जुम्लाका आठ वटै स्थानीय तहले ल्याए बजेट « Khabarhub

जुम्लाका आठ वटै स्थानीय तहले ल्याए बजेट


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– यहाँका आठ वटै स्थानीय तहले आर्थिक वर्ष २०८२-८३ का लागि बजेट ल्याएका छन् । ती सबै स्थानीय तहले रैथाने बाली संरक्षणदेखि शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, खानेपानी र बेरोजगार युवालाई रोजगारलगायतका कार्यक्रम बजेटमा समेटेका छन् । 

जिल्लाको तिला गाउँपालिकाले आगामी आवका लागि रु ५१ करोड ३९ लाख ७९ हजार बराबरको आय–व्यय अनुमानसहितको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष एवं कार्यक्रम तथा बजेट तर्जुमा समितिका संयोजक गोरीकला बुढाका अनुसार स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याइएको छ ।  सुलभ स्वास्थ्य सेवा विस्तार गर्न १० शय्याको अस्पताल निर्माणलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा समावेश गरिएको उपाध्यक्ष बुढाले जानकारी दिइन् । 

यस्तै सिञ्जा गाउँपालिकाले रु ४७ करोड २३ लाखको बजेट प्रस्तुत गरेको छ । बजेट बेहोर्ने स्रोतका रूपमा आन्तरिक राजस्व, अन्तरसरकारी राजस्व बाँडफाँट तथा सङ्घ र प्रदेशबाट प्राप्त अनुदानलाई आधार बनाएर बजेट सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिइन् । तातोपानी गाउँपालिकाले रु ५१ करोड ५९ लाखको बजेट ल्याएको छ । 

त्यसैगरी गुठीचौर गाउँपालिकाले रु ३४ करोड ७९ लाखको बजेट प्रस्तुत गरेको छ भने कनकासुन्दरी गाउँपालिकाले रु ४९ करोड ७१ लाख ७३ हजार र पातारासी गाउँपालिकाले रु ४३ करोड ५८ लाख बजेट ल्याएको छ ।

विशेषगरी भौतिक पूर्वाधार निमार्णमा प्राथामिकता दिएर बजेट विनियोजन गरिएको पातारासी गाउँपालिकाले जनाएको छ । जिल्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाले रु ६१ करोड ३२ लाख बजेट प्रस्तुत गरेको नगर उपप्रमुख रामदेवी खड्काले जानकारी दिइन् । नीति तथा कार्यक्रममा व्यवस्थित सहरीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, फोहरमैला व्यवस्थापन र खानेपानी प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।

यस्तै गुठीचौर, पातारासी, कनकासुन्दरी र तातोपानी गाउँपालिकाले पनि कृषि, सञ्चार तथा स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । कम्तीमा एकपटक पालिकास्तरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । 

विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविर र ज्येष्ठ नागरिक, बालबालिका तथा गर्भवतीको नियमित स्वास्थ्य परीक्षणको प्रभावकारी व्यवस्था मिलाइने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिइन् । पालिकाले स्वास्थ्यसँगै शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ ।  

सीपमूलक र व्यावहारिक शिक्षासहित सुविधा सम्पन्न इसिइडी कक्षा व्यवस्थापन, जीवनोपयोगी शिक्षा, एक वडा एक खेलकुद मैदान निर्माण, विद्यालयको सुन्दरता र हराभरा विद्यार्थीको सक्रिय सहभागितालगायत कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको सिञ्जा गाउँपालिकाका अध्यक्ष धितालको भनाइ छ । गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि प्राथमिकताका साथ योजना ल्याएको छ । 

सेवा प्रवाह जनताको घरदैलोमा पु¥याउन एकीकृत घुम्ती सेवामार्फत सेवा प्रवाह गर्ने र करको दर घटाउँदै करको दायरा विस्तार गर्ने योजना तिला गाउँपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । तिलाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाले गौरवका योजना र ऐतिहासिक सम्पदामा जोड समेत दिएको छ । 

आफ्नो गौरवका योजनाअन्तर्गत ऐतिहासिक सम्पदा पुनःनिर्माण, पर्यटकीय पदमार्ग निर्माण, पहिरो नियन्त्रण, सौन्दर्यकरण, खुला क्षेत्रको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद र रोजगार अभिवृद्धिमा प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमार्फत दिगो विकास, सामाजिक समावेशीकरण, आर्थिक समृद्धि र प्रशासकीय सुशासनमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । 

आर्थिक स्रोत परिचालनमा नगरको सञ्चिति कोष, आन्तरिक राजस्व र अनुदानलाई अधिकतम उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । आन्तरिक आय र बाह्य स्रोत परिचालन गरी आगामी वर्ष पालिकाको सेवा प्रवाह, पूर्वाधार निर्माण, सामाजिक सुरक्षालगायत क्षेत्रलाई प्रभावकारी बनाइने नीति तथा कार्यक्रम ल्याएको तिलाका प्रमुख प्रशासकीय अधिकृत जानकी हितानले बताइन्।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ५ : ०६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर