकबाट बिक्री गर्न ल्याएको बताउँदै मापनबाट व्यापारीहरू सबैभन्दा बढी मारमा परेको बताए । उनले कृषकसम्मै पुगेर सचेतना कार्यक्रम नगरेसम्म उपभोक्ताले अर्गानिक तरकारी उपभोग गर्न सम्भव नहुने बताएका थिए ।

कृषिबजार व्यवस्थापन समितिका अध्यक्ष काजी गिरीले प्रदेश स्तरीय विषादी मापन केन्द्रको रूपमा कृषिबजारमा स्थापना भए पनि यसले कृषिबजार बाहेक अन्य कुनै ठाउँमा समेट्न नसकेको बताए ।

इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मीप्रसाद गौतमले मापन गरिएका र बढी विषादी भेटिएका कृषि सामग्री नष्ट गर्दा नकारात्मक सन्देश प्रवाह भएको भन्दै अनिवार्य मापन गर्ने प्रावधानमा जोड दिए । उनले विषादी मापन गरिएको अर्गानिक सागसब्जी कृषि बजारमा रहेको सकारात्मक प्रचार र ब्राण्डिङ गर्नुपर्ने बताए ।

छलफलमा धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले प्रयोगशाला एकाइको क्षेत्राधिकार कोशी प्रदेशभर भए पनि धरानलाई समेत समेट्न नसकेकाले बृहत योजना बनाएर अघि बढ्नुपर्ने सुझाए ।

धरानका उपप्रमुख आइन्द्रविक्रम बेघाले विषादी मापन व्यवस्थित बनाउन अन्य पालिकासँग समेत समन्वय गरी अगाडि बढ्नुपर्ने बताए । यस विषयमा अन्य पालिकाका उपप्रमुखसँग छलफल चलाइने उनले बताए ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ५ : २१ बजे

हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

कैलाली – कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका

उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

सुदूरपश्चिम – भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा

राष्ट्रिय वाणिज्य बैंकद्वारा घर तथा सवारी कर्जामा सुविधा घोषणा

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि कर्जामा विशेष सुविधा

नेपाल चेम्बर अफ कमर्सद्वारा उपराष्ट्रपति सुआनसँग छलफल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो