काठमाडौं- शिक्षा, विज्ञान तथा प्रवृधि मन्त्री रघुजी पन्तले शिक्षक महासंघले तय गरेको वार्ता टोलीसँग सम्बाद गर्न तयार रहेको बताएका छन् ।
शिक्षक महासंघ र सरकारबीच हुने भनिएको वार्ता अन्तिम समयमा भाँडिएपछि मन्त्री पन्तले पुनः वार्तामा बस्न आफूहरू तयार रहेको बताएका हुन् ।
‘शिक्षक महासंघले आधिकारिक वार्ता टोली गठन गरेर पठाओस्, सरकार उनीहरूसँग वार्ता गर्न तयार छ,’ मन्त्री पन्तले भने ।
तर, शिक्षक महासंघले भने शुक्रबार मन्त्रालयले ‘गेट पास’का लागि पठाएको नामावली आधिकारिक नभएको भन्दै सिंहदरबार प्रवेशद्वारबाट फर्किएको थियो ।
जसका कारण शुक्रबार हुने भनिएको वार्ता हुन सकेन । त्यहीकारण सरकारसँग वार्तामा गएका शिक्षकहरू मन्त्रालय नै नपसी फर्किएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको सहमति नभएको भन्दै वार्ता नगरी उनीहरू फर्किएका हुन ।
‘२५ सदस्यीय नामावली शिक्षक महासंघ तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं,’ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ। तर विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्कियौँ ।’
उनले शिक्षा मन्त्रालयबाट सार्वजनिक २५ जनाको सूची वार्ता टोली नभएको बताए । ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट सार्वजनिक भएको २५ सदस्यीय नामावली महासङ्घले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौँ’, उनले भने ।
मन्त्रालयले २५ सदस्यीय टोली बनाएको भन्दै महासंघले आपत्ति जनाएको छ । सिंहदरबार गेटमा मन्त्रालयले पठाएका २५ जना शिक्षकको नाम देखेपछि वार्ता भाँडिएको हो ।
सोमबार तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि बुधबार मात्रै पन्तले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हालेका थिए ।
उनले बिहीबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि शिक्षक आन्दोलनलाई आफूले हेरेको र समस्या पनि बुझेको बताएका थिए ।
उनले शिक्षकहरूसँग वार्ताको पहल गर्ने बताएका थिए । नभन्दै शुक्रबार उनले आफैं विज्ञप्ति निकालेर आन्दोलित शिक्षकहरूलाई वार्तामा बोलाएका थिए । तर सिंहदरबार पुगिसकेका शिक्षक वार्ता नगरी फर्किए ।
यसअघि वैशाख ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक महासंघका प्रतिनिधिसँग वार्ता गरेका थिए । त्यसयता शिक्षक र सरकारबीच संवादहीनताको अवस्था छ ।
तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले वैशाख २ गते सभामुख देवराज घिमिरेसहितसँग संसद्मा अड्किएको शिक्षा विधेयक पास गर्ने विकल्पबारे संवाद गरेकी थिइन् ।
यसबीचमा नयाँ शिक्षामन्त्री पन्तले विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक, २०८० जारी गर्न मागसहित २४ दिनदेखि आन्दोलित शिक्षकहरूलाई नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताका बोलाएका थिए ।
हाल प्रतिनिधिसभाको संसदीय समितिमा छलफलको प्रक्रियामा रहेको विधेयक जारी गर्न मागसहित सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको आन्दोलन करिब एक महिना पुग्न लाग्दा शिक्षामन्त्रीले वार्तामा बोलाएका थिए ।
यिनै घटनाक्रमलाई मध्यनजर गर्दै बिहीबार मात्रै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त पन्तले शिक्षकका प्रतिनिधिहरूलाई वार्तामा सहभागी हुन आह्वान गरेका थिए ।
शिक्षा मन्त्री पन्तले एक विज्ञप्ति जारी गर्दै विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र पारित गर्नुपर्ने मागप्रति ध्यानाकर्षण भएको जनाएका थिए ।
मन्त्रालयका अनुसार शिक्षकहरूको हक–हित प्रवर्द्धन गर्न र समस्याको दीर्घकालीन समाधान खोज्न मन्त्रालय निरन्तर प्रयत्नशील रहेको छ।
’शिक्षक प्रतिनिधिहरूसँगको परामर्श तथा छलफलकै आधारमा विधेयकको मस्यौदा तयार गरिएको हो,’ विज्ञप्तिमा उल्लेख गरिएको थियो, ‘त्यसैले विधेयक छिट्टै पारित होस् भन्ने शिक्षक तथा कर्मचारीहरूको चासो स्वभाविक हो ।’

प्रतिक्रिया