काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै सरकारको आलोचना भएको छ ।
नेपालमा लोडसेडिङको अन्त्य गरेर लोकप्रियता कमाएका घिसिङलाई अपमानजनकरुपले सरकारले हटाएको आरोप लागेको छ ।
विभिन्न क्षेत्रका व्यक्तिहरुले सार्वजनिक रुपमा नै कुलमानलाई हटाउने सरकारको निर्णयको विरोध गरेका छन् ।
बाक्लो संख्यामा फिल्म क्षेत्रका व्यक्तिहरु पनि कुलमानलाई हटाउनले निर्णयको विरोधमा देखिएका छन् ।
हाँस्य कलाकार मनोज गजुरेल भने कुलमानलाई हटाउनेलाई व्याङ्गात्मकरुपमा गधाको संज्ञा दिएका छन् । प्राधिकरणबाट कुलमानको बहिर्गमनले फेरि लोडसेडिङ हुनसक्ने उनको आशंका छ ।
गजुरेलले लेखेका छन् :
भीर खोज्ने गोरुलाई
राम राम भन्न सकिन्छ
काँध हाल्न सकिन्न,
अँध्यारो खोज्ने गधालाई
नजा भन्न सकिन्छ,
बिजुली बाल्न सकिन्न !
कुलमानलाई प्राधिकरणबाट हटाएर ओली सरकारले हितेन्द्रदेव शाक्यलाई भित्र्याउनु कार्यमा नातावाद हाबी भएको कलाकार केदार घिमिरे बुझाइ छ ।
ओलीकी पत्नी शाक्य थरकी हुन् । शाक्य थरकै व्यक्ति प्राधिकारणको नयाँ कार्यकारी निर्देशक बनेका छन् । केदारले ओली र शाक्यबीच सम्बन्धलाई सालो–भिनाजुको साइनो रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुलमानलाई भुलमान । सालोलाई पालो ।’
निर्देशक निश्चल बस्नेत पनि कुलमानलाई हटाउने सरकारको निर्णयमा सन्तुष्ट देखिएका छैनन् । ओली सरकारलाई भ्रष्टको आरोप लगाउँदै उनले अब यो निर्णयले पतनतर्फ अग्रसर भएको लेखेका छन् ।
निश्चलले लेखेका छन्, ‘अनेक गरेर कुलमानलाई हटाएछन । सायद भ्रष्टहरुको पतन अब कसैले रोक्न सक्दैन ।’
उनले ‘इनअफ इज इनअफ’ नारा पनि लेखेका छन् । यो गत प्रतिनिधिसभाको चुनावमा पूराना नेतालाई चुनावमा विश्राम दिन प्रयोग गरिएको नारा हो ।
नायिका प्रियंका कार्कीले कुलमानलाई सरकारको निर्णयविरुद्ध अदालतमा जान सुझाव दिएकी छन् ।
कुलमानले सरकारको निर्णयविरुद्ध अदालत जाने भन्दै मिडियालाई दिएको प्रतिक्रिया इन्स्टाग्रामको स्टोरीमा राख्दै प्रियंकाले लेखेकी छन्, ‘हामी सबै तपाईंको साथमा छौँ ।’
प्राय: राजनीतिक विषयमा आफ्नो टिप्पणी राखिराख्ने कलाकार दीपकराज गिरीले यस विषयमा धारणा राखेका छैनन् । उनले कुलमानको फोटो राखेर ‘मौनता’ मात्रै लेखेका छन् ।
वरिष्ठ कलाकार हरिवंश आचार्य पनि सरकारको निर्णयमा भद्र असहमति जनाएका छन् । उनले लेखेका छन्, ‘कुलमान नेपाली कुलकै उज्यालो हुन् ।अन्धकार बनाउन हुँदैन थियो ।’
नायिका नीता ढुंगानाले भने कुलमानलाई हटाउने व्यक्तिले नै भोलिका दिनमा लोडसेडिङ भोग्नुपर्ने आशंका गरेकी छन् ।
कुलमान हटाउने निर्णयको विरोध गर्दै उनले लेखेकी छन्, ‘के भइरहेको छ यहाँ ? एकदमै गलत निर्णय । साँच्चिकै जसले निकाल्यो उसले भोलि कालो दिन देख्नेछ।’
नायिका मनिषा कोइराला पनि सरकारको निर्णयमा सन्तुष्ट देखिएकी छैनन् । उनले आफ्नो व्यक्तिगत धारणा सार्वजनिक नगरे पनि विभिन्न व्यक्तिले सरकारको निर्णयको विरोध गरेको विचार आफ्नो फेसबुकमा सेयर गरेकी छन् ।
प्रतिक्रिया