मा‌‌ओवादी र राजावादीविरुद्ध एकसाथ खनिए ओली, भने- जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ | Khabarhub Khabarhub

मा‌‌ओवादी र राजावादीविरुद्ध एकसाथ खनिए ओली, भने- जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ

०६४ को चुनाव माओवादी लडाकुले आतंक मच्चाएर जितेको आरोप


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

ललितपुर- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार एकसाथ राजावादी र माओवादीमाथि आक्रमण गरे।

बागमती प्रदेशमा स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूलाई प्रशिक्षण दिन गोदावरीमा आयोजित कार्यक्रममा ओलीले माओवादी र राजावादीलाई गाली गरेर समय बिताए ।

एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको आइतचबार उद्घाटन गर्दै उनले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्न वडाध्यक्षलाई निर्देशन दिँदा अधिकांश समय भने दुई पक्षलाई गाली गर्न खर्चिए ।

प्रधानमन्त्री ओलीले आफूहरूले कम्युनिष्ट भनेर पार्टी एकता गरे पछि लगभग दुई तिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको टिप्पणी गर्दै देशलाई बनाउन नदिने देशी विदेशीहरूको एमालेमाथिको आक्रमण देशकै विरुद्धको आक्रमण रहेकोसमेत जनाएका छन् ।

‘उनीहरू खासमा कम्युनिष्ट थिएनन् । उनीहरूले अरुको विरोध नगरी एमालेको मात्रै विरोध गर्छन् । अनि वामपन्थीको एकता हुनुपर्छ भनेर उनीहरूले भन्दा हाम्रा कतिपय साथीहरू हो कि भन्ने गलत बुझाइमा पर्छन्,’, अध्यक्ष ओलीले भने, ‘कम्बोडियामा मेरो रु ३२ अरब लगानी छ भनेर हल्ला फिँजाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ हो । त्यसको पछि लाग्नेहरू माधव नेपाल र झलनाथ खनालहरू हुन् । माधव र झलनाथले पार्टी प्रमुख हुँदा प्रभावकारीरुपमा कम्बोडियामा मेरो रु ३२ अचलाउन सकेनन्, पछिसम्म पार्टी चाँही कब्जामा लिएर बस्न खोजे । हामीले निकम्बा, बेठिक र परनिर्भर नेतृत्व विस्थापन गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ पार्टीलाई अगाडि बढाउँदा त्यस्ताहरूलाई चित्त बुझेन अनि हामीविरुद्ध षड्यन्त्रमा लागेका छन् । देशी विदेशी प्रक्रियावादीहरूले हामीलाई लडाउन खोजेका छन्, त्यसमा सजग भएर आपसी द्वन्द्व र खिचातानीका प्रवृत्तिमा हामी जान हुँदैन । यो कुरा हामीले जनतासमक्ष बुझाउनु पर्छ ।’

राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरू सल्बलाउँदा एमालेहरूको मनोबल गिर्न नहुने उल्लेख गर्दै उनले लाज नमानी जनतालाई रैती हुन पाऊँ भन्नेहरूले फैलाउने भ्रम चिर्न आग्रह गरे ।

अध्यक्ष ओलीले प्रतिगामीहरूले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन पनि निर्देशन दिएका छन् । अहिले भ्रष्टाचारी र सहकारी पीडितले उल्टै भ्रष्टाचारको विरोध र सहकारीलाई न्याय देजस्ता आवाज उठाएर जनतामा भ्रम छरेको पनि अध्यक्ष ओलीले बताए।

‘तथाकथित राजावादीहरू, यी राजावादी साजावादी केही पनि होइनन्, यी खाओवादी हुन्’, ओलीले भनेका छन् ।

हाम्रो राजा, हाम्रो देश प्राण भन्दा प्यारो छ भनेर नारा लगाउनेहरू नारायणहिटीमा वीरेन्द्र मारिँदा किन बाँचिरहेका भन्दै उनले प्रश्न गरे । ‘प्राणभन्दा प्यारो छ भने वीरेन्द्रलाई त्यत्रो हत्या गर्दा यिनीहरू कहाँ गएका थिए, किन मरेनन् त ?’, उनले प्रश्न गरे ।

राजावादीहरू कुनै उद्देश्यको लागि नलडेका उनले बताए । केबल साना स्वार्थका लागि उनीहरू लडिरहेका ओलीले स्पष्ट पारे।

‘सरकार र जनता अलिकति मौन बसेकाले अनावश्यक फुर्तिफार्ति देखाएका छन्, एमाले मैदानमा उत्रिएपछि यिनीहरू कता कता जान्छन्’, उनले भने ।

एमालेलेका नेता कार्यकर्ताले आफूलाई चिनेर आफूलाई त्यही अनुसार तयारी अवस्थामा राख्नु पर्नेमा उनले जोड दिए । जेठ १५ गतेका लागि वडाध्यक्षहरूको प्रशिक्षण सकिनेबित्तिकै तयारी थाल्न ओलीले निर्देशन दिए ।

‘म साथीहरूलाई भन्न चाहन्छु–निर्देशनपछि आउला, १५ गतेका लागि भोलि यहाँबाट उठ्नेबित्तिकै तयारी थाल्नुस्, १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ, कसरले थाम्छ ? कसले रोक्छ ? निर्देशनपछि आउँछ, तपाईंहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुस्’, उनले भने, ‘जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, त्यो छाडिदिनुस्, आन्दोलनमा प्रोटोकलको कुरा हुँदैन, सबै एकै हो, हामी अगाडि बढौँ ।’

माओवादीबारे तीखो टिप्पणी

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रले २०६४ सालमा आफ्ना लडाकू क्याम्पमा राखेर र मार्चपास गराएर जनतालाई तर्साएर आतंकको राज गरेकाले जितेको बताए ।

त्यसबेला आफूहरू पराजित भए पनि माओवादीले २०६४ सालको जस्तो परिणाम ल्याउने सपना देख्नुमा कुनै दम नभएको पनि उनले स्पष्ट पारेका छन् ।

‘माओवादीको आतंकको छायाँमा हामीले ०६४ हारेको हो, अब न २०६४ साल आउँछ, न माओवादी आउँछ । यो मुलुकमा एमाले नै मजबुत पार्टी हो । एमालेहरूले आफ्नो यो पहिचान चिन्नुपर्यो’, उनले भने, ‘हामीसँग यो मुलुकलाई विकास र सुशासनको नेतृत्व दिने सामर्थ्य छ । त्यसकारण एकापसमा अलमलमा पर्ने र विभाजन नभई आफ्नो शक्तिलाई सुदृढ गरौँ । पार्टीलाई स्पष्ट बहुमतमा ल्याउने मिसन २०८४ मा जुटौँ ।’

निर्देशन

अध्यक्ष ओलीले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख अरु पार्टी र पक्षसँग पनि राम्रो सम्बन्ध कायम गरी काम गर्न निर्देशन दिएका हुन् ।

‘तपाईंहरू पार्टीबाट निर्वाचित भएर जिम्मेवारीमा गएको हो । निर्वाचन जितेपछि चङ्गाको धागो काटिए जस्तो पार्टीसँगको सम्पर्क काटिनु हुँदैन । मैले जितेँ, मलाई अरु मतलव छैन भन्न मिल्दैन । अर्को निर्वाचन पनि आउँछ । त्यसकारण तपाईंहरूले अहिले पार्टीका नीति, निर्देशनहरूलाई पालना गर्दै देश र जनताको सेवामा सक्रिय रहनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो पार्टी वास्तविक जनतन्त्रका लागि बनेको हो । देशको स्वाधीनता र भौगोलिक अखण्डताका पक्षमा दृढ भएर लाग्ने पार्टी हो । एमाले देशको नायक पार्टी हो । तथाकथित वामपन्थीहरू एमालेलाई धुलो चटाउँछु, टर्च लाइट बालेर खोज्न नभेटिने बनाउँछु भनेर अनेक षड्यन्त्रमा उत्रिए तर हामीले ती षड्यन्त्रहरू चकनाचुर बनाएर अगाडि बढेका छौँ ।’

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ३ : ०४ बजे

रविको बन्दीप्रत्यक्षीकरण निवेदनबारे सर्वोच्चको आदेशमा त्रुटि रहेको रास्वपाको निष्कर्ष 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको

सरकारका प्रवक्ता भन्छन्- भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनु पर्दैन

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना एवम् प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले

‘अर्हतभित्र बुद्धत्वको खोजीमा लेखक’

काठमाडौं– बौद्ध दर्शनमा आधारित शैलेन्द्र अधिकारीको उपन्यास अर्हत्‍को परिसंवादमा वक्ताहरूले

गङ्गा दशहरा पर्व विशेष : गोसाइँकुण्डमा चलहपहल सुरु

रसुवा–  गङ्गा दशहरा पर्वको पावन अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरू लैजाने