पिउनुअघि नै गरौँ पानीबारे ख्याल ! | Khabarhub Khabarhub

स्वास्थ्य

पिउनुअघि नै गरौँ पानीबारे ख्याल !

नेपालमा शुद्ध पानी पिउने जनसङ्ख्या एक चौथाइ मात्र


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मानव लगायत हरेक जीवजन्तु र वनस्पतिलाई बाँच्नका लागि पानी चाहिन्छ । पानी जीवनका निम्ति अत्यावश्यक तरल पदार्थ हो ।

तर, पानीकै माध्यमबाट फैलने सङ्क्रामक रोग जीवनघातक हुने गरेको छ । विकसितदेखि अतिकम विकसित मुलुकसम्म वर्षेनी दूषित पानी सेवनबाट जनधनको क्षति भइरहेको छ ।

त्यसो त अधिकतर मानवीय क्रियाकलापकै कारण पानीमा हानीकारक सुक्ष्मजीव प्रदूषक प्रसार हुने गर्छ । पछिल्लो शताब्दीमा पानीबाट फैलने रोग अर्थात पानीजन्य रोग जनस्वास्थ्य निम्ति विश्वभर नै चुनौती बनिसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा प्रदूषित पानीकै कारण प्रतिदिन चार हजार मानिसको मृत्यु हुने गरेको छ ।

अहिले विश्वभर ७० करोड मानिस सफा पानीको पहुँचभन्दा बाहिर छन् । साढे दुई अर्ब जनसङ्ख्या आधारभूत सरसफाइ सुविधाबाट वञ्चित रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्क छ ।

सङ्गठनका अनुसार; आधारभूत सरसफाइ अभावमा प्रत्येक साता ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्यसुरक्षा अभावमा ज्यान गुमाउनेमध्ये ९० प्रतिशत त पाँच वर्ष मुनिका बालबालिका नै हुन् ।

नेपालमा पानीजन्य रोग सङ्क्रमणबारे यकिन तथ्याङ्क नभए पनि धेरैजसो सङ्क्रामक रोगहरू दूषित पानीकै कारण फैलिने गरेको जनस्वास्थ्यका जानकारहरूले बताउने गरेका छन् ।

के हो पानीजन्य रोग ?

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार; झाडापखाला, हैजा, टाइफाइड, कमलपित्त र हेपाटाइटिस लगायत सङ्क्रामक रोगहरू दूषित पानीबाटै मानिसमा सर्ने गर्छ । पानीका माध्यमबाट संक्रमण हुने अन्य धेरै रोगबारे नेपालमा विस्तृत अध्ययन नभएको उनले बताए ।

पानीजन्य रोगहरूको सङ्क्रमण विशेषगरी वर्षायाममा बढी हुने गरेको छ । वर्षायाममा चल्ने बाढी र पहिरोका कारण पानी दूषित भइ विभिन्न रोगव्याधी र महामारी फैलिने सम्भावना हुने हुँदा समयमै आवश्यक सतकर्ता अपनाउन डा. पुन सुझाव दिन्छन् ।

पुनका अनुसार; विगतका वर्षहरू जस्तै यस वर्ष पनि झाडापखाला लगायत पानीजन्य सङ्क्रामक रोगका बिरामीहरू अस्पतालमा आउने क्रम सुरु भइसकेको छ । यसलाई महामारीको रूपमा फैलिन नदिन सबैले सजगता अपनाउनुपर्ने उनले बताए ।

दिनमा तीनपटक वा सोभन्दा धेरै पटक पातलो दिसा भएको अवस्थालाई झाडापखाला भएको मानिन्छ । झाडापखालाबाट शरीरमा भएको पानी, खनिजतत्व वा पोषकतत्व खेर जान्छ । समयमै उपचार नभए त्यस्ता बिरामीको मृत्यु पनि हुनसक्ने जोखिम रहन्छ ।

पखाला लाग्ने, बान्ता हुने, अत्यधिक मात्रामा पेट दुख्नेजस्ता लक्षणहरू देखिए तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गई उपचार गराउन डा. पुनको सुझाव छ ।

झाडापखाला लागेका बेला शरीरमा पानीको मात्रामा कम हुन नदिन पुनर्जलीय झोल, भातको माड र गेडागुडीको झोल लगायत पदार्थ खानुपर्छ ।

जारको पानी पनि उमालेर पिउने, खाना खानुअघि साबुन पानीले हात धुने लगायतका कुरामा ध्यान दिँदा मात्रै पनि पानीजन्य रोगहरूबाट जोगिइन सकिने डा. पुन बताउँछन् ।

नेपालको २५ प्रतिशत जनसङ्ख्या मात्रै स्वच्छ पानीको पहुँचमा

खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार नेपालको २५ प्रतिशत जनसङ्ख्या मात्रै शुद्ध पानीको पहुँचमा छ ।

खानेपानी प्रणालीहरू विकास गरी क्लोरिनेशन गरेर घरघरमा पानी वितरण गरिएको पानीको उपभोग २५ प्रतिशत जनसङ्ख्याले मात्रै गर्न पाएको मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर योगेन्द्र चित्रकारले बताए ।

उनका अनुसार अहिले देशभर ९५ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानी मात्रको पहुँचमा छ । आधारभूत खानेपानी भनेको खानेपानी संरचना भएको र नभएको भन्ने पनि हुन्छ ।

पहाडी इलाकामा मूल अथवा खोलाको पानी पाइपलाइनमार्फत घरघरमा पु¥याइएको पानीलाई व्यवस्थित खानेपानी भनिन्छ । तराइ क्षेत्रमा घर नजिकै ट्युबबेल खनेर आफूलाई चाहिने खानेपानी जोहो गरेको अवस्थालाई आधारभूत खानेपानी पहुँचभित्र राखिएको छ ।

त्यस्तो पहुँचको अवस्था ९५ प्रतिशत रहेको चित्रकारले बताए । तर, विभिन्न विकास साझेदार संस्थाहरूले भने पूर्ण रूपमा सञ्चालनमा आइनसकेका योजनाहरूलाई पनि यसमा समेटिएको पाइएकाले १८ देखि २० प्रतिशत जनसङ्ख्या मात्रै शुद्ध पानीको पहुँचमा रहेको दाबी गरेका उनले बताए ।

पानी शुद्धीकरण गर्ने तरिका

इञ्जिनियर चित्रकारका अनुसार पानी शुद्धीकरण गर्न नेपालमा अहिले चारवटा प्रविधि छ । जसमध्ये सबैभन्दा सजिलो र सबैको पहुँचमा हुने विधि पानी उमालेर प्रयोग गर्नु नै भएको उनको भनाइ छ ।

त्यस्तै; पानी फिल्टर गरेर खाने अर्को विधि रहेको छ । तेस्रो विधि भनेको सोलर डिसइन्फेक्शन (सोडिस) हो, जुन विधिमा पानीको बोटल दुईदेखि तीन घण्टा घाममा राखेर पानी शुद्धीकरण गर्न सकिन्छ ।

चौथो विधि पानीमा पेचिङ पाउडर अथवा क्लोरिनको झोल राखेर त्यसलाई आधा घण्टा पछि उपयोग गर्ने हो ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ११ : ४२ बजे

थारू समुदायको मौलिक पहिचान छतरी हराउँदै

कञ्चनपुर– कञ्चनपुरका थारू समुदायका मौलिक पहिचान बोकेका छतरी (छाता) हराउँदै

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

झापा– झापाको दमक–४ चियाबगानमा भएको सवारी दुर्घटनामा एक साइकलयात्रीको मृत्यु

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

काठमाडौं– विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश

अझै पाएनन् किसानले दूधको भुक्तानी  

कञ्चनपुर– दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको दूधको पैसा भुक्तानी

कम्बोडियाबाट थाइल्यान्डमा युद्ध विरामको प्रस्ताव

काठमाडौं – सीमामा थाइल्यान्डसँग भएको दुई दिनको झडपपछि कम्बोडियाले युद्ध