पारसको क्यारिकेचरले अग्लिएको भरतमणिको कद ! | Khabarhub Khabarhub

पारसको क्यारिकेचरले अग्लिएको भरतमणिको कद !


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 9 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ताप्लेजुङको सदमुकाम फुङलिङ बजारको आडै रहेको दोहु गाउँमा तीन दशकअघि भरतमणि जन्मिए । 

उनका आमा–बुवा धेरै पछिसम्म कृषि पेसामा आश्रित थिए । 

त्यसैले, बिहान घाँस काटेर दिउँसो स्कुल जानुपर्ने भरतमणिको नियमित र सामान्य दैनिकी थियो । जुन त्यस गाउँका लागि सामान्य कुरा हो । 

भरतमणिको हकमा यो कुरा असहज वा कठिन किन हुन्थ्यो ? 

अर्थात्, स्कुले जीवनमा भरतमणिले घाँस दाउरा, मेलापात, अर्मपर्मको ग्रामीण अभ्यास राम्रैसँग गरेका छन् । 

भन्छन्, ‘सामान्य भाषामा भन्दा आम ग्रामीण परिवेशमा जसरी अरूको हुर्काइ हुन्छ मेरो पनि त्यसरी नै भएको हो ।’

बरु अहिले उनलाई बाल्यकालमा पाएको साथी सर्कल चाहिँ अलि फरक लाग्छ । 

लिम्बू र गुरुङको बाहुल्य भए पनि विभिन्न जातको मिश्रित समाजमा आफ्नो हुर्काइ भएकाले अन्तरजातीय साथीहरूसँग बढी संगत भएको उनी बताउँछन् । 

भन्छन्, ‘क्षेत्री–ब्राहमण हामी १० घर जति मात्रै हो । त्यही भएर ताप्लेजुङ बस्दासम्म मेरो धेरै संगत अन्तरजातीय साथीहरू भयो ।’

यतिसम्म कि आफ्नो घर नै अन्तरजातीय परिवारको घेरामा रहेको उनी बताउँछन् । 

०००

भरतमणिको सात कक्षासम्मको पढाइ सरकारी विद्यालयमै भयो । आठबाट भने उनले बोर्डिङमा पढ्न पाए । 

कारण– भरतमणिको आमाले सदरमुकाममा चिया–कफी पसल खोलेपछि परिवारको आर्थिक अवस्था केही सुधार भयो । अनि उनले बोर्डिङको पढ्न पाएका हुन् ।  

भरतमणिकै भाषा भन्ने हो भने उनको परिवारले बजारको घुम्ती पारेर ठेलाभन्दा केही ठूलो पसल खोलेर व्यवसायको सुरुवात गरेको हो । 

भरतमणिभन्छन्, ‘बिस्तारै व्यापार बढेसँगै पसल ठूलो हुँदै गयो । म आज यो स्थानमा आइपुग्न त्यो पसलले आर्जेको आम्दानीको ठूलो भूमिका छ । मलाई काठमाडौंको सुरुवाती वर्षमा पनि त्यही पसलको आम्दानीले टिकाएको हो ।’

तथापि उक्त पसलले उनको जीवनमा पारेको प्रारम्भिक प्रभाव भनेको स्कुल परिवर्तन नै हो । 

उनी स्कुल परिवर्तनलाई आफ्नो कलाकारिता यात्राको प्रस्थान बिन्दु मान्छन् । 

कसरी ?

भरतमणि ६ मा पढ्दै गर्दा क्यारिकेचरको अभ्यास गर्न लागेका थिए । त्यसबेला उनले शिक्षक र गाउँमा युनिक स्वर भएका वृद्ध व्यक्तिहरूको बोली नक्कल गर्थे । 

साँझ मान्छेको जमघट हुने चोकमा उनको क्यारिकेचर कला देखाउने स्थान थियो । 

भरतमणि सुनाउँछन्, ‘घरको काम सकेर गाउँमा प्रायः सबै चोकमा गफ गर्न जम्मा हुन्थे । त्यहीँ मलाई क्यारिकेचर गर्न लगाउँथे । त्यसबेला क्यारिकेचर भन्ने थाहा थिएन । भरतमणिले फलानोलाई गिज्याउँछ भन्थे । जे होस् दाइहरूले मलाई अरूको आवाज नक्कल गर्न लगाउनुहुन्थ्यो ।’

स्कुल परिवर्तनसँगै उनको क्यारिकेचर प्रतिभा देखाउने स्थान फेरियो । कक्षा अगाडि र स्कुलको मञ्चसम्म उनी उक्लन थाले । 

भन्छन्, ‘यो स्कुलमा चाहिँ अतिरिक्त प्रतिभालाई पनि स्थान दिइन्थ्यो । अनि मैले कक्षाको अगाडि गएर क्यारिकेचरहरु गर्न पाएँ । स्कुलका कार्यक्रममा आफ्नो प्रतिभा देखाउन पाएँ ।’

नयाँ स्कुलमा होमवर्क नगर्दा र क्लासवर्क बिगार्दा सजाय स्वरूप भरतमणिले क्यारिकेचर गर्नुपर्ने माहोल सिर्जना भयो । 

भरतमणि सुनाउँछन्, ‘मैले नयाँ स्कुलमा कहिल्यै कुटाइ खानु परेन भन्दा पनि हुन्छ । सजाय नै क्यारिकेचर गर्ने भयो ।’

भरतमणि क्यारिकेचर गर्न पहिलो पटक मञ्चमा चढेको नै यही स्कुलमा हो । भन्छन्, ‘मैले शेरबहादुर देउवा, प्रचण्ड, केपी ओली, बाबुराम भट्टराईहरुको क्यारिकेचर त्यो बेलादेखि गर्न लागेको हो ।’

कलाकार देउमान लिम्बूबाट प्रभावित भएर नेताहरूको क्यारिकेचरको गर्न सुरुवात गरेको उनी बताउँछन् । देउमान जो ‘मेरी बास्सै’का कलाकारसमेत थिए । 

भरतमणि भन्छन्, ‘देउमान दाइले गाउँमै बिहेको कार्यक्रममा नेताहरूको क्यारिकेचर गर्नुभएको थियो । मैले प्रत्यक्ष क्यारिकेचर गरेको देखेको त्यो नै पहिलो पटक हो । मलाई उहाँको क्यारिकेचरले झट्का नै लाग्यो । मान्छे यति धेरै हाँसे कि– मलाई साँच्चै कला त यो पो हो भन्ने लाग्यो ।’

त्यहीँबाट आफूले नेताहरूको क्यारिकेचर गर्न सुरु गरेको उनी बताउँछन् । 

नाटकको अवसर

स्कुलका नाटक र क्यारिकेचरले भरतमणिलाई लोकल कलाकारका रूपमा उभ्याएको थियो । 

स्कुलकै प्रस्तुतिले उनलाई गाउँमा केही हदसम्म चर्चित बनाएको थियो । 

भरतमणि भन्छन्, ‘यसले क्यारिकेर गर्छ है । हँसाउछ भन्ने भएको थियो ।’

सोही कारण उनले बीबीसीको नाटकमा अभिनय गर्न पाए । 

भरतमणि ९ कक्षामा पढ्दा बीबीसीको टोली नाटक रेकर्ड गर्न ताप्लेजुङ पुगेको थियो । गाउँका कसैको सिफारिसमा उनी बीबीसीको टोलीमा जोडिएन पाए । 

उक्त नाटकमा आफूलाई कसले सिफारिस गर्‍यो आजको दिनमा पनि भरतमणिलाई थाहा छैन । तर, त्यसमा अवसरका पाउनुको कारण उनलाई स्कुलको नाटक र क्यारिकेचर नै हो जस्तो लाग्छ । 

उनी भन्छन्, ‘जे होस् म यति भाग्यमानी रहेछु कि त्यो नाटक बीबीसीमा पनि बजेको थियो ।’

यसरी नै दोस्रो पटक रेडियो कान्तिपुरको टोली पुग्दा उनले अर्को पटक नाटकको अवसर पाए । जुन ‘रेडियो कान्तिपुर’बाट प्रसारण भएको थियो । 

भरतमणि भन्छन्, ‘दुई ठूला रेडियोमा नाटक बजेपछि अब मलाई कलाकार बन्नुपर्छ भन्ने दृढ इच्छा पलाउन थाल्यो । गाउँमा पनि सानो मनोज गजुरेल बन्नुपर्छ भनेर फुर्काउन लागे ।’

रेडियोको जागिर 

०६६ सालमा भरतमणिले एसएलसी पास गरेका हुन् । एसएलसीको नतिजा नआउँदै उनले रेडियो ताप्लेजुङमा हाँस्य कार्यक्रम चलाउने अवसर पाए ।

यो अवसरको जस पनि क्यारिकेचरलाई नै जान्छ । भरतमणि सुनाउँछन्, ‘मैलै क्यारिचेकर गर्ने भएकाले दाइहरूले अवसर दिनुभएको हो ।’

भरतमणिले त्यहाँ ‘सुपर डुब्लिकेट’ नामक कार्यक्रम चलाउँथे । तर, यस रेडियोमा उनले दुई महिना मात्रै कार्यक्रम चलाए । 

कारण– रेडियो तमोरले उनलाई तान्यो । 

भरतमणि भन्छन्, ‘रेडियो तमोरबाट हाम्रो रेडियोको धेरै टाढासम्म टिप्छ । श्रोता धेरै छन् । तिम्रो लागि अवसर हो भन्नुभयो । तलब पनि धेरै दिनुभयो । अनि मैले रेडियो परिवर्तन गरेँ ।’

रेडियो तमोरमा भने भरतमणिले हाँस्य कार्यक्रम ‘टेन्सन फ्री’ चलाउन थाले ।

भरतमणि भन्छन्, ‘म आफ्नो कार्यक्रम रेडियोमा बज्न थालेपछि बजारमा निस्कन्थेँ । कतिले सुनेका छन् भनेर बुझ्नका लागि बजार पुरै चक्कर लगाउँथेँ । आफ्नो कार्यक्रम बजेको सुन्दा छुट्टै ऊर्जा आउँथ्यो ।’

भरतमणिको रेडियो कार्यक्रम हिट भयो । यसको प्रभाव भरतमणिको जीवनमा प्रत्यक्ष देखिन थाल्यो । 

उनलाई गृह जिल्ला र छिमेकी जिल्लाबाट स्टेज कार्यक्रमको प्रस्ताव आउन थाल्यो । 

भरतमणि भन्छन्, ‘रेडियोको श्रोता भएका जिल्लाका कार्यक्रममा पारिश्रमिक दिएरै मलाई बोलाउन थाल्नुभयो । ०६७ सालदेखि नै म स्टेज कार्यक्रममा हिँड्न लागेको हो ।’

यसरी कार्यक्रम गर्ने बेला महानायक राजेश हमालसँग भेट भएको दिन उनका लागि अविस्मरणीय छ । 

यो इलामको कुरा हो । राजेश पुगेको कार्यक्रममा भरतमणि लोकल कलाकारका रूपमा पुगेका थिए । 

भरतमणि भन्छन्– मेरो प्रस्तुतिपछि राजेश दाइले धाप मार्नुभयो । ‘उहाँले हँसाउनुभयो, प्रस्तुति राम्रो थियो होइन ?’ भनेर दर्शकलाई सोध्नुभयो ।

राजेशको यो स्याबासीलाई भरतमणि आफ्नो कलाकारिता यात्राको संघर्षको दिनको सुखद घटनाक्रममा दर्ज गर्छन् । 

भन्छन्, ‘उहाँको प्रशंसाले नै मलाई काठमाडौंं आएर संघर्ष गर्ने आँट दिएको हो ।’

रेडियो तमोरले लगाएको गुन

क्यारिकेचर गर्ने कलाले नै भरतमणिलाई काठमाडौं ल्याएको हो । रेडियोले चाहिँ काठमाडौंको बन्दोबस्त मिलायो ।

भरतमणिले रेडियोको वार्षिक कार्यक्रममा क्यारिकेचर गरेका थिए । कार्यक्रममा उपस्थित हुन काठमाडौं बस्ने सञ्चालक र व्यवसायी पुगेका थिए । 

भरतमणिको प्रस्तुतिपछि रेडियो तमोरको सञ्चालक रमेश बडालले सोधे, ‘कहाँ काम गर्छौँ भाइ ?’

भरतमणिले ‘तपाईँकै रेडियोमा’ भन्ने जवाफ फर्काए । 

त्यसपछि बडालले भने, ‘तिमी जिल्लामा सीमित भएर हुँदैन । काठमाडौं आउनुपर्छ । हामी व्यवस्था मिलाउँछौँ ।’

०६९ सालमा रेडियो तमोरले काठमाडौंका चाबहिलमा स्टुडियो खोल्यो । अनि भरतमणि त्यो स्टुडियोमा रहेर काम गर्न काठमाडौं आए । 

रेडियोले बस्नका लागि कोठा व्यवस्था गरिदिएको थियो । खाद्यान्न भने आफैँले जोहो गर्नुपर्थ्यो । 

यहाँ आएर पनि भरतमणिले ‘टेन्सन फ्री’लाई निरन्तरता दिइरहे । तर, जिम्मेवारी थपिएको थियो । यहाँ हाकिमदेखि कार्यालय सहयोगीसम्मको काम आफैँले गर्नुपर्थ्यो । 

भरतमणि भन्छन्, ‘कार्यक्रम चलाउने, विज्ञापन एजेन्सीमा बिल पुर्‍याउने, चेक साट्ने, स्टुडियो बढार्नेसम्मको काम आफैँ गर्थेँ ।’

यी काम गरेर बाँकी बसेको समय कलाकारलाई सामाजिक सञ्जालमा मेसेज गर्ने उनको दैनिकी थियो । 

भरतमणि सुनाउँछन्, ‘फुर्सद भयो कि– ‘म ताप्लेजुङको भरतमणि । कलाकार बन्न काठमाडौं आएको तपाईँलाई भेट्न मन छ’ भनेर हास्य कलाकारहरूलाई मेसेज गर्थेँ । 

अर्थात्, सुरवाती दिन गाह्रो भए पनि कलाकारिता क्षेत्रमा संघर्ष गरोस् भन्ने आशयले जागिर र आश्रय दिएर ‘रेडियो तमोर’ले आफूलाई गुन लगाएको भरतमणिको बुझाइ छ । 

उनी तमोर रेडियो र सञ्चालक समितिप्रति आजको दिनमा पनि कृतज्ञ छन् । 

उनी भन्छन्, ‘मैले रेडियोका कारण काठमाडौंमा संघर्ष गर्दा खाली पेट बस्नुपरेन र खुला आकाशमा सुत्न परेन । यो रेडियोले लगाएको गुन मैले जीवनमा भुल्ने छैन ।’

काठमाडौंका दौडधुप

काठमाडौं आएर पनि भरतमणिले स्टेज कार्यक्रमहरू पाइरहे । ताप्लेजुङको नेटवर्कले काठमाडौं र पूर्वका जिल्लाहरूमा समेत उनलाई स्टेज कार्यक्रमको प्रस्ताव आइरह्यो । 

भरतमणि भन्छन्, ‘काठमाडौं बाहिर एयर टिकटसँगै १० हजार पारिश्रमिक । काठमाडौंमा पाँच हजार पारिश्रमिक तोकेको थिएँ ।’

सँगै कलाकारितामा अवसरको खोजीमा उनी थिए नै । जुन काठमाडौंमा आउनुको मुख्य उद्देश्य थियो ।

सिरियलहरूमा अवसर खोज्ने क्रममा भरतमणिको दीपक आचार्य ‘काकु’सँग भेट भयो । जो त्यसबेला ‘मेरी बास्सै’को निर्देशन टिममा थिए । 

दीपककै कारण ‘मेरी बास्सै’मा भरतमणिले तीन भागमा समेत अभिनय गरे । 

काठमाडौं आएर भरतमणिले रेडियो तमोरका लागि कलाकारहरूको अन्तर्वार्तासमेत लिए । सोही क्रममा उनको हरिस निरौला ‘कक्रोच’सँग चिनजान भयो । 

भरतमणि भन्छन्, ‘हरिस दाइसँग मेरो सम्बन्ध निकट बन्यो । उहाँ मेरो लागि कलाकारभन्दा बढी दाइका रूपमा निकट हुनुभयो ।’

जसबेला हरिस सिरियल ‘भद्रगोल’बाट हिट कलाकार बनेका थिए । 

अब भने भरतमणि हरिससँग कचकच गर्न थाले, ‘दाइ मलाई पनि भद्रगोलमा स्थान मिलाइदिनु ।’

हरिसको जवाफ हुन्थ्यो, ‘म त्यहाँ लेखन र कलाकारको जिम्मेवारीमा छु । तिमीले सोचे जस्तो हर्ताकर्ता होइन । कलाकार चयन मेरो जिम्मेवारी होइन । मैले सक्ने स्थानमा तिम्रो नाम सिफारिस गर्छु ।’

अब उनी भद्रागोलको छायाङ्कनस्थल धाउन थाले । सोही क्रममा उनले कोरस कलाकारको भूमिका पाउन थाले । 

बिस्तारै उनी भद्रगोलको ‘मेजर कोरस आर्टिस्ट’सम्म बने ।

यही उनको सुमन कोइराला अहिलेका ‘दले दाइ’सँग भेट भएको हो । जसलाई भरतमणि कलाकारिता यात्राको मिल्ने सहकर्मी र प्रिय भाइ मान्छन् । 

मनोज गजुरेलसँग भने भरतमणिले काठमाडौं आएपछि सहकार्य गर्न पाए । मनोज रेडियो नेपालमा बज्ने ‘धर्ती आकाश’ नाम नाट्य कार्यक्रम चलाउँथे । 

उक्त कार्यक्रम भरतमणि का गर्ने स्टुडियोमा रेकर्ड हुन्थ्यो । बेला मौकामा नाति पात्रको भूमिकामा भरतमणिले निर्वाह गर्न पाउँथे । 

भरतमणि भन्छन्, ‘मनोज दाइले सक्ने र मिल्नेसम्म अवसर दिनुहुन्थ्यो । उक्त कार्यक्रम मैले नै सम्पादन गर्थे । यही कारण मनोज दाइसँग मेरो भेट भएको हो ।’

कमेडी च्याम्पियन जान नपाएको क्षण 

०७५ सालसम्म आइपुग्दा भरतमणि काठमाडौं आएको आधा दशक बितेको थियो । आर्थिक प्रगति थिएन । कलाकारका रूपमा चर्चा कमाउने सपना सिङ्गै बाँकी थियो । 

उमेरले ‘अब कमाउनुपर्छ’ भन्ने दबाब दिन थालेको थियो । सँगै इन्टरनेटको पहुँचले रेडियोको क्रेज घट्दै थियो । रेडियोबाट पनि तलब नियमित हुन छाडेको थियो । 

अब गर्ने के त ? 

भरतमणि युट्युबमा कन्टेन्ट बनाउन लागे । साथीसँग मिलेर नयाँ प्रतिभा र नयाँ स्थान पुगेको भिडियो बनाउन थाले । 

यसबेला युट्युब र स्टेज कार्यक्रमको कमाइले नै काठमाडौंमा टिक्नुपर्ने अवस्था उनको थियो । 

यही बेला ‘कमेडी च्याम्पियन’को अडिसन खुल्यो । मनोज गजुरेलले नै फोन गरेर भरतमणिलाई कार्यक्रमबारे थाहा दिए । 

भरतमणिले डिजिटल अडिसन दिए । ‘प्यारो साथी’ सुमन कोइरालालाई नै पनि अडिसन दिन लगाए । 

भरतमणि डिजिटल अडिसनमा सेलेक्ट भए । तर, आफ्नै कारण फिजिकल अडिसनमा जान पाएनन् ।

कारण– उनी युट्युब भिडियो खिच्न ललितपुरको गाउँमा थिए । 

उनी भन्छन्, ‘म त्यसबेला रेडियोको कोठा छोडेर अन्तै बस्न लागेको थिएँ । युट्युबको कमाइबाटै कोठा भाडा तिर्नुपर्थ्यो । भर्खरै युट्युबबाट कमाइ हुन थालेको थियो । यो काम छोडेर म च्याम्पियनमा जान सकिनँ । आर्थिक अवस्था बाधा भयो ।’

काठमाडौंको आर्थिक समस्याले पहिलो पटक आफू निकै उत्साहित भएको स्थानमा जान नपाउँदाको क्षण उनले जीवनमा सायदै भुल्छन् । 

भन्छन्, ‘जान नपाउँदा यति मन दुख्यो । मनमा अमिलो भयो । साथी सुमन कोइराला जाने भयो । आफू जान पाइनँ । साह्रै नरमाइलो लाग्यो ।’

अनि बने च्याम्पियन

एउटा भनाइ छ, ‘जे हुन्छ राम्रैका लागि हुन्छ ।’ भरतमणिको जीवनमा दुई कुरा यो भनाइमा लागु हुन्छ । 

पहिलो : उनी पहिलो सिजनमा ‘कमेडी च्याम्पियन’मा प्रतिस्पर्धा गर्न पाएनन् । यो उनका लागि राम्रै भयो । 

पहिलो सिजनमा प्रतिस्पर्धा गरेका सुमन कोइरालाले प्रतियोगिताको अनुभव सुनाए । र जानेको  सिकाए । 

भरतमणि भन्छन्, ‘सुमनले प्रतियोगितामा गएर कमेडी लेखनको अनुभव लिएको थियो । उसले मलाई जोक कसरी लेख्ने र कमेडीको सूत्र सिकायो । ऊबाट मैले कमेडीको धेरै कुरा सिकेँ । उसले सिकाउनुअघि मैले कमेडी बुझेकै रहेनछु ।’

सोही कारण उनी सुमन कोइरालालाई गुरु, आत्मीय साथी र प्यारो भाइ मान्छन् । 

दोस्रो : पारस शाहको क्यारिकेचर भरतमणिले मनोज गजुरेलको ‘सिस्नुपानी गाइजात्रा’मा गरेका थिए । जुन प्रसारण गर्न मनोज तयार भएनन् । 

किन प्रशारण भएन ? भरतमणिलाई अझै थाहा छैन । तर, च्याम्पियनमा यही क्यारिकेचरले भरतमणिलाई नयाँ उचाइ दियो । दर्शकमाझ चर्चित बनायो । 

पहिलो सिजनमा प्रतिस्पर्धा नगर्दा दोस्रोका लागि उनले बलियो कन्टेन्ट लेख्ने ज्ञान सुमनबाट पाए ।

गाइजात्रामा पारसको क्यारिकेचर प्रशारण नहुँदा उनले च्याम्पिनयमा प्रयोग गर्न पाए । उनलाई च्याम्पिनय बनाउन यी दुवै संयोगको ठूलो भूमिका छ ।

प्रतिस्पर्धामा घरबेटीको शीर्षकको प्रस्तुतिले उनले दर्शकको मन जितेका थिए । पारसको क्यारिकेचरले उनलाई च्याम्पियन बन्नलाई ठूलो मद्दत गर्‍यो । 

भरतमणिभन्छन्, ‘म च्याम्पियन गर् कि मर् भन्ने सोचाइले गएको हो । यो कार्यक्रमम असफल भएँ भने मेरो जीवन खाडीमा बित्छ । कलाकारिता गर्नु छ भने मैले यहाँ केही गर्नुपर्छ भन्ने इख लिएर गएको थिएँ । कमेडी बुझेको सुमन कोइराला साथी पाएको थिएँ । बलियो कन्टेन्ट लिएर प्रतिस्पर्धामा जान उसको गाइड पाएँ ।’

भरतमणिले च्याम्पियनमा प्रतिस्पर्धा मात्रै गरेनन् । स्थापित कलाकारको प्रोफाइल बनाएर च्याम्पियनको प्रतिस्पर्धाको नजिता आफ्नो हात पारेर निस्किए । 

चार वर्ष कता ? 

भरतमणि कमेडी च्याम्पियन बनेको सन् २०२१ मा हो ।  सन् २०२५ बाट उनी बल्ल टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन’मा कलाकारका रूपमा देखिन थालेका छन् । 

च्याम्पियन बनेको ४ वर्ष न उनी सामाजिक सञ्जालमा सक्रिय भए न सहकर्मीहरु जसरी टीभीमा देखिए । 

भरतमणिआफैँ भन्छन्, ‘मैले यो चार वर्षमा नेपालमा दुई दर्जन स्टेज शो पनि गरेको छैन ।’

सोही कारण भरतमणिलाई गुमनाम भएको आरोप पनि लाग्ने गरेको छ । 

तर, भरतमणि यो बीचमा खाली भने बसेका छैनन् । यो बीचमा युरोप, अमेरिकासहित २६ देशका कार्यक्रममा व्यस्त भएको उनी बताउँछन् । 

दुबइ र हङकङ भने उनी दोहोर्‍याएर पुगे । 

भरतमणि भन्छन्, ‘च्याम्पियन बनेपछि विदेशका धेरै कार्यक्रममा सम्झौता भयो । अनि मैले नेपालमा रहने दर्शकका लागि समय नै दिन पाइनँ ।’

‘भरत हरायो’ भन्ने दर्शककै गुनासोका कारण अब भने टेलिभिजन कार्यक्रममा आएको उनी बताउँछन् । 

अहिले भरतमणिले नाम पाएका छन् । दाम कमाएका छन् । स्वदेशका दर्शक भेट्न टेलिभिजनमा आउन थालेका छन् । विदेशका कार्यक्रम उनले पाइपलाइनमा राखेका छन् । 

अर्थात्, भरतमणि आफूलाई नयाँ पुस्ताको स्थापित हाँस्यकलाकारका रूपमा उभ्याउन सफल छन् ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ३ : ५९ बजे

सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकीको अध्यक्षमा राजबहादुर गुरुङ

पोखरा– सूचनाको हकका लागि राष्ट्रिय महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा

ट्रम्पले हेगमा भने, ‘इरानमाथिको हमला हिरोशिमा र नागासाकीको जस्तै थियो

हेग- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकी आक्रमणको तुलना दोस्रो

एमाले नेता थापा भन्छन् : पार्टीमा समस्या छैन, जनताको विश्वास बढ्दै गएको छ

धनगढी– नेकपा एमालेका केन्द्रीय सदस्य तथा संगठन विभाग सदस्य लालबहादुर थापाले

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान