काठमाडौं– सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेसँगै सत्ता साझेदार नेपाली कांग्रेस दुईधारमा विभाजित देखिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले पदावधि समाप्त हुन झण्डै चार महिना बाँकी हुँदै घिसिङलाई बर्खास्त गरेसँगै कांग्रेस दुईधारमा विभाजित भएको हो ।
विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा मुखरित देखिएका छन् । उनीहरू दुवैजनाले अमुक मन्त्रीको हवाला दिँदै सञ्चारमाध्यमहरूमा घिसिङलाई बर्खास्त गर्ने समाचार सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमार्फत मन्त्रिपरिषद्को निर्णयको विरोध गरेका थिए ।
तर, सर्वसाधारणदेखि बुद्धिजीवीहरू सामाजिक सञ्जालमा तिनै महामन्त्रीद्वय थापा र शर्माविरुद्ध खनिएका छन् । कतिपयले उनीहरूको कार्यशैलीको आलोचना गरेका छन् भने कतिपयले सुझाव दिएका छन् ।
तथापि, महामन्त्री थापाले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई हटाउन ऊर्जामन्त्री दीपक खड्काले जोडबल गरिरहेका बेला सरकारले नचाहिने काममा हात हाल्न नहुने सुझाव दिएका थिए । उनले कांग्रेसबाटै ऊर्जामन्त्री रहेका खड्काले घिसिङलाई हटाउन सबै किसिमका उपाय लगाइरहेका बेला नचाहिने काममा हात नहाल्न भनेका थिए ।

‘सरकारको गल्ती छैन भन्दिनँ । तर, सबै गल्ती यो सरकारले मात्र गरेको होइन,’ फागुन २७ गते प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री थापाले भनेका थिए, ‘तर, सरकारलाई म अनावश्यक काम नगर्न र नचाहिँदो काममा हात नहाल्न भन्छु । सरकार र सरकारमा रहेका मन्त्रीहरूले नचाहिने काम नगरेको राम्रो हुन्छ ।’
कुलमानबारे गगनको सुझाव- सरकारले नचाहिने काममा हात नहालोस्
तर, पनि प्रायः जसो सामाजिक सञ्जाल प्रयोगकर्ताले महामन्त्री थापालाई सुझाव दिएका छन्– ‘दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रबाट राजीनामा देऊ ।’ जसमध्ये एक प्रतिनिधि पात्र हुन्, पत्रकार विजयकुमार ।
उनले फेसबुक र एक्समार्फत् प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवालाई घिसिङ बर्खास्त गर्ने निर्णय सच्च्याउन माग गर्दै महामन्त्री थापासहितका संयन्त्रमा रहेका कांग्रेस नेताहरूलाई राजीनामा दिन सुझाएका छन् ।
‘व्यापक जन असन्तुष्टि खेपी रहेको सरकारले फगत केही महिना कार्यकाल बाँकी रहेका कुलमान घिसिङलाई हटाएर देशमा सल्किन थालेको आगोमा आफैँले मट्टीतेल खन्याएको छ । हामी प्रधानमन्त्री र कांग्रेस सभापतिलाई यो निर्णय तत्काल सच्चाउन माग गर्छौँ,’ पत्रकार विजयकुमारले भनेका छन्, ‘तत्काल निर्णय नसच्चिए सरकार चलाउने दुई दलीय संयन्त्रबाट राजीनामा गर्न कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापालगायतका अन्य सदस्यलाई अनुरोध गर्दछौँ ।’
अर्का पत्रकार अनिल गिरीले सामाजिक सञ्जाल एक्समा महामन्त्री थापाले लेखेको ट्विटलाई रि-ट्विट गर्दै हिम्मत भए सरकार छोड्न भनेका छन् । उनले तीन–तीन पटक विभागीमन्त्रीले स्पष्टीकरण सोध्दा नबोलेको भन्दै थापालाई जनता विरोधमा उत्रिएपछिको रुवाइको कुनै अर्थ नभएको समेत बताएका छन् ।
‘हिम्मत छ भने सरकार छोड । होइन भने यस्तो राडो रुवाइको केही अर्थ छैन । तीन पटक दिपक खड्काले स्पष्टीकरण सोध्दा र यत्रो महाभारत हुँदा केही न बोल्ने अहिले जनता विरोधमा आएपछिको राडो रुवाइको केही अर्थ छैन,’ पत्रकार गिरीले भनेका छन् ।
त्यसअघि महामन्त्री थापाले घिसिङलाई हटाइएपछि सरकारको ‘डेलिभरी’बाट जनतामा देखिएको असन्तुष्टि सम्बोधन गर्न आफूहरू दिनरात नभनी काम गर्दा पनि सरकार आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको भन्दै असहमति जनाएका थिए ।
‘आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्दत एउटा तप्का सल्बलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाँहि आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने?,’ उनले प्रश्न गर्दै लेखेका थिए, ‘हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर, निर्णय फेरि यस्तो गलत गर्ने? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो । तर, विडम्बना त्यो भएन,निर्णय गलत छ,सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।’

सत्तारुढ कांग्रेस र एमालेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल र प्रभावकारी बनाउन दुई दलीयउच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर काम गरिरहेका छन् ।गत कार्तिक १५ गते बसेको दुई दलको बैठकले गठन गरेको आठ सदस्स्यी संयन्त्रमा सत्ता साझेदार दल कांग्रेस–एमालेबाट चार–चार जनालाई सदस्यमा राखिएको छ ।
संयन्त्रमा कांग्रेसले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा र एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल पठाएको छ ।
सरकारलाई सफल र प्रभावकारी बनाउन भनेर गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको सदस्यका रुपमा महामन्त्री थापा रहे पनि जनअपेक्षाअनुसार काम नभएपछि समाजशास्त्री निर्मला ढकालले पनि उनलाई लक्षित गरेर आक्रोश वयक्त गरेकी छन् ।
‘उता पार्टी भित्र केही भ्यालु छैन, यता आएर खोक्यो धुलाई मात्र भेट्छन्,’ समाजशास्त्री ढकालले नाम उल्लेख नगरी एकसमा लेखेकी छन्, ‘राजनीतिमा लाग्नेको जुनी पनि भुस्याहा कुकुरको भन्दा पनि तन्नम देखिन थाल्यो ।’
रत्न राज्यलक्ष्मी क्याम्पसमा अध्यापन गर्दै आएका लेखनाथ पाण्डेले ‘मेन्सन’ गर्दै कुलमान प्रकरणमा महामन्त्री थापा तारो बन्नुको कारण बुझ्न सक्नुपर्ने बताएका छन् ।
‘प्रायः गगनजीका टुइट र टिप्पणीमा जनताले ताली नै बजाउँथे । तर, यो प्रकरणमा किन आलोचनाको तारो बन्दैछन? बुझ्न सक्नुपर्छ, दोकलापन्थ एक राजनीतिक रोग हो। यसबाट जोगिनुपर्छ,’ उनले लेखेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ता बुद्धिजीवी मात्रै नभएर पार्टीभित्रैबाट पनि महामन्त्री थापामाथि ‘कुलमान प्रकरण’ले आक्रमण बढाएको छ । पार्टीको १४औँ महाधिवेशनमा थापासँगै रहेका केन्द्रीय सदस्य प्रा.डा गोविन्दराज पोखरेलले पनि ठूला दलका उपसभापति र महामन्त्रीको सरकार चलाउने उच्च पोलिटब्युरो भए पनि समस्या समाधान गर्न भटाभट अध्यादेश ल्याइएको भन्दै आलोचना गरेका छन् ।
‘झण्डै दुईतिहाइको सरकार । कर्मचारी र विभिन्न निकाय हाम्रै । ठूला दलका उपसभापति र महामन्त्रीको सरकार चलाउने उच्च पोलिटब्युरो । समस्या समाधान गर्न भटाभट अध्यादेश,’ घिसिङलाई सरकारले बर्खास्त गरेपछि उनले एक्समा लेखेका छन्, ‘गणतन्त्रमा अर्थतन्त्रबाहेक केही पूर्वाधार, स्वास्थ्य, सामाजिक विकासका काम राम्रै छन् । तर, किन उत्साह बढाउन सकिएन । सरकार तेरो कामको गति बढा ।’
कांग्रेसको संस्थापन पक्षीय केन्द्रीय सदस्य नैनसिंह महरले पनि महामन्त्री थापालाई लक्षित गर्दै समसामयिक राजनीति र कांग्रेस पदाधिकारीका पछिल्ला गतिविधिप्रति व्यंग गरेका छन् ।
‘सरकार सञ्चालनका लागि संयन्त्र छ, पार्टी सञ्चालनका लागि पदाधिकारी, जुन संवैधानिक र वैधानिक होइनन् । तर, पनि चलेकै छ मेरो देश हटनु र हटाउनु पर्ने जनताको नजरमा धेरै बाँकी छन् जस्तो छ,’ महरले फेसबुकमा लेखेका छन्, ‘तर, दुर्भाग्य जनताद्वारा हटाइएका, अवशेषका रुपमा बाँकी रहेकाहरू पनि यहीबेला चियाको कपमा तुफान ल्याउन पनि खोजेकै छन् ।सच्चिनु सबैका लागि हितकर होला।’
यो पनि-
लोकतन्त्रमाथि कांग्रेसले पोखिरहेको ‘अँध्यारा’ छिटाहरु

‘कुलमान प्रकरण’मा अरु नेताले के भने ?
विश्वप्रकाश शर्मा, महामन्त्री
कुलमान घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन । बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमै सजग गराइएको थियो । कारबाही योग्य केही भए, पछि पनि गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायामा पार्ने गरी @PM_nepal_यो निर्णय समयोचित बिल्कुलै भएन ।
शेखर कोइराला, केन्द्रीय सदस्य
सरकारको कुशासनको निरन्तरताको अर्को कडी, कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कतिदिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि ।
डा. डिला संग्रौला, केन्द्रीय सदस्य
पदावधि सकिन केही महिनामात्रै बाँकी रहेका देशमा लोडसेडिङ हटाउन रातदिन खटेका, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गलत छ । यस्तो हचुवा निर्णय तत्काल सच्याउन सरकारसँग माग गर्दछु ।
प्रतिक्रिया