नेपाली फिल्मको तीतो यथार्थ : ९० प्रतिशतको लगानी डुब्यो, दर्शक तान्न आफैं लगाउँछन् ‘हिट’को ट्याग | Khabarhub Khabarhub

नेपाली फिल्मको तीतो यथार्थ : ९० प्रतिशतको लगानी डुब्यो, दर्शक तान्न आफैं लगाउँछन् ‘हिट’को ट्याग


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समग्रमा अहिले एउटा नेपाली फिल्म हलसम्म पुग्दा ३ करोड रुपैयाँ बराबर लगानी हुन्छ । बहुसंख्यक निर्माता आफ्नो फिल्मको बजेट उक्त रकम बराबर दाबी गर्छन् ।

३ करोडको फिल्म लगानी उठ्न करिब ९ करोड ग्रस कलेक्सन हुनुपर्छ । कर, हल र वितरकको हिस्सा काट्दा निर्माताको हातमा मुस्किलले ग्रस कलेक्सनको ४० प्रतिशत पुग्छ ।

अर्थात्, एउटा फिल्मको लगानी ३ करोड राख्दा निर्माता सुरक्षित हुन ९ करोड हाराहारी व्यापार गर्नुपर्छ ।

तर, सामाजिक सञ्जाल हेर्दा लाग्छ– अधिकांश फिल्मले लगानी उठाएका छन् । निर्माता–निर्देशकले फिल्म प्रदर्शनको दोस्रो दिनदेखि ‘यति करोड ग्रस कलेक्सन’ भनेर सामाजिक सञ्जालमा प्रचार गर्छन् ।

यसरी दाबी गरिएका ‘ग्रस कलेक्सन’ र चलचित्र विकास बोर्डको ‘बक्स अफिस कलेक्सन’मा आकाश–पतालको फरक पाइन्छ ।

धेरै ग्रस कलेक्सन देखाउँदा फिल्म हिट भएको सन्देश जान्छ । हिट फिल्म हेर्न दर्शकहरू हलमा आउँछन् भन्ने मानसिकताले ‘ग्रस कलेक्सन’ बढाएर झुक्याउने प्रवृत्ति नेपाली चलचित्र क्षेत्रमा मौलाएको छ ।

चलचित्र विकास बोर्डका अनुसार गत वैशाखदेखि माघ १९ गतेसम्म ४१ वटा फिल्म प्रदर्शनमा आएका छन् । जसमध्ये ‘बुलाकी’ पुन: प्रदर्शनमा आएको हो ।

एउटा फिल्मको लगानी औसतमा ३ करोड राख्दा यो १० महिनामा प्रदर्शनमा आएका ४ फिल्मले मात्रै घरेलु बजारबाट लगानी उठाएका पाइन्छ । अर्थात्, ९० प्रतिशत फिल्मको लगानी सुरक्षित भएको पाइँदैन ।

यी फिल्मको ‘कलेक्सन’ हजार मात्रै

वैशाखदेखि माघसम्म प्रदर्शनमा आएका चारवटा फिल्म बक्स अफिसमा सुपर फ्लप बनेका छन् । ती चार फिल्मको ग्रस कलेक्सनले लाखको आँकडा पनि पार गर्न सकेन ।

यो अवधिमा सबैभन्दा कम व्यापार गर्ने अर्थात् लगानी चुर्लुम्म डुबाउने फिल्म हो ‘शीरफूल’ । चलचित्र विकास बोर्डका अनुसार यस फिल्मले जम्मा २० हजार ५०० रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

यो फिल्मका निर्देशक कलम एक्चै मगर हुन् । यस फिल्ममा चल्तीका कलाकारलाई देख्न पाइँदैन ।

विवादले चर्चा बटुलेर पनि व्यापारमा कमजोर फिल्म हो– एक्टर । फिल्म ‘एक्टर : टेक वान’सँगको विवादले यो फिल्मले हलबाट उत्रिएपछि चर्चा कमाएको थियो ।

‘एक्टर’ यस अवधिमा सबैभन्दा कम व्यापार गर्ने दोस्रो फिल्म हो । यसको ग्रस कलेक्सन २९ हजार ५८५ रुपैयाँ छ ।

फिल्म ‘ब्ल्याक छायाँ’ मात्रै ६९ हजार १९५ रुपैयाँ ग्रस कलेक्सन गर्दै सबैभन्दा कम व्यापार गर्ने सूचीको तेस्रो भएको छ ।

आरएल लामा मोक्तानको लेखन र निर्देशन रहेको यो फिल्ममा नीर शाह, सुनील थापा, सलोन बस्नेत, जान्भी बस्नेत, बुद्धि तामाङ र रवीन्द्र झालगायत चर्चित कलाकारको अभिनय छ ।

एक लाख ग्रस कलेक्सन पुर्‍याउन नसक्ने अर्को फिल्म हो– आँखा । यसले ९५ हजार ७७५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

फिल्ममा स्मिता लामिछाने र आरके मेहेता प्रमुख भूमिकामा छन् । सहायक भूमिकामा निशा अधिकारी, विजय बराल, सरोज खनाल, पशुपति राई, राजन खतिवडा, प्रवीण खतिवडा र लुनिभा तुलाधारलगायत छन् ।

१० करोडमाथि कमाउनेमा छैनन् स्टार

चलचित्र विकास बोर्डले खबरहबलाई उपलब्ध गराएको आँकडाअनुसार यो अवधिमा १० करोडमाथि व्यापार गर्ने फिल्म चारवटा छन् ।

फिल्महरू ‘बोक्सीको घर’, ‘छक्का पञ्जा ५’ ‘१२ गाउँ’ र ‘पूर्णबहादुरको सारङ्गी’ सबैभन्दा बढी व्यापार गर्ने चार फिल्म हुन् ।

नेपाली फिल्म इतिहासकै कीर्तिमानी व्यापार गर्ने ‘पूर्णबहादुरको सारङ्गी’ हो । यसले माघ २५ गतेसम्म ४६ करोड ८२ लाखभन्दा बढी ग्रस कलेक्सन गरेको छ ।

यसअघि सहायक पात्रमा चिनिएका विजय बराल यही फिल्मबाट नायक बनेका छन् । यो फिल्लमा विजयसहित नायक मुकुन भुसाल, गायक प्रकाश सपूत र नायिका अञ्जना बराइली मुख्य भूमिकामा छन् ।

यस वर्ष १०० दिन मनाउने यो एक्लो फिल्म हो । अर्कातिर दोस्रो बढी व्यापार गर्ने फिल्म विराज भट्टको ‘१२ गाउँ’ बनेको छ । यसले २० करोडभन्दा बढी व्यापार गरेको छ । यही फिल्मबाट ठूलो पर्दामा डेब्यू गरेका विराजका छोरा समीर स्थापित नायकजतिकै चर्चा बटुल्न सफल भए ।

छक्का पञ्जाको पाँचौ श्रृखंला ‘छक्का पञ्जा ५’ले १५ करोड र नायिका केकी अधिकारी प्रस्तुतकर्ता रहेको फिल्म ‘बोक्सीको घरले’ १० करोडभन्दा बढी व्यापार गरे ।

यी चारै फिल्ममा अहिलेका चल्तीका र बढी पारिश्रमिक लिने स्टार नायक–नायिका छैनन् ।

प्रदीप र अनमोलको भिड्दा दुवैलाई घाटा

गत जेठमा १० गते चल्तीका दुई स्टार नायक प्रदीप खड्का र अनमोल केसीका फिल्मले हलमा प्रतिस्पर्धा गरेका थिए ।

प्रदीपको फिल्म ‘पुजार सार्की’ र अनमोलको ‘फर्की फर्की’ एकसाथ प्रदर्शनलाई फिल्मीवृतमा दुईको भिडन्तका रुपमा लिइएको थियो ।

अर्कातर्फ ‘पुजार सार्की’का निर्देशक दिनेश राउत र ‘फर्की फर्की’का निर्माता रोहित अधिकारीको मनमुटावले पनि यी दुई फिल्म एकसाथ प्रदर्शनमा आएको चर्चा थियो ।

यी दुई फिल्म एकसाथ प्रदर्शनमा आए । दुवै फिल्मका निर्माण पक्षले उच्च अनुपेन्सीका साथ चलेको दाबी गरेका थिए । तर। बक्स अफिस कलेक्सनबारे दुवै टिमले केही बोलेनन् ।

अझै पनि यी दुई फिल्मको बक्स अफिस कलेक्सन सोधीखोजीको विषय बनेको छ ।

चलचित्र विकास बोर्डका अनुसार ‘पुजार सार्की’ले ७ करोड ३९ लाखभन्दा बढी व्यापार गरेको छ भने ‘फर्की फर्की’ले ४ करोड ८६ लाखभन्दा बढी व्यापार गरेको छ ।

प्रचारका क्रममा ‘पुजार सार्की’को बजेट ३ करोड र ‘फर्की फर्की’को बजेट ४ करोडभन्दा बढी भनिएको थियो ।

यसअर्थमा ‘फर्की फर्की’ले लगानीको आधा रकम पनि जोगाउन सकेन । यस फिल्मबाट अनमोलले ५० लाख पारिश्रमिक बुझेका थिए । जुन रकमको कर तिरेको पर्चा ‘फर्की फर्की’ टिमले सार्वजनिक गरेको थियो ।

यिनले मनाए ५१ दिन

यस अवधिमा ५१ दिनको सफलता पाउने फिल्म हुन्– ‘बोक्सीको घर’, ‘१२ गाउँ’, ‘घर ज्वाइँ’ र ‘तेल भिसा’ ।

५१ दिन मनाएर पनि न्यून ग्रस कलेक्सन गर्ने फिल्म ‘तेल भिसा’ हो । यो फिल्मले २ करोड ४६ लाख ग्रस कलेक्सन गरेको छ ।

शंकर घिमिरेको लेखन र निर्देशन रहेको फिल्ममा विपिन कार्की, वर्षा राउत र ऋचा घिमिरे केन्द्रीय भूमिकामा देखिए ।

अभिनेता दयाहाङ राई र नायिका मिरुना मगर अभिनित फिल्म ‘घर ज्वाइँ’ पनि ५१ दिन मनाउन सफल फिल्म हो । यसले ५ करोड ११ लाखभन्दा बढीको ग्रस कलेक्सन गरेको पाइएको छ ।

जुन फिल्म चर्चामा थिए

कार्साङ : अभिनेता दयाहाङ राई, कलाकार जितु नेपाल, नायिका दिया मास्के र डेब्यू नायिका सिर्जना निङ्लेखु प्रमुख भूमिकामा रहेको फिल्म ‘कार्साङ’को ट्रेलरले राम्रो हाइप बनाएको थियो ।

पुस २६ बाट यो फिल्म प्रदर्शनमा आएको थियो । ट्रेलर सार्वजनिकपछि यस फिल्मलाई जाडो लागेसँगै सुस्ताएको फिल्मी बजार तताउने फिल्मका रुपमा लिइएको थियो ।

यो फिल्मले पनि अपेक्षित रुपमा दर्शक तान्न सकेन । यसको ग्रस कलेक्सन १ करोड ४५ लाखमै सीमित बन्यो ।

ज्वाइँ साब : दशैँमा अर्थात् असोज २४ गते तीन फिल्म एक साथ प्रदर्शनमा आए । ‘छक्का पञ्जा ५’ ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’। हलमा तीन फिल्मको प्रतिस्पर्धाले प्रचारमा सबै फिल्मलाई सहयोग पुगेको थियो ।

अझ, छक्का पञ्जा समूहबाट निकालिएका जितुले आफ्नो अभिनय रहेको फिल्म ‘ज्वाइँ साब’ सोही समूहको फिल्म ‘छक्का पञ्जा ५’सँग जुधाएको चर्चाले पनि स्थान पाएको थियो ।

तथापि, चलचित्र विकास बोर्डका अनुसार उक्त मितिमा प्रदर्शनमा आएर बक्स अफिसमा कमजोर ‘ज्वाइँ साब’ देखिन्छ । जसमा जितु नेपाल र नीति शाह प्रमुख भूमिकामा छन् ।

यस फिल्मका निर्देशक वसन्त निरौलाले सुरुवाती दुई सातामा ३ करोड २५ लाख व्यापार भएको दाबी गरेका थिए ।

तर, बोर्डको आँकडाअनुसार यस फिल्मले १ करोड ३१ मात्रै ग्रस कलेक्सन गरेको छ ।

बेहुली फ्रम मेघौली : प्रचारका कारण चर्चामा रहेको अर्को फिल्म ‘बेहुली फ्रम मेघौली’ । ‘लुट’ फिल्म निर्देशक निश्चल बस्नेतले ‘राम्रै फिल्म बनाउँछन्’ भन्ने दर्शकमा विश्वास छ ।

‘बेहुली फ्रम मेघौली’ निश्चल कलाकार र निर्माताको जिम्मेवारीमा थिए । फिल्ममा उनी र नायिका स्वास्तिमा खड्का केन्द्रीय भूमिकामा देखिए ।

यो फिल्म घटस्थापना अर्थात् असोज १७ बाट प्रदर्शनमा आएको थियो । असोज २४ बाट तीन फिल्म हलमा थपिए ।

आफ्नो फिल्मले कम शो पाएको भन्दै असोज ३० गते निश्चलले फिल्म हलबाट उतारे ।

सुरुवाती दुई सातामा यो फिल्मले ३ करोड ५६ लाखभन्दा केही बढी व्यापार गरेको पाइन्छ ।

ह्रस्व दीर्घ : कात्तिक ३० गते नायिका निता ढुंगाना र उनका श्रीमान् हरिहर अधिकारी केन्द्रीय भूमिकामा रहेको फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आयो । यस फिल्ममा भारतीय कलाकारहरू सुनील बर्मा, ब्रह्मानन्दम, प्रदीप रावत, मुहम्मद अली र कबिर दुहानको अभिनय छ ।

यस फिल्मको लगानी नै ५ करोडभन्दा बढी रहेको निर्मातासमेत रहेकी नायिका नीताको दाबी थियो ।

नीताले सामाजिक सञ्जाल फेसबुकमार्फत् सुरुवाती १९ दिनको बक्स अफिस कनेक्सन १० करोडमाथि भएको दाबी गरेकी थिइन् ।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार भने यो फिल्मले ४ करोड ३५ लाख ग्रस कलेक्सन गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १२ : ४२ बजे

प्रदेशभर अनुगमनमा दौडिँदै मधेशका मुख्यमन्त्री- बन्द भए अवैध रुपमा सञ्चालित २१ अस्पताल

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंह पछिल्ला समय प्रदेशभरकै अस्पताल

वैदेशिक रोजगारीमा एक करोड ४४ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाले रुद्ध

 काठमाडौं– जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण

काठमाडौँमा ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले डिजिटल अपराध नियन्त्रण, अनुसन्धान, अभियोजन तथा न्यायिक

पुल भत्किँदा दुई चिनियाँसहित चार जनाको मृत्यु, छ घाइते

एजेन्सी– दक्षिण कोरियाको एक द्रुतमार्ग निर्माण स्थलमा मंगलबार पुल भत्किँदा