पैतलामुनि बस भन्‍नेसँग एकता हुँदैन, माओवादीसँग मिल्दा हाम्रो सम्मान हुन्छ : माधव नेपाल (अन्तर्वार्ता) | Khabarhub Khabarhub

पैतलामुनि बस भन्‍नेसँग एकता हुँदैन, माओवादीसँग मिल्दा हाम्रो सम्मान हुन्छ : माधव नेपाल (अन्तर्वार्ता)



नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सन्दर्भमा कुरा अगाडि बढिरहेका छन् । तर सबै कुरा अन्तिम चरणमा पुगेर पार्टी एकता नै गर्ने अवस्था भइसकेको छैन । विचार मिल्ने सबै शक्तिसँग पार्टी एकताका लागि कुरा भइरहेको तर अन्तिम चरणको छलफल हुन बाँकी रहेको समाजवादी अध्यक्ष माधव नेपाल बताउँछन् ।

अध्यक्ष नेपाल नेकपा माओवादी केन्द्रको महाधिवेशन अगाडि नै पार्टी एकता हुने आश गर्न तर भर नपर्न आग्रह गरेका छन् । पार्टीमा आफूलाई राजीनामा मागिएको सन्दर्भमा भने ठट्यौली शैलीमा नेपाल भन्छन्, ‘कसले राजीनामा मागेछ मिडियामा बोल्ने नेताहरूलाई सही कुरा मात्र बोल्नु भनेको छु। नेपाल ६० वर्ष कटेका नेताहरूले पार्टीबाट अवकाश लिनुपर्ने कुरामा कसैले निर्णय गरे आफूले फूलको माला लगाइदिने संज्ञा दिन्छन् । अरूले निर्णय गरे आफू पनि त्यसमा सहमति जनाउने उनको तर्क छ। तपाईंबाटै सुरू गरे भइहाल्यो नि भन्ने प्रश्नमा नेपालले भने, ‘होइन जसले कुराको सुरुवात गरेको छ त्यसले यो काम गरोस्।’ नेपाल समाजवादीका सम्मानित नेता झलनाथ खनालप्रति सङ्केत गर्दै भन्छन्, ‘पार्टीले जे निर्णय गर्छ, त्यो सबैले मान्ने कुरा हो। हाम्रो सम्मानित नेताले पनि पार्टीको निर्णय मान्नुहोला भन्ने मलाई लागेको छ।’ अहिले उठिरहेको प्रश्न र नेकपा एकीकृत समाजवादीको पछिल्लो राजनीतिक अवस्थाका विषयमा नेपालसँग गरिएको कुराकानीको सम्पादित अंश :

यहाँको पार्टी नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता हुन लाग्या रहेछ नि ?

हामीले विभिन्न कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने भन्ने निर्णय पहिलेबाटै गर्दै आएका थियौँ । पार्टी निर्माण गर्दा बनाएको घोषणापत्रमा पनि यो कुरा उल्लेख गरेका छौँ । मोर्चा र सहकार्यको कुरा उठाएका छौँ । हामीले गणतन्त्र र संविधानका पक्षधर र समाजवादी शक्तिसँग मोर्चा गर्ने कुरा पनि अगाडि सारेका छौँ । विचार, सिद्धान्त, कार्यक्रम र मन मिल्छ भने उनीहरूसँग एकताको कुरा राखेका छौँ । जोसँग कुरा मिल्छ, ऊसँग हामी पार्टी एकता गर्छाैं । यो कुरा प्रत्येक बैठकमा गरिएको छ । राष्ट्रिय परिषद्को बैठकमा, महाधिवेशनमा हामीले निर्णय गर्दै आएका छौँ । माओवादीसँगको एकताका लागि माओवादलाई सिद्धान्तको रूपमा छाड्नुपर्छ । माओवादी पार्टीको नाम परिवर्तन गर्नुपर्छ । चुनाव चिह्न परिवर्तन गर्नुपर्छ, समाजवादी क्रान्तिको कार्यक्रम अङ्गीकार गर्नुपर्छ । विचार मिल्ने शक्तिहरूसँग एकता गर्न हामी अहिले पनि तयार छौँ । तर त्यो एकता सम्मानजनक हुनुपर्छ ।

कस्तो सम्मानजनक भन्नुभएको, माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड र समाजवादीबाट तपाईं दुवै अध्यक्ष वा संयोजकमा रहने कुरा गर्नुभएको हो ?

हामीले जो–जोसँग एकता गर्नुपर्ने हो, सबैको ढोका खुल्ला गरेको हो । हामीलाई जसले अपमान गर्छ, सम्मान गर्दैन, उसकहाँ झोलीतुम्बा भिरेर जाँदैनौँ । उनीहरू बाटामा कहाँ भड्किरहेका छन्, आएर हाम्रा पैतालामुनि बस भन्नेहरूसँग एकता गर्दैनौँ । मानसम्मान इज्जत, प्रतिस्ष्ठाभन्दा ठूलो केही हुँदैन । एउटा घरमा बसेर झगडा गर्नुभन्दा अलग–अलग भएको राम्रो ।

जोसँग सिद्धान्त विचार र भावना मिल्छ, एकता हुन्छ । एकतापछि कसलाई के पद दिने भन्ने विषयमा छलफल हुँदै जाला । प्रचण्डर, विप्लवजी र म नै पदको हानथाप गर्ने छैनौँ । यो हाम्रो कुरा भयो । हामी आन्दोलनका निम्ति समर्पित हुने हो । देशभक्तलाई गोलबद्ध गर्नुपर्छ । कम्युनिस्टभित्र पनि आन्दोलन सिध्याउन सक्ने तत्व हुन सक्छन् भन्ने हेक्का राख्नुपर्छ । विसङ्गति बोकेकाको पनि ख्याल गर्नुपर्छ, विसङ्गति हटाउने आँट गर्नुपर्छ । कम्युनिस्ट पार्टीले विकृति–विसङ्गतिलाई हटाउन सहयोग गर्नुपर्छ ।

उसो भए माओवादी, एकीकृत समाजवादी र नेकपाबीच एकताको सबै तयारी भइसकेको हो ?

छलफल चलिरहेको छ । हामीले पनि पार्टी सचिवालय र स्थायी कमिटी बैठकमा एकता प्रकृया अगाडि बढाउने निर्णय गरेका छौँ । अब बस्ने केन्द्रीय कमिटी बैठकले के निर्णय गर्छ, हेर्न बाँकी छ । यी सबै पार्टीका केही नेताहरूले सतर्क हुनुपथ्र्यो भनिरहनुभएको छ । कोहीले एकता गर्नु हुँदैन पनि भनिरहनुभएको छ । सामूहिक निर्णयमा चल्ने पार्टी भएकाले बहुमतको कदर हुन्छ ।

पार्टीमा अनुशासनको पालना गर्ने, निर्णयको सम्मान गर्ने र पार्टीको भावना अनुसार चल्नेहरू सबै साथमा आउँछन् । पार्टीले जे निर्णय गर्छ, त्यो नै सबैलाई मान्य हुन्छ । एकताको कुरा विप्लवजीसँग भएको छ । उपेन्द्र यादवसँग पनि भएको छ । मोहन वैद्यसँग पनि भएको छ । नेपाल समाजवादीसँग पनि भएको छ । अन्य थुप्रै शक्तिसँग कुरा भएको छ । तर अहिले नेसपा, विप्लव, हामी र माओवादी केन्द्रबीच बढी कुराकानी भएको छ ।

माओवादीसँग एकता हुँदा चाहिँ मान पाउनुहुन्छ यहाँले ?

उहाँहरू पनि कम्युनिस्ट आन्दोलन बचाउने पक्षमा हुनुहुन्छ । एकलकाटे हुनुहुन्न । हामी सबैको विचार मिल्छ । कसैले कसैलाई होच्याउने प्रवृत्ति छैन ।

ठ्याकै भन्दा यहाँ र माओवादी संयोजक प्रचण्डको कुरा कहिले भएको थियो पार्टी एकताबारे ?

बैठक र भेटघाट औपचारिक अनौपचारिक भइरहेको छ । फोनमा पनि कुरा हुन्छ । कुन ठूलो कुरा भयो र ? तिहार अगाडि कुरा भएको थियो । त्यसपछि भएको छैन । तर फोनमा कुरा भइरहेको छ ।

यहाँकै महासचिव घनश्याम भुसाल, केही उपाध्यक्ष र सम्मानित नेता माओवादीसँग एकता गर्न तयार हुनुहुन्न । यहाँले उहाँहरूको भावनाविपरीत काम गर्दै हुनुहुन्छ भन्ने कुरा आयो नि ?

बाहिर हल्ला त माधव नेपाल भारतीय दूतावासमा गयो भन्ने पनि छ । हल्ला त जे पनि आउन सक्छ । तर त्यस्तो भएको छैन । हल्लामा रमाउने व्यक्तिहरू रमाउँछन् । हामी कम्युनिस्ट पार्टी र देशभक्त शक्तिलाई गोलबद्ध बनाएर परिवर्तनका हिमायतीहरू भ्रष्टाचार र दुराचारलाई अत्य गर्न चाहाने र सामाजिक, आर्थिक, संस्कृति रूपान्तरणका पक्षधर सबैलाई हामी समेटेर जान चाहान्छौं । सबैको भावना समेटेर जानुपर्छ ।

यहाँ र महासचिव घनश्याम भुसालबीच एकताबारे विवाद भएको हो ?

होइन, विवाद छैन । पार्टीमा छलफल हुन्छ । छलफलका आधारमा कमिटीको जे निर्णय हुन्छ, सबैलाई मान्य हुन्छ । छलफल र विचार विमर्शलाई नै विवाद भन्नु यहाँहरूको कमजोरी हो ।

तर पार्टी एकताका कारण माओवादी र समाजवादीका नेता नै विद्रोह गर्दै हुनुहुन्छ भन्ने कुरा आएको छ नि ?

यी सबै भ्रम हुन् । हामीले दस्तावेजमै विचार मिल्ने शक्तिसँग एकता गर्ने भनेका छौँ । माओवादीले पनि भनेको छ । एक दुईजना यता उता होलान्, त्यसको कुनै तुक छैन । पार्टीमा गलत नियतका मान्छे पनि हुन्छन् ।

अर्को कुरा महासचिव भुसाल, केही उपाअध्यक्ष र रामकुमारी झाँक्रीले त यहाँको राजीनामा नै माग्नुभएछ, भ्रष्टाचार मुद्दामा प्रश्न उठेपछि ।

सबैका फाइल खोलौँ, कसले कति कति घूस लियो पत्ता लगाऊँ, घुसमा बिक्ने मान्छे को–को सबैलाई बयान गर्न लगाऊँ । थाहा भइहाल्छ नि घुसखोर को–को हो ? पदको दुरुपयोग गर्ने को–को हुन ? सबै छानबिन गर्दा भयो नि ।

यहाँको राजीनामा मागिएको छ रे यसै सन्दर्भलाई लिएर ?

होइन । हा… हा… हा…कहाँ हल्लाको पछाडि लागेर हुन्छ । कसले मागेछ राजीनामा ? बरु मैले नै मनपरी बाहिर बोल्ने नेताहरूलाई सही कुरा मात्रै बोल्नु भनेको छु ।

अब त पुराना नेतालाई अभिभावक बनाएर पार्टी तेस्रो, चौथो पुस्तालाई हस्तान्तरण गरौँ भन्ने आवाज बलियो भएको छ नि ?

यो त छ । ६० नाघेका सबै रिटायर भइदिउन् भन्ने छ । जसले यसबारे पहिलो निर्णय गर्छ, उसलाई माला लगाइदिन म पनि तयार छु । ६० नाघेकाहरूले छाडुन् । म पनि छोड्न तयार छु । जसले कुरा उठाएको छ, उसले गरे भइहाल्यो नि । एउटा पार्टी सदस्य बन्न नसक्ने, एक ठाउँमा चुनाव नजित्नेले यस्तो कुरा गरेर कुनै अर्थ छैन । यस्तै परे गेरु वस्त्र लगाएर संन्यास लिँदा हुन्छ । जसका बीचमा एकजना मान्छे छैन, त्यस्ताले फुर्ती नलगाए हुन्छ ।

परिआए यहाँ पनि नयाँ पुस्तालाई नेतृत्वमा अगाडि सार्न तयार हो ?

तयार छु । तर नयाँ पुस्ताको परिभाषा हुनुपर्छ । को नयाँ विचारको, नयाँ हो कि अनुहारको, नयाँ यसको छानबिन हुनुपर्छ । पार्टीलाई जिताउन सक्नुपर्छ । त्यो काममा कसले भूमिका खेल्न सक्छ, तिनै व्यक्तिले बलियो बनाउन सक्छन् भन्ने कुरालाई आत्मासात गर्नुपर्छ ।

उसोभए माओवादीसँग यहाँहरूले एकता गर्दा एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि हुन्छ ?

औचित्य त पूरा भइसक्यो नि । किनकि प्रतिनिधिसभा पुनःस्थापना भयो । हाम्रा सङ्गठन देशभर छन् । हाम्रा पक्षका मान्छे पनि छन् । एकता गरेर बृहत् पार्टी बनाउन खोजेको हो । कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउन खोजेको हो । हामीले औचित्य पुष्टि गरेर देश बनाएका छौँ ।

यसो गर्नुभन्दा पार्टीमा नयाँ पुस्ताको मागअनुसार उनीहरूलाई पार्टी सुम्पिए हुँदैन ?

हामीले त धेरै युवालाई अगाडि सारेका छौँ । तर राष्ट्रियता र देशको सम्मान हुनछ कि हुँदैन हेर्न बाँकी छ । संविधानको रक्षा हुन्छ कि हुँदैन ? संघीयताको रक्षा गर्न अगाडि बढ्नुपर्छ । मैले कसैको विरोध गरेको होइन । जनताको चिन्ता छ । नयाँ भनिएका साथीहरूले पनि यसबारे सोच्नु जरुरी छ । आवेश कम गरेर काम गर्नुपर्छ ।

अन्तिममा माओवादीको महाधिवेशन अगाडि नै पार्टी एकता हुन्छ ?

आश छ । पूरै भर परेको छैन । सबै पार्टीमा बहुमत नेताहरूले निर्णय गर्ने कुरा हो । हामीले एकतापछि पार्टीको नाम, झन्डा, चुनाव चिह्न लगायत फेर्नुपर्छ भनेका छौँ । यसबारे छलफल हुन्छ । अर्को कुरा के हो भने कुनै पनि नेता पक्ष र विपक्षमा छैनन् । हाम्रो पार्टीमा जे हुन्छ, एकताबद्ध भएर हुन्छ । ढिलो चाँडो एकता हुन्छ । पहल भइरहेको छ ।

उसोभए मंसिर अगाडि नै एकता गर्ने तयारी हो ?

के हुन्छ । एकताबद्ध भएर निर्णय हुन्छ । केन्द्रीय कमिटी बैठकपछि केही निर्णय आउला ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ८ : ३४ बजे

संविधानको रक्षा र सुशासनका लागि क्षेत्राधिकारभित्र रहेर काम गर्ने प्रदेश प्रमुख कर्णको प्रतिबद्धता

जनकपुर– मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले

नालीमा डुबेर १३ महिने बालकको मृत्यु

कपिलवस्तु– कपिलवस्तु नगरपालिका-६ सेमरी बस्ने मनोहर हुसेनको छोरा १३ महिनाको आकिब मुसलमानको

‘परान’को व्यापार साढे ७ करोड पुगेको निर्देशकको दाबी

काठमाडौं – नीर शाह शीर्ष भूमिकामा रहेको फिल्म ‘परान’ले सुरुवाती

विवाद नमिलेपछि केन्द्रीय समिति रोकेर कांग्रेसमा डाकियो कार्यसम्पादन समिति बैठक

काठमाडौं- नेपाली कांग्रेसले जारी केन्द्रीय कार्यसमिति बैठक रोकेर कार्यसम्पादन समिति

‘पाँडे’को फिल्म प्रचार गर्न मेयर बालेन्द्रको युट्युब च्यानलको प्रयोग गरिने

काठमाडौं – टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किागोनि’बाट चर्चा कमाएका अर्जुन घिमिरे