काठमाडौं – गत असार २९ गते नेकपा (एमाले)ले माओवादी केन्द्रसँगको सत्ता गठबन्धन तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारी गर्यो ।
देशका दुई ठूला पार्टी मिलेर सरकार बनाएसँगै उपप्रधान तथा अर्थमन्त्रीको रूपमा एमालेकै उपाध्यक्ष विष्णुप्रसाद पौडेल आए ।
सत्ता गठबन्धन परिवर्तनको चर्चासँगै बढ्न थालेको शेयर बजार अर्थमा पौडेलको आगमनसँगै रकेट गतिमा उडेर शिखरमा पुग्यो ।
माओवादीसँग एमालेले सत्ता सहकार्य गर्दा अर्थ मन्त्राएको बागडोर वर्षमान पुनले सम्हाल्दा दुई हजार १७ बिन्दुमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचक पौडेलको आगमनले मात्र पनि बजारले तीन हजार बिन्दु पार गर्यो ।

नेप्सेले गत साउन ३१ गते तीन हजारको बिन्दु पार गरेको थियो । परिसूचक मात्र होइन, नेप्सेले कारोबारमा पनि नयाँ रेकर्ड नै बनायो ।
लगातार बजार रकेटको गतिमा बढिरहँदा दैनिक रूपमा कारोबारले नयाँ नयाँ रेकर्ड बनाएर उच्चतम ३० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भयो ।
सरकार परिवर्तन हुँदा शेयर बजारमा परिवर्तन भएको यो पहिलो घटना भने होइन । त्यसअघि अर्थात् २०८० फागुन २३ गतेका दिन माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँगको सत्ता गठबन्धन गर्दा पनि बजारमा उच्च अङ्कले बढेको छ ।
माओवादी–एमालेको सरकार बन्दा माओवादी उपमहासचिव वर्षमान पुन ‘अनन्त’ अर्थमन्त्री थिए । पुन अर्थमा फागुन २३ गते आउँदा बजार १७ अङ्कले बढेको थियो ।
उनी मन्त्री भएको दोस्रो दिनदेखि भने बजार निरन्तर बढेर २१ सय बिन्दु पार गर्यो । तर, बजार स्थिर हुन भने सकेन । बजारको चार्म विस्तारै घट्न थाल्यो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गालीको वर्षा गर्ने गरेका शेयर बजारका लगानीकर्ता पछिल्लो समय उनको ‘बहिर्गमन’ सुन्नासाथ खुसी भए ।
यो पनि –
घर जान लागेका गभर्नरलाई गालीको वर्षा !
माघको अन्तिम साताबाट अधिकारीको बहिर्गमन चर्चा सुरु भएदेखि नै शेयर बजारमा उछाल देखिन थाल्यो । माघ २८ गते २६७७ बिन्दुमा रहेको नेप्से परिसूचक निरन्तर जस्तो बढेर फागुन १८ मा २८९० बिन्दुमा आइपुग्यो ।

त्यसपछि राजनीतिक वृत्त ‘राजा फर्कने’ नयाँ हल्लाले तरङ्गित भयो । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा स्वागतका लागि भन्दै राप्रपादेखि राजाका समर्थनहरूले फागुन २५ गते आइतबार विमानस्थल पुग्न आह्वान गर्ने थाले ।
राजाको स्वागतका लागि भनिएको चर्चा यतिसम्म चुलिएको थियो कि ‘अब गणतन्त्र ढलेर राजतन्त्र फर्किने, फागुन २५ गते नै पूर्वराजा नारायणहिटी पस्ने’ सम्मका हल्ला चल्यो । पूर्वराजाको स्वागतमा अपेक्षा गरिएको भन्दा बढी सहभागी भएको भन्दै राजावादीहरू हौसिए ।
त्यससँगै राजनीतिक रूपमा गणतन्त्रवादी दलहरूले समेत आवश्यक भन्दा बढी प्रतिक्रिया दिएका थिए । माओवादीले त तराई-मधेस जागरण अभियान नै छाडेर आएको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी समेतले पूर्वराजाको स्वागतको चर्चा गरेका थिए ।
सरकारको नेतृत्व गरेको एमालेले चैत १५ गतेका दिन राजाको विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेको छ । त्यही दिन राजावादीले समेत प्रदर्शन घोषणा गरेका छन् । यता, जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि विभिन्न ठाउँमा पाँचजना भन्दा बढी भेला नहुन भन्दै निषेधाज्ञा जारी गरेको छ ।
यी परिघटनाले गर्दा अहिले राजनीतिक माहोल तातेको अवस्था छ । शेयर बजार पनि प्रभावित भएको छ । राजाको स्वागतको चर्चादेखि नै अर्थात् फागुन १९ गतेदेखि घट्न थालेको शेयर बजार यो समाचार तयार पार्दासम्म पनि फागुन २८ गतेलाई छाडेर बजार निरन्तर घटिरहेको छ ।

‘नेपालको शेयर बजार अपरिपक्वताको सूचक‘
संस्थागत नभएका कारण नेपालको शेयर बजारलाई साना राजनीतिक हल्लाले पनि असर गर्ने गरेको अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउँछन् ।
‘जब संस्थागत, विकसित र विश्लेषण गर्ने सक्ने लगानीकर्ता हुँदै जान्छन् – त्यतिबेला राजनीतिक परिवर्तनले त्यति ठूलो असर गर्दैन’, अधिकारी भन्छन्, ‘नेपालका दलहरूको दर्शन फरक छ, सरकार परिवर्तन हुँदा फरक दर्शन बोकेको दलका नेताहरू नेतृत्व तहमा हुन्छन्, त्यसकारण शेयर बजार पनि प्रभावित हुन्छ ।

विश्वका विकसित राष्ट्रमा संस्थागत र विश्लेषण गर्ने सक्ने लगानीकर्ता हुने भएकाले गर्दा दलकै परिवर्तन हुँदा शेयर बजारमा फरक नपर्ने अधिकारी उल्लेख गर्छन् ।
‘एउटै दल सरकारमा छ, तर त्यसको अर्थमन्त्री परिवर्तन हुँदा बजार उतारचढाव हुन्छ भने त्यो अपरिपक्व बजारको सूचक हो’, अधिकारीले भने, ‘विश्लेषण गर्ने व्यक्तिले यो अर्थमन्त्री आउँदा लगानीसम्बन्धी नीतिमा परिवर्तन हुन्छ कि हुँदैन भनेर विश्लेषण गर्छ ।’
एउटै पार्टीको व्यक्ति हुँदा कार्यशैलीमा केही फरक परे पनि मौद्रिकर वित्त नीतिमा परिवर्तन नआउने भएकाले बजारमा पनि त्यति धेरै फरक पर्नु राम्रो नभएको अधिकारीको बुझाइ छ ।
‘ठूला कम्पनीको प्रोफाइल अध्ययन गरेर, विश्लेषण गरेर, त्यसका वित्तीय कुराहरू हेरेर लगानी गर्ने प्रवृत्ति भयो भने व्यक्ति परिवर्तन हुँदैमा तुरुन्त बजारमा परिवर्तन हुँदैन’, अधिकारीले भने, ‘उसले लिने नीतिले विस्तारै नकारात्मक असर गर्ने थाल्यो भने मात्र परिवर्तन हुँदै जान्छ ।’
नेपालमा कम्पनीको वित्तीय अवस्थाको अध्ययन गर्न नजानेर, बानी नभएर र चलन पनि नहुँदा मान्छे हल्लाको भरमा हिँड्ने, फेसबुकमा लेखेका कुरा सुनेर, सामाजिक सञ्जालमा आएका कुरालाई घाना बनाएर लगानी गर्ने गरेकाले गर्दा सरकार परिवर्तन हुँदा शेयर बजारमा उथलपुथल देखिने गरेको अधिकारी बताउँछन् ।
‘हाम्रो बजार अपरिपक्व भएकाले अर्थमन्त्रीको परिवर्तनले, उसले बोलेका सामान्य कुराका आधारमा, उसले गरेका मीठा वा तीता भाषणका आधारमा मान्छेले धारणा बनाउने प्रवृत्ति व्याप्त छ’, अधिकारीले थपे, ‘नेतृत्व परिवर्तन भयो भन्ने निहुँ देखाएर भित्र आन्तरिक परिवर्तन गर्ने र त्यो सूचनाको गलत प्रचार गर्ने प्रवृत्ति पनि छ ।’
गभर्नरको परिवर्तनमा सामान्य उतारचढाव हुन सामान्य हुने अधिकारी बताउँछन् । ‘मौद्रिक नीति कस्तो बनाउने भन्ने कुरा गभर्नरको हातमा हुने भएकाले सामान्य दबाब पर्नु स्वाभाविक हो’, उनले थपे, ‘तर, तत्कालै व्यापक प्रभाव देखिनु चाहिँ उचित होइन ।’
‘हामीमा अपरिवक्वता छ’
नेपालका शेयर लगानीकर्ता अलिकति परिपक्व नभएका कारण राजनीतिक परिवर्तन हुँदा शेयर बजारमा पनि उतारचढाव हुने इन्भेष्टमेन्ट फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन् । अर्थमन्त्री वा सरकारले बनाउने नीतिमा धेरै फरक पर्ने भएकाले गर्दा पनि बजारमा उतारचढाव आउने उनको भनाइ छ ।
‘शेयर बजारलाई नेतृत्वको नीति र सोचले अवश्य प्रभावित पार्छ’, ढकालले भने, ‘राम्रो सोचको व्यक्ति आइदियो भने बजार जहिले पनि सकारात्मक बन्छ ।’
कस्तो सोच भएको प्रधानमन्त्री, कस्तो सोच भएको अर्थमन्त्री र कस्तो सोच भएको गभर्नर आउँछन्, त्यसले शेयर बजारलाई असर गर्ने ढकाल दाबी गर्छन् । बिना कामको हल्लाले पनि बजारलाई असर गरिरहेको हुने, तर त्यसमा चलखेल भएको ढकालको बुझाइ छ ।
‘राजावादीको हल्लाले पनि बजार घटिरहेको छ, त्यस्तो हल्लामै शेयर बेचेर हिँड्छौँ भने त्यो त हामी लगानीकर्ताकै अपरिपक्वता हो’, ढकालले भने ।
राजनीति र शेयर बजार अन्तरसम्बन्धित भएकाले सरकार ढल्ने र बन्ने तथा गभर्नर फेरिने कुराहरूले पनि शेयर बजारमा असर गर्ने गरेको शेयर विश्लेषक छोटेलाल रौनियार बताउँछन् ।
‘मौद्रिक नीति कति महत्त्वपूर्ण छ भन्ने कुरा त हामी सबैलाई थाहै छ’, रौनियारले भने, ‘शेयर बजार कुनै न कुनै रूपमा राजनीतिसँग गाँसिएको हुन्छ ।’
नियामक निकायमा दलीय भागबन्डा हुने भएकाले गर्दा पनि बजारमा असर गर्ने गरेको रौनियारको बुझाइ छ । ‘बजारसँग सम्बन्धित निकायमा दलीय भागबन्डाका आधारमा नियुक्ति हुने गर्छ । त्यसले गर्दा पनि त्यहाँ राम्रो व्यक्ति नपर्न सक्छ । सरकार फेरबदल हुँदा त बजारमा उतारचढाव देखिनु स्वाभाविक नै भयो’, रौनियारले भने, ‘हामीकहाँ सक्षम व्यक्तिले नियुक्ति पाउँदैन, त्यसले बजारलाई पनि असर गर्छ ।’
नीति सरकारले बनाउने भएकाले सत्ता परिवर्तन हुँदा बजारमा असर देखिएको रौनियारको अनुभव छ । ‘सेबोन, नेप्से र राष्ट्र बैंकले नीति बनाउँदा सीधै असर पर्ने र सरकार अनुकूलका नीतिहरू बन्ने भएकाले गर्दा पनि बढी असर देखिएको छ’, रौनियारले भने, ‘नीति राम्रो हुँदा बजार बढ्छ, नीति नराम्रो भए बजार घट्छ ।’
शेयर बजारसँगको जोडिएको नीति सरकारले वा त्यसका निकायले बनाउने भएकाले राजनीतिक परिवर्तन हुँदा बजारमा उतारचढाव आउने रौनियार बताउँछन् ।
बजारमा राजनीतिक परिवर्तनलाई देखाएर चल्ने हल्लाले पनि बजारलाई प्रभाव पार्ने गरेको रौनियार बताउँछन् । ‘बजार माग र आपूर्तिका कारणले चलोस् भन्ने हो । तर, त्यस्तो नभएर बजार हल्लाको भरमा पनि चल्ने गरेको हुन्छ’, रौनियार भन्छन्, ‘अहिले जति पनि हल्लाहरू भइरहेका छन्, त्यो सबै हल्लै हल्ला मात्र भएको छ, कुनै पनि कुरा भएको छैन ।’
प्रतिक्रिया