कोशी करिडाेरबाट २६ हजार केजी गाँजा बरामद, प्रहरीको काम- उर्वर क्षेत्रमा लुक्ने, ट्रान्जिटमा ढुक्ने | Khabarhub Khabarhub

कोशी करिडाेरबाट २६ हजार केजी गाँजा बरामद, प्रहरीको काम- उर्वर क्षेत्रमा लुक्ने, ट्रान्जिटमा ढुक्ने



सुनसरी– साउन ७ गते बिहीबार उदयपुरको कटारी नगरपालिका–८ बस्ने ४५ वर्षीया देवकुमारी थापा मगरको घरबाट ३० किलो तीन सय ६० ग्राम गाँजा प्रहरीले बरामद गर्‍यो । बरामद गाँजासहित देवकुमारीलाई पनि नियन्त्रणमा लिइयो । प्रतिबन्धित लागूपदार्थ ओसारपसार गरेको आरोपमा उनलाई प्रहरीले अनुसन्धानको दायरामा राखेको छ ।

गाँजा बरामद गरेको समाचार पछिल्लो केही महिना यता प्रहरी र सर्वसाधारणका लागि सामान्य भएको छ । पूर्वका विभिन्न जिल्लामा कतै ५० केजी, कतै २ सय केजी त कतै ९ सय केजीसम्म गाँजा बरामद भएका छन्, ।

तस्करहरूले गाँजा ओसार-पसारका लागि एम्बुलेन्स, फलफूल तरकारी बोक्ने गाडी, भारतीय नम्बर प्लेटका सवारी साधन सबैभन्दा बढी दुरुपयोग गरेका छन् ।

नेपालदेखि भारतीय बजारमा तस्करी हुने गाँजाका लागि भारतीय गिरोहसँग सम्पर्कमा ढिलाइ भए तस्करहरूले कतै खोलाको बगरमा त कतै बाँस झ्याङमा लुकाएको अवस्थामा पनि प्रहरीले बरामद गरेको छ । सुन्दै आश्चार्यचकित बनाउने गरी पूर्वी नेपालको धनकुटाको दक्षिणी भेगमा गाँजा उत्पादन भइरहेको प्रहरीको आशङ्का छ ।

साउन १ गते मध्यान्ह प्रहरीले सुनसरीको रामधुनी नगरपालिका–७ क्वाटर डाँडास्थित बाँसको झ्याङभित्र कालो प्लास्टिकले बेरेर लुकाएर राखेको अवस्थामा तीन सय केजी गाँजा प्रहरीले बरामद गर्‍यो । ती प्लास्टिकका पोका १० वटा थिए । तर कसले वा कुन गिरोहले लुकाएर राखेको हो, प्रहरीले भेउ पाउन सकेको छैन ।

प्रहरीको अनुमान छ- भारतीय ग्राहक पर्खिनका लागि केही दिनका लागि त्यहाँ नेपालका गाँजा तस्करले लुकाएर राखेका हुनसक्छन् ।

गत असार २ गते सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्ग भएर भेडेटारबाट धरानतर्फ आउँदै गरेको अदुवा र बन्दाकोपी बोकेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रक चेकजाँच गर्दा अदुवा र बन्दाकोपीभन्दा बढी गाँजा बरामद हुँदा प्रहरी पनि तीनछक्क पर्‍यो ।

शिवधाराबाट प्रहरीले बरामद गरेको फलफूल तरकारी बोक्ने ट्रक चेकजाँच गर्दा माथिमाथि अदुवा र बन्दाकोपीको बोरा, भित्रभित्र ७० वटा प्लास्टिकको बोरामा प्याकिङ गरी राखेको २ हजार १ सय ३० किलोग्राम गाँजा बरामद गरेको थियो । धरानको शिवधारामा ठूलो मात्रामा गाँजा बरामद गरेको भोलिपल्ट असार ३ गते इटहरी उपमहानगरपालिका–२० तरहरा जङ्गल (कोशी लोकमार्ग) बाट २ हजार १ सय किलोग्राम गाँजा बरामद गर्‍यो ।

प्रहरीले ना. ५ ख ६११६ नम्बरको ट्रकमा ७० वटा प्लास्टिकको बोरामा प्याक गरी माथिबाट बन्दाकोपी र आलुको बोराले छोपी धरानबाट ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरेको थियो । प्रहरीले ट्रक चालक धनकुटा शहीदभूमि गाउँपालिका–६ का राजेन्द्र राईसहित सोही स्थानका सुनिल राई र वराहक्षेत्र–९ का सुमन राईलाई नियन्त्रणमा लियो ।

कोशी राजमार्गको बाटो पच्छ्याउँदा प्रहरीसँग सिधै जम्काभेट हुने भएकाले शाखा राजमार्ग भएर गाँजा तस्करी हुने गरेको तथ्य खुलेको छ । यसरी चोरबाटो प्रयोग गर्दा सुरक्षित हुन सकिने अनुमान गर्दै भारतीय तस्करहरूले असार २१ गते रातको २ बजे वराहक्षेत्र नगरपालिकाको नडाहा हुँदै मुख्य हाइवे निस्केर फेरि दक्षिणको बाटो निस्कन खोजेका थिए ।

‘चोरको ९९ दाउ, पुलिसको सय दाउ’ भनेजस्तै वराहक्षेत्र–३ स्थित नडहाबाटै प्रहरीले एमएच ०२ बीपी ९७४२ लेखिएको भारतीय नम्बर प्लेटको कार राति नै रोकेर चेकजाँच गर्दा १ सय ६२ किलोग्राम गाँजा बरामद गर्‍यो । तर चालक र कारमा बसेका तस्करहरू भने प्रहरीकै अगाडिबाट फरार कसरी भए कसैले भेउ पाउन सकेन ।

नडाहाको जङ्गल भएर जाने बाटोमा भारतीय नम्बर प्लेटको गाडीमा गाँजा बरामद गर्नु भन्दा एक साताअघि मात्र वराहक्षेत्र–५ स्थित भरौल प्रहरीको टोलीले चेकजाँचको क्रममा प्रदेश १–०२–००१ ज ४६३७ नम्बरको कारबाट कालो प्लास्टिकको पोकामा राखिएको १ सय २० किलोग्राम गाँजासहित कार चालक मोरङ विराटनगरका– ४ का २६ वर्षीय धिरज गोसाई र सोही कारमा सवार मोरङको जहदा गाउँपालिका–७ बस्ने २२ वर्षीय विकास यादवलाई नियन्त्रणमा लिएको थियो ।

गाँजा तस्करहरूले कतिपय अवस्थामा प्रहरीसँगको सेटिङमा नेपालको सीमा कटाएर भारतीय बजारमा पुर्‍याउने गरेका छन् ।तर कहिलेकाहीँ तस्करको सेटिङ फेल हुने गरेको छ । यस्तै सेटिङ फेल भएको दृष्टान्त हो गत वैशाख १५ गते रातिको गाँजा तस्करी घटना ।

धनकुटाको चौबिसे गाउँपालिका–५ बाट ना.५ ख ६१५७ नम्बरको ट्रकमा ९ सय ४६ किलोग्राम गाँजा (३८ बोरा) लोड गरेर राति नै भेडेटार–धरानको जिरोपोइन्ट हुँदै तीनकुने चेकपोस्ट कटाएको थियो । चोरबाटो हुँदै भारतीय बजारमा पुर्‍याउने तस्करको सेटिङलाई इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी बिट मौनाबुधुकको प्रहरी टोलीले बरामद गरेको थियो ।

प्रहरीले उक्त घटनामा तस्करको लाखौं कमाउने योजना तुहाइदिएका थिए । गाँजा बरामद भएसँगै ट्रक र ओसार पसारमा संलग्न रहेका चौविसे गाउँपालिका–५ का मनोज लिम्बू पक्राउ परे । नेपाल प्रहरीको जनशक्तिलाई पछिल्लो समय गाँजा तस्कर पक्राउ गर्न र गाँजा बरामद गर्नमा मात्र बढी प्रयोग भइरहेको यी माथिका घटनाले देखाउँछ । तर गाँजा खेती हुने स्थलमै प्रहरी प्रशासन पुग्न सकेको छैन ।

प्रहरी भन्छ – चार जिल्लाबाट २६ हजार ७०५ केजी गाँजा बरामद

प्रहरीले कोशी प्रदेशका सुनसरी, मोरङ, धनकुटा, उदयपुरमा गाँजाको ओसार–पसार उच्च रहेको जानकारी दिएको छ ।

आर्थिक वर्ष २०८१–८२ मा सुनसरी, मोरङ, धनकुटा, उदयपुरबाट बरामद गरिएको गाँजाको परिमाण २६ हजार ७ सय ५ किलोग्राम भन्दा बढी रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

ढुवानी लागतमात्र तस्करहरूले प्रतिकेजी १ हजार रुपैयाँभन्दा बढी दिने गरेको बताइन्छ । तस्करहरूले कोशी प्रदेशबाट भारततर्फ गाँजा तस्कर गर्न ढुवानी खर्च मात्र दुई करोड ६७ लाख रुपैयाँ लगानी गरेको देखिन्छ । २६ हजार ७ सय ५ किलोग्राम गाँजाको मूल्य अर्बौं पुग्छ ।

नेपाल सरकारकै केही व्युरोक्र्याट्स र गाँजा अभियन्ताले गाँजालाई आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने भन्दै व्यावसायिक खेती गर्न खुला गर्नुपर्ने बताउँदै आएका छन् । तर पछिल्ला वैज्ञानिक अनुसन्धान र अनुसन्धाताले गाँजा कुनै पनि हालतमा मानव शरीरका लागि उपयोगी नहुने बताउँदै आएका छन् ।

ती अनुसन्धानले गाँजाले लत बसाए मानसिक, शारीरिक र बौद्धिकरुपमा कमजोर बनाउने र दुर्व्यसनको तहमा पुर्‍याउने देखाएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दुई दिनअघि सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रहरीले ४ जिल्लाबाट कुल २६ हजार ७ सय ५ किलोग्राम भन्दा बढी गाँजा बरामद गर्दा गाँजा ओसार–पसार र बेचबिखनमा संलग्न १ सय ६५ जना पुरुष र २४ जना महिलालाई पक्राउ गरिएको पनि जनाएको छ ।

ओसारपसारमा प्रयोग भएका ३१ वटा चारपाङ्ग्रे सवारी र ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा नियन्त्रण अभियानअन्तर्गत १७ लाख ७२ हजारभन्दा बढी गाँजाका बोट नष्ट गरेको दाबी पनि गरेको छ । प्रहरीकाअनुसार चार जिल्लामध्ये सबैभन्दा बढी सुनसरीबाट बरामद गाँजाको परिमाण बढी देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले १२ हजार ३ सय ७५ केजी ९ सय २९ ग्राम गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी मोरङले ६ हजार ६ सय ५० केजी ४ सयग्राम, जिल्ला प्रहरी कार्यालय धनकुटाले ४ हजार १ सय ९४ केजी ३ सयग्राम, जिल्ला प्रहरी उदयपुरले १ हजार ८ सय १० केजी ४ सय ८४ ग्राम, जिल्ला प्रहरी झापाले १ हजार ६ सय ५१ केजी २ सय ८२ ग्राम बरामद गरेको तथ्य छ ।

प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियानअन्तर्गत कोशी प्रदेशको कुल २ हजार ४ सय ६४ रोपनी क्षेत्रफलमा लगाएको १७ लाख ७२ हजारभन्दा बढी गाँजाका बोट तथा बेर्ना नष्ट गरेको दाबी गरेको छ ।

धनकुटा प्रहरीले गाँजा रोप्न तयार बिरुवा १२ लाख ५९ हजार, भोजपुरले २८ लाख ४६ हजार, उदयपुरले १६ लाख ८ हजार ५ सय, सोलुले २९ हजार ७ सय, खोटाङले २६ हजार २ सय बोट तथा बेर्ना नष्ट गरेको गरेको जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशमा लागूऔषध गाँजाको प्रयोग, बेचबिखन, ओसार–पसार नियन्त्रण, त्यसमा संलग्न व्यक्तिलाई कडाइका साथ कानुनी दायरामा ल्याउन गरिएको एक्सनबाट उक्त तथ्य देखिएको जानकारी दिएको छ ।

प्रहरीले चेकजाँचमा कडाइ गरेकै कारण बिरामी बोक्ने एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट लगाएको सवारी साधन, तरकारी बोक्ने गाडी, मोटरसाइकललगायत साना-ठूला सवारी साधनमा लुकाएर, कोशी नदीमा चेफामा बगाएर साथै जमिनमुनि गाडेर लुकाई गरिने गाँजाको कारोबार नियन्त्रण गर्न सफल भएको प्रदेश प्रहरीको दाबी छ ।

प्रहरीले सार्वजनिक गरेको दाबीअनुसार यो वर्षमा मात्र १७ लाख ७२ हजार बोट र करिब ५९ लाख बिरुवा नष्ट गरिएको छ । यो दाबी गरिरहँदा कोशी करिडोरका पहाडी जिल्लाका दक्षिण भेगका गाउँबाट दिनदिनै सयौं किलो तयारी गाँजा कसरी उत्पादन भए ?

सबै पालिकामा कतै प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालय छन् त कतै प्रहरी सहायक निरीक्षक र हवल्दारको नेतृत्वमा प्रहरी चौकी छन् । अस्थायी प्रहरी चौकी पनि छन् । ती प्रहरीले आफ्नै आसपास गाँजाको खेती र तयारी गाँजा उत्पादन भइरहेको थाहा नपाउनु तर त्यही उत्पादन भएका तयारी गाँजालाई तस्करले अर्को पालिका हुँदै चतरा, धरान, इटहरी, गाईघाट, विराटनगर, इनरुवा, विर्तामोड, दमक, काकडभिट्टा पुर्‍याउँदा ठूलो परिमाणमा बरामद हुनुले स्थानीय प्रहरीको काम-कारबाहीमा आशङ्का पैदा गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ६ : ५६ बजे

कम्बोडिया–थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि जारी, मृतकको सङ्ख्या बढ्दै

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाबीच गत बिहीबार शुरु भएको तनाव तेस्रो

रोटरीद्वारा एकै दिन ५० हजार वृक्षारोपण

झापा– रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’ले आज देशभर ५० हजार विरुवा

म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’ सुविधा

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा ‘एक घर, एक धारा’सहितको

सुडानमा १३ लाखभन्दा बढी मानिस आफ्नो घर फर्किए : संयुक्त राष्ट्रसंघ

जिनेभा– संयुक्त राष्ट्रसंघले दिएको जानकारीअनुसार, सुडानमा जारी द्वन्द्वका कारण विस्थापित

म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तान औलामा ‘एक घर, एक