काठमाडौं– सरकारले सोमबार नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाएपछि चर्को विरोध भइरहेको छ । माओवादी केन्द्रनिकट भएको आरोप लगाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कुलमानलाई प्राधिकरणबाट बिदा गरेको हो ।
उनलाई हटाउनकै लागि सरकारले यसअघि उनलाई पटक पटक स्पष्टीकरण सोधेको थियो । आगामी साउनमा कार्यकाल सकेर बिदा हुन लागेका घिसिङलाई नेपाली कांग्रेस र एमालेसहितको गठबन्धन सरकारले हटाएपछि अहिले सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । राजनीतिक व्यक्ति, सेलिब्रिटीदेखि सर्वसाधारणसम्मले सरकारको उक्त निर्णयको विरोध गरेका छन् ।
सत्तारुढकै नेताको विरोध
गठबन्धन सरकारको मुख्य दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत थुप्रै नेताहरूले सरकारले कुलमानलाई बर्खास्त गरेपछि सामाजिक सञ्जालबाटै विरोध गरेका छन् ।
महामन्त्री थापाले फेसबुकमा कुलमानलाई सरकारले बर्खास्त गरेको विषयमा असहमति जनाउँदै ‘असुन्तष्टिको आगोमा मट्टीतेल हाल्ने काम’, भनेका छन् ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले घिसिङलाई पदबाट हटाउने विषयमा नेपाली कांग्रेसको पदाधिकारी तहमा सहमति नभएको भन्दै प्रतिगामीलाई रोक्नुपर्ने बेला सरकारले गलत निर्णय गरेको प्रतिक्रिया दिएका छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ‘सरकारको कुशासनको निरन्तरताको अर्को कडी’भन्दै तिखो आलोचना गरेका छन् ।
एमालेका अधिकांश मौन, केहीको समर्थन
कुलमानलाई पदबाट बर्खास्त गर्ने सरकारको निर्णयमा एमालेका पदाधिकारीहरूले सामाजिक सञ्जालमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर, सामजिक सञ्जालमा क्रियाशील केही नेताहरूले भने सरकारको निर्णयको बचाऊ गरेका छन् ।
एमालेका नेता महेश बस्नेतले ‘हितेन्द्रदेव शाक्यलाई अन्याय गरेर नियुक्ति पाएका कुलमानलाई प्राधिकरणबाट बिदा दिएर मन्त्रिपरिषद्ले हितेन्द्रदेव शाक्य’ लाई पुनःनियुक्ति गरेकोमा बधाई बधाई दिएका छन् ।
प्रचण्डसहितका अधिकांश नेता कार्यकर्ताद्वारा विरोध
कुलमाललाई बर्खास्त गरेको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत अधिकांश नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत् विरोध जनाएका छन् । सोमबार साँझै प्रचण्डले सामाजिक सञ्जाल लेख्दै ‘दुईतिहाइ बहुमतको दम्भमा गरिएको निर्णयप्रति घोर निन्दासहित प्रतिरोध गर्न आग्रह’ गरेका छन् ।
त्यस्तै, माओवादीका उपमहासचिव जनार्दन शर्माले ‘पहिले पनि लखेटिएका कुलमानलाई संघर्ष गरेरै प्राधिकरणको एमडी बनाएको स्मरण गरे । उनले लोडसेडिङबाट आहत नागरिकलाई उज्यालो नेपालको सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भूमिकाको प्रशंसा’ व्यक्त गर्दै विरोध जनाएका छन् ।
रास्वपा नेताहरूको पनि विरोध
कुलमानलाई पदच्युत गरेको विषयमा प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पनि सामाजिक सञ्जालमार्फत् विरोध जनाएका छन् ।
लामो समयदेखि मौन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेसबुक लाइभमै आएर ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्’ भनेका छन् ।
रास्वपा नेतृ सोविता गौतमले पनि फेसबुकमा सरकारले गरेको निर्णय सरकारको असफलता मात्रै नभएर देशकै सफलता र आशामाथिको प्रहार भएको बताएकी छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन थुप्रै नेता तथा कार्यकर्ता पनि विरोधमा उत्रिएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीनिकट कार्यकर्ताहरू र विद्यार्थीहरूले त सडकमै उत्रिएर प्रदर्शन गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् विरोधमा कलाकार
कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध अधिकांश कलाकारले एक स्वर गर्दै सामाजिक सञ्जालमार्फत् विरोध जनाएका छन् ।
वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले कुलमान कुलकै उज्यालो भएको भन्दै अन्धकार बनाउन नहुने टिप्पणीसहित सरकारको विरोध गरेका छन् ।
अर्का वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले फेसबुकमा लेख्दै ‘भिर खोज्ने गोरुलाई राम राम भन्न सकिन्छ भन्दै सरकारलाई कटाक्ष व्यक्त गरेका छन् ।
गायिका आस्था राउत, लेखक सुविन भट्टराई, गायक भगवान भण्डारी र नारायण रायमाझी लगायत थुप्रै कलाकारहरूले सरकारको निर्णयको सामाजिक विरोध गरेका छन् ।
प्रतिक्रिया