कुलमानलाई किन हटाएको ? एमाले नेताका तीनथरी तर्क | Khabarhub Khabarhub

कुलमानलाई किन हटाएको ? एमाले नेताका तीनथरी तर्क

को–को उभिए ओली र खड्काको बचाऊमा ?




काठमाडौं– सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेर हितेन्द्र शाक्यलाई नियुक्त गर्ने निर्णय गरेपछि सत्तारुढ नेपाली कांग्रेसका शीर्षनेताहरुले समेत सरकारको विरोध गरेका छन् ।

ऊर्जामन्त्री दीपक खड्काबाहेक कांग्रेसका कोही पनि नेताले सरकारको बचाऊमा बोलेका छैनन् ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, गगन थापा र नेता डा. शेखर कोइरालाले खुलेरै सरकारको आलोचना गरेका छन् । कुलमान घिसिङलाई हटाउने निर्णयको विरोध गर्ने कांग्रेस नेताहरुको सूची लामै छ ।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेभित्र भने ‘कुलमान प्रकरण’ मा तीनवटा धार देखिएको छ ।

पहिलो– एमाले कार्यकर्ता र नेताहरुको एउटा पंक्ति सरकारले कुलमानलाई हटाएर गल्ती गरेको ठान्छ, तर सार्जनिकरुपमा कोही पनि बोल्ने आँट गर्दैनन् ।

दोस्रो– कुलमान घिसिङको पनि कमजोरी रहेको र सरकारले हटाएर ठिकै गरेको एकथरि एमाले नेताहरुको मसिनो स्वर सुनिएको छ । खासगरी केपी ओलीले जे गर्दा पनि समर्थन जनाउने समूहका नेताहरु यो कोटीमा पर्छन् ।

र, तेस्रो– कुलमानलाई कांग्रेस सभापति शेरबहादुर देउवा र उर्जामन्त्री दीपक खड्काको चाहनामा हटाइएको र यसमा एमालेको भूमिका नरहेको तर्क पनि सत्तारुढ एमालेका केही नेताले गरेका छन् । प्रधानमन्त्री आफ्नै अध्यक्ष भएता पनि दोष चाहिँ कांग्रेसतिर देखाउने प्रयास एमालेका ती नेताहरुले गरिरहेको देखिन्छ ।

जब सञ्चारमन्त्रीले ढाँटे…

सोमबारको मन्त्रिपरिषदले कुलमान घिसिङलाई हटाउने निर्णय गरे पनि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारहरुलाई नमज्जाले ढाँटे । मन्त्री गुरुङले कुलमानलाई नहटाइएको दाबी गर्दै उल्टै पत्रकारलाई सोधे, ‘हटाउने निर्णय गरेको छ भनेर कसले भन्यो ? कुलमानले ?’

तर, मंगलबार मन्त्री गुरुङ आफैंले अघिल्लो दिन ढाँटेको विषयमा सत्य कुरा बोले । मन्त्रिपरिषदले कुलमानलाई हटाएर हिटेन्द्र शाक्यलाई कार्यकारी निर्देशक बनाइएको गुरुङ आफैंले स्वीकारे ।

आखिर सोमबार साँझ मन्त्री गुरुङले पत्रकारलाई ढाँट्नुको कारण के थियो ? कतै मन्त्री गुरुङ जनतामा उठ्ने आक्रोशको भयबाट तर्सिएका थिए कि ? प्रधानमन्त्रीले नै यो विषय गोप्य राख्नु भनेका थिए कि ? आखिर किन सरकारका प्रवक्ता सोमबार साँझ अत्यन्तै गैरजिम्मेवार रुपमा प्रस्तुत भए ? यसको जवाफ दिने जिम्मा मन्त्री गुरुङकै हो ।

सरकारको बचाऊमा कोको ?

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम संखुवासभाका नेता हुन् । उर्जामन्त्री दीपक खड्का उनै गौतमका जिल्लाबासी एवं राजनीतिक प्रतिस्पर्धी हुन् । तर, नेता गौतम उर्जामन्त्री खड्काको कदमको बचाउमा उभिएका छन् ।

गठबन्धन सरकारमा सम्बन्धित मन्त्रीले काम गर्न असहज भएको प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीले निर्णय गर्नु स्वाभाविक रहेको उनी बताउँछन् । ‘मन्त्रीले प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीले सहयोग गर्नुपर्ने हुन्छ । कि त उहाँको दलले पहिला नै रोक्नुपर्ने थियो’, एमाले नेता गौतमले खबरहबसँग भने, ‘हामी यो कुरामा निकै सतर्क थियौँ तर कांग्रेस सभापतिज्यू र उर्जामन्त्रीले पनि काम गर्न समस्या भएको गुनासो गरेपछि सरकार बाध्य भयो । मन्त्रीको प्रस्ताव ठाडै अस्वीकार गर्ने अवस्था पनि थिएन ।’

संखुवासभामा ०७९ को चुनावमा मन्त्री दीपक खड्कासँगै पराजित बनेका एमाले नेता गौतमले अगाडि भने, ‘चार महिनापछि रिटायर्ड हुने कर्मचारीको विषयलाई ठूलो इस्यु बनाउनु हुने थिएन । मन्त्री र कर्मचारीको विवादलाई सरकारले हल गरेको हो । यसमा प्रधानमन्त्रीको हात छैन । सम्बन्धित मन्त्री र मन्त्रालयको कुरा हो तर यसलाई राष्ट्रिय मुद्दा बनाउन जरुरी थिएन ।’

एमाले सांसद भगवती न्यौपाने पनि सरकारले काम गर्न अप्ठ्यारो भएपछि कुलमानलाई हटाएको बताउँछिन् । कुलमानले सरकारलाई नटेरेको उनको आरोप छ । कुलमानले सरकारसँग समन्वय गरेर काम गर्नुपर्नेमा आफूखुसी गरेकाले सरकार एक्सनमा जानुपर्ने बाध्यता भएको दाबी गर्छिन् । ‘सरकारलाई नटेर्ने कर्मचारी भएपछि कसरी काम गर्ने ? यो विषय जति हाउगुजी बनाइएको छ, यो ठिक भएन ।’

न्यौपाने अगाडि भन्छिन्, ‘राजनीतिक नियुक्ति सरकार परिवर्तन हुना साथ जाने परम्परा छ । राजदूतको हकमा पनि त्यही थियो । कुलमानलाई त सरकारले राखेको हो । उहाँले गरेका कामप्रति सरकार पनि सकारात्मक थियो तर उहाँ आफूखुसीमा लाग्नुभयो । सरकारले गरेका राम्रा प्लानलाई उहाँले अनदेखा गर्ने र असहयोग गर्ने दिशामा जानुभयो ।’

उनले थपिन्, ‘एउटा पात्र वर्षौंसम्म बसिरहने र उहाँले बाहेक अरूले काम गर्न सक्दैन भन्ने ढंगले प्रचार भएको छ, यो गलत छ । अरूको पनि मूल्यांकन हुनुपर्छ ।’

एमाले सांसद न्यौपाने कुलमानको आलोचना गर्दै भन्छिन्, ‘कुलमानजी प्रचारमा जानुभयो । उहाँ आफूले मात्र काम गरेर सफल भएको होइन, सरकारले गरेको काममा उहाँले नेतृत्व गर्नुभएको हो । यो सामूहिक काम हो । प्रधानमन्त्री ओली भएकै बेला लोडसेडिङ मुक्त देश बनाउने योजना अगाडि बढेको हो । उहाँ (कुलमान) का बारेमा पनि प्रश्न उठेका छन्, त्यो भोलि थाहा होला ।’

प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्दै हितेन्द्र शाक्य

एमालेका प्रमुख सचेतक महेश बर्तौला पनि आफ्नो सरकार र प्रधानमन्त्रीको बचाऊ गर्छन् । उनी कर्मचारीले सरकारको निर्देशन अनुसरण गर्नुपर्ने बताउँछन् ।

कुलमान सरकार र मन्त्रीहरूको निर्देशन नटेरेर वैदेशिक भ्रमणमा गएको र जथाभावी सम्झौता गरेको बर्तौलाको आरोप छ । ‘आफूखुसी विदेश भ्रमण जाने, तथ्य र तथ्याङ्कभन्दा बाहिरको कुरा ल्याउने काम भयो,’ बर्तौलाले खबरहबसँग भने, ‘यो सबै विषय केलाएर सरकारले निर्णय लिएको हो । सरकारले काम गर्नेलाई पुरस्कृत गर्नुपर्छ, नगर्नेलाई दण्ड । कर्मचारीले काम गर्ने हो, स्टन्ट गर्ने होइन ।’

एमाले नेता बर्तौलाले कुलमानबारे टिप्पणी गर्दै भने, ‘अहिले कुनै व्यक्तिका कारणले लोडसेडिङ अन्त्य भयो भन्ने भाष्य बनाइएको छ, यो गलत छ । सरकारले लिएको मिसनमा उहाँले काम गरेको हो । संस्थाको कर्मचारीले राजनीतिक ब्यानर बनाउने र त्यहीअनुसार अभिव्यक्ति दिने ? त्यो सुहाएको छैन । सरकारले आवश्यकताका आधारमा निर्णय लिएको हो ।’

कुलमानका कारण मन्त्रीलाई काम गर्न समस्या भएको हो कि प्रधानमन्त्रीलाई ? खबरहबको प्रश्नमा बर्तौला भन्छन्, ‘यो सरकारले गरेको निर्णय हो, सरकारी निर्देशन अस्वीकार गरेपछि सरकार र मन्त्रीलाई नै काम गर्न समस्या भयो । उहाँ भगवान्, देउता होइन ।’

कुलमानलाई बर्खास्त गर्ने सन्दर्भमा कुनै बदनियत नराखेको र समय क्रममा सबै तथ्यहरू उजागर हुने बर्तौला दाबी गर्छन् । उनलाई हटाइनु नियमित प्रक्रिया भएकाले यसमा आन्दोलन गर्न जरुरी नरहेको बताउँदै बर्तौला भन्छन्, ‘उहाँ सरकारलाई थाहा नदिएर भारत जानुभयो र विभिन्न सम्झौता गर्नुभयो । समयमा कार्यसम्पादन प्रतिवेदन बुझाउनुभएन ।’

घिसिङलाई हटाउने सरकारको निर्णयबारे एमालेका प्रायः नेताहरु मौन देखिएका छन् । उनीहरु सरकारी निर्णयको बचाऊमा खुलेर उभिएका छैनन् । भलै, उनीहरुले मन्त्रिपरिषदको निर्णयको विपक्षमा पनि बोलेको खासै पाइँदैन ।

यसबारे एमालेका एक नेता खबरहबसँग भन्छन्, ‘हामी आफ्नो असन्तुष्टि पार्टी बैठकमा राख्छौँ । बाहिर छरपस्ट भएको त राम्रो हुँदैन नि । एमाले सचिवालय बैठकमा यसबारे कुरा उठ्छ ।’

कुलमानलाई हटाएको विषयमा भने एमालेका ती नेता खुसी देखिएनन् । उनले नाम सार्वजनिक गर्न अस्वीकार गर्दै भने, ‘सरकार चौतर्फी घेराबन्दीमा परेका बेला यो गर्नु ठिक थिएन । तर, मैले मात्रै बोलेर के हुन्छ र ?’

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ८ : १९ बजे

अब ब्ल्याक सीमा आक्रमण नहुने : साउदीमा रुस र युक्रेनले के के सहमति गरे ?

रियाद – साउदी अरेबियामा लगातार तीन दिनसम्म भएको वार्तामा रुस

अर्जेन्टिना विश्वकप २०२६ का लागि छनोट

काठमाडौं – साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर

श्रेयास ऐयारको कप्तानी पारीमा पञ्जाब विजयी : गुजरात ११ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार अर्को हाइ

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल चैत १३ गते बुधबार चैत