काठमाडौं- काभ्रेपलाञ्चोकको साँगास्थित पतञ्जलि योग पीठको जग्गा बिक्री प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बुधबार विशेष अदालतमा उपस्थित भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा नेपालले बयान दिएपछि अहिले थुनछेक बहस चलिरहेको छ ।
बहसका क्रममा वकिलहरूले आ-आफ्ना राय राख्ने क्रम जारी छ । नेपालको तर्फबाट करिब १२० जना वकिलहरूले बहसका लागि नाम टिपाएका थिए ।
यता अख्तियारको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले पूर्वप्रधानमन्त्री नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग इजलासमा गरेका छन् ।
विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र बिदुर कोइरालाको संयुक्त इजलासमा अध्यक्ष नेपालको बयान सकिएपछि थुनछेक बहस भएको हो । नेपालको बयान सकिएपछि बचाउ र थुनामा पठाउनुपर्ने दुवै कोणबाट बहस जारी छ ।
थुनछेक बहसका क्रममा सुरूमा वरिष्ठ अधिवक्ता पन्तले अख्तियारको तर्फबाट आफ्नो भनाइ राखेका थिए । पन्तले हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न दिएको स्वीकृतिलाई नीतिगत निर्णय मान्न नसकिने जिकिरसहित नेपाललाई थुनामा पठाउनुपर्ने माग गरे ।
उनले पतञ्जलि योग पीठ जग्गा प्रकरण नीतिगत निर्णय नभएर व्यक्तिगत र स्वार्थप्रेरित भनेका छन् । ‘त्यो काम प्रधानमन्त्रीको ठाडो आदेशबाट भएको हो’, उनले बहसका क्रममा भने, ‘राज्यलाई ठूलो हानी गराउने गरि संगीन अपराध गरेकाले उहाँ (माधव नेपाल) लाई थुनामा राखेर मुद्दा अगाडि बढाउनु उचित हुन्छ ।’
नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोपाकृष्ण घिमिरे, गोविन्द बन्दी र खम्मबहादुर खातीलगायतले बहस गर्दै छन् ।
अख्तियार पतञ्जलिको जग्गा बिक्री प्रकरणमा गत जेठ २२ गते पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
अख्तियारले नेता नेपालबाट १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको थियो । त्यसपछि उनी प्रतिनिधिसभाको सदस्यबाट निलम्बित अवस्थामा छन् ।
०६६ सालमा नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलिका नाममा हदबन्दीभन्दा बढी जग्गा साटफेर गर्न दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको थियो ।
हदबन्दीभन्दा बढी जग्गा खरिद-बिक्री गर्न दिई सरकारी-सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले उनीहरूविरूद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो ।
प्रतिक्रिया