चार फिल्म प्रदर्शन नभएपछि लक्ष्मीको आत्मसमीक्षा : शीर्ष नायिकाको यात्रा धर्मराउँदा ‘अभिमन्यु’मा सशक्त बनेँ | Khabarhub Khabarhub

चार फिल्म प्रदर्शन नभएपछि लक्ष्मीको आत्मसमीक्षा : शीर्ष नायिकाको यात्रा धर्मराउँदा ‘अभिमन्यु’मा सशक्त बनेँ


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘स्वर सम्राट’ नारायण गोपालको स्वर रहेको एक कालजयी गीतमा लाइन छ, ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा !’

यो गीतमा ‘एक विशेष व्यक्तिको प्रेमले जीवन परिवर्तनमा ठूलो अर्थ राख्छ’ भन्ने स्थापित गर्ने खोजिएको छ ।

गीतमा एक प्रेमीको उपस्थितिले अर्को व्यक्तिको जीवनमा ठूलो अर्थ राख्छ भनेर दाबी गरिएजस्तै एक कविको जीवनमा सयौं सिर्जनामध्ये एक कविताले ठूलो फरक पार्न सक्छ ।

वैज्ञानिकको जीवनलाई एक आविष्कारले ठूलो फरक पार्न सक्छ । खेलाडीलाई सयौंमध्ये एक जीतले ठूलो फरक पार्न सक्छ ।

नायक–नायिकाको करिअरलाई एक फिल्मले ठूलो फरक नपार्ने कुरै भएन ! नायिका लक्ष्मी बर्देवाकै उदाहरण लिउँ ।

०७५ सालमा लक्ष्मी सहायक भूमिकामा रहेको फिल्म ‘बुलबुल’ प्रदर्शनमा आयो । जसमा उनको भूमिका १० सिनभन्दा पनि कम छ ।

त्यसअघि उनले त्योभन्दा बढी स्क्रिन टाइम पाएको फिल्ममा अभिनय नगरेकी पनि होइनन् ।

तर, ’बुलबुल‘ ले नै उनलाई मेकरहरुको नजरमा पार्‍यो । यही फिल्मपछि चार फिल्म साइन गरिन्, त्यो पनि शीर्ष नायिकाको भूमिकामा ।

‘मलाई बलबुलले नोटिस गराएकै कारणले नै मेकरहरुले फिल्ममा प्रस्ताव गर्नुभयो । मसँग अर्को मजबुत पक्ष पनि थियो– मेरा केही म्युजिक भिडियो धेरै दर्शकले हेर्नुभएको थियो । तर, मलाई फिल्मको प्रस्ताव आउनुको जस बलुबुललाई दिइनँ भने अन्याय हुन्छ,’ लक्ष्मी भन्छिन् ।

अर्थात्, लक्ष्मी बुझाइमा करिअरको टर्निङ प्वाइन्ट ‘बुलबुल’ हो । उनको करिअरलाई नजिकबाट नियाल्ने हो भने पनि उनको बुझाइ सत्य ठहरिने धेरै कारण छन् ।

‘बुलबुल’मा लक्ष्मी र नायिका स्वस्तिमा खड्काको दृश्य

‘टर्निङ प्वाइन्ट मानेको बलबुलले कलाकारितको यात्रामा के ज्ञान दियो त ?’ भन्ने प्रश्नमा लक्ष्मी भन्छिन्, ‘ज्ञान भन्दा पनि स्थापित हुन प्रभावकारी भूमिका भए हुने रहेछ, ठूलो रोल चाहिँदैन भन्ने कन्फिडेन्ट विकास भयो ।’

‘बुलबुल’पछि कता हराइन् ?

‘बुलबुल’पछि लक्ष्मीलाई धेरैले सोध्ने प्रश्न हो, ‘अब अर्को फिल्म कहिले ?’

तथापि लक्ष्मीको अभिनय/नृत्य रहेको म्युजिक भिडियो सार्वजनिक भइरहेका छन् ।

अर्थात्, लक्ष्मीलाई ठूलो पर्दामा खोजी गर्ने नभएका होइनन् ।

तर, चार फिल्ममा शीर्ष भूमिकामा निर्वाह गरेकी उनी कता हराइन् त ?

लक्ष्मी अनुबन्ध मात्रै भएकी होइनन् ती फिल्मको छायाङ्कन र पोस्ट प्रोडक्सन पनि भ्याइसकेकी छन् । ती फिल्म हुन्– ‘अनन्त’, ‘बिच्छेद’, ‘शक्ति’ र ‘हामी तीन भाइ’ ।

फिल्म प्रदर्शन ल्याउने कुरा कलाकारको क्षेत्र अधिकारभित्र नरहेकाले उनी यसबारे आफैँ अन्योलमा छिन् ।

उनी भन्छिन्, ‘निर्माता–निर्देशकहरुको आफ्नै बाध्यता होला । मलाई त तीमध्ये केही फिल्म प्रदर्शनमा आउँछन् भन्ने आश नै मरिसक्यो ।’

उनले प्रदर्शनमा आउन आश मारेको दुई फिल्महरु ‘अनन्त’ र ‘बिच्छेद’ हुन् ।

यसबारे उनी थप्छिन्– तीन वर्षसम्म चाहिँ फिल्म प्रदर्शनमा आउँछ कि भन्ने आश हुँदो रहेछ । त्यसपछि आश मर्दै जाने रहेछ । ‘अनन्त’ त प्रदर्शनमा आउँछ जस्तो लाग्दैन । ‘बिच्छेद’को निर्देशक विदेशमा गएकाले यो फिल्म पनि तत्कालै प्रदर्शनमा आउँछ भनेर मैले आश मारिसकेँ ।’

‘शक्ति’ र ‘हामी तीन भाइ’ चाहिँ प्रदर्शनमा आउनेमा उनी अझैँ आशावादी छन् ।

नहुनु पनि किन ? त्यसमाथि शीर्ष नायिका आफू भएको फिल्म !

एक नायिकाको चार फिल्म प्रदर्शनमा नआउनु भनेको सामान्य कुरा होइन । यसले करिअरमा ठूलो फरक पार्छ ।

फिल्ममा अभिनय गर्नुको मुख्य उद्देश्य दर्शकलाई देखाउनका लागि हो । दर्शकको प्रतिक्रियाले बल्ल उसका आगामी प्रोजेक्ट निर्धारण हुन्छ ।

यसबारे लक्ष्मी भन्छिन्, ‘फिल्म प्रदर्शनमा नआउँदा हरेक प्रोजेक्टमा दर्शकको नजरमा शून्य छु है भन्ने मानसिकताले काम गर्नुपर्ने रहेछ । चार फिल्म गर्दा पनि दर्शकको नजरमा म नयाँ कलाकार नै हुँ ।’

यी फिल्म प्रदर्शनमा नआउँदा उनको प्रमुख गुनासो ‘दर्शकलाई अभिनय देखाउन नपाउनु’ नै हो ।

यसमा व्यवसायिक पाटो नजोडिने कुरै भएन । उनी थप्छिन्, ‘सबै फिल्ममा पात्र निर्माणमा मिहिनेत गरिएको हुन्छ । यो फिल्मको यो पात्रबाट नोटिस हुन्छु कि भन्ने आश हुन्छ । तर, फिल्म नै प्रदर्शनमा आउँदैन । फेरि अर्को फिल्म शून्यबाट सुरु गर्नुपर्ने हुन्छ ।’

‘अभिमन्यु’मा आइपुग्दा

‘अभिमन्यु’मा लक्ष्मीले निर्वाह गरेको पात्र

लक्ष्मी शीर्षमध्येको एक भूमिकामा रहेको फिल्म ‘अभिमन्यु’ भदौ २७ बाट प्रदर्शनमा आउँदैछ ।

व्यापारिक रुपमा सर्वाधिक सफल ‘पूर्णबहादुरको सारङ्गी’ का निर्मातामध्ये एक विनोद पौडेलले यो फिल्म निर्माण गरेका हुन् ।

खबरहबसँगको कुराकानीमा उनी चार फिल्म प्रदर्शनमा नआएकाले ठूलो पर्दामार्फत् दर्शकसँग भेट्न उनी निकै आतुर देखिएको पाइयो ।

ती चार फिल्मको अनुभवले गर्दा ‘अभिमन्यु’ हलमा लाग्ने शतप्रतिशत पक्का भएकै कारण उनी उत्साहित छिन् ।

भन्छिन्, ‘छायाङ्कनमा जानुअघि प्रदर्शन मिति तय भएको यो नै पहिलो फिल्म हो । निर्धारित मितिमा फिल्म प्रदर्शनमा आउँछ भन्नेमा म खुसी छु ।’

अर्थात्, ‘अभिमन्यु’बाट लक्ष्मी शीर्ष नायिकाको रुपमा पहिलो पटक दर्शकसमक्ष प्रस्तुत हुँदैछिन् । यो उनको लागि परीक्षा पनि हो ।

यसमा उनी थप्छिन्, ‘म यस्तो अवस्थामा छु कि– फिल्म प्रदर्शनमा आउनु नै मेरो लागि ठूलो कुरा भएको छ । दर्शकले मेरो अभिनयलाई कसरी ग्रहण गर्नुहुन्छ, त्यो प्रदर्शनमा आएपछि थाहा हुन्छ । तर, म ठूलो पर्दामार्फत् शीर्ष नायिकाका रुपमा पहिलो परीक्षा दिन पाउँदैछु, त्यो नै ठूलो कुरा हो ।’

अभिमन्यूबाट आशावादी

आफू शीर्ष भूमिकामा रहेको पहिलो फिल्म ‘अभिमन्यु’ प्रदर्शनमा आउँदैछ भन्नेबाहेक लक्ष्मी तीन कारणले आशावादी छिन् ।

पहिलो : सशक्त भूमिका

लक्ष्मी पहाडी समुदायमा जन्मे हुर्केकी हुन् । तर, उनले फिल्ममा ‘मधेशी समुदायको केटी’को भूमिका निर्वाह गरेकी छन् ।
यो भूमिकालाई उनी आफ्नो रङ्गमञ्चसँग अनुभवसँग जोड्छिन् ।

भन्छिन्, ‘म रङ्गमञ्च सर्कलमा नोटिस भएको मधेसी सुमदायको केटीको भूमिका निर्वाह गरेर हो । यो अनुभव मैले फिल्ममा प्रयोग गर्न पाएकी छु । यसले पनि फिल्ममा राम्रै गर्न सकेँ कि भन्ने आत्मविश्वास छ ।’

दोस्रो : परिणाममुखी मेकर

‘अभिमन्यु’को मेकरको पछिल्लो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हो । उनीहरुले चाहेको अवस्थामा स्टार नायिकालाई पनि फिल्ममा प्रस्ताव गर्ने सक्थे ।

फिल्ममा सरिता गिरी र कामेश्वर जस्ता अभिनयमा पोख्त कलाकार छन् । यसलाई उनी मेकरहरुले ‘अभिनय गर्ने सक्ने कलाकार चयन’ गरेका रुपमा अर्थाउँछिन् ।

भन्छिन्, ‘कलाकारको लाइनअप हेर्दा अभिनयमा पोक्त कलाकार हुनुहुन्छ । यो टिममा अभिनय गर्न सक्छ भनेर मलाई विश्वास गर्नु नै उपलब्धि हो । अभिनय गर्न सक्ने कलाकार रोज्नुको कारण राम्रो कन्टेन्ट देखाउन खोज्नु हो भन्ने मेरो तर्क हो । यसले पनि म फिल्मप्रति आशावादी छु ।’

तेस्रो : तुस पोख्ने मौका

लक्ष्मीको मान्याता छ‍, ‘कलाकारिताको निराशपन पर्दामा पोख्न सकियो भने त्यसले सकारात्मक नतिजा दिन्छ ।’

पछिल्ला फिल्म प्रदर्शनमा नआउँदाको अवस्थामा उनले दर्शकसमक्ष पुग्न पक्का भएको ‘अभिमन्यु’ पाइन् ।

उनका लागि शीर्ष नायिका भएर ठूलो पर्दामा देखिन नपाएको तुस पोख्ने स्थान पनि ‘अभिमन्यु’ हो ।

उनी आफैँ पनि भन्छिन्, ‘मैले पछिल्ला फिल्म प्रदर्शनमा नआउँदा दर्शकसँग बनेको दूरी पुर्नेगरी काम गर्नुपर्छ भनेर यसमा मिहिनेत गरेको छु । आशा छ त्यो मिहिनेत पर्दामा देखिने छ ।’

अहिले लक्ष्मी फिल्म ‘परिवार’को छायाङ्कनमा छिन् । यो फिल्मका निर्देशक मदन थापा ‘अभिमन्यु’का क्रिएटिभ निर्देशक हुन् ।
‘अभिमन्यु’को छायाङ्कनका क्रममा देखेको अभिनयका कारण मदनले लक्ष्मीलाई ‘परिवार’मा लिएका हुन् ।

यो पनि लक्ष्मी ‘अभिमन्यु’प्रति आशावादी रहनुको अर्को कारण हो । उनी भन्छिन्, ‘मैले त्यहाँ राम्रै गरेका हुनाले त उहाँले फिल्ममा लिनुभयो होला । यसले पनि फिल्ममा मैले राम्रै गरेको छु कि भन्ने महसुस गराएको छ ।’

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ९ : ५९ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न